logo
२०७९ मंसिर ११ आईतवार



हाेलीमा प्रयाेग हुने कुन रङ्गकाे के छ महत्व ?

पढ्नै पर्ने |
समाज |


हाेलीमा प्रयाेग हुने कुन रङ्गकाे के छ महत्व ?
तस्बिर : सागर बस्नेत


काठमाडौं, चैत्र ३ गते । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई परम्परागत रूपमा विभिन्न रंगसँग खेली मनाउने परम्परा छ ।
होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो । इतिहासकारहरू मान्छन् कि यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो । यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ । नारद पुराण र भविष्य पुराण जस्तो प्राचीन हस्तलिपीहरू र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ ।
संस्कृतविद् जगमान गुरुङका अनुसार नेपालमा वडा दशैंलाई विजया दशमी, तिहारलाई दीपावली भन्ने चलन बढेको जस्तै फागुलाई पनि होली भन्ने शब्दको प्रयोग भएको हो । भारतमा र नेपालको मधेशमा होली र नेपालको पहाडमा फागु भन्ने प्रचलन छ ।
पहाडमा फागु अघिल्लो दिन र मधेशको होली भोलिपल्ट मनाउने चलन छ । किनभने नेपालको पहाड र नेपालको मण्डलमा फागुन शुक्ल पूर्णिमा ब्रतको दिनमा फागु खेलिन्छ । फागुन शुक्ल अष्टमीको दिनदेखि फागु शुरु हुन्छ । फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर–विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिन्छ । फागुपर्व पूणिर्माको राति उक्त चीर –लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको भनिन्छ ।
गुरुङ भन्नुहुन्छ, ‘चीर भनेको ‘मेल’ को बोट अर्थात जंगली नास्पातीको बोट हो । जसलाई नेपाली भाषामा ‘मेल’ भनिन्छ । जसको हांगोमा विभिन्न रंगीचंगी कपडाको टालोहरु झुन्ड्याउने चलन छ । त्यसपछि फागुन शुक्ल पूर्णिमाको मध्य रातमा चीरलाई ढालेर दह गरिन्छ । तर भारत र नेपालको मधेशमा होलीका दहन भन्ने चलन छ । जुन होलीको भोलि खेलिन्छ ।’
‘होलीको सम्बन्ध होलीकासँग छ । होलिका भन्नाले हिरण्यकाश्यपको छोरा भक्तप्रलाद हो । उहाँ विष्णुका भक्त हुनुहुन्थ्यो,’ उहाँले भन्नुभयो ।
इतिहास
होलीको बारेमा पौराणिक भनाइ अनुसार प्राचीन समयमा अथवा त्रेता युगमा नास्तिक हिरण्यकश्यपु नामक एक राक्षसको जन्म भएको थियो । हिरण्यकश्यपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए । हिरण्यकश्यपुका छोरा प्रह्लाद बिष्णुका परम भक्त थिए । आफ्नै छोरा प्रह्लादले भगवान विष्णुको आराधना गरेको हिरण्यकश्यपुलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएका थिए । एक योजना अनुसार हिरण्यकश्यपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्) लाई जिम्मा दिएको थियो । दाजुको आदेश अनुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन ।
यसरी होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ । भारतको र नेपालको मधेशको होली होलीका राक्षसनीसँग सम्बन्धित छ ।
यस्तै, डा.गुरुङ भन्नुहुन्छ, ‘नेपालको पहाड खण्डको र नेपाल मण्डलको फागु मनाउने परम्परा भगवान श्री कृष्णसँग सम्बन्धित छ । भगवान कृष्णले गोपीनीहरुलाई चीर हरण गरेको र गोपिनीहरु र भगवान कृष्णको रासलीलासँग जोडिएको छ । रासलीला अर्थात भगवान कृष्ण बासुरी बसाएर बीचमा नाच्नुहुन्छ, वरिपरि गोपिनीहरु पनि नाच्दै रंग महोत्सव मनाउछन् । यसरी भगवान कृष्णको रासलीलाको रुपमा नेपालको पहाड खण्ड र नेपाल मण्डलमा फागु मनाइन्छ ।’
फागु र होलीको अर्थ पृथक रहेको र फागु रंग महोत्सव रहेको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘मानिसका छाला जन्य रोगहरुलाई निवारण गर्नको लागि विभिन्न थरीका रंगहरुको प्रयोग गरिएको हो । तर अहिलेको रंगमा विषादी धेरै छ । पहिलेका हर्वल रंगले छाला जन्य रोगको निवारण गर्ने काम ग¥थ्यो । ’
किन फागुन मै होली मनाइन्छ ?
फागु पूर्णिमा लागेपछि दिन घमाइलो हुने गर्दछ । आमोद प्रमोद मनोरञ्जनका कुरा पनि यससँग जोडिएको छ । पुष माघको जाडो छल्दै रंग महोत्सव फागुनमा मनाउने परम्परमा बनेको डा.गुरूङ्ग बताउनुहुन्छ ।
होली रंगको पर्व किन ?
उहाँ भन्नुहुन्छ, ‘सूर्यका सात वटा किरण छ । यो ‘कलर थेरापी’ हो । सप्तरंगीको प्रयोगबाट छालाजन्य रोगको निवारण हुने भएकाले होलीलाई रंगको पर्व भन्ने गरिन्छ । यस बाहेक मनलाई पनि प्रफुल्ल बनाउने उद्देश्यले मनोवैज्ञानिक रंगमा खेल्दै होली पर्व मनाइन्छ ।’
‘पृथ्वी नारायण शाहको पालामा जुजु महाराजाहरुले फागु मनाउन भारतबाट पत्रियाहरु आउने चलन थियो । उनीहरु नाच्ने, गाउने र बाजा बजाएर मनोरञ्जन गराउने गर्थे । तर पृथ्वीनारायण शाहले ती पत्रियाहरुले आफ्नो देशका सूचनाहरु भारतमा दिने डरले पत्रियाहरु बेलाउने चलनलाई बन्द गराउनुभएको’, उहाँको भनाई छ ।
रंगले हाम्रो मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । होलीमा विशेषतः रातो, हरियो, पहेँलो तथा नीलो रंग बढी प्रयोग हुन्छ । कुनैपनि रङको प्रयोग गर्नूपूर्व त्यसको फाइदा, बेफाइदा, महत्त्व र रंगको प्रतीक बुझ्नु आवश्यक छ ।
रातो : रातो रंगलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ । त्यसैले देवताहरूले रातो रंगको पहिरन लगाएका हुन्छन् । अधिकांशलाई मन पर्ने रंग हो– रातो । यसलाई शुद्धता एवं पवित्रताको प्रतीक मानिन्छ । हरेक धार्मिक कार्यमा यसको प्रयोग हुन्छ । स्वच्छ, सफा र चित्त शुद्धिको प्रतीकका रूपमा लिइने यो रंग होलीमा पनि विशेष प्राथमिकताका साथ प्रयोग गरिन्छ । रातो रंगलाई साहस र प्रेमको प्रतीकका रूपमा पनि लिइन्छ ।
हरियो : हरियो रंगलाई प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ । यसलाई जीवनशक्तिको भित्री मर्म बुझ्ने जीवित रंग पनि भनिन्छ । हरियो रंग मन पराउने मानिसहरू प्रकृतिलाई माया गर्ने खालका हुन्छन् । यो रंग मन पराउने मानिसहरूको आत्मविश्वास कम हुने विश्वास गरिन्छ ।

