logo
२०८१ मंसिर १० सोमवार



शिक्षा पढ्नलाई मात्र होइन

विचार/दृष्टिकोण |




कुलचन्द्र पराजुली

शिक्षाले नै मानवलाई सिर्जनशील बनाउँदै आधुनिक विज्ञानका खोज, अनुसन्धान र प्रयोग गर्न सक्ने बनाएको छ भने यसले नै मानिसलाई सामाजिक प्राणीका रूपमा स्थापित गरेको छ । मानवको आर्थिक, सामाजिक, भौतिक तथा नैतिक पक्षसँग जोडिएको शिक्षालाई व्यावहारिक र समयसापेक्ष बनाउन नसक्दा आज हाम्रा विद्यालय तथा विश्वविद्यालय बर्सेनि लाखौँ बेरोजगार उत्पादन गर्ने कारखानाजस्ता भएका छन् । भविष्यप्रतिको सोचविनाको मुनाफा केन्द्रित शिक्षाले गर्दा मानिस आज प्रकृतिको भक्षकका रूपमा देखिएको छ भने आफ्ना मूल्य, मान्यता, धर्म, संस्कृति र नैतिक आचरणलाई तिलाञ्जली दिँदै मानवले मुलुक र समाजप्रतिको दायित्वसमेत भुलेको छ । यी समष्टिगत विषयलाई दृष्टिगत गर्दा अबको हाम्रो विद्यमान शिक्षा प्रणालीभन्दा पृथक प्रणाली आवश्यक प्रतीत हुन्छ ।

व्यावसायिक तथा रोजगारमूलक शिक्षा
हाम्रा विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रमहरू व्यावहारिक कम र सैद्धान्तिक बढी छन्, जसले गर्दा विद्यालय, विश्वविद्यालयमा उच्च अङ्क प्राप्त गरी उत्तीर्ण हुनेहरूमा सिद्धान्त र किताबी ज्ञानबाहेक व्यावहारिक ज्ञान प्रायः न्यून देखिन्छ । अल्वर्ट आइन्सटाइनको सापेक्षतावादको सिद्धान्त, माल्थसको जनसङ्ख्याको सिद्धान्त, किन्सको अर्थशास्त्रसम्बन्धी सिद्धान्त र यस्तै अन्य सिद्धान्त घोकाइने शिक्षाले हामीमा केही ज्ञान त आर्जन भएकै होला तर यसको व्यावहारिक प्रयोग गर्न नसिकाइदा त्यो सैद्धान्तिक ज्ञान अपूर्ण बन्न पुगेको छ । जबसम्म हामीले देश, काल र परिवेश सुहाउँदो स्वरोजगारीमुखी शिक्षा पद्धतिको अवलम्बन गर्न सक्दैनौँ तबसम्म हाम्रा विश्वविद्यालय शैक्षिक बेरोजगार उत्पादन गर्ने थलोमात्र हुने निश्चित छ । शिक्षा व्यावसायिक र रोजगारमूलक हुनुपर्दछ, विकासका सम्भावनालाई उजागर गर्न सक्नुपर्दछ । देशको कृषि, पर्यटन, जलस्रोत, जडीबुटी, वन–जङ्गल र यहाँको कला संस्कृति तथा इतिहाससम्बन्धी ज्ञान भर्ने र यसको महत्तम रूपमा उपयोग गर्न सक्ने शिक्षा नै नेपाल सुहाउँदो शिक्षा हो ।

प्रकृतिप्रेमी शिक्षा
वर्तमान विश्वपरिवेशमा जलवायु परिवर्तनलगायत अन्य प्राकृतिक प्रकोपले मानव जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभाव पारिरहेको छ । जुन अवस्था आउनुको प्रमुख कारण भनेकै पृथ्वीलाई मानिसले आफ्नोअनुकूल प्रयोग गर्नु र आफूमातहत नियन्त्रण लिन खोज्नु नै हो, जुन कुरा हामीले आर्जन गरेको शिक्षाबाट नै अनुग्रहित छ । आजको विश्व आफूअनुकूलको वस्तु तथा सेवा उत्पादनका लागि एक–अर्काबीचमा प्रतिस्पर्धाको होडमा छ । प्रकृतिमाथि निर्मम प्रहार गरेर मानिस आफू जित्न र अरूसमक्ष आफूलाई अब्बल देखाउन उद्धत छ । शिक्षा पद्धतिले गर्दा मानिसले पृथ्वी सबैको साझा घर हो, यहाँ जोकोही आफ्नोअनुकूल बाँच्न चाहन्छन् भन्ने कुरालाई बिर्सेको छ । प्रकृतिमाथिको क्रूर र निन्दनीय प्रयोगलाई नियन्त्रण गरी साझा पृथ्वीको अवधारणालाई व्यवहारमा रूपान्तरण गर्न अब हामीले रत्ती पनि ढिला गर्न नहुने देखिएको छ । त्यसैले अबको शिक्षा पद्धति सीपमूलक तथा व्यावसायिकमात्र होइन, विकास र विज्ञानको उपभोग गर्दा हरेक प्राणीको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको सम्बोधन गर्न सक्ने पनि हुनुपर्दछ । प्राकृतिक स्रोत–साधन भावी पुस्ताको पनि हो भन्ने भावना जनजनमा पु¥याउनसमेत अबको शिक्षा प्रकृतिप्रेमी हुनु जरुरी छ ।

