logo
२०८१ बैशाख ७ शुक्रवार



युवामाझ लोकप्रिय बन्दै 'फेसियल'

पढ्नै पर्ने |
समाज |


युवामाझ लोकप्रिय बन्दै 'फेसियल'


काठमाडौं, चैत्र १९ गते । पछिल्लो समय युवादेखि वृद्धसम्म सुन्दर देखिन अनेक उपाय अपनाउने गर्छन् । सुन्दर देखिनकै लागि बजारमा उपलब्ध नयाँ कस्मेटिक सामग्रीहरु प्रयोग गर्ने गर्छन् । त्यसमा पनि युवामाझ फेसियल लोकप्रिय बन्दै गएको पाइन्छ । फेसियल महिलादेखि पुरुष दुवैको रोजाइमा पर्ने गर्छ ।
अनुहारलाई चम्किलो र फ्रेस राख्न फेसियल गरिन्छ । धूलो, धूवाँका कारण छालामा नराम्रो असरले अनुहारको प्राकृतिक चमक हराउने गर्छ । हामी दिनहुँ क्लिनजिङ, मोइस्चराइजर, सनब्लक र नाइट क्रिमहरु लगाउँछौं, त्यो आफ्नो ठाउँमा छ । तर त्यतिले मात्र छाला राम्रो र चम्किलो हुँदैन । फेसियल गर्दा यसले छालाको गहिराइसम्म पुगेर सफा गर्ने र छालालाई चमक दिने काम गर्दछ ।
फेसियलका प्रकार
फेसियल विभिन्न प्रकारबाट गर्न सकिन्छ । फेसियल छालाको प्रकार अनुसार छुट्टाछुट्टै गर्नुपर्दछ । सबैजनालाई एउटै प्रकारको फेसियल उपयुक्त नहुन सक्छ । उमेर र छालाको प्रकार र अनुसार फेसियल किटको छनोट गर्नुपर्छ । फेसियलको प्रकारमा ‘एन्टी एजिङ फेसियल’, ‘पिगमेन्टेसन’, कम उमेरको फेसियल ‘फु्रट फेसियल’ जस्ता अन्य धरै पर्दछन् ।
यी मध्य सबैभन्दा बढी रुचाइने ‘गोल्ड फेसियल’ हो । यसले छालालाई चम्किलो बनाउन मद्धत गर्दछ । यो फेसियलले छालालाई मुलायम बनाइराख्छ । यसले छिट्टै रिजल्ट दिने कारण अरु फेसियल भन्दा यो बढी रुचाइएको हो । तर गोल्ड फेसियल सबैका लागि उपयुक्त नहुन सक्छ । ‘ब्राइडल मेकअप’ गर्नु दुई दिन अघि मात्र ‘गोल्ड फेसियल’ गरेमा यसले अनुहार चम्किलो र सफा देखाउँछ ।बढ्दो उमेरलाई रोक्न ‘एन्टी एजिङ फेसियल’ को प्रयोग गर्नुपर्छ । यसले छालालाई कसिलो बनाउने काम गर्दछ ।

यस्तै, चिल्लो छाला भएकाहरूमा डन्डिफोर वा पिम्पल जस्ता समस्या देखिने गर्छ । यस्ता छाला हुनेहरूका लागि भने चिल्लो हुने फेसियल किटको प्रयोग गर्नु हुँदैन । सामान्य छाला भएकाहरूले ‘फ्रुट फेसियल’ गर्दा राम्रो हुन्छ  । ‘फु्रट फेसियल’लाई प्राकृतिक फेसियलको रुपमा लिइन्छ ।
फेसियल आफैले घरमा गर्न सम्भव हुँदैन । फेसियल गर्ने विधि र तरिका तालिमप्राप्त ब्युटिसियनलाई मात्रै थाहा हुन्छ । आफ्नो छालाअनुसार कस्तो प्रकारको फेसियल गर्ने भन्ने कुरा ब्युटिसियनलाई नै धेरै अनुभव हुन्छ । ‘मिनि फेसियल’ भने आफैले घरमा गर्न सकिन्छ । ‘मिनि फेसियल’मा ‘क्लिनजिङ’, ‘स्क्रब’ र ‘प्याक’ लगाउने हो र सोहि अनुसार घरमा गर्न सकिन्छ ।

फेसियल किन गर्ने ?
फेसियल हरेक २८ दिनदेखि एक महिनासम्म गर्नुपर्छ । २० वर्ष कटेपछि फेसियल आवश्यक हुन्छ । छालालाई बिग्रिनबाट बचाउन नियमित फेसियल गराउने हो ।
कतिपयले २५ वर्षको कटेपछि मात्र फेसियल गर्नुपर्छ भन्ने गर्छन् तर त्यो गलत हो । कतिपय महिलाको २० देखि २२ वर्षको उमेरसम्म नै अनुहारमा चाउरीपन देखिएको हुन्छ । यस्तो अवस्थामा फेसियल गर्न अत्यन्तै जरुरी हुन्छ । २५ देखि ४५ वर्षको उमेरसँगै ‘एजिङ एज’ सुरु हुँदै जान्छ । यस उमेर समूहका व्यक्तिले गर्ने फेसियल फरक छ । नियमित फेसियल गर्दा छाला नरम, जवान र चम्किलो देखाउँछ । यसले अनुहारको छालामा रक्त प्रवाह बढाउने काम गर्दछ । फेसियलले अनुहारलाई गोरो देखाउनुका साथै स्वस्थ राख्छ ।

फेसियल गर्न कुन समय उपयुक्त ?
समयको हिसाबले फेसियल ३.०० बजे पछाडि गर्दा राम्रो हुन्छ । बिहानको समयमा फेसियल गर्दा मध्यघामले डढ्ने र कालो हुन्छ । फेसियल गरेको छाला ‘बेबी स्किन’ जस्तै हुन्छ । अनुहारको एक लेयर छाला वा मृत कोस स्किन सेललाई निकालिन्छ । त्यसैले फेसियल गरेपछि मोइस्चराइजर र सनब्लक लगाउनुपर्छ ।
कस्तो अवस्थामा फेसियल गर्नुहुँदैन ?
प्रेग्नेन्सीको अन्तिम चरण चलिरहेका महिलाहरुलाई फेसियल गर्नुहुँदैन । फेसियल गर्दा विभिन्न क्रिमको प्रयोग हुन्छ । जस्तै, नाक वरपरका ‘ब्ल्याक हेड्स’ निकाल्न ‘पिन’को प्रयोग गरिन्छ । यसको दुःखाइ सहन गाह्रो हुन्छ । त्यसैले मधुमेह र उच्च रक्तचापका बिरामीलाई त्यही अनुसारको हेरविचार गर्नुपर्ने हुन्छ । गर्भावस्थाका महिलाहरुका लागि आठ महिनापछि फेसियल गर्नु हुँदैन ।फेसियलका बेफाइदा
फेसियल भनेको अनुहारको मसाज गर्ने एक विधि हो, जुन गलत मसाजले अनुहारमा झनै चाउरीपन देखिने हुनसक्छ । मसाजको टेक्निकहरु नजानिकनै फेसियल गर्दा छाला झोल्लिने, चाउरी हुने समस्या हुने गर्छ । त्यसैले घरमा फेसियल गराउनुको सट्टा राम्रो पार्लरमा गराउँदा यसको राम्रो फाइदा लिन सकिन्छ ।
(फ्याक्सिनेटेड ब्युटि स्कुलका सञ्चालिका लक्ष्मी महतसँग गरेको कुराकानी )

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?