पहेंलो : यो रंगलाई भक्ति र धर्म परायणताका रूपमा लिइन्छ । यो रंग मन पराउने मानिसहरू धर्मकर्मप्रति बढी विश्वास गर्छन्। कतिपय समुदायमा त रातो र पंहेलो अबिर दलेर होली खेल्ने परम्परा पनि छ । यो रंगको सम्बन्ध खुसी र हर्षसँग पनि छ । मनोविज्ञहरूका अनुसार यो रंग मन पराउने मानिसहरू रमाइलो एवं आत्मीय व्यवहार गर्न उत्साहित हुन्छन् ।

नीलो : नीलो रङ्गलाई धर्मयुद्धको प्रतीक मानिन्छ । त्यसैले नील बर्णका भगवान बिष्णुले अधर्मको नाश गर्न र धर्मको रक्षा गर्न प्रत्येक युगमा अवतार लिँदै आएको मान्यता पनि सुन्न पाइन्छ । यो रंगलाई शान्ति र सन्तुलनको प्रतीकका रूपमा लिइन्छ । त्यसैले पनि यो रंगको प्रयोग बढी हुन्छ । यो रंग मन पराउने मानिसहरू सन्तुलित विचारधाराका हुन्छन् ।
कालो : होलीमा कालो रंगको पनि व्यापक प्रयोग हुन्छ । यो रंग ईष्र्या र स्वार्थसँग सम्बन्धित हुन्छ । यो रंग मन पराउने मानिसहरू आफ्नो इच्छा र भावना खुलस्त रूपमा भन्न चाहँदैनन् । तुरुन्तै रिसाउने खालका हुन्छन् ।

सेतो : धेरैलाई मन पर्ने रंग हो– सेताे । यो रंगलाई शुद्धताको प्रतीक मानिन्छ । कर्ममा विश्वास राख्ने व्यक्तिहरू सेतो रंग मन पराउँछन् । चहकिलो सेतो रंगलाई सफा एवं आकर्षणको प्रतीकका रूपमा लिइन्छ ।

होलीले विकृति निम्त्याउँदै
गुरुङका अनुसार होली आजभोलि संस्कृति भन्दा बढी विकृति निम्त्याउने कारण बनेको छ । किनभने अहिले होलीमा मोबिल लगाउने, हिलो छ्याप्ने सामान्य मान्छन् । पछिल्लो समय बजारमा दूूषित विषादीयुक्त रंगहरु आएको छ जुन स्वास्थ्यको लागि राम्रो हैन ।
‘होली पनि सभ्य र सद्भावसँग मनाइएको देखिदैन । जबरजस्ती रंग लगाउने, लोला हान्ने जसता कामहरु बढेको देखिन्छ, उहाँ भन्नुहुन्छ, ‘फागुलाई मर्यादित बनाउनुपर्ने र यसको लागि हामी आफै चेतनशील भई सरकारले लगाएका नियमको पालना गर्नुपर्ने उहाँको भनाई छ ।’
पहिले र अहिलेको होलीमा धेरै फरक देखिएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार पहिलेको होली मर्यादित थियो भने अहिले अमर्यादित धेरै भयो ।
गुरुङ भन्नुहुन्छ, ‘जस्तै नेपाल मण्डलका नेवारहरुको डाफा भजनमा फागुन शुक्ल अष्टमी लागेपछि फागुको राग गाउने परम्परा छ । र अहिले जस्तो जवरजस्ती गालामा दल्ने हैन की थोरै अविरले हान्ने चलन थियो । ’हाई रे...’ गीत गाउँदै अविर हानेर मनाउने गर्थे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?