logo
२०८१ बैशाख १२ बुधवार



भगवानको विशेष रचना हो - 'तेस्रोलिङ्गी'

पढ्नै पर्ने |
खुला |
समाज |


भगवानको विशेष रचना हो - 'तेस्रोलिङ्गी'


काठमाडौं, फागुन ७ गते । नैकापको एक सामान्य परिवारमा कैलाश श्रेष्ठको जन्म भयो । बच्चालाई सानैमा नानी बाबु भन्दै त्यही अनुसारको खेलौना दिइन्छ । छोराले गुच्चा, बन्दुक र बल खेल्न मन पराउँछन् भने छोरीले पुतली, भाँडाकुँडा र टाउकोमा सल बाँडेर नाच्न मन पराउँछन् । तर कैलाश फरक थिए । उहाँको इच्छा चाहना पनि फरक थियो । बाहिरी रुप पुरुषको भएतापनि उहाँलाई भित्रदेखि महिला बन्न मन पर्थ्यो । चार–पाँच वर्षकै उमेरदेखि घरमा भाँडा माझ्ने, लुगा धुनेलगायतका काममा आमालाई सहयोग गर्नुहुन्थ्यो ।

‘दिदीको लुगा, लिपिस्टिक लगाउने रहर लाग्थ्यो र त्यस्तै गर्थें,’ उहाँ भन्नुहुन्छ, घरमा भने ‘अहिले बच्चै छ, ठूलो भएपछि आफैँ सोच हराउँछ’ भन्ने ठान्थे । परिवारले उमेर बढ्दै जाँदा मेरो व्यवहार केटा मान्छेकै जस्तो हुने आशा थियो । तर, मेरो व्यवहारमा परिवर्तन आएन । बरु, ममा केटीहरूको हाउभाउ नै बढी झल्किन थाल्यो । छोरा जन्मिएकाले परिवारमा निकै खुसी थियो । तर, त्यो खुसी खुसीमै सीमित रहृयो । उहाँ भन्नुहुन्छ, हुर्कंदै जाँदा मेरो व्यवहार, अनुभूति र आनिबानीमा फरकपन देखिन थाल्यो । ममा छोरी मान्छेको स्वभाव देखिन थाल्यो । मेरो व्यवहार देखेर सबै छक्क पर्थे । तर, मलाई भने केही अनौठो लाग्दैनथ्यो । सानोमा स्कुलबाट घर कहिले पुगौंला र कपालमा सल बाँडेर नाचौं भन्ने सोचमा उहाँ डुब्ने गर्नुहुन्थ्यो । पसलको कुनामा रहेको सानो रेडियोमा ती दिनहरुमा पुराना हिन्दी र नेपाली गीतहरु बज्थ्यो । गीतमा पनि पुरुष गायकको गीत बज्यो भने मन नपर्ने र महिला गायिकाको गीत बज्यो भने दिदीको कपडा लगाएर सल हल्लाउँदै उफ्रेर छमछम नाच्ने गर्थिन् रे । नाच्न पाएपछि न खाजाको धुन हुन्थ्यो न त गृहकार्यमा मन ।

–टिकटकमा अभिनय गर्नुहुँदै भूमिका

उहाँ भन्नुहुन्छ, ‘म को हुँ भनेर हरेक दिन आफूलाई प्रश्न गर्थे, समाजले दिने नाम फेरि यस्तै पीडादायी हुने । मन, भावना र व्यवहार सबै केटी जस्तै, सायद त्यसैले केटी साथीहरु धेरै बन्यो । केटा साथी बनाउँदा यो मभन्दा फरक छ भन्ने विचार मनमा आउँथ्यो । केटी साथीहरुसँग मन मिल्छ । कुनै पनि समस्या निर्धक्क भएर केटीहरुसँग खुलेर भन्न सक्थे । केटाहरूसँग कुरै मिल्दैनथ्यो । केटीहरूसँग नै बढी मिल्थें ।’ श्रेष्ठ सम्झिनुहुन्छ, मध्यम परिवारमा जन्मिए पनि मेरो बाल्यकाल सुखमय नै रहृयो । तर म आठ वर्षको हुँदा बुबाको मृत्यु भयो । बुबाको मृत्युको दुःखसँगै आर्थिकस्थिति कमजोर हुँदै गयो । सानो किराना पसल र त्यससँगै सानो चिया पसलबाट आएको आम्दानीले घर चलाउन उहाँकी आमालाई निकै धौधौ पर्थ्यो ।

