logo
२०८१ बैशाख १३ बिहीवार



सुस्तायो विद्युतीय कारोबार

अर्थ |


सुस्तायो विद्युतीय कारोबार


भेषराज बेल्बासे

काठमाडौँ, पुस ११ गते । कोरोना भाइरस (कोभिड–१९)को महामारीका बेला उच्च वृद्धि रहेको विद्युतीय कारोबार कोरोना प्रभाव कम हुँदै गएसँगै सुस्ताउन थालेको छ । नेपाल राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्कले असोजको तुलनामा कात्तिक महिनामा विद्युतीय कारोबार र अनलाइन भुक्तानीको सङ्ख्या र रकम दुवैमा गिरावट आएको देखिएको हो । मोबाइल बैङ्किङ, आईपीएस, वालेट, क्यूआर कोड, आरटीजीएस, इन्टरनेट बैङ्किङ, एटीएमलगायतका कारोबार घटेको हो ।

राष्ट्र बैङ्कका अनुसार गत असोजमा एक करोड ३५ लाख ६५ हजार ५४ वालेट कारोबार कात्तिकमा एक करोड ३० लाख ३० हजार ८०४ मा सीमित भएको छ । कारोबार रकमका हिसाबले पनि वालेटमार्फत हुने कारोबारमा कमी आएको छ । असोजमा १५ अर्ब १८ करोड ७० लाख रुपियाँ बराबरको कारोबार भएकोमा कात्तिकमा घटेर १३ अर्ब ९४ करोड ९० लाख रुपियाँ वालेटमार्फत कारोबार भएको छ ।

कोरोना महामारीकै बेला निकै चर्चामा रहेको क्यूआर कोडको प्रयोग गरेर हुने भुक्तानी पनि असोजको तुलनामा कात्तिकमा निकै घटेको छ । असोजमा १५ लाख १५ हजार ३२९ कारोबार सङ्ख्या रहेको क्यूआर कात्तिकमा १३ लाख ८७ हजार ५८४ मा झरेको छ । असोजमा छ अर्ब नौ करोड ८० लाख रुपियाँ बराबरको कारोबार क्यूआरबाट भएकामा कात्तिकमा घटेर पाँच अर्ब ३६ करोड २० लाख रुपियाँमा सीमित भएको छ ।

असोजमा एक करोड ३७ लाख ६४ हजार ९८२ वटा मोबाइल बैङ्किङ कारोबार भएकामा कात्तिकमा एक करोड २६ लाख १५ हजार ६३७ मा झरेको छ । मोबाइल बैङ्किङबाट असोजमा ८७ अर्ब ७३ करोड २० लाख रुपियाँ बराबरको कारोबार भएको थियो जुन कात्तिकमा ७८ अर्ब १५ करोड ७० लाख रुपियाँमा झरेको छ ।

असोजमा ११ लाख ६७ हजार ५५४ कारोबार सङ्ख्या रहेको इलेक्ट्रोनिक चेक क्लियरिङ पनि कात्तिकमा नौ लाख ६९ हजार ९१८ मा झरेको छ । कारोबार रकमका हिसाबले पनि असोजमा आठ खर्ब ३२ अर्ब ८९ करोड ५० लाख रुपियाँ बराबरको कारोबार भएको इलेक्ट्रोनिक चेक क्लियरिङ कात्तिकमा सात खर्ब दुई अर्ब ९८ करोड २० लाख रुपियाँ बराबरको कारोबार भएको थियो । असोजमा १२ लाख ८९ हजार ८९१ सङ्ख्या रहेको आईपीएस कात्तिकमा घटेर नौ लाख ६१ हजार ४२२ मा सीमित भएको छ ।

