logo
२०८१ मंसिर ८ शनिवार

खुर्पानीको फूल खेल्ने बेला मुस्ताङमा हिउँ पर्दा कृषक उत्साहित

प्रदेश |
फोटो फिचर |


2021-03-14-33707


अमृतप्रसाद पौडेल

बेनी, चैत १ गते । हिमालपारीको जिल्ला मुस्ताङमा खुर्पानीमा फुल खेल्दै गरेको समयमा शनिबार एक्कासि हिमपात हुँदा कृषक उत्साही भएका छन् ।

स्याउ तथा खुर्पानी लगायतका फलफूलको फूल खेल्ने समय हुँदै गर्दा यही समय हिमपात हुँदा सिंचाइका लागि पनि सहज भएको मार्फाका अगुवा कृषक दीपक लालचनले बताउनुभयो । लालचनका अनुसार अहिले भर्खरका लागि सिंचाइ गर्ने समय हो र अब हिमपातले गर्दा सिंचाइ भर्खरै गरी हाल्न पर्दैन । त्यस्तै अग्ला डाँडाहरुमा हिउँ रहने हुँदा बर्खाको समयमा पनि सिंचाइका लागि हिउँ पग्लेर बगिरहने हुँदा समस्या हुँदैन ।

फूल खेल्ने बेलामा भएको हिमपात र वर्षाले गर्दा आन्तरीक तथा बाह्य पर्यटकहरुका लागि पनि मनमोहक अवस्था भएको थियो । जोमसोममा होटल व्यवसायी अमृत सुवेदी भन्नुहुन्छ–‘अहिले हिउँ पर्दा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई फोटो सेसन तथा टिकटक बनाउनका लागि निकै राम्रो भयो ।’ हिउँ अनि खुर्पानीको फूलले टिकटक बनाउनेका लागि राम्रै मौका दियो सुवेदीले भन्नुभयो ।