logo
२०८० चैत्र १६ शुक्रवार



लघुवित्तको वित्तीय स्थिति राम्रो

अर्थ |


लघुवित्तको वित्तीय स्थिति राम्रो


काठमाडौँ, फागुन २६ गते । लघुवित्त वित्तीय संस्थाको वित्तीय स्थिति सन्तोषजनक देखिएको छ । पछिल्लो समय यी संस्थाको सङ्ख्या घटे पनि शाखा सङ्ख्या बढेको छ । नेपाल राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्कअनुसार २०७८ पुस मसान्तमा समग्रमा लघुवित्त वित्तीय संस्थाको जोखिम भारित सम्पत्तिको अनुपातमा प्राथमिक पुँजी ११.२८ प्रतिशत र पुँजीकोष १२.४३ प्रतिशत रहेको छ । यस अवधिमा लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी २०७८ असार मसान्तको तुलनामा १६.५७ प्रतिशतले र जोखिम भारित सम्पत्ति १५.६० प्रतिशतले बढेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी र जोखिम भारित सम्पत्ति क्रमशः ८.२६ प्रतिशत र २१.९५ प्रतिशतले बढेको थियो ।
नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको निर्देशन २०७८ को निर्देशन नं. १ अनुसार लघुवित्त वित्तीय संस्थाले आफ्नो जोखिम भारित सम्पत्तिको आधारमा न्यूनतम प्राथमिक पुँजी र पुँजीकोष क्रमशः ४ प्रतिशत र ८ प्रतिशत कायम गर्नुपर्ने वैधानिक प्रावधान रहेको छ ।

सङ्ख्या घट्यो, शाखा विस्तार
राष्ट्र बैङ्कले गाभ्ने र प्राप्तिलाई प्रोत्साहन गरेकाले पछिल्लो समयमा लघुवित्त वित्तीय संस्थाको सङ्ख्या घटेको छ तर शाखा भने बढेका छन् । २०७८ असार मसान्तसम्ममा ७० वटा लघुवित्त वित्तीय संस्था रहेकामा पुस मसान्तसम्ममा उक्त सङ्ख्या घटेर ६७ कायम भएको छ । यी लघुवित्त वित्तीय संस्थामध्ये चारवटा थोक कर्जा प्रदायक संस्था छन् भने बाँकी ६३ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्था छन् ।

लघुवित्त वित्तीय संस्थाको शाखा सङ्ख्या २०७८ असारको तुलनामा पुस मसान्तमा ७.४४ प्रतिशतले वृद्धि भई चार हजार ९६५ पुगेको छ । सो अवधिमा लघुवित्त वित्तीय संस्थाको केन्द्र सङ्ख्या ११.४३ प्रतिशतले वृद्धि भई चार लाख चार हजार, सदस्य सङ्ख्या ८.२९ प्रतिशतले वृद्धि भई ५६ लाख २२ हजार, ऋणी सङ्ख्या ५.९७ प्रतिशतले वृद्धि भई ३१ लाख ७१ हजार पुगेको छ ।

सापटी रकम वृद्वि
वित्तीय स्रोत सङ्कलन थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको सापटी रकममा वृद्धि भएको छ । उक्त लघुवित्त वित्तीय संस्थाको प्रमुख वित्तीय स्रोत पुँजी र सापटी रहेको छ । २०७८ पुस मसान्तसम्ममा उक्त लघुवित्त वित्तीय संस्थाहरूले ४५ अर्ब ७२ करोड रुपियाँ वित्तीय स्रोत सङ्कलन गरेका छन् जुन २०७८ असार मसान्तको तुलनामा १०.४९ प्रतिशतले बढेको छ । आव २०७७÷७८ को सोही अवधिमा वित्तीय स्रोत सङ्कलनमा ६.८६ प्रतिशतले वृद्धि भएको थियो ।
२०७८ पुस मसान्तसम्ममा वित्तीय स्रोत सङ्कलन अघिल्लो त्रैमासको प्राथमिक पँुजीको ५.७६ गुणासम्म पुगेको छ । लघुवित्त वित्तीय संस्थाहरूले प्राथमिक पुँजीको बढीमा ३० गुणासम्म वित्तीय स्रोत परिचालन गर्न सक्ने व्यवस्था रहेको छ ।

