logo
२०८१ बैशाख २६ बुधवार



नैतिक भाव र यथार्थ

विचार/दृष्टिकोण |




कुलचन्द्र पराजुली
कानुनी बन्देजविना आफूलाई आफैँले बाँध्ने तथा सत्कर्मतर्फ उन्मुख हुन प्रेरित गर्ने नैतिकताले समाजका हरेक सदस्यलाई असल नीति, नियम, पद्धति र व्यवहारको अनुसरण गर्न अभिप्रेरित गर्छ । नैतिकताले व्यक्तिलाई कुन कुरा वा व्यवहार ठीक वा बेठीक, के असल वा खराब भन्ने कुराको बोध गराई निजमा निहित सदाचारिताको गुणलाई व्यावहारिकतामा रूपान्तरण गर्ने गर्छ ।
हुन त नैतिकताका व्यक्तिगत, सामाजिक, आर्थिक, राजनीतिक, संस्थागत, पेसागत वा व्यावसायिक वा अन्य विविध पक्ष हुन्छन् तर यी सबै पक्षको प्रवद्र्धन र संवद्र्धन गर्ने भनेको व्यक्तिमा अन्तरनिहित नैतिकताले नै हो । व्यक्तिगत नैतिकताले नै उसलाई आफ्नो समाजप्रतिको नैतिकता के
हो ? आफूले राज्य वा समाजप्रति गर्नुपर्ने कर्तव्य के
हो ? आफ्नो सामाजिक दायित्व तथा हैसियतले गर्नुपर्ने र गर्नै नहुने कार्य के के हुन् ? भन्ने जस्ता विषयमा सचेत गराउँछ । सार्वजनिक क्षेत्रका व्यक्ति विशेषमा वित्तीय उत्तरदायित्व र जवाफदेहिताको बोध गराई आर्थिक अनुशासन र सुशासनको परिकल्पना पनि नैतिकताबाट मात्र सम्भव छ ।
शासन व्यवस्थालाई मूर्तता प्रदान गर्ने राजनीतिज्ञलाई दूरदर्शी र चरित्रवान् बनाउन होस् या कर्मचारीलाई सेवामा समर्पित र निष्ठावान् बनाउन नै किन नहोस् ? नैतिकता अपरिहार्य छ । यसैगरी निजी क्षेत्र, नागरिक समाज तथा सञ्चार जगत्लाई देश र समाजप्रति जिम्मेवार बनाउन तथा जुनसुकै क्षेत्रमा सदाचारिताको प्रवद्र्धन गर्नका लागि पनि सर्वप्रथम व्यक्ति नै नैतिकवान् हुनु जरुरी हुन्छ । नैतिकताले राजनीतिज्ञमा दूरदर्शिता, सदाचारिता र उत्तरदायित्वको भावना विकास गराउँछ । नैतिकताबाटै सार्वजनिक प्रशासकहरू सार्वजनिक स्रोतको पहिचान र त्यसको उपयोगलाई पारदर्शी, मितव्ययी, औचित्यपूर्ण र विधिसम्मत बनाउन तथा सार्वजनिक व्यवस्थापनलाई उपलब्धिमूलक र प्रभावकारी बनाउन अभिप्रेरित हुन्छन् ।
विकास तथा सार्वजनिक मामिलाको व्यवस्थापनमा नैतिकता एक अपरिहार्य चरित्र हो । सोसँग सम्बन्धित निकायका पदाधिकारीहरूलाई पदीय जिम्मेवारी र दायित्वप्रति प्रतिबद्ध तुल्याएर देश र जनताप्रति संवेदनशील र जवाफदेही बनाउन, कर्मचारी संयन्त्रमा आत्मनुशासन, इमानदारी, लगनशीलता, उद्यमशीलताको प्रवद्र्धन गर्न समेत यसले सहयोग गर्छ । यसैगरी सार्वजनिक क्षेत्रलाई सुशासनयुक्त तथा सार्वजनिक कोषको परिचालनलाई सार्वजनिक हितमा नै केन्द्रित गर्नका लागि पनि नैतिकताले अहम् भूमिका निर्वाह गरेको हुन्छ । नैतिकताले निजी तथा सङ्गठित संस्थालाई समाजको संवेदनशीलता र राज्यको आवश्यकता अनुरूप राज्यद्वारा निर्दिष्ट ऐन कानुन र कार्यविधिको परिपालना गरी सर्वसुलभ मूल्यमा गुणस्तरीय वस्तु तथा सेवा उत्पादन र वितरण गर्न तथा व्यावसायिक सामाजिक उत्तरदायित्वमार्फत देश र समाजप्रति जिम्मेवार हुन मार्ग निर्देश गर्छ । यसले सामाजिक जीवनलाई मर्यादित बनाई सामाजिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता अभिवृद्धि गर्न प्रेरित गर्छ । यसबाट हामीले चाहेको स्वच्छ, सभ्य, सम्मुनत, समृद्ध र न्यायपूर्ण मुलुक निर्माणमा योगदान पुग्न सक्छ ।
