logo
२०८१ बैशाख १३ बिहीवार



नेपालमा लोकप्रिय बन्दै 'नेल आर्ट'

कला |
खुला |


नेपालमा लोकप्रिय बन्दै 'नेल आर्ट'


काठमाडौं, चैत ५ गते । नङ हात खुट्टाको आर्कषण हो । सफा र राम्रो नङले मानिसकाे व्यक्तित्व झल्काउने काम गर्छ । विशेषगरी महिलाहरुले सुन्दर र राम्री बन्न विभिन्न तरिकाहरु अपनाउने गर्छन् । यसरी महिलाहरुको सौन्दर्यता लागि बजारमा नयाँनयाँ प्रविधिहरु भित्रिने क्रम पनि जारी नै हुन्छ ।

ती मध्य नेल आर्ट वा नेल एक्सटेन्सन पनि अहिलेको समयमा लोकप्रिय बनेको छ । आफूलाई नयाँ डिजाइनमा ढाल्ने नारीहरुमा अहिले नेल आर्टको आर्कषण बढ्दो छ । साधारण तरिकाले नेल पोलिस गर्ने नारीहरु पनि अहिले आर्टतिर आर्कषित भएका छन् ।

पहिलेपहिले नङलाई लामो अनि विभिन्न सेप दिएर पोलिस मात्र लगाउने चलन थियो । तर अहिले समयको मागसँगै कपडामा नयाँ डिजाइनहरु आएजस्तै, नङलाई पनि आकर्षक बनाउने विभिन्न उपाय आएका छन् ।

फ्याक्सिनेटेड ब्युटि ट्रेनिङ स्कुलका सञ्चालिका लक्ष्मी महतका अनुसार नङलाई राम्रो र आकर्षक बनाउन गरिने डिजाइन 'नेल आर्ट' हो । नङ सुहाँउदो रंगको प्रयोग र मिल्दो बुट्टा भर्ने कामलाई नेल आर्ट भनिन्छ । सफा र मिलेका नङलाई झन् सुन्दर र आकर्षक पार्ने काम नेल पोलिसले गर्दछ । यसरी नेल पोलिसिमै सुहाँउदो र आकर्षक बुट्टा भर्न सकिन्छ । नङलाई राम्रो बनाउने निहुँमा जथाभाबी पोलिसको प्रयोग गर्नुहुँदैन । यसले नङको सुन्दरतामा कमी ल्याउने काम गर्छ ।

नेल आर्टले हातको सुन्दरता बढाउने काम गर्छ । प्रायले साधारण नेल पोलिस वर्षैभरि प्रयोग गर्ने गर्छन् । यसले नङमा अक्सिजनको कमी हुन्छ र पँहेंलो हुँदै जान्छ । पोलिस लगाउनुअघि भिटामिन ई भएको 'बेसकोट' लगाएर मात्र पोलिस लगाउनुपर्छ । साधारण पोलिसको प्रयोग गर्नुभन्दा केही समयको लागि 'नेल एक्सटेन्सन' गर्नु नै राम्रो हो । नेल आर्टको तरिका जानेको ब्युटिसियनसँग गर्नु राम्रो हुन्छ । नेल आर्ट जुनसुकै हातमा गर्दा पनि राम्रो हुन्छ । गोरो हातमा मात्र राम्रो हुन्छ भन्ने मानसिकता गलत हो ।


नेल आर्टका तीन तरिका

एक्रिलिक नेल यो पाउडर बेसमा हुन्छ । यसबाट नङ नै बनाइन्छ अर्थात् प्राकृतिक नङ जस्तै देखिन्छ । अर्को जेल नेल र सफ्ट जेल हुन्छ । जेलमा किल्न्जरको प्रयोग हुन्छ । नेल आर्टमा जुनै पनि डिजाइन राख्न सकिन्छ ।

