logo
२०८१ बैशाख १३ बिहीवार

   प्रेम दिवसबारे कलाकार 



युद्धभन्दा प्रेम राम्रो, ३६५ दिन नै प्रेममय होस्

मनोरञ्जन |
पढ्नै पर्ने |
समाज |


युद्धभन्दा प्रेम राम्रो, ३६५ दिन नै प्रेममय होस्


काठमाडौं, फागुन २ गते ।

यति चोखो यति मिठो दिउँला तिमीलाई माया........
बिर्सने छन् साराले पुराना प्रेमका कथा.......
मेरो सारा जीवन सबै तिमीलाई.....
मिठा–मिठा क्षणहरू सबै तिमीलाई......
मेरो खुसी मेरो सुख सबै सबै तिमीलार्ई.......

स्वरसम्राट् नारायणगोपालको मधुर आवाजमा रहेको यो रोमान्टिक गीत आजको सन्दर्भ अर्थात प्रणय दिवससँग ठ्याक्कै मेल खाएको छ ।
प्रेम दिवस वा प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । प्रेम जोडीहरूका लागि यो रमाइलो र महत्त्वपूर्ण दिन मानिन्छ । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस विशेष उत्सवको दिन हो । आफूले माया गरेको, मन पराएको वा चाहेको मान्छेलाई आफ्नो भावना अभिव्यक्त गर्ने विशेष दिन हो प्रणय दिवस ।

भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो । यसले नेपाली समाजमा पनि राम्रै पहुँच बनाइसकेको छ । यो युवायुवतीका लागि मात्रै हुनुपर्छ भन्ने होइन, जुनसुकै उमेर समूहका व्यक्तिले पनि व्यवस्थित तरिकाले मनाए यसको सार्थकता झल्कन्छ ।
यसै अवसरमा हामीले कलाकारहरुलाई जिज्ञासा राखेका थियौं यसले नेपाली समाजमा पारेको प्रभाव र यो दिन कसरी मनाउँदै हुनुहुन्छ भन्ने विषयमा उहाँहरुको जवाफ ।
सुरक्षा पन्त
म सुटिङमै व्यस्त हुन्छु । काममा व्यस्त भएको कारणले भ्यालेन्टाइन डे भन्ने नै मलाई याद थिएन । माया सबैको लागि महत्वपूर्ण हुन्छ । लभलाई सेलिबे्रट गर्नको लागि यो दिन छुट्याइएको हो । यो मलाई एकदमै धेरै राम्रो लाग्छ । यस दिन मनाउने तरिका नै विशेष छ । भ्यालेन्टाइन डेले अहिले नपाली समाजमा विशेषगरी युवा युवतीमाझ धेरै नै प्रभाव पारेको छ । मेरो विचारमा माया गर्नेको लागि सधैँ नै माया हुन्छ जस्तो लाग्छ । तर यो एकदिन विशेष हुन्छ ।

दीपाश्री निरौला
मैले केही प्लान त बनाएको छैन । विराटनगरमा छु । युद्धभन्दा त प्रेम नै राम्रो हो नी । प्रणय दिवस जहाँ त्यही हुनुपर्छ । ३६५ दिन नै प्रेम सदाबहार हुनुपर्छ । प्रेम उच्छृङ्खल हुनुभएन । प्रेमको लागि विशेष एकदिन राखिएको छ, यो मनाउनु राम्रो हो तर प्रेम एकदिन मात्र हैन, हरेक दिन हुनुपर्छ ।
मेरो विचारमा राम्रोसँग मनाउने र सबैसँग प्रेम र सद्भाव बढाउने हो भने यो कुरा राम्रै हो । तर प्रेमको नाममा विकृति आउनु राम्रो पटक्कै होइन ।

विपिन कार्की
मलै त्यसरी उत्साह र उल्लासमय तरिकाले भ्यालेन्टाइन डे त मनाउने गरेको छैन । तर पनि यो दिन आफैंमा खास भएकोले श्रीमतीलाई केही उपहार दिएर मनाउने गर्छु । अरु खासै स्पेसल प्लान भने छैन ।
करिश्मा मानन्धर
प्रेम दिवस आजको दिन मात्र हैन । हरेक दिन मनाउन जरुरी छ । प्रेम भन्ने शब्द आफैंमा राम्रो हो । यसप्रति मेरो कुनै घृणा छैन तर पनि म नेपाली हो, म भ्यालेन्टाइन डे मनाउँदिन । नेपालमा पनि सायद १५ देखि २० वर्ष अघिदेखि प्रेम दिवस मनाउने सुरुवात भएको देखिन्छ । हाम्रो आफ्नै नेपाली शिव र सती, राधा र कृष्णको प्रेम जुन हाम्रै धर्म ग्रन्थमा छ, हामीमा त्यसको प्रभाव पर्नुपर्छ ।

यस्तै, पछिल्लो समयमा लेखकले लेख्नुभएको मुनामदन पनि हाम्रा प्रेमकथाहरुमा आधारित छ । हामी वरिपरि सबै प्रेम नै प्रेम छ । त्यसकारण प्रेमको लागि हामीलाई भ्यालेन्टाइन डे चाहिँदैन । मेरो लागि त हरेक दिन प्रेम दिवस ।

पवन भट्टराई
डे थाहा भयो भ्यालेन्टाइन डे कहिले पनि स्पेसल भएको छैन । भ्यालेन्टाइन डे स्पेशल केही नभएर के गर्ने भनेर सोचिराछु । मलाई माया गर्ने कोही नभए पनि म सबैलाई माया गर्नेमा पर्छु । खुसी नै लाग्छ यस बारेमा । भ्यालेन्टाइन प्लान केही छैन नयाँ केही काम गर्ने सोचमा छु त्यही हुनेछ मेरो भ्यालेन्टाइन डे स्पेशल ।
अब आउने वर्ष मेरो सारा जीवन सबै तिमीलाई मिठा–मिठा क्षणहरू सबै तिमीलाई मेरो खुसी मेरो सुख सबै सबै तिमीलाई यति चोखो यति मिठो दिउँला तिमीलाई माया भन्न पाउँछु कि भन्ने आशा छ ।

दयाहाङ राई
प्रेम सद्भाव भन्ने कुरा राम्रो हो । यसलाई मनाउनुपर्छ । तर मेरो भने कुनै विशेष प्लान छैन । म जन्मेदेखि नै यस दिनको मलाई प्रभाव नै परेन । तर प्रेम दिवस मनाउनु राम्रो हो । प्रणय दिवस यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे ।
उहाँको बुझाइ थियो– अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उहाँले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उहाँलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो ।
प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?