logo
२०८१ मंसिर ८ शनिवार



सडक पहुँचपछि रित्तिँदै बस्ती

विचार/दृष्टिकोण |




मञ्जु भट्ट

दुई वर्ष अघिसम्म काठमाडौंँबाट अछामको दुर्गम गाउँमा रहेको घर पुग्न चार दिन लाग्थ्यो । काठमाडौंँबाट हिँडेको भोलिपल्ट नेपालगञ्ज पुगेपछि सिधै गाउँ जाने बस नै नपाइने । कहिले अर्को दिन कुर्नुपथ्र्यो भने कहिले त्यही दिन बेलुका जसोतसो पाइन्थ्यो । त्यसपछि कमलबजार या स्याउले पुगेर राती त्यहीँ बास बसेर अर्को दिन मात्रै हिँडेर घर पुगिन्थ्यो । एक्लै हो भने तीन दिन तथा छोराछोरीसँगै जाने हो भने चार या कहिले त पाँचौँ दिनमा बल्ल घर पुगिन्थ्यो ।

अहिले केही सजिलो भएको छ । बसमा लामो यात्रा गर्न सक्नेका लागि तेस्रो दिनमा घर पुगिन्छ । गाउँघरसम्म पुगेका सडकले लामो यात्रालाई छोटो बनाएका छन् । स्थानीय सरकारको उपस्थितिले गाउँका कुनाकाप्चासम्म सडक पुगेका छन् । स्थानीय तहबीच आ–आफ्नो क्षेत्रमा सडक विस्तार गर्ने होडबाजी नै चलेको छ । कतै पिच गर्न बाँकी छन् भने कतै पिच भइरहेका छन् । विगत चार पाँच वर्षभित्र देशले सडक सञ्जालमा धेरै प्रगति भएको अनुभव हुन्छ गाउँ पुग्दा । काठमाडौं सहरदेखि गाउँ पुग्ने धेरैजसो सडक पिच भएका छन्, चौडा बनाइएका छन् । सडक निर्माणले गाउँघरसम्म पुग्न सजिलो मात्रै भएको छैन स्थानीय उत्पादन सदरमुकाम वा सहरसम्म लगेर बिक्री गरी आम्दानी गर्न सजिलो भएको छ । आफूलाई आवश्यक पर्ने सामानको जोहो गर्न धेरै समय खर्च गरेर टाढा पुग्नुपरेको छैन । विद्यार्थीलाई स्कुल जान सजिलो भएको छ । कलेज पढ्ने विद्यार्थीका लागि समेत गाउँ छोडेर सहर पस्नुपर्ने बाध्यता हटेको छ । वृद्धवृद्धा, गर्भवती, बिरामी सबैलाई उपचारका लागि अस्पतालसम्म पुग्न सजिलो भएको छ । गाउँघर सडक सञ्जालमा जोडिएसँगै गाउँमा रहेका सुन्दर ठाउँहरु पर्यटकीय स्थलको रुपमा विकसित हुँदै गएका छन् । यसले स्थानीय उत्पादन, त्यहाँको रहनसहन, भाषाशैली, संस्कृतिको प्रचारप्रसार गर्न मद्दत गरिरहेको छ । गाउँघरसम्म सडक सञ्जाल, पानी र बिजुलीको व्यवस्था भएकोले नै कतिपय युवा सहर पस्न छोडेर वा परदेशबाट फर्केर गाउँमै व्यावसायिक पशुपालन, कृषि, साना तथा घरेलु उद्यम, नर्सरी तथा फूलखेतीमा संलग्न भइरहेका छन् । यद्यपि उनीहरुलाई थप हौसला र सहयोगको खाँचो देखिएको छ ।

