मञ्जु भट्ट
पैसा कमाउनकै लागि दुई वर्षका दूधेबालकलाई छोडेर विदेश हिँडेका दम्पतीहरू छोराको सम्झनामा बेलाबेलामा भिडियो कलमै भक्कानिन्छन् । यता बूढा हजुरबुवा, हजुरआमालाई बालकको स्याहारसुसार गर्न सकस भइरहेको हुन्छ । दुई वर्ष पूरा हुँदा नहुँदै उनलाई स्कुल भर्ना गरिन्छ । बालकमा कसैले भनेको नसुन्ने साह्रै जिद्दी स्वभाव देखिएको छ । उनलाई फकाउन बिहानै उनका हजुरबुवा पसल गएर कहिले चिजबल त कहिले कुरकुरे किनेर ल्याउँछन् ।
एक भर्खरै बिहे गरेका दम्पतीकी श्रीमती विदेश गएपछि एक वर्षमै छुट्टिन पुगे । उता श्रीमतीले काम सुरु गरिन्, यता उनका श्रीमान्ले श्रीमती विदेश गएको एक हप्तामै अर्की केटीलाई घुमाउन सुरु गरे । स्वयं लाजलाई पनि लाज लाग्ने गरी वरिपरि बस्ने सबैलाई लज्जित पार्दै उनीहरू बेपर्वाह घुमफिर गर्न थाले । उता श्रीमती दुःखपीडा झेल्दै काम गर्न थालिन् । यता उनका श्रीमान्को मस्ती सुरु भयो । साउदी अरबमा काम गरिरहेका एक जना भाइ केही दिनअघि बिरामी भएर घर फर्के । उताबाट साथीहरूले जहाजमा चढाइदिएपछि उनी काठमाडौँ त ओर्ले तर त्यसपछि एक्लै घर जान सकेनन् । उनकी दिदीले उनलाई दुई दिन गाडीको यात्रा गर्दै घर पु¥याइन् । डिप्रेसन भएजस्तै लामो समयसम्म उनी कसैसँग धेरै नबोल्ने, डराउने, एक्लै बस्न रुचाउँथे । गत वर्षको माघ ९ गते एकै पटक मलेसियाबाट रोजगारीमा गएका १७ नेपालीको शव नेपाल ल्याइएको थियो भने चैतमा मलेसियाबाट नै १२ जनाको शव पुनः नेपाल आएको थियो । पूरै परिवारले सँगै बसेर देखेका सपनालाई मृतकको शवसँगै तिलाञ्जलि दिनु परिरहेको छ । विगत १३ वर्षमा साढे नौ हजारभन्दा बढी श्रमिकको विदेशमा मृत्यु भएको छ ।
काठमाडौँमा गत साउन १ गतेपछि सम्बन्ध विच्छेदका चार हजारभन्दा बढी मुद्दा दर्ता भएका छन् । यी मुद्दा अधिकांश वैदेशिक रोजगारसँग जोडिएका छन् । वैदेशिक रोजगारीमा गएका पुरुष फर्किएपछि ५० प्रतिशतमा दाम्पत्य समस्या देखिने गरेको अध्ययनको निष्कर्ष छ । यस्ता कैयौँ उदाहरण छन्, जहाँ श्रीमान् वा श्रीमती विदेशिनु पर्दा घरपरिवार नै बर्बाद भएका छन् । कतै श्रीमान् घर फर्किंदा उनले कमाएको धनसम्पत्ति बोकेर श्रीमती अर्कैसँग हिँडेका छन् भने कतै श्रीमती वैदेशिक रोजगारबाट घर फर्किंदा श्रीमान्ले अर्कै बिहे गरेर बसेको पनि देखिएको छ । कतिपयका श्रीमान् विदेशमै अर्को बिहे गरेर बसेका छन् भने कतिपयका श्रीमती स्वदेश फर्किंदा अर्कैको बच्चा बोकेर फर्केकोसमेत देखिएको छ ।
घरेलु श्रमिकका रूपमा विदेश हिँडेका कतिपय किशोरी घरमालिकबाट यौन शोषणको सिकार भई गर्भवतीसमेत हुन पुगेका छन् । कतिपय किशोरी शारीरिक तथा मानसिक शोषणको सिकार हुँदै काम गर्न बाध्य भएका घटना भिडियोसहित बेलाबेलामा सार्वजनिक हुने गरेका छन् । बाबुबिनाका बच्चा बोकेर आँसुको घुट्को पिउँदै स्वदेश फर्किन बाध्य कतिपय किशोरीका पीडा छरपस्ट छन् । वैदेशिक रोजगार विभागका निर्देशक टीकामणि न्यौपानेका अनुसार कोरोना भाइरस महामारीको अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि ९७ वटा देशमा पुगेका छन् ।