–एक स्कुलका शिक्षिका र विद्यार्थीहरूसँग 

बुवाको मृत्युपछि पाँच कक्षादेखि म सरकारी स्कुलमा पढेँ,’ उहाँले भन्नुभयो । साथीहरुले छक्का, हिँजडा, नपुंसक भनेर हाँस्ने र उडाउने गर्थे । तिनीहरुको त्यस्तो व्यवहारले गर्दा मानसिक तनाव हुन्थ्यो । श्रेष्ठ भन्नुहुन्छ, ‘म अरूभन्दा फरक छु’ भन्ने मलाई लाग्थ्यो । तर म के हुँ भन्ने म आफैँलाई थाहा थिएन । ११ वर्षको हुँदा मैले त्यस्तो महसुस गरेँ । केटा मान्छेका रूपमा जन्मिएकाले परिवार र समाजले मलाई पुरुषकै व्यवहार गथ्र्यो । तर, मलाई म ‘केटी मान्छे हुँ’ भन्ने लाग्थ्यो । स्कुलमा, बाटो हिँड्दा साथीहरूले ‘छक्का, हिँजडा, नपुंसक’ भनेर जिस्काउँथे, उहाँले भन्नुभयो । विद्यालयमा हुँदा धेरै भेदभाव सहेको उहाँ बताउनुहुन्छ । विशेषगरी शौचालय प्रयोग गर्ने विषयमा ठूलो समस्या हुन्थ्यो । पाँच कक्षासम्म सबै साथीहरुसँगै लाइन बसेर ट्वाइलेट जान्थे तर सात आठ कक्षामा पुग्दा पुरुष शौचालय जान मन नलाग्ने र महिला शौचालय जान सजिलो थिएन । सहेर घर नै जाने गर्थे, उहाँले भन्नुभयो ।

टीनएजमा आउने परिवर्तन भूमिकामा आएन । उहाँ भन्नुहुन्छ, विपरीत लिङ्गप्रति आकषिर्त हुनुपर्ने उमेरमा मलाई भने केटाहरू नै मनपर्ने, म ड्रेसअप त केटाकै गर्थेँ, तर, केटीको जसरी गाजल, पाउडर लगाउँथे । ‘सरहरुले ‘केटा भएर केटाको जस्तै भएर हिँड्’ भन्नुहुन्थ्यो । तर, मैले कसरी सक्नु ? मेरो मन भित्रदेखि आएको, अनुभूति गरेको कुरा कसरी परिवर्तन गर्न सक्थेँ र ! यदि परिवर्तन गर्न सक्ने भए मानसिक यातना सहेर किन बस्थेँ होला ? शारीरिक बनावट केटाको भए पनि मन र भावना केटीको जस्तो थियो । मानसिक तनाव हुँदा म कोठामा चुकुल लगाएर एक्लै रोएर बस्थेँ, उहाँ सम्झिनुहुन्छ ।

कक्षा दशमा आफ्नो व्यवहारकै कारण उहाँले स्कुल छोड्न पर्यो । अर्को स्कुल गएर पढ्ने वातावरण त्यो समयमा थिएन । हक अकधिकारको विषयमा आवाज उठाउने क्षमता पनि थिएन, उहाँ भन्नुहुन्छ । यसरी केटा मान्छेको शरीरले केटीको व्यवहार देखाएकोमा उहाँलाई २०६१ सालमा स्कुलबाट निकालियो । शिक्षा दिने ठाउँबाटै मैले विभेद सहनुप¥यो, त्यसैले मैले एसइइ पास पनि गरिन । समाजले भूमिकालाई सधैँ नकारात्मक दृष्टिकोणले हेर्थे । साथीहरुले गर्ने व्यवहारले उहाँले पढाईलाई निरन्तरता दिन सकेनन् । शरीर पुरुषको भए पनि आत्मा र भावना महिलाको थियो ।