नैतिकता कानुन र न्यायभन्दा पनि माथि राखेर हेरिनुपर्ने विषय हो तर हाम्रो विडम्बना शासनको मूल मियोको रूपमा रहेको राजनीति आफू र आफ्नाप्रति केन्द्रित भएको आवाज सर्वत्र सुनिन, देखिन र अनुभूत हुन थालेको छ । राजनीतिज्ञहरू भनसुन, चाकडी, आफन्तवाद, कृपावादलाई आफ्नो सफलतासूत्र बनाउँदै राजनीतिक सन्निकटताको आधारमा कुनै व्यक्तिलाई कुनै अमूक पदमा योग्यता बेगर नै नियुक्ति दिन लालायित छन् र हतास मानसिकता पनि । त्यस्तै नागरिकलाई न्यायको अनुभूति दिलाउने जिम्मेवारीमा रहेका हाम्रा न्यायमूर्तिहरू न्याय होइन, नैतिकताको लिलाम गर्न तल्लिन रहेको भन्ने समेतका गुनासाहरू गुञ्जिएको पाइन्छ । यसैगरी, कानुनी राज्यको अवधारणा अनुरूप सरकारको स्वेच्छाचारिताको अन्त्य गरी सिमित सरकार र संविधानवादको मर्मलाई व्यवहारमा उतार्न गठित संवैधानिक निकायहरूमा राजनीतिक भागबन्डाको आधारमा हुने नियुक्तिको कारणले ती निकायहरूको कार्यसम्पादनमाथि बेलाबखतमा उठ्ने गरेको प्रश्नलाई नकार्न सकिँदैन ।
ट्रान्सपरेन्सी इन्टरनेसनले प्रत्येक वर्ष सार्वजनिक गर्ने गरेको ‘भ्रष्टाचार अनुभूति सूचकाङ्क’ लाई आधार मान्ने हो भने सिङ्गो सार्वजनिक क्षेत्रलाई नागरिक र मुलुकको हिततर्फ केन्द्रित बनाउनुपर्ने प्रशासन संयन्त्र अनियमिता र भ्रष्टाचारको चङ्गुलमा अलमल्लिएको छ भन्दा अत्युक्ति नहोला । अर्कोतर्फ कर्मचारी संयन्त्रको एक तप्का बाहिर आदर्शका कुरा छर्ने तर व्यवहारमा राम्रो र कमाई हुने जिल्ला वा कार्यालय खोज्नमै सधैँ तल्लिन छ भने अनियमिता र भ्रष्टाचारको नियन्त्रणमार्फत सुशासन कायम गर्ने जिम्मेवारी प्राप्त गरेका पदाधिकारी तथा कर्मचारीहरू समेत यसबाट अछूतो रहन नसकेका अनेकौँ दृष्टान्त छन् ।
यसैगरी देश र जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मीको केही जमात कुनै समाज वा व्यक्तिका लागि रक्षकको सट्टा भक्षक बन्न थालेका छन् भने आम नागरिकको स्वास्थ्यको जिम्मा लिएका केही स्वास्थ्यकर्मी आफ्नो नैतिकता भूलेर मानव अङ्गको व्यापार गर्न तथा अनावश्यक परीक्षण गराउन र ‍बिक्रेता केन्द्रित औषधि खरिदका लागि परामर्श दिन र व्यापार चलाउन तल्लिन छन् । त्यस्तै विद्युत् नियमनका लागि खटिएका कर्मचारी नै विद्युत् चोरी र चुहावटमा संलग्न रहेको आरोपमा कारबाहीमा पर्छन् भने नागरिकलाई स्वस्थकर र सर्वसुलभ मूल्यमा खाद्यान्न तथा अन्य वस्तुको उत्पादन र वितरण गर्ने जिम्मेवारी पाएका निकाय र व्यक्तिबाटै मिसावट र छलछाम हुने गरेको पाइन्छ । आफ्नो सन्तानको जिम्मेवारी पाएका बाबुबाटै छोरी बलात्कृत हुने तथा आमा बाबुको हेरचाह गर्नुपर्ने छोराछोरीकै हातबाट कैयाँै आमा बाबु मारिने गरेको विकराल विद्यमान यथार्थलाई नैतिकता स्खलनको उपजको रूपमा लिन सकिन्छ ।
