मञ्जु भट्ट
बिहान उठ्दै सुन्नुपर्ने हिंसाका घटनाको समाचारले दिनभरि बेचैन बनाउँछ । कोही पैसाको लोभमा हिंसा गर्न पुग्छन् भने कसैले आफ्नो प्यास मेटाउनकै लागि बच्चा, वृद्ध, बहिनी, छोरी, आमा कसैलाई पनि चिन्दैनन् । अर्काको ज्यान लिनसम्म पनि पछि पर्दैनन् । किन मानिस यति धेरै हिंसात्मक हुँदै छ ?
परिवारका सदस्य एकैठाउँमा बसेर खाने, सँगै टेलिभिजन हेर्ने चलन हराउँदै गएको छ । सबै एकैठाउँमा भए पनि आ–आफ्नो मोबाइलमा व्यस्त हुँदा कसैलाई कसैसँग बोल्ने, मनका कुराहरू बयान गर्ने, हालखबर सोध्न फुर्सद नै नभएकोजस्तो देखिन्छ । सहरमा बस्ने कतिपय अभिभावकहरू आफ्नै काममा व्यस्त हुने गरेका छन् । दिनभरि छोराछोरीहरू एक्लै घरमा बस्न बाध्य हुन्छन् । घरमा अन्य साथी होस् या नहोस् इन्टरनेटसहितको मोबाइल छोराछोरीको हातमा हुने गरेको छ । आमाबुवाको ध्यान नपुग्दा उनीहरू मोबाइलमा जस्तोसुकै भिडियोहरू हेर्न सक्छन् । साथीहरूसँग घुम्न निस्कन्छन् । चिया, नास्ता भन्दै साथीहरूसँग चुरोट, रक्सीजस्ता कुलतमा फस्न सक्छन् ।
गाउँघरतिर पनि अहिले सबैका हातहातमा मोबाइल हुँदा त्यसको नराम्रो असर पर्दै गएको देखिन्छ । पहिला मेलापात, चाडपर्व, देउसी, भैलो, बिहेभोजमा जाँदा मायाप्रेम गाँस्थे । घुलमिलले सामूहिक भावना थियो । लुकीलुकी केटाकेटीहरू भेट गर्थे । परिवारले स्वीकृति दियो भने विवाह बन्धनमा बाँधिन्थे नभए भागेर पनि घरजम गर्थे । खुसीसाथ जीवन बिताउँथे । छोडपत्र गरी साना केटाकेटीहरूको बिचल्ली पार्ने चलन थिएन । अहिलेजस्तो बलात्कार गरेर हत्या गर्ने प्रवृत्ति त्यतिखेर थिएन । मान्छे मानिस थियो, पशु थिएन ।
यतिखेर धेरैजसो मानिसलाई कामको चटारो छैन । घरमा बसी खाएर स्फुर्त भएका छन् । खाली दिमाग सैतानको घर भनेजस्तै फुर्सदमा इन्टरनेटका विभिन्न अश्लील साइटहरूले नराम्रो काम गर्न झनै उक्सायो । साŒिवक भोजनभन्दा पनि माछा, मासु तथा मदिराजन्य वस्तुको बढी प्रयोगले यसमा मलजल गरेको छ । जसरी अहिले कोरोना भाइरसका कारणले वर्षांै पहिलेदेखि चल्दै आएको तर लोप हुने अवस्थामा पुगेको नमस्कार प्रवृत्ति एकचोटि विश्वभर प्रयोग हुन थालेको छ र यो सबैको हितमा पनि छ, त्यसैगरी पहिला, अहिलेजस्तो मोबाइलका अश्लील साइट पल्टाउनुको सट्टा, मारकाट, चोरी, डकैती, बलात्कार भएका घटनाहरू देखाएका फिल्महरू हेर्नुभन्दा पनि रामायण, महाभारत, गीता, वेद, पुराणजस्ता धार्मिक किताबहरू पढिन्थे ।
