logo
२०८१ बैशाख १४ शुक्रवार



निर्जीवन बीमा प्रिमियम वृद्धि, सात महिनामा झन्डै २२ अर्ब सङ्कलन

अर्थ |


निर्जीवन बीमा प्रिमियम वृद्धि,  सात महिनामा झन्डै २२ अर्ब सङ्कलन


काठमाडौँ, फागुन २२ गते । सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीले सात महिनाको अवधिमा झन्डै २२ अर्ब रुपियाँ प्रिमियम सङ्कलन गरेका छन् । अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.१२ प्रतिशतले बढी प्रिमियम सङ्कलन गर्न निर्जीवन बीमा कम्पनी सफल भएका छन् ।
चालू आर्थिक वर्षको माघ महिनासम्म निर्जीवन बीमा कम्पनीले २१ अर्ब ८१ करोड चार लाख रुपियाँ बराबरको बीमा शुल्क आर्जन गरेका हुुन् । यी कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा १७ अर्ब ८६ करोड रुपियाँ बराबरको बीमा शुल्क सङ्कलन गरेका थिए ।

प्रिमियम बढाउन सफल भएका निर्जीवन बीमा कम्पनीको जारी बीमालेख सङ्ख्यामा भने कमी आएको छ । कम्पनीको जारी बीमालेख सङ्ख्या ४.४२ प्रतिशतले घटेर १६ लाख ९५ हजार ७८८ मा झरेको छ । २०७७ माघसम्म १७ लाख ७४ हजार १३८ वटा बीमालेख जारी भएका थिए ।
निर्जीवन बीमा कम्पनीमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै दुई अर्ब ७६ करोड ५४ लाख ९० हजार रुपियाँ बीमा शुल्क आर्जन गरेको छ । शिखरलाई पछ्याउँदै सगरमाथा इन्स्योरेन्सले एक अर्ब ९५ करोड ५४ लाख ३० हजार रुपियाँ बीमा शुल्क सङ्कलन गरेको छ ।


यस्तै बीमा शुल्क सङ्कलनका आधारमा तेस्रो स्थानमा सिद्धार्थ इन्योरेन्स परेको छ । सिद्धार्थले एक अर्ब ५२ करोड पाँच लाख २० हजार रुपियाँ बीमा शुल्क सङ्कलन गरेको छ ।सबभन्दा थोरै कुल र खुद बीमा शुल्क आर्जन गर्नेमा सानिमा जनरल इन्स्योरेन्स रहेको छ । सबैभन्दा धेरै खुद बीमा शुल्क आर्जन गर्नेमा भने नेको इन्स्योरेन्स रहेको छ ।

यस अवधिमा नेको इन्स्योरेन्सले ९८ करोड ५४ लाख रुपियाँ खुद बीमा शुल्क सङ्कलन गरी १५ करोड दुई लाख रुपियाँ खुद नाफा कमाएको छ । शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै बीमा शुल्क आर्जन गरे पनि खुद बीमा शुल्क भने ७६ करोड २२ लाख रुपियाँ गरेको छ तर खुद नाफा भने सबैभन्दा धेरै २४ करोड ३० लाख रुपियाँ आर्जन गरेको छ । सबैभन्दा कम खुद नाफा आर्जन गर्नेमा अजोड इन्स्योरेन्स रहेको छ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले भने सबैभन्दा कम १२ करोड ८८ लाख रुपियाँ खुद बीमा शुल्क आर्जन गरेको छ भने कम्पनीको खुद नाफा १९ करोड ४३ लाख रुपियाँ रहेको छ ।

राष्ट्रिय बीमा कम्पनी जगेडा र बीमा कोषमा भने बलियो देखिएको छ । सबैभन्दा थोरै चुक्ता पुँजी भएको राष्ट्रिय बीमा कम्पनीको जगेडा र बीमा कोषमा भने रकम धेरै छ । कम्पनीको जगेडा कोषमा तीन अर्ब २४ करोड ५६ लाख रुपियाँ र बीमा कोषमा दुई अर्ब ५२ करोड ७३ लाख रुपियाँ सञ्चित छ । शिखर इन्स्योरेन्सको जगेडा कोषमा ६९ करोड ३५ लाख रुपियाँ र बीमा कोषमा एक अर्ब ४१ करोड रुपियाँ सञ्चित रहेको छ ।

हाल नेपालमा कुल २० वटा निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । यी कम्पनीमध्ये विदेशी स्वामित्वका दुईवटा निर्जीवन कम्पनी नेसनल इन्स्योरेन्स कम्पनी लिमिटेड र ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड नेप्सेमा सूचीकृत छैनन् । बीमा समितिका अनुसार कुल निर्जीवन बीमाको वृद्धि २२.७४ प्रतिशत रहेको छ भने निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १९ अर्ब २८ करोड रुपियाँ रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?