logo
२०८१ जेष्ठ ३ बिहीवार

थुनिएको राहुघाट नदीमा 'ओभरफ्लो' भएर पानी बग्न थाल्यो, जोखिम घट्यो (फाेटाे फिचर)

प्रदेश |
फोटो फिचर |


2021-08-26-45215


अमृतप्रसाद पौडेल

बेनी, भदौ १० गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ रायखोरमा बिहीबार बिहान पहिरो खसेर थुनिएको राहुघाट नदी तलाउको माथिबाट पानी बग्न थालेको छ । रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने रायखोरमा पहिरो खसेर राहुघाट नदी थुनिएर तलाउ बनेको थियो ।
रघुगङ्गा गाउँपालिकाको ६ र ७ नम्बर वडाको सिमानामा नजिकै पहिरो खसेर राहुघाटलाई थुनेको भण्डारीको भनाइ छ । अध्यक्ष भण्डारीका अनुसार गलेश्वरमा आइपुगेको रहुघाटको सतह घटेको छ । गतवर्ष बाढी वर्षाको समयमा पहिरोको जोखिमका कारण ६० घर परिवार विस्थापित भएका थिए र पहिरोको जोखिम केही वर्षसम्म रहन सक्ने अध्यक्ष भण्डारी बताउनुहुन्छ ।
पहिरोले पानीको बहावलाई केहीबेर थुनेको भए पनि डराइहाल्नुपर्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्सपेक्टर नवराज के.सी.ले बताउनुभयो । चिमखोलास्थित हाइड्रो सुरक्षाका लागि रहेको प्रहरी टोली घटनाको जानकारी पाउनासाथ तुरुन्तै घटनास्थलमा पुगेर तथ्य केलाइएको र डराइहाल्नुपर्ने अवस्था नरहेको भए पनि सुरक्षित हुन पर्ने इन्सपेक्टर के.सीको भनाइ छ ।
राहुघाट कालीगण्डकी नदीकोे सहायक नदी हो र यो नदी बेनी नगरपालिका–९ गलेश्वरमा आएर कालिगण्डकी नदीमा मिसिन्छ । पहिरोले नदी थुनीएर बनेको तलाउ भरिएर ओभरफ्लो हुन थालेपछि जोखिम कम भए पनि तलाउ एकै पटक फुटेर आएको खण्डमा क्षति हुन सक्ने रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भण्डारीले बताउनुभयो ।
राहुघाट नदीको बहाब क्षेत्रमा क्षेत्रमा ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजना र ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको निर्माण काम भैरहेको छ ।
पहिरो गएको स्थान जिल्ला सदरमुकाम बेनीदेखि करिब ३० किलोमिटरको दूरीमा पर्ने रघुगङ्गा गाउँपालिका–६ का वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो । वडा अध्यक्ष शेरपुञ्जाका अनुसार हालसम्म कुनै मानवीय क्षति नभएको बताउनुभयाे ।