–क्याज्युल ड्रेसमा भूमिका

शरीरको बनावट अनुसार नै मानिसको व्यवहार हुनुपर्छ भन्ने मान्यतामा कैलाश पनि अड्किए अर्थात महिला र पुरुषको व्यवहार फरक हुनुपर्छ । जिम्मेवारी लिने समय बाल्यकालमा यसैगरी गाजल लगाउने, नाच्ने, आफ्ना इच्छा चाहना पुरा गर्दै उहाँ हुर्किनुभयो । तर जिम्मेवारी लिने समय आएपछि परिवारको सपना उहाँमा थुप्रिए । छोराको बिहे गर्ने सपमा पुरा गर्न उहाँमा दबाव थपियो । आफूले आफूलाई प्रश्न गर्न सुरु गरिन् के भगवानको अनौठो रचना हो ! अरु भन्दा फरक भगवानले बनाएर आफूमाथि भेदभाव गरेको निषकर्ष पनि निकालिन् । समाजले गर्ने नकारात्मक व्यवहार र विभेदका कारण आफ्नो अस्तित्वमाथि प्रश्न गर्न उहाँ बाध्य हुनुभयो ।

आफूलाई स्कुलमा पढाउने सरले पनि ‘जे जन्मेको त्यही बन्न सिक’ भन्दै गाली गर्ने दिनको याद ताजा भए । अर्थात तँ केटा होस् केटा जस्तो व्यवहार गर्न सिक भनेको भन्ने त्यो समयमा मात्र बुझेको उहाँ बताउनुहुन्छ । उहाँ आफूलाई केटा मनपर्छ पनि खुलेर भन्न सक्दैनथे । उहाँ भन्नुहुन्छ, आफूलाई केटा साथी मनपर्ने तर उही केटा साथीलाई भने अर्कै केटी मनपर्ने हुन्थ्यो । ‘कस्तो नर्क जस्तो जिन्दगी, संसारमा एक्लै, आफूलाई बुझ्ने मान्छे कोही छैन, किन भगवानले मलाई यस्तो बनायो भन्ने प्रश्नमा अल्झिएको थिए, उहाँ भन्नुहुन्छ । ‘ब्लु डायमन्ड’को यात्रा आफूले आफैँलाई बुझ्न नसकेको भूमिकाको मन दुख्थ्यो । यसैलाई हतियार बनाएर १७ वर्षको उमेरमा उहाँ ब्ल्यु डाइमन्ड सोसाइटीमा पुग्नुभयो ।

सन् २००४ को कुरा हो । घर जान म रत्नपार्कमा गाडी कुरिरहेको थिएँ । एकजना मान्छे मेरो छेउमा आउनुभयो । नजिकै आएर मसँग कुरा गर्न थाल्नुभयो । सुरुमा त अलि डराएँ । पछि बिस्तारै कुरा गर्न थाल्नुभयो । ‘हामी केटी भएर केटा मान्छेजस्तो बनेर बस्नुहुँदैन, यसरी कतिन्जेल लुकेर बस्ने’ भन्दै कुरा गर्नुभयो । म डरले बोल्न सकिन । ‘म पनि तिमी जस्तै हो, एउटा संस्था छ, हामीहरू जस्तै साथीहरू भएको, म तिमीलाई देखाउँछु जान्छौ’ भनेर उहाँले सोध्नुभयो । मैले पनि ‘हुन्छ’ भने । उहाँसँगै म अफिस हेर्न गएँ । त्यो अफिस ब्लु डायमन्ड सोसाइटीको रहेछ । ‘बाहिर सुन्ने गर्थे, छक्का र हिँजडाहरुको अफिस छ । जुन शब्दको अर्थ म बुझ्दिन थिएँ, उहाँ भन्नुहुन्छ, सुरुमा ब्ल्यु डाइमन्ड प्रवेश गर्दा डरले भागेँ । त्यँहा भेटिएका मानिसको व्यवहारले म तर्सिएँ । दारी, जुँगा भएको केटा मान्छे तर व्यवहार केटी जस्तै, उहाँहरुको हाँसो र बोलीले नै म तर्सिन्थे । बिस्तारै त्यहाँका कुराहरु मलाई सामान्य लाग्न थाल्यो, कुराहरू पनि बुझ्न थालेँ, उहाँले भन्नुभयो । ‘म एक्लै रहेनछु, मजस्तै धेरै मान्छे रहेछन् यो संसारमा’ भन्ने थाहा भयो ।