आत्मानुशासन केन्द्रित शिक्षा
औपचारिक शिक्षाले हामीलाई आफूअनुकूलको समयसापेक्ष पेसा वा व्यवसाय प्राप्त गर्न तथा उद्यमशीलता र सिर्जनशीलता प्रवद्र्धन गर्न मद्दत गर्दछ, जुन जीवनको अपरिहार्य पनि हो । तर, मानिसलाई सदाचारी, नैतिकवान र मूल्यवान बनाउने भनेको आत्मअनुशासन केन्द्रित शिक्षाले नै हो । जबसम्म मानिस सदाचारी र नैतिकवान हुन सक्दैन तबसम्म मानिसले देश र समाजको हितकेन्द्रित कार्य गर्न सक्दैन । व्यावसायमुखी र मुनाफाकेन्द्रित शिक्षाले गर्दा हामीमा नैतिकता हराएको छ, हामी आफ्नै संस्कृतिलाई समाप्त पारी नयाँ संस्कृतिको अनुशरण गर्न उद्यत छौँ । जसले गर्दा हाम्रा पूर्वीय दर्शनका सिद्धान्तहरू ओझेलमा परेका छन् । हाम्रो खानपान, हिँडाइ, बोलाइ, गराइ सबैमा पश्चिमीकरण भएको छ । हामीमा मानवता हराएको छ, नैतिकता हराएको छ, पैसामा तौलिन सकिने भएका छौँ । भ्रष्टाचार, गालीगलौज, मान–मर्यादाको उपेक्षा हाम्रा पर्यायवाची बन्न पुगेका छन् । त्यसैले अबको हाम्रो शिक्षा आत्मानुशासन केन्द्रित पनि हुनु जरुरी छ, जसबाट सभ्य मुलुकको निर्माण हुन सक्दछ । अधिकारको प्रयोग गर्दा देश र समाजप्रतिको दायित्वलाई समेत ख्याल गर्न सक्ने जनशक्ति उत्पादन उन्मुख शिक्षा आवश्यक छ ।

सूचना प्रविधिमैत्री शिक्षा
वर्तमान विश्व आधुनिकता र नवीनतामा रमाउने व्यक्तिहरूको भएको छ । विश्वव्यापीकरण र उदारीकरणलाई आत्मसात् गरिसकेको हाम्रो मुलुक सूचना प्रविधिबाट विमुख रहन सक्दैन । विश्वबजारमा उत्पादित वस्तु तथा सेवाको उपभोग गर्न होस् वा आफ्नो उत्पादनलाई विश्व बजारमा पु¥याउन, सूचना प्रविधिको उपयोग चाहिन्छ । शिक्षा, स्वास्थ्यजस्ता मानवसँग प्रत्यक्ष रूपमा जोडिने पूर्वाधारहरू प्रविधिविना अपूर्ण हुन थालेका छन् भने विश्वव्यापी रूपमा अगाडि आइरहेको विद्युतीय शासन अर्थात् ई–गर्भनेन्स, भर्चुअल गभर्नेन्सलगायतले पनि सूचना प्रविधिको आवश्यकतालाई थप उजागर गरेको छ । राज्यप्रदत्त सेवाको व्यवस्थापन, विकास व्यवस्थापन, स्रोत–साधनको व्यवस्थापन, अभिलेख व्यवस्थापनलगायतका सम्पूर्ण व्यवस्थापकीय पक्षमा सूचना प्रविधिको प्रयोग अनिवार्य हुँदै गएको छ । त्यसैले अबको शिक्षा प्रविधिमा आधारित हुनु जरुरी छ, जसका लागि विद्यालयदेखि नै सूचना प्रविधियुक्त शिक्षामा जोड दिनुपर्ने देखिन्छ । आमजनमानसमा सूचना प्रविधि के हो र यसले के–केसम्मका कार्यहरू गर्न सक्दछ भन्ने चेतनाको विकास गर्नुपर्नेछ जसबाट मात्र डिजिटल नेपाल मुलुक बनाउने अभिलाषाले सार्थकता पाउने देखिन्छ ।
कोभिड–१९ को प्रभावका अवस्थामा नेपालमा पनि शैक्षिक संस्थाले रेडियो, टेलिभिजन वा इन्टरनेटको प्रयोगमार्फत अनलाइन शिक्षालाई अवलम्बन गरेका छन् तथापि सीमान्तकृत, विपन्न र दूरदराजका बालबालिका लागि भने यो फलामको चिउराजस्तो हुन पुगेको छ । जसको एउटै समाधान भनेको सूचना प्रविधिको सन्तुलित, समन्यायिक र तीव्र विकासमार्फत समाजमा देखिएको डिजिटल डिभाइडको अन्त्य गर्नु नै हो ।