असोजको तुलनामा कात्तिकमा आईपीएसमार्फत हुने कारोबार सङ्ख्या मात्रै होइन, कारोबार रकममा पनि उच्च गिरावट आएको छ । असोजमा दुई खर्ब तीन करोड ७० लाख रुपियाँ बराबरको कारोबार आईपीएसमार्फत भएको थियो भने कात्तिकमा घटेर एक खर्ब ३७ अर्ब ६१ करोड रुपियाँ बराबरको कारोबारमा झरेको थियो ।

असोजमा ६० हजार ११५ कारोबार भएको आरटीजीएस कात्तिकमा ५५ हजार ८९७ मा सीमित रहेको छ तर कारोबार रकमका हिसाबले भने ३१ खर्ब ४५ अर्ब ७१ करोड १० लाख रुपियाँ बराबरको कारोबार भएकामा कात्तिकमा ३६ खर्ब ४२ अर्ब ३४ करोड २० लाख रुपियाँ बराबरको कारोबार भएको थियो । यसरी हेर्दा कारोबार गर्ने सङ्ख्याका आधारमा कम देखिए पनि कारोबार रकमका आधारमा भने आरटीजीएसको बढी नै रहेको छ ।

यस्तै असोजमा ३५ लाख १० हजार २२६ सङ्ख्या रहेको कनेक्ट आईपीएस पनि कात्तिकमा २७ लाख ६० हजार ५०३ मा सीमित भएको छ । असोजमा ९२ लाख १२ हजार ५११ कारोबार सङ्ख्या रहेको डेबिट कार्ड कात्तिकमा ८० लाख ७५ हजार ४७२ मा बसेको छ । असोजमा दुई खर्ब ३९ अर्ब १४ करोड ८० लाख रुपियाँ बराबर कारोबार भएको कनेक्ट आईपीएस कात्तिकमा आएर दुई खर्ब तीन अर्ब ३६ करोड रुपियाँ बराबरको कारोबार भएको छ ।

कोरोना कालमा उच्च वृद्धि भएको इन्टरनेट बैङ्किङ पनि असोजको तुलनामा कात्तिकमा निकै घटेको छ । असोजमा तीन लाख ११ हजार ५८० रहेको इन्टरनेट बैङ्किङ कारोबार सङ्ख्या कात्तिकमा घटेर दुई लाख ५० हजार १७७ मा सीमित भएको छ । असोजमा १३ अर्ब ३४ करोड ४० लाख रुपियाँ बराबर इन्टरनेट बैङ्किङमार्फत कारोबार भएकामा कात्तिकमा त्यो घटेर ११ अर्ब ८३ करोड २० लाख रुपियाँमा सीमित भएको छ ।

एटीएममार्फत हुने कारोबार सङ्ख्या पनि असोजको तुलनामा कात्तिकमा घटेको छ । असोजमा ८२ लाख ९९ हजार ५८७ कारोबार एटीएमबाट भएकामा कात्तिकमा घटेर ७२ लाख ६२ हजार ३०४ मा सीमित भएको छ । असोजमा ७६ अर्ब ५३ करोड ७० लाख रुपियाँ बराबरको कारोबार एटीएम बुथबाट भएकामा कात्तिकमा त्यो घटेर ६२ अर्ब ८१ करोड ७० लाख रुपियाँमा सीमित भएको छ ।

शाखारहित बैङ्किङ बढ्यो
बैङ्किङ पहुँच नै नपुगेका क्षेत्रमा सेवा पु-याउँदै आएका शाखारहित बैङ्किङ सेवाको कारोबार सङ्ख्या र कारोबार रकममा भने बढोत्तरी भएको छ । असोजमा ५८ हजार ६८६ कारोबार सङ्ख्या रहेको शाखारहित बैङ्किङ सेवा कात्तिकमा बढेर ६२ हजार ३१० पुगेको छ । असोजमा एक अर्ब २७ करोड ९० लाख रुपियाँ बराबरको कारोबार भएको यो सेवामा कात्तिकमा बढेर एक अर्ब ३१ करोड ५० लाख रुपियाँ बराबरको कारोबार भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?