आफ्ना घरका सदस्यलाई वरिपरि बसाएर घरका हजुरबुवा, हजुरआमा वा बुवाआमाहरूले ज्ञानवद्र्धक तथा नैतिक शिक्षा सिकाउने किताबहरू पढेर सुनाउनुहुन्थ्यो । चोरी, डकैती, झुट, लुटपाट, बलात्कारजस्ता घृणित कार्य गर्नेले श्राप पाउने र जसको फल एकदमै नराम्रो हुँदा यस्ता कार्यहरू गर्नुहँुदैन भनेर सानैदेखि केटाकेटीलाई सिकाइन्थ्यो । सानैदेखि सिकाएका राम्रा कुराहरूको प्रभाव ठूलो हुँदासम्म भइरहन्थ्यो । त्यसैले त प्राचीन समयमा अहिलेजस्ता घृणित कार्यहरू एकदमै कम हुने गर्थे । जसको प्रभाव अहिले पनि गाउँघरमा रहेको देखिन्छ । तुलनात्मक रूपमा सहरभन्दा चोरी, डकैती, बलात्कार, झुट, लुटपाटका घटनाहरू गाउँघरमा कमै देखिन्छन् ।
कृष्णले गर्ने सच्चा प्रेम, रामको मर्यादा, एकलव्यको गुरुप्रेम, श्रवणकुमारको आमाबुवाप्रतिको आदर, सीताको त्याग, युधिष्ठिरजस्तै सत्यवादी, कर्णजस्ता दानवीर भई स्वार्थरहित काम गर्न घरबाटै उक्साइन्थ्यो । बिहानै उठेर पार्टी प्यालेस, जिम, डान्सबारमा गएर छाडा गीतहरू ठूलो आवाजमा बजाएर व्यायाम, शारीरिक कसरत गर्दै बिहानैदेखि झनै उत्तेजित बनाउने कार्यभन्दा पनि मनमा शान्ति र आनन्द जगाउने भजनहरू सुनिन्थ्यो । बिहानै नुहाइ–धुवाइ गरेर पीपलको बोटमा पानी हाल्न सिकाइन्थ्यो, मठमन्दिर गएर ध्यान, पूजा–अर्चना, भजनकीर्तन गर्दा मनको चञ्चलता हराउँथ्यो । धार्मिक कार्यहरू गर्नुपर्छ, नराम्रा कार्यहरू गर्नुहुन्न भनेर सुसूचित गराइन्थ्यो । नैतिक शिक्षा दिने कथाहरू सुनाइन्थ्यो ।
समयको चक्रसँगै धेरै कुराहरू परिवर्तन हुँदै गए । नैतिक शिक्षा दिने किताबहरू पढ्नुभन्दा मोबाइल बढी प्रिय हुन थाल्यो । हजुरबुवा, हजुरआमाका कथाभन्दा टेलिभिजनका कार्टुनहरू प्रिय हुँदै गए । घरका सदस्यसँग समय बिताउनुको सट्टा पब्जी, फ्रिफायरजस्ता गेमहरूमा बढी रुचि जाग्न थाल्यो । घरका समस्याहरू बुझ्नु र तिनलाई सुल्झाउनुमा चासो हरायो । मिहिनेत गरेर पैसा कमाई मानसम्मान बढाउनुको सट्टा चोरी–डकैती गरेर इज्जत फाल्न सिकियो ।
जसकारण कतिपय घरमा छोरीचेलीका सुरक्षाकवच ठानिएका दाइ, बुवाबाटै बहिनी, छोरी सुरक्षित हुन छाडे । अफिस, स्कुल, अस्पताल, गाडी, क्वारेन्टाइन जता पनि महिला असुरक्षित हुन पुगेका छन् । बाहिरको भन्दा पनि धेरैजसो हिंसाका घटनाहरूमा आफन्त वा चिनजानकै मान्छे नै संलग्न हुने गरेको पाइएको छ । मान्छेले आफ्नो मर्यादा बिर्संदै गएको देखिन्छ ।