चराजस्तै आकाशमा उड्दै मनमा अनेक सपना सजाएर विदेश हिँडेका युवाको शव बाकसमा फर्किंदा कसको मन रुदैन र ? विदेशमा दुःख गरेर कमाएको पैसाकोे रेमिट्यान्सले देशको अर्थतन्त्रमा ठूलो टेवा पुगेको सर्वविदितै छ । देशमा सर्वसुलभ स्वास्थ्य उपचार नहुँदा गम्भीर प्रकृतिका रोग लागेको खण्डमा कतिपय मानिस विदेशमा रहेका नेपालीको सहयोगले नै उपचार गराउन सफल भएका उदाहरण थुप्रै छन् तर विडम्बना, कोरोना सङ्क्रमणको समयमा स्वदेश फर्कने नेपालीका लागि रोजगारीका कुनै पनि अवसर सिर्जना भएका छैनन् । त्यही रेमिट्यान्सबाट आएको ठूलो हिस्सा भने कोरोनाकालमा पनि स्थानीय, प्रदेश तथा केन्द्रका मन्त्री तथा नेताहरूको सुखसयल तथा आजीवन सुविधा प्रदान गर्न खर्च भइरहेको छ । विदेशमा पाइने काम र दाम आफ्नै देशमा सिर्जना गर्न सकियो भने युवाले विदेश जान पक्कै पनि बन्द गर्थे । विदेशमा काम गर्ने श्रमिकले पैसा कमाउनका लागि जुन मूल्य चुकाइरहेका छन्, त्यसको हिसाब गर्न गाह्रो छ ।
कतिपय परिवारमा विदेशबाट आएको कमाइले खुसी थपेको पनि छ । घर, जग्गाजमिन किनेर राम्रो लगाएको, मीठो खाएको पनि देखिएको छ । छोराछोरीलाई सहरका महँगो स्कुलमा पढाइरहेका पनि छन् । कतिपयले विदेशमा सिकेको सीपले आफ्नै देशमा आएर व्यापार व्यवसाय चलाएर मनग्य आम्दानीसमेत गरिरहेका छन् । तैपनि कामदारका रूपमा विदेश जानेहरूलाई कतिखेर कम्पनी बन्द पो हुने हो कि, मालिकले समयमा तलब नदिने पो हो कि जस्ता चिन्ताले भने सधँै सताउने गरेको छ । शारीरिक तथा मानसिक यातना खेप्न बाध्य, अत्यधिक कामको चापले सुतेकै ठाउँमा मृत्यु हुने, कामको सिलसिलामा अङ्गभङ्ग हुने, कोमामा जाने, सानातिना अपराधमा पनि भाषाको समस्याले मृत्युदण्डसमेत भोग्न बाध्य भएका कतिपय नेपालीका पीडालाई बेवास्ता गर्न पनि सकिँदैन ।
इलामका दुर्गाप्रसादले जीवनको उर्वरशील समय महिला हत्याको आरोपमा बिनासुनुवाइ ४० वर्ष भारतीय जेलमा बन्दी जीवन बिताउनु पनि परदेशमा आइपर्ने पीडामध्ये एक हो । विदेशमा लगेर बेचिइनुदेखि चोरबाटो हुँदै विदेश जानेहरूले पाउने गरेका पीडा पनि कम छैनन् । पढेलेखेका होनहार युवादेखि कर्मठ जवान देशबाहिर जाँदा सबैभन्दा घाटा देशले बेहोर्नुपरेको छ । बल, बुद्धि र विवेक भएका युवा गाउँसहर छोडेर जाँदा समग्र देशको विकासमै बाधा पुगेको छ ।
देशमा जुनसुकै पार्टीको सरकार आए पनि देशका लागि महìवपूर्ण काम गरेको देख्न सकिएको छैन । वर्षौंंपहिले बनाउन सुरु भएका सुदूरपश्चिम प्रदेशका कतिपय विमानस्थल बन्द अवस्थामै छन् । भ्रष्टाचारमा लिप्त हुँदै गएका विभिन्न स्थानीय तहदेखि गत वर्षभन्दा चार अङ्क तल झरेको आँकडा ट्रान्सपरेन्सी इन्टरनेसनलको तथ्याङ्कसमेतले देखाइसकेको छ । अहिले पनि नदीपार गर्न जनताले तुइन प्रयोग गर्नु परिरहेको छ र ज्यानसमेत गुमेको अवस्था छ । गम्भीर रोग लागेको खण्डमा स्वास्थ्य उपचारकै लागि घरघडेरी बेच्नु परिरहेको छ । काठमाडौँदेखि झन्डै एक हजार किलोमिटरको दूरीमा रहेको अछाममा घर पुग्न चार दिन लाग्दछ । हाम्रो दैनिकको भान्छाका लागि छिमेकी देशमा भर परिरहनुपरेको छ । सत्तामा बस्नेहरूले आफू र आफन्तभन्दा पनि देश विकासका काममा ध्यान दिई रोजगारीका प्रशस्त अवसर सिर्जना गर्न सके हाम्रा आफन्त विदेश जाने क्रम पक्कै पनि रोकिने थियो ।