आफू जस्ता मानसिकता भएकालाई तेस्रोलिङ्गी भनिन्छ भन्ने यो संस्थाबाट थाहा भएकाे उहाँले बताउनुभयो । तर त्यतिबेलासम्म मैले धेरै दुव्र्यवहार सहिसकेको थिएँ, उहाँ भन्नुहुन्छ, ब्ल्यु डाइमन्ड मेरो ‘सेकेन्ड फेमिली’ बन्यो । संस्थामा सबैभन्दा कान्छी भएकाले सबैले माया गर्ने अनि आफ्ना भावनाहरु पोख्न उहाँलाई सजिलो भयो । यसरी १८ वर्षको उमेरमा उहाँले आफूलाई सम्पूर्ण रुपमा केटीकै भेषमा परिणत गर्नुभयो ।

–सेल्फी खिचेर रमानुहुँदै भूमिका

उहाँ भन्नुहुन्छ, ‘नखुल्दा जति समस्या थियो, खुल्दा पनि उत्तिकै समस्या छ । तर खुल्दा समस्या आए पनि त्यो समस्यासँग लड्ने क्षमताको विकास आफैँ हुनेरहेछ । समाजमा खुल्नु र नखुल्नुको फरक यही रहेछ । ‘हामी जहाँ जान्छौँ समाज त्यही आउँछ ।’ समाजले हरेक मान्छेलाई पछ्याउँछ, उहाँ भन्नुहुन्छ, ‘समाजमा गरिने हेला, हीनताबोध र कठोर बोलीले अझैँ पनि तेस्रोलिङ्गीहरु खुल्न डराउँछन् । जस कारण धेरै तेस्रोलिङ्गीहरु मानसिक रोगको सिकार बनेका छन् ।’ तर ब्ल्यु डाइमन्डले तेस्रोलिङ्गीको हक अधिकारको लागि आवाज उठाउने र विभिन्न कार्यक्रम सञ्चालन गरिने हुँदा सबैमा नयाँ जोस र जाँगर थपेको उहाँले महसुस गर्नुभएको छ । सायद, यो संस्थामा नआएको भए म एउटा कुण्ठाको जीवन बाँचिरहेको हुन्थेँ होला, उहाँ भन्नुुहुन्छ, यहाँ आइसकेपछि मेरो जीवन पूरै फेरियो । आफ्नो पहिचान पाएँ । म केटी हुँ । केटी नै थिएँ । केटी नै रहनेछु । त्यसपछि मलाई ड्रेस चेन्ज गर्नुपर्छ भन्ने लाग्यो ।

