logo
२०८१ बैशाख ३० आईतवार



कोरोनाबाट बाँकेमा मेडिकल कलेजका एक कर्मचारीको मृत्यु

फिचर |


कोरोनाबाट बाँकेमा मेडिकल कलेजका एक कर्मचारीको मृत्यु


सिराज खान

नेपालगञ्ज, असोज ११ गते । बाँकेमा उपचारकै क्रममा रहेका थप एक जना पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार आइतबार बिहान उपचारकै क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा कार्यरत एक कर्मचारीको कोहलपुर शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा कार्यरत नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ९, बाँके गाउँका ४७ बर्षिय संक्रमित पुरुषको उपचारकै क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतबार बिहान ५ बजे मृत्यु भएको बताउनुभयो ।

सम्पर्क व्यक्ति श्रेष्ठका अनुसार स्वास्थ्यमा समस्या आएपछि भदौ ३१ गते राती ८ः२५ बजे उनलाई उपचारका लागि मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो । कोरोनाको आशंकामा भदौ २९ गते स्वाब संकलन गरिएको र भदौ ३१ गते कोरोना पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएसंगै उनलाई भदौ ३१ गते राती ८ः२५ बजे अस्पतालको कोभिड १९ आइसोलेसन सेक्सनमा भर्ना गरी उपचार शुरु गरिएको नेपालगञ्ज मेडिकल कलेजले जनाएको छ ।

उपचारको क्रममा प्लाज्मा थेरापी लगायतका बिधिबाट उपचार गर्दागर्दै आइतबार बिहान ५ बजे उनको मृत्यु भएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका सहायक निर्देशक डा. रोमन किदवार्ईले बताउनुभयो ।
उहाँले मृतक व्यक्तिको दुबै तिरको फोक्सोमा निमोनिया र मधुमेह लगायतका स्वास्थ्य समस्या रहेको पनि जनाउनुभयो ।

मृतक नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जको प्रशासनिक बिभागमा कार्यरत कर्मचारी रहेका थिए । आइतवार मृत्यु भएका पुरुषसंगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?