मञ्जु भट्ट
हातका मैला सुनका थैला के गर्नु धनले
साग र सिस्नु खाएको बेस आनन्दी मनले ।।
महाकवि लक्ष्मीप्रसाद देवकोटाका सबैका मनमा बस्न सफल अमुल्ययी पङ्क्तिमा दुई छाक टार्न गरिबले खाने गरेको साग र सिन्नुको अलौकिक वर्णन छ । चाडबाडमा धनी सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये अधिकांशमा नयाँ वर्षका दिन विसु पर्व मनाउने गरिन्छ । सिस्नो लगाएर मनाइने यस पर्वलाई विसु, विस्का वा विस्पती पर्व पनि भनिन्छ । तराईमा भने नयाँ वर्षको दिनलाई सिरुवा भनिन्छ भने पूर्वी तराईमा जुट शीतल भनेर एक अर्कामा पानी छ््यापेर मनाइन्छ । वैशाख १ गते मेष सङ्क्रान्ति पनि हो । यो दिनमा मिठा परिकार पकाउने, खाने र खुवाउने गरिन्छ । कतिपय नेपाली नयाँ वर्षको निहुँ पारेर देश, विदेशका विभिन्न स्थानमा घुम्नसमेत निस्कन्छन् । विक्रम संवत्को नयाँ वर्षको प्रथम दिनमा काठमाडौँ वरपरका विभिन्न ठाउँमा विस्का जात्रा पनि मनाइन्छ ।
विगतका वर्षमा काठमाडौँमै पनि प्रज्ञा भवन, खुलामञ्चमा गएर सुदूरपश्चिमेली माझ देउडा खेल्दै, सिस्नु लगाउँदै विसु पर्वसँगै नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने गरेका थिए र अहिले पनि छन् । नयाँ वर्षको दिन मनाइने विसु पर्व, गौरा पर्व आदिले घर, आफन्तबाट टाढा भए पनि संस्कृति जोगाउने, सहरका एक्ला कोठामा जन्मेका नयाँ पुस्तालाई आफ्ना चाड पर्व, रीतिरिवाज, संस्कृतिबारे परिचित गराउन मद्दत गर्छ । विसु पर्व मनाउनका लागि घरभित्र, घरबाहिर सरसफाइ, लिपपोत गरेसँगै शरीरको सरसफाइलाई समेत मुख्य रूपमा हेरिन्छ । बच्चा, बिरामीदेखि वृद्ध सबैले विसु पर्वको दिन नुहाउनु अपरिहार्य मानिएको छ । यो दिन अरू दिनभन्दा फरक तरिकाले नुहाइन्छ । आफ्ना शरीरका प्रत्येक अङ्गलाई साबुन पानीले मिच्दै काखीको विष (रोग) गयो, घुँडाको विष गयो, घाँटीको विष गयो, तिघ्राको विष गयो, पेटको विष गयो इत्यादि भन्दै सफापानीले पखाल्दै जानुपर्छ । यति भनेर सफासँग नुहाइधोइ गरेपछि वर्षभरि आफूलाई रोग लाग्दैन भन्ने सकारात्मक भावनामनभित्र पैदा हुन्छ ।
मनोचिकित्सकका अनुसार मनमा आउने सकारात्मक भावनाले जीवनलाई नै सकारात्मक बाटोतिर डो¥याउँछ । खुलेको आकाश, पालुरको समय, जताततै हरियाली, वसन्त ऋतुको रमझम, नयाँ वर्षको सुरुवात, गहुँ पाक्ने समय साह्रै रमाइलो गरी मनाइन्छ नयाँ वर्षसँगै विसु पर्व ।
हाम्रा धेरैजसो धर्म, परम्परा, चाडपर्वहरू साँच्चिकै वैज्ञानिक छन् । पुरानो वर्षको फोहोर फाल्ने र नयाँ वर्षको सुरुवात सरसफाइसँगै गरेपछि वर्षभरि रोगहरूले नछुने अटल धारणा त्यहाँका जनतामा रहेको छ । नुहाइ सकेपछि शरीरमा सिस्नु लगाउनै पर्छ । सिस्नुको झन्झनाहटले शरीरमा रहेका रोगव्याधि हट्नुको साथै छालाजन्य रोगहरूबाट छुटकारा मिल्ने, निरोगी बनाउने विश्वास गरिन्छ । सिस्नुलाई शरीरमा लगाउनुभन्दा पनि खानुका झनै धेरै फाइदा रहेको वैज्ञानिकले प्रमाणित गरिसकेका छन् ।
गरिबका भान्सामा मात्र सीमित रहेको सिस्नुको पाउडर अहिले देश विदेशमा सहरका भान्सा, रेस्टुरेन्ट, तारे होटेलमा महँगो परिकारको रूपमा बिक्री हुँदै आएको छ । अङ्ग्रेजीमा नेटल वा स्टिङगिङ नेटलका नामले चिनिने सिस्नुको वैज्ञानिक नाम भर्ने ‘अर्टिका डाइओसा’ हो । बर्सेनि ६० देखि ७० लाखको सिस्नुको व्यापार गर्दै आएको सुनसरी हिमाल एग्रो प्रोडक्टले सिस्नुमा सबैभन्दा बढी भिटामिनलगायत फर्मिक एसिड र आइरन पनि पाइने जनाएको छ । रायोको सागमा ३५० आईयू भिटामिन