ठाकुरप्रसाद आचार्य
बेनी, फागुन २७ गते । नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय विस्तारित भेला विहिवार बेनीमा सुरु भएको छ । भेलाको उदघाटन हुनुभन्दा पहिला मगर समुदायको कला संस्कृति, झाँकी र सोरठी नृत्य सहित बजारमा -याली निकालिएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्री नरदेवी पुनले भेलाको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ ।
भेलामा संघले ९ बुँदे प्रस्तावका बारेमा छलफल गरिने अध्यक्ष विष्णुकुमार थापाले जानकारी दिनुभयो । भेलामा मगर विद्यार्थीहरुको हकहित र अधिकारका बारेमा छलफल हुने उहाँले बताउनुभयो ।
मातृभाषामा पठनपाठन, नि:शुल्क शिक्षाको व्यावहारिक कार्यान्वयन, स्वायत्त विश्वविद्यालय स्थापना, शैक्षिक गुणस्तर सुधार, रोजगारमुलक शिक्षा र लोकसेवा आयोगको विज्ञापनलाई समावेशी बनाउने लगायतका विषयमा छलफल गरिने संघले जनाएको छ । भेलामा देशभरबाट दुई सय प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएका छन् ।