logo
२०८० चैत्र १६ शुक्रवार



पिशाच चतुर्दशी मनाइँदै, काठमाडौंमा 'लुक' महादेवको पूजा

समाज |


पिशाच चतुर्दशी मनाइँदै, काठमाडौंमा 'लुक' महादेवको पूजा
तस्बिर : मनाेजरत्न शाही


काठमाडौं, चैत्र १७ गते । नेपाल भाषामा ‘पाहाँ’ भन्नाले अतिथि भनेर बुझिन्छ भने ‘चःह्रे’ भनेको चतुर्दशी हो । पाहाँ ‘चःह्रे’लाई ‘पिशाच चतुर्दशी’ पनि भन्ने गरिन्छ । संस्कृतविद् हरिराम जोशीका अनुसार मुख्य चतुर्दशी पाँच वटा छन् । पाहाँ चतुर्दशी (पिशाच चतर्दशी), शिला चतुर्दशी (शिवरात्री), बाल ‘चःह्रे’ (बाला चतुर्दशी), गठेमंगल अर्थात् (घण्टाकर्ण) । पाहाँ चतुर्दशीलाई ‘पाहाँ ‘चःह्रे’, ‘र्पादशी पाहाँ’ ‘चःह्रे’ र ‘प्रसाद’ ‘चःह्रे’ पनि भन्ने गरिन्छ ।

महादेवको विभिन्न गणमध्ये एक गण पिशाच पनि हो । यो पर्व रमाइलोका साथ मनाउने परम्परागत चलन छ । यस वर्षको यो अन्तिम चतुर्दशी पनि हो । सकिँदो जाडो, शुरुवाती गर्मी अनि सुख्खापनाको मौसममा हुनसक्ने रोगव्याध र विपत् मुक्तिका निम्ति धार्मिक र आस्थागत गन्तव्यका रूपमा यो चतुर्दशीलाई लिइन्छ ।

पिशाच चतुर्दशीलाई चतुर्दशी भन्नुमा ऐतिहासिक एवं सांस्कृतिक दृष्टिले खास महत्वपूर्ण रहेको जोशी बताउनुहुन्छ । उहाँका अनुसार आदिमकालदेखि नै पाशुपत शैव मतको यथेष्ट मात्रामा विकास भएको देखिनुको साथै भगवान् शिवका गणको रूपमा ख्यात शिवका विभिन्न गणहरू पनि भगवान् शिव–रुद्रकै रूपमा मान्य हुँदै आएको पाइएका छन् ।

‘भगवान् शिवका प्रमुख गणको रूपमा रहेका नन्दीको नामबाटै महादेवको एक नाम नन्दीश्वर वा नन्दीकेश्वर नाम रहन गएको थियो,’ उहाँ भन्नुहुन्छ, ‘यसै तथ्यको परिप्रेक्ष्यमा ललितपुर कुसुमतीस्थित मध्यकालमा प्रतिष्ठापित पञ्चनन्दीश्वरलाई उदाहरणको रूपमा लिन सकिन्छ ।’ यस्तै, ललितपुर सुनागुठी ग्रामस्थित भृङ्गारेश्वर महादेव शिवका एक भृङ्ग नामक गण नै भृङ्गारेश्वर महादेव नामले ख्यात भएको उहाँ बताउनुहुन्छ ।

‘शिवका गण रहेका यी भृङ्ग श्रापको कारण भूतलमा गुणाढय भएर जन्म लिन आएका थिए, उहाँ भन्नुहुन्छ, ‘तिनले पैशाची भाषामा बृहत्कथा नामको एक विशाल ग्रन्थको रचना गरेको अनन्तर उनी पुनः श्रापबाट मुक्त भएका थिए ।’

यो ग्रन्थ रामायण, महाभारत जस्तै ज्यादै प्रख्यात मानिएको उहाँको भनाइ छ । जोशीका अनुसार चतुर्दशीको दिन अतिथिलाई स्वागत गर्ने क्रममा सर्वप्रथम पिशाचलाई प्राथमिकता दिने गरिन्छ । (पिशाचरूपी शिव) लाई पूजाआजा गर्नको साथै भोजन गराई सन्तुष्ट पारेरपछि आफूहरूले पनि भोजन गरी चाड मनाउने चलन रहेको उहाँको भनाइ छ ।

