logo
२०८१ बैशाख १४ शुक्रवार

  सामूहिक हत्याकाण्डमा संयोगले बाँचेकाहरूको कथन  



मध्यरातमा मदिरा खाएको र हातमा लठ्ठी बाेकेकाे देखेपछि ढोका लगाएँ

प्रदेश |


मध्यरातमा मदिरा खाएको र हातमा लठ्ठी  बाेकेकाे देखेपछि ढोका लगाएँ
करण मुसहर (दायाँ) र बोलरी मुसहर । तस्बिरः दीपक ज्ञवाली


दीपक ज्ञवाली
बुटवल, जेठ २७ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिका -१०, मैनहियामा सोमबार सामूहिक हत्या भएको फर्ममा त्यो रात आठ जना बसेका थिए । पाँच जनाको हत्या भए पनि दुई जना भने संयोगले बाँच्नुभयाे । उहाँहरू हनुहुन्छ, मृतक माधव मुसहरका सात वर्षीय छोरा अर्जुन मुसहर र करिब १९ वर्षीया साली बोलरी मुसहर । सोही रात त्यहाँ रहेका अर्का व्यक्ति झसेन्द्र सिञ्जाली भने हत्या आरोपमा पक्राउ परेका छन् ।

सबै बाहिर सुते पनि उहाँहरू दुई जना अर्को कोठामा सुत्नुभएकाे थियाे । बाँच्न सफल बोलरीका अनुसार राति एक बजेतिर झसेन्द्रले बाहिरबाट जिस्क्याउँदै बोलाएका थिए । र,आफूलाई वरिपरिका गाउँलेले नराम्रो मान्ने गरेको बताएका थिए । रक्सी खाएको र हातमा लठ्ठी रहेको देखेपछि बालरीले चुक्कुल लगाएर ढोका बन्द गर्नुभयाे । एक छिनपछि ढोका खोलेर हेर्दा अगाडिपट्टि सुतेको ठाउँमा दिदी-भिनाजु देख्नुभएन । अन्त सुते होलान् भनेर उहाँ ढोकाकाे चुक्कुल लगाएर फेरि सुत्नुभयाे ।

बिहान साहु आएर बोलाएपछि मात्र आफूले घटनाबारे थाहा पाएको बालरीले बताउनुभयाे । दिदी-भिनाजुलाई भेट्न आउनुभएकाे उहाँ केही दिनदेखि यहाँ बस्नुभएकाे थियाे ।

मृतक माधव मुसहरका छोरा करण मुसहर अन्तै काम गर्ने भएकाले त्यहाँ सुत्नुभएकाे थिएन ।
प्रहरीका अनुसार उक्त रात फर्ममा मिटरबक्सबाट बिजुलीको लाइन बन्द गरिएको थियो । बिजुली झसेन्द्रले नै काटेको अनुमान छ । बिहान दूध लिन जाँदा मात्र फर्म सञ्चालक कृष्णबहादुर पुनले कामदारहरू ढलेको देख्नुभएकाे थियाे ।

मृतकमध्ये तीन कामदार, दुई स्थानीय
रुपन्देही प्रहरीका एसपी हेम थापाका अनुसार हत्या गरिएका पाँच जनामध्ये तीन जना सोही फर्मका कामदार र दुई जना स्थानीय हुन् । तीमध्ये ४० वर्षीय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर श्रीमान-श्रीमती हुनुहुन्छ । उहाँहरू रुपन्देहीको सैनामैना नगरपालिका - ५, दर्खासीका हुनुहुन्छ । पन्ध्र वर्षीय बालक पोखराज मुसहर अनाथ हुन् । उहाँलाई फर्म सञ्चालक पुनले पाल्नुभएकाे थियाे । साेह्र वर्षीय करण चौधरी र आशिष चौधरी स्थानीय हुनुहुन्छ । त्यस दिन उहाँहरू त्यहीँ सुत्नुभएकाे थियाे । पोखराजका साथी उहाँहरु प्रायः मोबाइल चलाउन त्यहाँं जानुहुन्थ्याे ।

झसेन्द्रको विगत
हत्या आरोपमा पक्राउ परेका झसेन्द्रको घर सुर्खेत हो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार डेढ महिनाअघिदेखि उनी सो फर्ममा काम गर्दथे । यसअघि उनी र उनकी श्रीमतीले रुपन्देही तिलोत्तमाको शिवपुरस्थित अर्को पशु तथा कृषि फर्ममा काम गर्थे । स्थानीयका अनुसार श्रीमान-श्रीमती दिनहुँ झगडा गर्थे । अहिले श्रीमती साथमा छैनन् । उनी पारिवारिक तनावमा देखिन्थे ।

मङ्गलबार बिहान फार्मभित्रै धानको भुसमा लुकेर बसेको अवस्थामा प्रहरीले झसेन्द्रलाई पक्राउ गरेको हो ।
स्थानीयका भनाइमा अरु बेला मानसिक सन्तुलन नभएजस्ता देखिने झसेन्द्रले प्रायः रक्सी खान्थे । तर ठूलो झगडा भएको स्थानीयलाई थाहा छैन ।
मृतक माधवका छोरा करणका भनाइमा गत १४ गते फर्ममा झसेन्द्रले झगडा गरेका थिए । त्यो बेला आफूसँग धेरै कचकच गरे मार्दिने धम्की दिएका थिए ।

प्रदेश प्रहरी घटनास्थलमा
घटनाको सुक्ष्म अनुसन्धान गर्न प्रदेश ५ को प्रहरी टोली घटनास्थलमा खटेको छ । प्रदेश प्रहरी प्रवक्ता, एसएसपी राजकुमार बैदवारको नेतृत्वको टोली मङ्गलबार नै घटनास्थल आइपुगेको छ ।
प्रवक्ता बैदवारले मङ्गलबारबाटै अनुसन्धान शुरु गरिएको बताउनुभयो । उहाँले प्रहरी छिट्टै घटनाको गहिराइमा पुग्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?