गुणस्तर वृद्धि अत्यावश्यक

सडक सञ्जालको विस्तारले यी सबै सम्भावना उजागर गरे पनि भएका, बनेका सडकको गुणस्तर वृद्धि गर्नु अति आवश्यक देखिन्छ । कतिपय ठाउँमा अवैज्ञानिक ढङ्गले खनिएका सडक साह्रै साँघुरा, अप्ठेरा, चिप्लिने, बढी नै घुमाउरा छन् । ग्रामीण भेगका त्यस्ता सडकमा गुड्ने सवारी साधनका अवस्था पनि कमजोर भइदिएका कारण बेलाबेलामा गम्भीर दुर्घटना हुने गरेका छन् । गत असोज २६ गते नेपालगञ्जबाट मुगुको लागि हिँडेको बस दुर्घटनामा प¥यो । गाडी दुर्घटना हुँदा त्यसमा सवार ३९ यात्रुमध्ये ३२ जनाको मृत्यु भयो । त्यसअघि असोज २५ गते कास्कीको घान्दु्रकमा जीप दुर्घटना हुँदा त्यसमा सवार नौमध्ये आठजनाको मृत्यु भयो भने एकजना भीरमा अड्केर बाँच्न सफन भए । डडेलधुरामा गाडी पल्टिँदा १५ जना घाइते भए । विगत तीन वर्षमा सुदूरपश्चिममा मात्रै ८८५ दुर्घटना हुँदा ५९४ जनाले ज्यान गुमाए भने ९५९ जना गम्भीर घाइते भएको तथ्याङ्क सार्वजनिक भएको छ । गत सालको कात्तिकमा मात्रै बैतडीको खोडपे बजार नजिकै भएको बस दुर्घटनामा नौ जनाको मृत्यु हुँदा ३४ जना घाइते भए । अनुसन्धानका क्रममा बस पुरानो भएको कारणले ब्रेक राम्ररी नलागेको भन्ने प्रतिवेदन सार्वजनिक गरियो ।

सहरकै झझल्को
अहिले गाउँ पुग्दा सहरको झल्को आउँछ । प्रायः घर पक्की बनेका छन् । वैदेशिक रोजगारीमा गएका युवाले पठाएको विप्रेषणका कारण ग्रामीण भेगको जीवनस्तर केही उकासिएको पाइन्छ । घरघरमा बिजुली बल्न थालेका छन् । टेलिभिजन र त्यसमा आउने विभिन्न च्यानल जीवनका आधारभूत वस्तु नै बनेका छन् । हातहातमा भएको मोबाइलमा इन्टरनेटको सुविधा थपिएका छन् । खानेपानीका धारा जडान भएका छन् । गाउँमा यातायात, स्वास्थ्य केन्द्र, विद्यालय सबैको सुविधा छ ।

नियति उस्तै
यसरी दैनिक आवश्यकता धेरैजसो चिजबिजको उपलब्धता भए पनि गाउँका जनताले विभिन्न समस्यासँग जुझ्नुपर्ने अवस्था भने फेरिन सकेको छैन । सुदूरपश्चिम प्रदेशमा मात्रै हेर्ने हो भने त्यहाँका विभिन्न गाउँ अहिले जङ्गली जनावरको आक्रमण बढ्न थालेको छ । बैतडीदेखि बझाङ, बाजुरा, डोटी, डडेलधुरा सहित अछाममा रहेको मेरो घरसम्म बाँदर, बँदेल, दुम्सी र भालुको आतङ्कले किसान रुनु न हाँस्नुको अवस्थामा पुगेका छन् । बैतडीको प्रसिद्ध मन्दिर त्रिपुरासुन्दरीको छेउमै रहेको अत्यन्तै उर्वर भूमि भएका स्थानीयहरु बाँदरको बिगबिगीका कारण खेती गर्नै छाडेर भारतको झुलाघाट बजारका खरिदकर्ता बन्न पुगेका छन् । खेतीपातीबाटै प्रमुख आम्दानीका स्रोत भएका स्थानीयलाई बाँदरलगायत अन्य जङ्गली जनावरको बद्मासीले उठिबास लगाउने अवस्थामा पु¥याएको छ ।
घरमा पालेका गाइबस्तुहरुलाई खुवाउने रुखका स्याउला समेत बाँदरहरुले चुँडेर सखाप पार्ने गरेका छन् । रातीको समयमा आउने, भालु, दुम्सी, बँदेलले खेतबारी सखाप पारिदिन्छ । दिनदिउँसैै आउने बाँदरले मानिसका भन्साभान्सामा पसेर पाएसम्म र भ्याएसम्म नोक्सान पु¥याइदिन्छ । पूर्वदेखि पश्चिमका विभिन्न गाउँमा यो समस्या विकराल बन्दै गइरहेको छ । आफूलाई चाहिने अन्नपात, फलफूल गाउँघरमा फल्ने गरेका थिए । परिवारमा खपत हुन नसकेका खाद्यान्नहरु छिमेकी राष्ट्र भारत, चीनमा समेत व्यक्तिगत रुपमै गएर बिक्री हुने गरेका थिए र आएको पैसाबाट आफूलाई चाहिने नुन, चिनी, लत्ताकपडा जस्ता सामान खरिद गरेर गाउँहरुले जीविकोपार्जन गरेका थिए ।