‘हाम्रो संस्कृति अनुसार दुष्टलाई सर्वप्रथम नमस्कार भन्नुको अर्थ पूजा गर्नु अनिवार्य छ,’ उहाँ भन्नुहुन्छ, ‘त्यसको अनन्तर मात्र अन्य सज्जनहरूलाई नमस्कार गर्नु पर्दछ । उहाँका अनुसार मध्यकालका कतिपय अभिलेखमा पिशाच (पाहाँ) चतुर्दशीलाई प्रसाद चतुर्दशी भनेर पनि उल्लेख गरिएको छ ।

‘प्रसाद भन्नाले देवताको पूजा आजा गरी बाँकी रहेका जुन खाद्य वस्तुहरू छन् त्यसलाई प्रसादको रूपमा ग्रहण गर्न हो’, ‘उहाँ भन्नुहुन्छ, ‘अतिथिदेवो भव भनी हाम्रो सांस्कृतिक परम्परामा अतिथिलाई देवता नै मानिएको छ ।’ जसको कारण पिशाच चतुर्दशीका दिन पिशाचरूपी अतिथिलाई आदर सत्कार गरी भोजन गराईसकेपछि बाँकी बचेका खानाहरू गृहस्थीहरूले प्रसादको रूपमा ग्रहण गर्ने गरिन्छ ।

संस्कृतविद जोशीका अनुसार पिशाच चतुर्दशीका दिन इन्द्रायणी (लुति अजिमा) बाहेक अरु सबै अजिमाहरूलाई खटमा राखेर पूजा गर्न टोल–टोलमा लगिन्छ । ‘इन्द्रायणी आफ्नो अरु अजिमा दिदीबहिनी भन्दा निक्कै गरिब थिइन् । ‘एक दिन दिदी अजिमाले सबैलाई भोजमा बोलाउँदा इन्द्रायणी अर्थात् लुति अजिमा सम्पन्न नभएकाले उनलाई हेला गरेर खाना फ्याँकेर दिन्छिन्, उहाँ भन्नुहुन्छ, ‘त्यसरी फ्याँकेको खानाले लुति अजिमाको बच्चाको अनुहारमा लाग्न गइ रगत निस्किन्छ ।’

अपमानित भएर त्यहाँबाट सरक्क निस्किएर हिँडेकी इन्द्रायणीले बाटोबाट एउटा फर्सी किन्छिन् । तर त्यो फर्सी काट्दा त्यहाँबाट एउटा सर्प निस्किन्छ । इन्द्रायणीले अब त्यो फर्सी पनि खान नहुने भनेर फ्याँक्न जाँदा एक्कासि त्यो फर्सी सुनमा परिणत हुन्छ । त्यसपछि, अर्को वर्ष फेरि दिदी अजिमाले भोज बोलाउँदा, इन्द्रायणी सम्पन्न भएर जान्छिन् ।

उहाँ भन्नुहुन्छ, यसपटक उनको छुट्टै सत्कार गरिन्छ । तर, लुति अजिमाले यो सत्कार आफ्नो धनका लागि मात्र भएको भनेर आफू त्यहाँबाट बच्चाहरूसहित निस्किन्छिन् । त्यसैले पिशाच चतुर्दशीका दिन इन्द्रायणीको भने खट निकालेर पूजा गरिँदैन ।

यस्तै, संस्कृतविद जगमान गुरुङ भन्नुहुन्छ, ‘पिशाच चतुर्दशीका दिन बेलुका नेवार समुदायले लुकेको महादेव (लुकुमहाद्यः)को विशेष पूजा आराधना गरी मनाइन्छ । पूजामा ‘पञ्चमकार’को प्रयोग गरिन्छ । ‘पञ्चमकार’ अर्थात् माछा, मासु, जाँड, रक्सी, अदुवा र समयबजी हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?