यसैगरी जनतालाई समय सापेक्ष र वस्तुनिष्ठ समाचार सम्प्रेषण गर्ने सञ्चार जगत् नै दलगत रूपमा विभक्त हुने र मुनाफा कमाउनमा नै बेफुर्सदी भएको पाइन्छ भने लेनदेनका आधारमा समाचार लुकाउने वा सम्प्रेषण गर्ने आरोपबाट समेत मुक्त हुन सकेको देखिँदैन । वस्तु तथा सेवाको उत्पादन र बिक्री वितरण गर्ने भूमिकामा रहेको निजी क्षेत्र कार्टेलिङ, सिन्डिकेट, एकाधिकारजस्ता समस्याबाट माथि उठ्नै सकेको छैन । निजी शैक्षिक संस्थाहरू शिक्षाको व्यापार गरेर नाफा कमाउन उद्धत छन् । विद्यार्थीहरू प्राध्यापक वा शिक्षकको आँखा छलेर अनुशासन मिच्नमै व्यस्त छन् । यी तिता यथार्थहरू माझ हामीलाई नैतिकताको आभास दिलाउने हाम्रा धर्म, संस्कृति, विश्वास र आस्थामाथि हामी नै परिवर्तनको नाममा हस्तक्षेप गर्दैछौँ । यी समग्र विषयको अनुगमन, मूल्याङ्ककन, सुपरीवेक्षण तथा नियमन गर्न गठित वा संरचित नियमनकारी निकायमै नैतिकताको अभाव खड्किएको छ ।
हाम्रो समाज, सभ्यताले सानैदेखि सिकाउँछ – ठूलाको आदर गर्नु, भनेको मान्नु, अनुसरण गर्नू तर विडम्बना, नैतिकताको आलोकमा हाम्रो समाजमा ठूला कहलिएका व्यक्ति नै भ्रष्ट वा नैतिकताविहीन हुन पुग्छन्, जसले एकातिर समग्र समाजलाई नै धुमिल्याइरहेको हुन्छ भने अर्कोतिर समाजका आँखामा ठूला, आदर्शवान् र अनुकरणीय व्यक्ति कसलाई मान्ने भन्ने सवाल समेत उब्जिने गरेको छ । त्यसैले समाजका ठूला र प्रतिष्ठित व्यक्तिहरू ठूला नदी वा समुन्द्रझैँ समाजको एक सभ्य र बौद्धिक तप्काबाट स्खलित भएको महसुस नहुने गरी नैतिकवान् र मर्यादा केन्द्रित हुनु जरुरी छ । समाजका हरेक सदस्यले आफ्नो उचित स्थानमा बस्नु उत्तिकै अपरिहार्य छ ।
आर्थिक सम्पन्नतालाई सामाजिक प्रतिष्ठा मान्ने हाम्रो समाजमा सर्वगुणी व्यक्तिको परिकल्पना गर्नुको त्यति तुक त नहोला तर जसरी चन्द्रमामा भएका तेजले उसको दागलाई ढाक्छ त्यसैगरी आफ्नो अन्तस्करणको कसीबाट हामीभित्र रहेका दोषलाई हटाउन सक्ने गुणको विकास नैतिकताको उज्यालो प्रकाशबाट मात्र सम्भव छ । नैतिकताको खडेरीमा रुमल्लिएको हाम्रो वर्तमान समाज र समाजका हरेक व्यक्तिमा नैतिकताको विकास गराउन अब रत्तिभर पनि ढिला गर्नुहुँदैन । यसका लागि सानै उमेरदेखि नैतिकताको बोध गराउन विद्यालय र विश्वविद्यालयका पाठ्यक्रमहरूमा नैतिकतासम्बन्धी विषयको अध्ययन अध्यापनको कार्यलाई अनिवार्य तुल्याउनुपर्छ । जीवनमा उर्लेको खहरेजस्तो हठात परिवर्तन नभई शान्त र सौम्य सागरजस्तो दिगो, समयानुकुल र अपेक्षित परिवर्तन मात्र खोज्नु जरुरी छ । त्यसैगरी व्यक्तिमा धैर्य, सामूहिकता, सदाचार, जवाफदेहिता, कर्तव्य परायणता, निष्ठाजस्ता असल चारित्रिक गुणको विकास गरी समाज, देश र समग्र विश्वप्रति जिम्मेवार बनाउनुपर्ने देखिन्छ ।
परिवर्तन प्रकृतिको नियम हो र शाश्वत सत्य पनि, जसलाई हामीले सहर्ष स्वीकार गर्नुपर्छ तर परिवर्तनको नाममा नैतिकता सिकाउने हाम्रा धर्म, संस्कृति, विश्वास र आस्थाका धरोहरमा कदापि परिवर्तन गरिनु हुँदैन, मात्र यसमा भएका नकारात्मक कुरालाई समय सापेक्ष रूपमा परिवर्तन गरी समाजलाई प्रगतिशील बनाउँदै लैजानुपर्छ । नैतिक शिक्षालाई कायम गर्दै आम नागरिकमा सकारात्मक सोच, चिन्तन र मनोवृत्तिको विकास गर्न सकेमा मात्र हामीले चाहेको समृद्धि प्राप्त हुन पुग्छ ।
(लेखक नेपाल सरकारका शाखा अधिकृत हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?