सुरु–सुरुमा त केटीको कपडा लगाएर हिँड्ने आँट नै आएन । बिस्तारै आफूलाई परिवर्तन गरेँ । समय लाग्यो तर हार मानिन । फरि केटा मान्छेको शरीर अनि केटीको ड्रेसअप र मेकअप गरेर हिँड्न थालेपछि धेरै मान्छेहरू झुक्किए । हेर्नमा राम्री नै छु । कतिपयले केटी भनेर भुक्किएर प्रेम प्रस्ताव राख्थे, तर बोली सुनेपछि मानिसहरु तर्सेर आफ्नो बाटो लाग्थे, कतिपयले भने थाहा पाएर पनि मलाई प्रेम गर्थे, उहाँ भन्नुहुन्छ । महिला बन्ने यात्रा गलत शरीर गलत आत्मा लिएर हिँडेको छु भनेर हीनताबोध महसुस गरेको उहाँले बताउनुभयो ।

–सन् २०१९ मा भएकाे मानवअधिकारसम्बन्धी अन्तराष्ट्रिय फिल्म फेष्टिभलमा

सन् २०११ मा थाइल्याण्डको राजधानी बेङ्ककमा दुई लाखमा उहाँले ब्रेस्ट इम्प्लान्ट ‘स्तन प्रत्यारोपन’ गर्नुभएको हो । दुःखाईको कारण बेकार गरेकोजस्तो पनि लाग्यो, उहाँ भन्नुहुन्छ । वि.सं २०६२ मा पहिलो नागरिकता लिनुभएको थियो । उहाँले पुरुष लिङ्ग कै नाममा नागरिकता लिनुभएको थियो । २०१५ मा अन्यको नागरिकता लिनुभयो । अन्यको नाममा नागरिकता लिएर पनि उहाँलाई पूर्ण भएको महसुस नभएको उहाँ बताउनुहुन्छ । समाजमा तेस्रोलिङ्गीलाई गरिने दुव्र्यवहार विरुद्धका कार्यक्रम सञ्चालन गर्नुहुन्छ । आफूले बाल्यकालमा भोगेको पीडा अरुले भोग्न नपरोस् भन्दै उहाँ यसमा लाग्नुभएको बताउनुहुन्छ ।

उहाँले कान्छी, हाइभ्यु, सिंहदरबार टिभी सिरियलमा पनि काम गर्नुभएको छ । कान्छी फिल्ममा तेस्रोलिङ्गीले जीवनमा गर्नुपर्ने संघर्ष प्रस्तुत गरिएको छ । तेस्रोलिङ्गी भविष्यमा एक्लै हुन्छन्, उनीहरुको बालबच्चा हुँदैन र बच्चा एडप्ट गरेर खुशी रहनसक्छौँ भन्ने सन्देश दिन खोजिएको छ । सयौं प्रभावशालीमा व्यक्तिमा भूमिका यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको महासंघ नेपालकी उपाध्यक्ष पनि हुनुहुन्छ ।

उहाँले यौनिक तथा लैङ्गिक अल्पसंख्यकको पहिचान र अस्तित्व स्थापित गर्न खेलेको भूमिकाको मूल्याङ्कन गर्दै बेलायती संस्था एपोलिटकलले २०१९ मा लैङ्गिक समानतासम्बन्धी शीर्ष सय व्यक्तिको सूचीमा उहाँलाई राखेको हो । यो सूचीमा परेपछि अल्पसंख्यकको पक्षमा आवाज उठाउन थप बल मिलेको छ भूमिकालाई । ‘यो त सुरूवात मात्रै हो । जबसम्म तेस्रोलिङ्गीले सम्मानजनक जीवनयापन र अधिकार पाउँदैनन् तबसम्म लडिरहनेछु,’ उहाँ भन्नुहुन्छ ।

यस्तै, २००७ को ‘मिस पिङ्क प्याजेन्ट’को उपाधी जितेपछि आफ्नो हकअधिकारको लागि अझैँ केही गर्नसक्छु भन्ने मनमा विश्वास र नयाँ बाटो खुलेको उहाँ बताउनुहुन्छ । त्यसपछि उहाँले बेङ्ककमा ‘मिस इन्टरनेशनल क्विन’ मा प्रतिस्पर्धामा जाने मौका पनि पाउनुभएको थियो । यसलगायत उहाँ नेपाल सरकार जनसेवा श्री पाचौं श्रेणी २०७८ बाट पनि विभूषित हुनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘समाजमा तेस्रोलिंगीलाई मध्यस्तरको रुपमा लिइन्छ । समय र परिस्थितिअनुसार हाँसोमजाक सबैले गर्नुपर्छ, तर तेस्रोलिङ्गीको काम सधैँ समाजलाई मनोरञ्जन दिलाउने होइन । यो गलत सोच हो ।’ हामीलाई पनि माया चाहिन्छ, माया भनेको भावना सद्भाव हो, जे जोसँग पनि हुनसक्छ ।

