logo
२०८१ बैशाख ७ शुक्रवार



वाणिज्य बैङ्क :कर्जा घट्दा निक्षेप वृद्धि

अर्थ |


वाणिज्य बैङ्क :कर्जा घट्दा निक्षेप वृद्धि


काठमाडौँ, चैत ६ गते । निक्षेप थपिने क्रम सुस्ताएपछि वाणिज्य बैङ्कले कर्जा प्रवाहमा नियन्त्रण गर्न थालेका छन् । कर्जा लगानी घट्दा निक्षेप भने बढी देखिएको छ । माघ र फागुन दुई महिनाको तथ्याङ्कमा समग्र वाणिज्य बैङ्कले कर्जा प्रवाहमा सङ्कुचन ल्याउँदा २१ अर्ब रुपियाँभन्दा बढीले निक्षेप बढेको देखिएको छ । कर्जाको वृद्धि साढे १७ अर्ब रुपियाँको हाराहारीमा रहेको छ ।

यसअघि वाणिज्य बैङ्कले निक्षेप सङ्कलनभन्दा अधिक कर्जा लगानी गर्दै आएका थिए । विगतका महिनामा निक्षेप सङ्कलन सुस्त भए पनि कर्जा लगानी बढाउँदै आएका वाणिज्य बैङ्कले फागुनमा भने कर्जा घटाएका हुन् । वाणिज्य बैङ्कमा फागुनको अन्तिम साता मात्रै सात अर्ब रुपियाँ निक्षेप थपिँदा तीन अर्ब रुपियाँ मात्र कर्जा लगानी गरेका छन् । नियामक नेपाल राष्ट्र बैङ्कको आयातमा कडाइको नीतिका कारण बैङ्कले विदेशी मुद्राको कर्जा नियन्त्रण गर्दा फागुन लागेयता विदेशी मुद्राको कर्जा निरन्तर घटिरहेको छ । राष्ट्र बैङ्कले केही वस्तुको एलसी खोल्दा ५० देखि शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि वाणिज्य बैङ्कमा निक्षेप बढ्न थालेको छ ।

१७ को बढ्यो, १० को घट्यो निक्षेप
नेपाल बैङ्कर्स एसोसिएसनको तथ्याङ्क अनुसार माघ महिनाको अन्तिमसम्म वाणिज्य बैङ्कको कुल निक्षेप ४३ खर्ब १० अर्ब ८५ करोड रुपियाँ रहेकामा फागुन मसान्तसम्म पुग्दा ४३ खर्ब ३२ अर्ब ५१ करोड रुपियाँ पुगेको छ । पछिल्लो एक महिनामा २७ वाणिज्य बैङ्कमध्ये १७ वटा वाणिज्य बैङ्कको निक्षेपमा वृद्धि देखिएको छ भने १० वटा वाणिज्य बैङ्कको निक्षेपमा कमै देखिएको छ ।

माघ महिनाको तुलनामा फागुन महिनामा निक्षेप वृद्धि गर्ने बैङ्कमा माछापुच्छे« बैङ्क सबैभन्दा अगाडि देखिएको छ । बैङ्कले एक महिनामा चार अर्ब ८१ करोड रुपियाँ निक्षेप वृद्धि गरेको छ । स्ट्यान्डर्ड चार्टर्ड, प्रभु, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य, मेगा, सानिमा, एनएमबी, सिटिजन्स, नेपाल इन्भेस्टमेन्ट, नेपाल क्रेडिट एन्ड कमर्स, कृषि विकास, सनराइज, बैङ्क अफ काठमाण्डू, नेपाल बैङ्क, ग्लोबल आईएमई र नेपाल बङ्गलादेश बैङ्कले निक्षेप बढाएका छन् ।

