logo
२०८० चैत्र १६ शुक्रवार

   बैङ्क मर्जर र एक्विजिसन   



नबिल र एनबी जोडिँदै इन्भेस्टमेन्ट र हिमालयनको अस्वीकृत

अर्थ |


नबिल र एनबी जोडिँदै इन्भेस्टमेन्ट र हिमालयनको अस्वीकृत


भेषराज बेल्बासे

काठमाडौँ, माघ १ गते । मर्जरका लागि सम्झौता भएदेखि नै मतभेद र विवाद देखिएको नेपाल इन्भेस्टमेन्ट बैङ्क र हिमालयन बैङ्कबीचको मर्जर प्रक्रिया टुटेको छ । मर्जरका लागि समझदारीपत्रमा हस्ताक्षर भएको आठ महिनापछि दुवै बैङ्कको मर्जर प्रक्रिया टुुटेको हो । हिमालयन बैङ्कको साधारण सभाले इन्भेस्टमेन्ट बैङ्कसँग मर्जरको विशेष प्रस्ताव अस्वीकृत गरेको हो । शुक्रबार सम्पन्न बैङ्कको २९औँ वार्षिक साधारण सभाले उक्त प्रस्ताव अस्वीकृत गरेको हो । मर्जर विषयमा सेयरधनीबीच विवाद भएपछि उक्त प्रस्ताव पारित सकेन । दुवै बैङ्कले गत वैशाखमा नै मर्जरमा जाने सैद्धान्तिक सहमति गरेका थिए । दुवै बैङ्कलाई मर्जरमा जान राष्ट्र बैङ्कले सैद्धान्तिक सहमति प्रदान गरिसकेको थियो ।

दुवै बैङ्कले गरेको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए)मा कर्मचारी सञ्चय कोषलगायत करिब ३६ प्रतिशत सेयरधनीको चित्त बुझेको थिएन । दुवै बैङ्कको डीडीएअनुसार हिमालयन बैङ्कको एक कित्ता सेयर बराबर इन्भेस्टमेन्ट बैङ्कको पनि एक कित्ता सेयर हुने भन्नेछ । त्यो मूल्याङ्कनमा हिमालयन बैङ्कको सम्पत्तिको कम मूल्याङ्कन गरिएको र इन्भेस्टमेन्टको बढी गरिएको भन्दै कोषलगायत सेयरधनीले विरोध गर्दै आएका थिए । जसका कारण शुक्रबारको साधारण सभामा उनीहरू मर्जरको विपक्षमा मतदान उभिएका थिए ।

कोषले स्वतन्त्रविज्ञद्धारा गरेको अध्ययनमा हिमालयन बैङ्कको एक कित्ता सेयर बराबर इन्भेस्टमेन्टको ०.७८ कित्ता सेयर हुने भन्ने रहेको छ । यो प्रस्ताव सम्बोधन नभएसम्म कोषले मर्जरमा सहमति नजनाउने विषयमा सञ्चय कोषको सञ्चालक समितिले औपचारिक रूपमा निर्णय नै गरेको छ । डीडीएको सुझावअनुसार मर्जरमा जाँदा हिमालय बैङ्कका सेयरधनीले प्रतिसेयर ४७ रुपियाँ २२ पैसा नोक्सान बेहोर्नुपर्ने कोषको अध्ययनले देखाएको छ ।

 सेयरधनी मारमा

हिमालयन बैङ्क र इन्भेस्टमेन्ट बैङ्कबीचको मर्जर प्रक्रिया टुटेपछि दुवै बैङ्क राष्ट्र बैङ्कको कारबाहीमा पर्ने भएका छन् भने सेयरधनी पनि मर्कामा पर्ने भएका छन् । मर्जरमा जाने सम्झौता गरेका संस्थाको मर्जर भाडिँदा मर्जर तथा एक्विजिसन विनियमावलीमा भएको व्यवस्थाअनुसार प्रस्तावित नगद लाभांश सेयरधनीलाई वितरण गर्न नपाउने, थप शाखा विस्तारमा समेत रोक लाग्नेलगायतका कारबाही हुने व्यवस्था छ ।

मर्जरको कारण अहिले दुवै बैङ्कको सेयर कारोबार रोक्का छ भने अब बैङ्कले आफ्नो नाफाबाट सेयरधनीलाई वितरण गर्ने नगद लाभांशमा समेत रोक लगाउनेछ । हिमालयन बैङ्कका कारण मर्जर भाडिएपछि राष्ट्र बैङ्कबाट पाउने नियामकीय सुविधा पनि सो बैङ्कले पाउने छैन । गत वैशाखदेखि हिमालयन बैङ्कको दोस्रो बजारमा रोक्का रहेको सेयर कारोबारसमेत फुकुवा हुने छैन ।

 नबिल र एनबी अगाडि बढ्दै
नबिल बैङ्कले नेपाल बङ्गलादेश बैङ्कलाई एक्विजिसन गर्नेसम्बन्धी प्रक्रिया अगाडि बढेको छ । दुवै बैङ्कबीच एक्विजिसनसम्बन्धी प्रारम्भिक सम्झौता बिहीबार सम्पन्न भएको छ । दुवै बैङ्कले संयुक्त मर्जर/एक्विजिसनसम्बन्धी समिति गठन गरी उक्त समितिले सिफारिस गरेबमोजिम पुुस २९ गते बिहीबार सम्पन्न दुवै बैङ्कको सञ्चालक समितिको संयुक्त बैठकबाट उक्त एक्विजिसन (प्राप्ति)सम्बन्धी सम्झौता सर्वसम्मतिले पारित गरेका थिए ।

नबिलले एनबी बैङ्कलाई प्राप्ति गर्न भएको समझदारीपत्रअनुसार एनबीको १०० कित्ता सेयर बराबर नबिलको ४३ कित्ता हुने गरी सेयर आदानप्रदान अनुपात कायम भएको दुवै बैङ्कले जनाएका छन् । नबिलले एनबी बैङ्क प्राप्ति कार्य पाँच महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । एनबी बैङ्कलाई प्राप्तिपश्चात् नबिल बैङ्कको प्राथमिक पुँजी ४३ अर्ब र चुक्ता पुँजी २२.५ अर्ब रुपियाँ पुग्नेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?