तीतो अनुभव

उहाँकाअनुसार तेस्रोलिङ्गीले सरकारबाट हामीले कुनै अवसर पाएको छैन । निजी होस् या सरकारी कुनै पनि निकायले तेस्रोलिङ्गीलाई स्वीकारेको छैन । तेस्रोलिङ्गीले यौनजन्य काम मात्र गर्नुपर्छ भन्ने धारणा छ, उहाँ भन्नुहुन्छ, यो मानसिकता हटाउनुपर्छ । उहाँ भन्नुहुन्छ, ‘नेपालको संविधानको धारा १५ मा नागरिकताविहीन कोही नहुने भनिएको छ । धारा १६ मा बाँच्न पाउने अधिकार उल्लेख गरिएको छ । तर कानुन बनाउँदा महिला र पुरुष मात्र नभई यौनिक तथा अल्पसंख्यकको पनि कानुन बन्नुपर्छ । यसरी २०६४ साल पुस ६ गते नपाल सरकारको लैंगिक अल्पसंख्यकलाई आफ्नो पहिचान अनुसार नागरिकता उपलब्ध गराउने नयाँ नीति आयो ।

–प्रशासन कार्यालयमा ज्ञापनपत्र हस्तान्तरण हुर्नुहुँदै 

नेपालको संविधानको धारा १२, १८ र ४२ मा तेस्रोलिङ्गीहरुको लागि नागरिकता, समानता र सामाजिक न्यायको विषय समेटिएको छ । फेरि कानुन बन्ने क्रममा तेस्रोलिङ्गीको बारेमा कुनै पनि कुरा समेटिएको छैन । बैंकमा खाता खोल्दा, लाइसन्स लिँदा धेरै समस्या भोगेको उहाँ बताउनुहुन्छ । यसरी २०१५ मा तेस्रोलिङ्गी समुदायका साथीले अन्यमा पहिलो नागरिकता लिएका हुन् । तर अन्यबाट नागरिकता लिँदा पनि तिमी अन्यमा पर्छौ कि पर्दैनौ भनेर मेडिकल प्रमाण मागेर दुःख दिने गरिएको उहाँ भन्नुहुन्छ ।

नेपाल यस्तो देश हो जसले तेस्रोलिङ्गी समुदायको विषयमा विश्वमा सबैभन्दा छिटो फड्को मारेको छ । भारतमा समलिङ्गी प्राकृतिक हो भन्ने आदेश जारी गरिएको थियो । विश्वमा नेपाल एक राम्रो उदाहरण बनेको छ । भारत, बंगलादेश, पाकिस्तानमा यस कारण सकारात्मक प्रभाव परेको छ । तर त्योे परिवर्तन जहाँको त्यँही छाडेको देखिन्छ । नागरिकता, समलिङ्गी विवाहको कुरामा अहिले हिचकिचाउने धेरै छन् । र, कानुनमा पनि समावेश भएको छैन, उहाँ भन्नुहुन्छ । नागरिकता, स्वास्थ्य, शिक्षा र रोजगारीमा पनि तेस्रोलिङ्गीले हक अधिकार पाउनुपर्ने उहाँहरुको माग छ । केटाको रुपमा महिला शौचालय प्रयोग गर्न अप्ठेरो हुन्छ, विज्ञान र प्रविधिले फड्को मारिसक्दा पनि

