logo
२०७९ मंसिर १९ सोमवार

  विश्व रङ्गमञ्च दिवस  



'यस क्षेत्रमा लाग्नेलाई  लक्ष्मीले भन्दा सरस्वतीले बढी पत्याउनुभएको छ'

मनोरञ्जन |


'यस क्षेत्रमा लाग्नेलाई  लक्ष्मीले भन्दा  सरस्वतीले  बढी पत्याउनुभएको छ'


काठमाडौं, चैत्र १३ गते । वरिष्ठ अभिनेता एवं रङ्गकर्मी हरिहर शर्माले रङ्गमञ्चमा आफ्नो ५० वर्ष बिताइसक्नुभएको छ । उहाँले रङ्गमञ्चको यात्रा विद्यालयको वार्षिक उत्सवमा गरिएको पहिलो नाटकबाट गर्नुभएको हो । उहाँ भन्नुहुन्छ, ‘त्योबेला म १२ वर्षको मात्र थिएँ । मेरो लागि पहिलो रङ्गमञ्च मेरो विद्यालय नै हो ।’

विद्यालयको रङ्गमञ्चबाट उहाँको यात्रा सुरु भयो । यसरी राष्ट्रिय सभागृह, पुलिस क्लब, राष्ट्रिय नाचघरको रङ्गमञ्च हुँदै २०३० सालदेखि प्रज्ञा प्रतिष्ठानको रङ्गमञ्चमा उहाँले नाटक गर्नुभयो ।

नेपालमा नाटकको इतिहास वा मुहान के के हुन् भनेर खोज्दै जाँदा निकै पुरानो इतिहास कोट्याउनु पर्ने शर्मा बताउनुहुन्छ । ‘यसको लामो व्याख्या गर्नुपर्ने हुन्छ,’ उहाँ भन्नुहुन्छ, ‘नाटक वैदिक कालदेखि सुरु भएको मानिन्छ । यस्तै विकासवादी सिद्धान्तका अनुसार मानव सभ्यताको विकासका साथै नाटकको विकास भइरहेको छ । र समाज शास्त्रीय मान्यता अनुसार मानव जातिको लोक संस्कृतिको जन्म भएदेखि नाटकको जन्म भएको भन्न सकिन्छ ।’ उहाँका अनुसार धार्मिक पर्व र उत्सवहरुलाई अभिनयको स्रोतको रुपमा लिइन्छ । त्यसैले नेपालमा यही समयमा नाटकको सुरुवात भयो भन्न सकिन्न । अभिनयको उद्गम हाम्रो धार्मिक पर्व, उत्सव, संस्कार र हाम्रा जीवन पद्धतिहरु हुन् ।

उहाँका अनुसार नाटक सजिलो भन्ने हुँदैन । ‘अहिले पनि नाटक गर्न गाह्रो छ, तर त्यो बेला कुनै प्रविधिको विकास भएको थिएन, मानिसमा चेतना स्तरमा कमी थियो,’ उहाँले भन्नुभयो । ‘नाटक गर्दा अप्ठ्यारो नै हुन्छ, दुख हुन्छ,’ उहाँ भन्नुहुन्छ, ‘हाम्रो पालामा मनोरञ्जनका साधन र स्रोतहरु थिएनन्, कहिलेकाहिं मात्र नाटक देखाइन्थ्यो । त्यसैले हाम्रो अवस्था गाह्रो थियो ।’ तर अहिले रङ्गमञ्चप्रति मानिसको झुकाव बढ्न थालेको छ । सामाजिक, राजनितिक, आर्थिक र सांस्कृतिक अवस्थाहरुका धेरै परिवर्तन आएको छ । उन्नती हुँदै गएको छ, उहाँले भन्नुभयो ।

उहाँका अनुसार साहित्य र कला एक सिर्जनशील क्षेत्र हो । यस क्षेत्रमा लाग्नेलाई  लक्ष्मीले भन्दा बढी सरस्वतीले पत्याउनुभएको छ । त्यसैले यो क्षेत्रमा लाग्ने अधिकांश व्यक्तिको आर्थिक अवस्था कमजोर नै हुने उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, ‘आर्थिक पक्ष उकास्नै नसकेको कारण धेरै प्रतिभा पलायन भएका छन् । प्रतिभा र जीवन यापन दुई फरक कुरा हुन् । जीवन यापन गर्ने सन्दर्भमा कतिमा नेपालमै बसेर सङ्घर्ष गर्छु भन्ने अठोट हुन्छ ।’ कतिपय आर्थिक अवस्था कमजोर भएकै कारण प्रतिभाषाली व्यक्ति आयआर्जन गर्ने उद्देश्यले विदेश पुग्ने उहाँ बताउनुहुन्छ ।

आफू पनि यसको प्रतिनिधि पात्र भएको कारण दुःखलाई विर्सदै नाटक गर्दाको सन्तुष्टि र आनन्द उच्चकोटीको हुने र त्यही नै नाटक गर्नुको सुखानुभूति भएको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘रङ्गमञ्च अभिनयको आधारभूत थलो हो । रङ्गमञ्चबाट कलाकारले थुप्रै माध्यम पाउने गर्छन् । त्यसैले यस क्षेत्रमा आर्थिक रुपले जति पीडा भए पनि मानसिक रुपले सन्तुष्टि मिल्ने उहाँको भनाइ छ ।

नाटकमा तालिमको विशेष महत्व रहेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘परिष्कृत हुनको लागि तालिमको आवश्यकता पर्दछ । अभिनयमा प्रतिभासँसगै तालिमको पनि महत्व हुन्छ ।’

हरेक वर्षको मार्च २७ तारिखमा विश्व रङ्गमञ्च दिवस मनाउने चलन छ । मार्च २७ को यो चलन सन् १९६१ बाट सुरु भएको हो । युनेस्कोले मार्च २७ लाई र३्रगमञ्च दिवस मनाउने घोषणा सन् १९४८ मा नै गरेको हो र सन् १९६१ बाट यस दिवसले साकार हुन पाएको हो ।

मुख्यतया विश्वभरका कलालाई प्रवर्धन गर्न, कलाको महत्व विश्वमा थप बढाउन र नृत्य अनि अभिनयलगायतका कलाका विधालाई थप चौडा भएर विश्वभर महत्व दिलाउन यस दिवसको आयोजना गर्ने गरिन्छ । यसो गर्नाले रङ्गमञ्च अनि कला र कलाकर्मीको राष्ट्रिय र विश्व स्तरमा महत्व अनि कलाप्रतिको मोह बढ्ने हुन्छ ।

रङ्गमञ्च, सडक नाटकदेखि चलचित्रसम्म रङ्गमञ्चका उत्पादनहरु देख्न सकिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?