निर्मलाजस्तै कतिपय बलात्कार र हत्याकाण्डका दोषीहरू पक्राउ गर्न नसक्नु वा नखोजिनुले पनि कहीँ हिंसा गर्न उक्साइरहेको त छैन भन्ने प्रश्न उठ्न सक्छ । नातावाद, कृपावाद, सोर्सफोर्स, पञ्च, समाजबाटै दोषीहरू उम्किँदा हिंसाका घटनामा कमी आउन सकेको छैन । अदालतबाट पीडितले पाउने न्यायमा पनि वर्षौं लाग्ने हुँदा पीडितहरू हतोत्साही हुने र पीडकहरू भने खुलेआम घुम्ने प्रवृत्तिले पनि हिंसाका घटनामा वृद्धि हुँदै गएको छ । कतिपय अवस्थामा पीडकले पाउने दण्ड, जरिवाना पनि थोरै हुँदा दोषीले सजाय भुक्तान गरिसकेर पनि फेरि–फेरि हिंसा दोहो¥याइरहेको देखिएको छ ।
समाजमा हुने यस्ता जघन्य अपराधमा कमी ल्याउन सानैदेखि केटाकेटीलाई नैतिक शिक्षाको अनिवार्य अध्ययन गराउनु जरुरी देखिएको छ । कक्षा ६, ७ र ८ मा पढाइने गरेको नैतिक शिक्षालाई माथिल्लो कक्षामा पढाउन झनै जरुरी देखिएको छ । बालिबालिकालाई नैतिकवान बनाउनका लागि घरपरिवार, समाज, स्कुल, कलेज सबै जिम्मेवार हुनुपर्छ । हिंसामा संलग्नलाई लुकाउनुभन्दा पनि घर, समाजबाटै कानुनको घेरामा ल्याउन सक्नुपर्छ । सरकारले बेलैमा इन्टरनेटका कतिपय अश्लील साइटहरू बन्द गरेर राम्रो काम गरेको छ ।
अहिलेको अवस्थामा अनलाइन पढ्ने निहुँमा केटाकेटी सबैको हातमा मोबाइल हुन्छ । यसले कलिलो उमेरका केटाकेटीमा नराम्रो प्रभाव पार्न सक्छ । त्यसैगरी, अश्लील चलचित्र, छाडा स्टेज शोहरूमा पनि रोक लगाउनुपर्छ । लागूपदार्थ, धूमपान, मद्यपानजस्ता कुलतबाट किशोरकिशोरीहरूलाई टाढा राख्न त्यस्ता चीजहरू निश्चित समय र ठाउँमा मात्र उपलब्ध हुनेगरी कडा नियम लागू गर्नुपर्छ । चिया पसलजस्ता साना किराना पसल, होटेलहरूमा युवा जम्मा भएर रक्सी, चुरोट खाँदै घण्टौँसम्म गफ गरेर बस्ने, मोबाइलमा गेम खेलेर बस्ने ठाउँहरूमा प्रहरीबाट छड्के जाँच भइरहनुपर्छ । जस्तोसुकै अपराध गर्नेहरूले पनि पहुँच र पैसाको बलमा सजिलै उन्मुक्ति पाउने प्रथा अन्त्य गर्नुपर्छ ।
समाजमा दण्डहीनताले जति मलजल पाउँछ, त्यति नै यस्ता आपराधिक घटनाहरूमा कमी आउनुको सट्टा झन् वृद्धि हुन जान्छ । त्यसैले यस्ता अपराधका कारणहरू पत्ता लगाई त्यसको समाधान गर्न सबै उपायहरू अपनाउनु अति जरुरी भइसक्यो । होइन भने समाजमा विकृति र अपराधले नराम्ररी जरा गाड्ने देखिन्छ ।
(लेखक शिक्षक हुनुहुन्छ ।)