राष्ट्रप्रेमी र समावेशी शिक्षा
राष्ट्रप्रेम र समावेशितामा आधारित शिक्षा उत्तिकै आवश्यक छ । आजको विश्व नाफामुखी र स्वार्थकेन्द्रित बन्दै गएको छ । राजनीतिज्ञ, प्रशासक, निजी क्षेत्र वा नागरिक जोकोही हुन्, सबै राष्ट्रप्रतिको आफ्नो जिम्मेवारी र जवाफदेहिता वहनमा चुकेका छन् । यसको एउटै कारण हो, हामीले अवलम्बन गरिराखेको शिक्षा प्रणाली । सामाजिक मर्यादा निर्धारणको आधार चल र अचल सम्पत्ति वा सामाजिक रवाफ बनाउने शिक्षा जबसम्म रहन्छ, तबसम्म हामो राष्ट्रवाद नाममात्रको हुनेछ । अर्कोतर्फ शिक्षामा निजीकरणको नाममा गरिएको व्यापारीकरणले शिक्षालाई सेवामुखी कम र व्यापारमुखी बढी बनाएको छ । समाजका सम्पन्न व्यक्तिले आफ्ना सन्ततिलाई महँगा र गुणस्तरीय शिक्षण संस्थामा अध्ययन गराउने र गरिब, विपन्न र सीमान्तकृत वर्गका छोराछोरीले विद्यालय जानबाट समेत वञ्चित हुनुपर्ने अवस्था छ । यसले आर्थिक सामाजिक असमानतालाई दीर्घकालसम्म कायम नै राख्ने प्रायः निश्चित छ । त्यसैले अबको हाम्रो शिक्षा राष्ट्रप्रेम प्रवद्र्धनमा केन्द्रित हुनु जरुरी छ । असमानता, दमन, शोषण र अत्याचारको अन्त्य गर्दै राष्ट्रिय विकासको मूल प्रवाहमा साझेदारीयुक्त तरिकाले समाहित गरी समाजलाई समावेशीकरणको पथमा डो¥याउन सक्ने शिक्षा नै आजको टड्कारो आवश्यकता हो । यसका लागि नैतिक शिक्षासम्बन्धी विषयलाई विद्यालयदेखि विश्वविद्यालयका हरेक तहमा अनिवार्य गर्नु जरुरी छ ।
शिक्षालाई हामी जति पेसामुखी वा व्यवसायमुखी बनाउन खोज्दछौँ त्यति नै रूपमा यसलाई मानवता उन्मुख, संस्कारमुखी, अनुशासनकेन्द्रित र प्रकृतिमैत्री पनि बनाउनु जरुरी छ । डिजिटल वा प्रत्यक्ष, जस्तोसुकै माध्यमबाट शिक्षा प्रदान गरिए पनि अबको शिक्षा प्रणाली र यसले उत्पादन गर्ने जनशक्तिलाई राष्ट्रप्रेममा विश्वास गर्ने तथा समावेशितालाई सहर्ष स्वीकार्ने बनाउनु अत्यन्तै आवश्यक छ । अनुशासन केन्द्रित, व्यावसायिक र प्रविधिमा आधारित शिक्षा नै सभ्य, समुन्नत, समृद्ध र न्यायपूर्ण मुलुक निर्माणको आधार हो । यसका लागि तीनै तहका सरकार, निजी क्षेत्र तथा सरोकारवाला निकायहरूबीचमा सहकार्य र समन्वय अपरिहार्य छ ।
(लेखक नेपाल सरकारका शाखा अधिकृत हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?