अहिले कतिपय अन्नपात वातावरणमा आएको परिवर्तनका कारण फल्न छोडेका छन् भने कतिपय अन्नपात जङ्गली जनावरका कारण लगाउन नै बन्द भएका छन् । जुन गाउँमा पहिले अन्नपात प्रशस्त फल्थ्यो अहिले तिनै गाउँ तराईको खाद्यान्नमा भर पर्न थालेका छन् ।
तराईका पनि अन्न फल्ने फाँटहरु कङ्क्रिट जङ्गल बन्दै छन् । पहाडका अन्न फल्ने खेतहरु बाँझो हुँदै गएका छन् । यो क्रम अझै केही समय यसरी नै चलिरहने हो भने यसले विकराल समस्या खडा गर्नेछ । परिवार पाल्नकै लागि हाम्रा गाउँमा बाँकी रहेका युवा गाउँ छोडेर विदेश पलायन हुनेछन् । अहिले पनि बाँदरका कारण बैतडीका कतिपय गाउँहरु खाली भएका समाचारहरु आइरहेका छन् । दशरथचन्द नगरपालिकामा रहेको ‘डुङरा’ भन्ने गाउँबाट मात्रै करिब दुई हजार परिवार बाँदर आतङ्ककै कारण गाउँ छोडेर अन्यत्र हिंडिसकेका छन् । भारतको झुलाघाट सीमा नजिक गाउँ भएका नेपालीले आफ्ना छोराछोरीलाई पढ्नका लागि भारत पठाउन थालेका छन् । यहाँका कतिपय स्कुलमा विद्यार्थी नभएका कारण बन्द हुने वा नजिकैको अर्को विद्यालयसँग गाभिने क्रम सुरु भएको छ ।

आफ्नै देशमा बसेर भारतीय राष्ट्रगान गाउनुपर्दा उनीहरुको मनमा देशप्रति कस्तो भावना जागृत होला सोच्नुपर्ने बेला भएको छ । देश सङ्घीयतामा गइसकेको छ । यति सानो देश सातवटा प्रदेशमा विभक्त भएको छ । आफ्नो क्षेत्रबाट के कति कारणले जनता वासस्थान छोड्न बाध्य भइरहेका छन् पत्ता लगाएर त्यसको सही समाधानतिर लाग्नु अति आवश्यक भइसकेको छ । कुनै पनि ठाउँमा बस्ती बसाल्नका लागि वनजङ्गल, हावापानी, जनावर सबैको सन्तुलन मिलेको हुनुपर्छ । यीमध्ये कुनै एउटा कुरा बढी भइँदिदा त्यो ठाउँ बस्न योग्य हुँदैन । अहिले ठिक त्यस्तै भइरहेको छ । मानिसभन्दा बाँदरलगायत खेतबारी नष्ट गर्ने जनावरहरुको सङ्ख्या बढी भएको छ । यसलाई सबै मिलेर समयमै नियन्त्रणमा लिनु जरुरी देखिन्छ । होइन भने भविष्यमा गाउँमा टिकिरहन चुनौतीपूर्ण हुँदै जानेछ । गाउँको जति नै विकास भए पनि गाउँमा बस्नै सकिएन भने त्यस्तो विकासको के काम ? मनन गर्ने बेला भएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?