पछिल्लो एक महिनामा निक्षेप गुमाउने बैङ्कमा नबिल बैङ्क अगाडि देखिएको छ । एक महिनामा नबिल बैङ्कको दुई अर्ब ७८ करोड रुपियाँ निक्षेप घटेको छ । निक्षेप घट्ने बैङ्कमा एभरेस्ट, सिद्धार्थ, लक्ष्मी, कुमारी, सिभिल, प्राइम कमर्सियल, नेपाल एसबीआई, हिमालयन र सेन्चुरी बैङ्क रहेका छन् । तुलनात्मक रूपमा माघ महिनाको तुलनामा फागुनमा सबैभन्दा बढी कर्जा प्रवाह गर्नेमध्ये सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कले सात अर्ब सात करोड रुपियाँ गरेको छ भने माछापुच्छे बैङ्कको कर्जा प्रवाह एक अर्ब ५१ करोड रुपियाँले घटेको छ ।

१६ बैङ्कको कर्जा बढ्यो
पछिल्लो एक महिनामा कर्जा प्रवाह बढाउने बैङ्कमा एनआईसी एसिया, नेपाल बैङ्क, सिटिजन्स बैङ्क, मेगा, एभरेस्ट, नबिल, कृषि विकास, सानिमा, प्राइम, नेपाल क्रेडिट एन्ड कमर्स, बैङ्क अफ काठमाडौँ, एनएमबी, नेपाल बङ्गलादेश, कुमारी, प्रभु र सेन्चुरी बैङ्क रहेका छन् भने ऋण घटाउने बैङ्कमा नेपाल एसबीआई, सिद्धार्थ, ग्लोबल, नेपाल इन्भेस्टमेन्ट, लक्ष्मी, सिभिल, हिमालयन, स्ट्यान्डर्ड चार्टर्ड र सनराइज बैङ्क रहेका छन् ।
चालू आर्थिक वर्षको आठ महिनामा भने एक अर्ब ३१ करोड १२ लाख रुपियाँले निक्षेप बढेको देखिएको छ । चालू आर्थिक वर्षको सुरुमा ४२ अर्ब एक करोड ३९ लाख रुपियाँ रहेको निक्षेप फागुन मसान्तसम्म ४३ खर्ब ३२ अर्ब ५१ करोड रुपियाँ पुगेको छ ।

चालू आर्थिक वर्षको आठ महिनामा निक्षेप बढाउने बैङ्कहरूमा सनराइज, हिमालयन, एनएमबी, सानिमा, लक्ष्मी, एनसीसी, नेपाल एसबीआई, माछापुच्छे, कुमारी, एनआईसी एसिया, सिद्धार्थ, नेपाल इन्भेस्टमेन्ट बैङ्क, एभरेस्ट, मेगा र बैङ्क अफ काठमाण्डू रहेका छन् । चालू आर्थिक वर्षको आठ महिनामा निक्षेप घटाउने बैङ्कहरूमा सिभिल, सिटिजन्स, प्रभु, स्ट्यान्डर्ड चार्टर्ड, प्राइम, सेन्चुरी, कृषि विकास, ग्लोबल, नेपाल बङ्गलादेश, ग्लोबल र राष्ट्रिय वाणिज्य बैङ्क रहेका छन् ।

मुलुककै जेठो बैङ्क नेपाल बैङ्क लिमिटेड चालू आर्थिक वर्षको फागुन महिनासम्ममा सबैभन्दा बढी निक्षेप बढाउनेमध्ये अगाडि देखिएको छ । सरकारी स्वामित्वको नेपाल बैङ्कले २१ अर्ब ६७ करोड रुपियाँले निक्षेप सङ्कलन गरेको छ भने राष्ट्रिय वाणिज्य बैङ्कको सबैभन्दा बढी १२ अर्ब ९७ करोड रुपियाँले निक्षेप घटेको छ ।

चालू आर्थिक वर्षको फागुनसम्म चार खर्ब ५१ अर्ब २४ करोड रुपियाँ थप ऋण गएको तथ्याङ्कले देखाएको छ । चालू आर्थिक वर्षको पहिलो आठ महिनासम्ममा सबैभन्दा बढी नेपाल बैङ्कले कर्जा प्रवाह गरेको छ । नेपाल बैङ्कले फागुन मसान्तसम्म ३० अर्ब ३५ करोड रुपियाँ ऋण बढाएको छ । आठ महिनामा सबैभन्दा कम ऋण वृद्धि गर्नेमा सिभिल बैङ्क रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?