निक्षेप र सापटी रकम बढ्यो
खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले निक्षेप सङ्कलन र सापटी रकम बढाएका छन् । २०७८ पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाले निक्षेप तथा बचत सङ्कलन एक खर्ब ४६ अर्ब सात करोड र सापटी एक खर्ब ८९ अर्ब ८४ करोड गरी जम्मा तीन खर्ब ३५ अर्ब ९० करोड रुपियाँ वित्तीय स्रोत सङ्कलन गरेका छन् । उक्त निक्षेप सङ्कलन र सापटी रकम अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म क्रमशः १३.११ र ३०.९१ प्रतिशतले बढेकामा चालू आर्थिक वर्षको सोही अवधिमा निक्षेप सङ्कलन र प्राप्त सापटी रकम क्रमशः ११.९९ र १४.३८ प्रतिशतले बढेको छ ।
वित्त बजारमा बैङ्कबाट प्राप्त हुने कर्जामा आएको सङ्कुचनका कारण २०७८ पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको वित्तीय स्रोत सङ्कलन अघिल्लो त्रैमासको प्राथमिक पुँजीको ७.९९ गुणासम्म पुगेको छ ।

पुँजीकोष सन्तोषजनक
लघुवित्त संस्थाको पँुजीकोषको स्थिति समग्रमा सन्तोषजनक रहेको छ । संस्थाले आफ्नो जोखिम भारित सम्पत्तिको आधारमा न्यूनतम प्राथमिक पुँजी र पुँजीकोष क्रमशः ४ प्रतिशत र ८ प्रतिशत कायम गर्नुपर्ने वैधानिक प्रावधान रहेको छ ।
२०७८ पुस मसान्तमा समग्रमा लघुवित्त वित्तीय संस्थाहरूको जोखिम भारित सम्पत्तिको अनुपातमा प्राथमिक पुँजी र पुँजीकोष क्रमशः ११.२८ प्रतिशत र १२.४३ प्रतिशत रहेको छ । समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी २०७८ असार मसान्तको तुलनामा १६.५७ प्रतिशतले र जोखिम भारित सम्पत्ति १५.६० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्त वित्तीय संस्थाहरूको चुक्ता पुँजी र जोखिम भारित सम्पत्ति क्रमशः ८.२६ प्रतिशत र २१.९५ प्रतिशतले बढेको थियो ।निष्क्रिय कर्जाको अनुपात घट्यो
खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको कुल कर्जा तथा सापटी रकममा वृद्धि भएको छ भने निष्क्रिय कर्जाको अनुपातमा ह्रास आएको छ । खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम २०७८ असारको तुलनामा १८.४३ प्रतिशतले बढेर २०७८ पुस मसान्तमा तीन खर्ब ७५ अर्ब ८४ करोड पुगेको अध्ययनमा देखिएको छ ।
समीक्षा अवधिमा कुल कर्जा तथा सापटमध्ये निष्क्रिय कर्जा ११ अर्ब चार करोड अर्थात् २.९४ प्रतिशत रहेको छ । २०७८ असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात २.९७ प्रतिशत रहेको थियो भने २०७७ पुस मसान्तमा यस्तो अनुपात ४.२० प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा निष्क्रिय कर्जाको वृद्धिदर १७.०३ प्रतिशत छ भने सक्रिय कर्जाको वृद्धिदर १८.४७ प्रतिशत रहेको छ जुन गत आर्थिक वर्षको सोही अवधिमा क्रमशः १२४.८८ र २२.८३ प्रतिशतले बढेको थियो ।

कृषि कर्जा प्रवाह बढ्यो
लघुवित्त वित्तीय संस्थाबाट कृषि क्षेत्रतर्फ कर्जा प्रवाहको हिस्सा बढेको छ । लघुवित्त वित्तीय संस्थाले २०७८ पुस मसान्तमा प्रवाह गरेको कर्जा रकम चार खर्ब ३० अर्ब ६८ करोडमध्ये एक खर्ब ९५ अर्ब ८१ करोड रुपियाँ अर्थात् ४५.४७ प्रतिशत कृषि क्षेत्रमा प्रवाह भएको देखिएको छ ।
गत असार मसान्तमा कृषि क्षेत्रमा एक खर्ब ६३ अर्ब ८६ करोड रुपियाँ अर्थात् ४४.८२ प्रतिशत कर्जा प्रवाह भएको थियो । आव २०७८÷७९ को दोस्रो त्रैमाससम्ममा लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामध्ये घरेलु तथा लघु उद्योग क्षेत्रमा ३.३९ प्रतिशत र सेवा व्यवसाय क्षेत्रमा ३१.२२ प्रतिशत कर्जा प्रवाह भएको देखिन्छ ।
समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जाको हिस्सा १२.७३ प्रतिशत रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?