नेपालमा अझैँ तेस्रोलिङ्गीको लागि छुट्टै शौचालय बन्न नसकेकोमा उहाँ दुःख व्यक्त गर्नुहुन्छ । हामीलाई समाजमा भगवानले ठगेको मानिस भन्छन् । श्रेष्ठ भन्नुहुन्छ, ‘हामी पनि आम मानिस जस्तै हो । हामी दयाको पात्र होइन, हामी भगवानको अर्को सिर्जना हो ।’

पासपोर्टको कथा

भूमिकाको परिचय नेपालमा मात्रै सीमित छैन । नेपाली राहदानीमा लिङ्ग महिला र पुरुष उल्लेख हुन्छ । तर भूमिका लिङ्ग शीर्षकमा ‘अन्य’ उल्लेख गरेको राहदानी बोकेर विदेश निस्किने पहिलो व्यक्ति हुनुहुन्छ । लिंगको विषयमा ‘अन्य’ उल्लेख भएको पासपोर्ट उहाँसँग छ ।

राजनीतिक यात्रा

उहाँ भन्नुहुन्छ, विचार, सिद्धान्तका हिसाबले पहिलेदेखि मलाई नेपाली कांग्रेस मनपथ्र्यो । लैङ्गिक तथा अल्पसंख्यक समुदायको हकअधिकार स्थापित गर्न राजनीतिक रूपले पनि लबिङ गर्नुपर्ने हुन्छ । १२ औँ महाधिवेशन हुनुभन्दा चार पाँच महिनाअगाडि मात्रै मैले कांग्रेसको सक्रिय सदस्यता पाएको हुँ । त्यसलगत्तै उहाँ महाधिवेशन प्रतिनिधि बन्नुभयो । र, १२औँ महाधिवेशनमा भाग लिनुभयो । महाधिवेशनमा चार हजार प्रतिनिधिमध्ये भूमिका एकजना मात्रै उहाँको समुदायको भएको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, हाम्रा कुराहरू संविधानमा पनि समेटियोस् भन्ने उद्देश्यले हामीले संविधानसभामा पनि सहभागिता खोज्यौँ ।

 

–महिला नेतृहरूका साथमा

पहिलो संविधानसभा सुनीलबाबु पन्त सभासद् हुनुहुन्थ्यो । दोस्रो संविधानसभामा कांग्रेसले समानुपातिकको सूचीमा मेरो नाम पनि राखेको थियोे । तर, मेरो नागरिकतामा कैलाश श्रेष्ठ नाम थियो । बाहिर भूमिका छु । यही ‘टेक्निकल समस्या’ भनेर पछि मेरो नाम फालियो । यसपछि २०१९ मा उहाँले ‘जेन्डर अग्र्यान इम्प्लान्ट’ गर्ने आफ्नो चाहना पनि पुरा गर्नुभयो । पूर्ण रुपमा महिला बन्ने सपनाले मैले यसो गरे र त महिला भूमिका श्रेष्ठको नाममा नागरिकता पनि पाएँ, उहाँ भन्नुहुन्छ, ‘तीन वटा नागरिकता खारेज गरेर मैले महिलाको नागरिकता पाएँ ।’

सरकारसँगका आशा

उहाँ भन्नुहुन्छ, सरकारसँग अब यो त्यो चाहियो भन्दाभन्दै हामी थाकिसक्यौं । हाम्रो विवाहलाई मान्यता दिएको छैन । सबैलाई माया गर्ने एक व्यक्ति चाहिन्छ तर यसको लागि कुनै पनि कानुनी मान्यता छैन । हामीले बच्चा एडप्ट गर्दा पनि वंश दिन सक्दैनौं । वैवाहिक कानुन हुनुपर्छ, उहाँ भन्नुहुन्छ, तेस्रोलिङ्गीको अधिकार बल्ल अहिले सम्बोधन हुने प्रक्रियामा छ । ‘हामी बल्ल उठेका छौँ, हिँडेर अझैँ गन्तव्य पार गर्न बाँकी नै छ’ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?