पाइन्छ भने सिस्नुमा १२०० आईयू भिटामिन ए, भिटामिन सी र अन्य रासायनिक पदार्थहरू पनि पाइन्छन् । पर्याप्त मात्रामा प्रोटिन पनि पाइने हुनाले शाकाहारीका लागि सिस्नुको सेवन एकदमै लाभदायक मानिएको छ । सिस्नुले मिर्गाैला, पेटको रोग, हाडजोर्नी, रगत बढाउने, मधुमेहजस्ता विभिन्न रोगको निदान गर्ने भनिएको छ । मानिसका लागि मात्र नभई सिस्नु खाएको कुखुराले सामान्य कुखुराभन्दा बढी अण्डा दिने, मासु स्वादिष्ट हुने र पोसिलो पनि हुने जनाइएको छ । सिस्नुको खोले खाएका गाईको दूधमा पनि फ्याटको मात्रा बढी पाइएको छ । इङ्ग्ल्यान्डमा रहेको प्रसिद्ध वारविक विश्वविद्यालयले हालै गरेको एक अध्ययनअनुसार सिस्नुमा रहेको पोल्ने फर्मिकजस्ता अम्लले क्यान्सरको औषधिलाई ५० प्रतिशतभन्दा बढी प्रभावकारी बनाउँछ भनेको छ ।
सहर बजारमा नयाँ वर्षलाई जे जसरी मनाए पनि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भने घरमै सेलरोटी, खीर, पुरी, माँडा, बटुक, मासुलगायत स्थानीय स्वास्थ्यवर्धक मिठा परिकारहरू पकाएर मनाइन्छ । नयाँ वर्षको पहिलो दिन वैशाख एक गते मनाउने विसु पर्वको मुख्य आर्कषण भनेको विशेष गरी देवर र नन्दले भाउजूलाई खोजीखोजी पानीमा चोपेको सिस्नु लगाउनु हो ।
जीवनभरि जेठाजुले भाइबुहारीलाई छुन नहुने तर देवरलाई छोरा समान मान्दै यो दिन देवर भाउजूले एकले अर्कोलाई सिस्नुपानी लगाउँदै रमाइलो गर्छन् । धेरैजसो मनमुटाव भइरहने नन्द भाउजूको नातालाई यो पर्वले कसिलो बनाउँछ । माइती छोडेर गए पनि आमाबुबापछिकी माया गर्ने भाउजूको यादलाई ताजा बनाइराख्छ यो पर्वले । यो पर्वमा काका, काकीलगायत साथी साथीबीच पनि रमाइलोका लागि दौडाइ दौडाइ सिस्नो लगाउने गरिन्छ । कहिलेकाहीँ एक्ली भाउजूलाई नन्द, देवर मिलेर पानीमा चोब्दै बढी नै सिस्नो लगाउँने गर्छन् । हँसीमजाकमा धेरै सिस्नो लगाउँदा ज्वरो आउने, शरीरमा ठूलाठूला फोकाहरू आउने, सहन नसकिने गरी सिस्नोले पोल्ने, आफूलाई बचाउनका लागि भाग्दाभाग्दै लड्नेसम्मका घटनाहरू समेत हुने गरेका छन् । कुनै पनि पर्व मनाउनुको उद्देश्य त्यसबाट आफन्तसँग भेटघाट हुनु, पर्वद्वारा भरपूर मनोरञ्जन प्रदान गर्नु र संस्कृतिको जगेर्ना गर्नु पनि हो । पर्वहरूमा देखिने कुरुतिहरूलाई हटाउँदै तथा समयअनुसार परिमार्जन गर्दै जानु पनि हाम्रो कर्तव्य हो । धेरै सिस्नु लगाउँदा बिरामी भइन्छ भन्ने कुरालाई समेत ख्याल गरी विसु पर्व मनाउँदा राम्रो हुन्छ ।
फागुनमा शिवरात्री, चैतमा होली, रामनवमी, बिहे भइसकेर घरजम गरी माइतीको यादमा तड्पिने छोरीचेलीलाई चैत महिनाभरि माइतीपक्षबाट कोसेली बोकी भेट्ने जाने चैतेलो, विसु पर्वजस्ता सुदूरपश्चिम प्रदेशका अलौकिक चाडपर्वहरूले सबैमा धार्मिक सहिष्णुता, भेटभाट, मेलमिलाप बढाउँदै आएको छ ।
नयाँ वर्ष र विसु पर्वका लागि भन्दै सुदूरपश्चिम प्रदेशका धेरैजसो युवा भारतमा मजदुरी गरेर घर फर्कने गर्छन् । गत वर्ष जस्तै यसपालि पनि भारतलगायत विश्वका अन्य केही देशमा कोरोना भाइरसको दोस्रो लहर चलेको छ । छिमेकी देश भारतबाट कोरोना बढेसँगै स्वदेश फर्कने समेत बढिरहेका छन् । ज्वरो, सुख्खा खोकीका लक्षणहरू देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न ढिला नगर्नु नै आफू र आफ्नो परिवारलाई कोरोनाबाट सुरक्षित राख्नु हो । ज्यान रहे नयाँ वर्ष त कति मनाउन सकिन्छ भन्ने कुराको ख्याल गर्दै भीडभाड नगरी सुरक्षित भएर बस्नु नै अहिलेको अपरिहार्यता हो ।
(लेखक शिक्षिका हुनुहुन्छ ।)