यस्तै, नेल आर्ट गर्दा सुरुमा नङलाई सफा गरेर बेसकोट लगाउनु पर्छ । त्यसपछि आफनो पहिरन अनुसार सुहाउँदो नेल पोलिस लगाउने । नेलपोलिस सुकि सकेपछि त्यसको माथिबाट नङलाई आकर्षक बनाउनका लागि विभिन्न ग्लिटर, स्टोनजस्ता सामाग्री लगाउन सकिन्छ । यस बाहेक अहिले मानिसहरुले नेलमा कागजको प्रयोग पनि गरेको पाइन्छ । यो फरक डिजाइन देखिन्छ । नङ राम्रो छैन, भाँच्चिने समस्या छ, पार्टीको लागि पहिरन अनुसार सुहाउने नङ बनाउनुपर्नेछ भने तिनका लागि नेल एक्सटेन्सन बेस्ट छ । नेल एक्सटेन्सन गर्दा हात पनि राम्रो र सफा देखिन्छ । विशेष त हात राम्रो बनाउनका लागि नै नेल आर्ट र एक्सटेन्सन गर्ने गरिन्छ ।

पहिलेपहिले नेलमा ब्रस आर्ट बढी चल्थ्यो । पछि वाटर मार्बलकाे चलन आयो । जुन पोलिसलाई पानीबाट डिजाइन निकालेर नङमा आर्ट गरिन्छ । तर अहिले बजारमा विभिन्न आर्ट गरिएका रेडिमेड नङहरु किन्न पाइन्छ । जसलाई टाँसे मात्र पुग्छ । यसरी नेल आर्टको काम छिटो र छरिटो हुन थाल्यो । समयको बचत भयो ।

नेपालमा नेल आर्ट

२०१० मा नेपालमा फ्याक्सिनेटेड ब्युटि ट्रेनिङ स्कुलका सञ्चालिका लक्ष्मी महतले पहिलो 'नेल आर्ट सेमिनार' गर्नुभएको थियो ।  त्योभन्दा अगाडि नेल आर्ट नेपालमा भित्रिसकेको हो भन्ने हल्ला त थियो तर प्रष्ट थिएन । त्याे नेल आर्टको सेमिनार नेपालको लागि पहिलो थियो । आफूले थाइल्यान्डमा नेल आर्टको तीन महिने तालिम लिएको महत बताउनुहुन्छ ।

नेल आर्टमा कस्तो रंग उचित ?

नेल आर्ट गर्दा रङहरुको संयोजन मिलाउनुपर्छ । रङलाई मिसाएर आर्ट गरिने भएकाले विभिन्न रङको म्याचिङ पनि राम्रो हुनुपर्छ । विवाहित महिला र बेहुलीका लागि नेल आर्टमा धेरै रातो र गाेल्डेन रङमा मिल्दो आर्ट कोर्ने गरिन्छ । त्यस्तै अविवाहित नारीका लागि कालो र सेतो, नीलो गुलाफीमा मिल्दो कुनै पनि रंगले आर्ट गर्न सकिन्छ । राम्रो तथा आकर्षक ढंगबाट नेल आर्ट र एक्सटेन्सन गर्न कम्तीमा एकदेखि दुई घण्टासम्म लाग्छ ।

नेल आर्टका बेफाइदा

नेल एक्सटेन्सन गर्दा ग्लुको प्रयोग गरेर नेल बनाउनुपर्छ, र त्यसमा हाम्रो प्राकृतिक नङ हल्का बफिङ गर्नुपर्ने हुन्छ जसले नङलाई पातलो बनाउछ । यसरी नङ बढ्दै माथि आएपछि भाँच्चिने समस्या हुन्छ । नेल एक्सटेन्सन गर्दा प्रयोग हुने 'ग्लु' ले कतिलाई एलर्जी पनि हुन्छ ।

नेल आर्ट गरि सकेपछि त्यसलाई धेरै दिन या लामो समयसम्म नङमा राख्न मिल्दैन । लामो समयसम्म नङमा पोलिस राख्दा नङ सुन्निने, फुल्ने, कालो हुने जस्ता समस्या आउन सक्छ । नङमा लगाएको पोलिस रिमुभ गरेपछि केहिदिन पोलिसको प्रयोग गर्नुहुँदैन । साबुन पानीले हात धाेएपछि नङमा भ्यास्लिनले सफा गर्नुपर्दछ । यसो गर्दा कुनै साइड इफेक्ट हुँदैन ।

(फ्याक्सिनेटेड ब्युटि ट्रेनिङ स्कुलका सञ्चालिका लक्ष्मी महतसँग गरेको कुराकानीमा आधारित आलेख ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?