logo
२०८१ बैशाख ८ शनिवार



मानव स्वास्थ्यप्रति बढ्दो चिन्ता

विचार/दृष्टिकोण |




मञ्जु भट्ट

कक्षामा स्वास्थ्य शिक्षाबारे बहस चलिरहँदा धेरै विद्यार्थीले सोध्ने गर्छन्, “तपाईंलगायत सबै शिक्षकले अल्कोहल, तम्बाखु, गाँजा आदि लागूपदार्थ हाम्रो शरीरका लागि हानिकारक हुन्छन् भनेर पढाउनुहुन्छ, त्यसो हो भने सरकारले यस्ता लागूपदार्थ बनाउने कारखाना किन बन्द गर्न सक्दैन ? विद्यार्थीलाई ‘स्मोकिङ इज ब्याड फर हेल्थ’ भनेर लेखिएका प्लेकार्ड बोकाएर -यालीमा लगिन्छ अनि हाम्रै परिवारका सदस्य, छरछिमेकले धूमपान गरिराखेको हुन्छ । मानव स्वास्थ्यका लागि निकै हानिकारक मानिने लागू र नशालु पदार्थ बजारमा सजिलै पाइन्छन् । यस्ता पदार्थ बनाउन र बेच्न बन्द गर्न सकिँदैन र ?”

म सानो हुँदा यही प्रश्न मस्तिष्कमा आउने गर्दथे र अहिलेसम्म पनि आउने गर्छन् । मानव शरीरका लागि हानिकारक मानिएका लागूपदार्थ बनाउन सरकारले किन अनुमति दिन्छ ? लागूपदार्थ बनाउन अनुमति दिने भनेको करबापत पैसा असुल्नकै लागि मात्र हो त ? ‘स्लो पोइजन’ बनाएर आएको करबापतको पैसाले नागरिककै भलो गर्न सकिन्छ र ? एउटा मानिसलाई लागूपदार्थ खुवाएर आर्थिक, शारीरिक तथा मानसिक रूपमा कमजोर पार्दै मृत्युको मुखमा पु-याएर कमाएको पैसाले अर्को मानिसको भलो हुँदैन ।

अल्कोहल, तम्बाखु, गाँजा, चुरोट, गुट्खा, चरेस, म्यारिजुना, हिरोइन, अफिमजस्ता पदार्थको प्रयोगले मानिसलाई नशा लाग्छ । ड्रग्सजस्ता लागूपदार्थ सेवन गर्नाले कतिपय युवाको जीवन बर्बाद भएको छ । कतिपयलाई महिनौँ, वर्षौंसम्म सुधारगृहमा राख्नुपरेको छ । परिवारले भोग्नुपर्ने आर्थिक तथा मानसिक पीडाको कुनै लेखाजोखा हुँदैन । कहिलेकाहीँ थोरै अल्कोहल प्रयोग गर्दा शरीरमा असर नगरे पनि मस्तिष्कमा प्रत्यक्ष प्रभाव पार्ने डोपामाइन रसायनकै कारण मनमा आनन्द मात्र आउँदैन, सन्तुष्टिको आभास पनि गराउँछ । जसका कारण बिस्तारै अल्कोहल पिउने बानी वा लत लाग्दै जान्छ । अल्कोहल पिउने लत लागिसकेपछि बिस्तारै त्यसको मात्रा पनि बढ्दै जान्छ ।

मानिसले धेरै मात्रामा अल्कोहल पिउन थाल्यो भने आर्थिक समस्या त छँदै छ, बोली लर्बराउन थाल्नु, आँखा कमजोर हुँदै जानु, हिँड्दासमेत घाउचोट लाग्नु, भीरबाट लडेर मृत्यु हुनु, गाडी चलाउँदा दुर्घटना हुनु, सुर्तीजन्य पदार्थका खोल जताततै फाल्नाले, जताततै थुक्नाले वातावरण प्रदूषित हुनु, पिसाब लागिरहनु, निद्रा लाग्नु, वाकवाकी लाग्नु, बेहोस हुनुजस्ता विभिन्न लक्षण छोटो समयमै देखा पर्छन् । लामो समयसम्म धेरै अल्कोहल पिउँदै जाने हो भने बिस्तारै शरीरमा उच्च रक्तचाप, मुटुरोग, कलेजो, मुख, घाँटी, पेट आदिको क्यान्सरजस्ता गम्भीर प्रकारका रोगसमेत लाग्न सक्छन् । मस्तिष्कमा असर पु-याएर सुसाइड गर्नेजस्ता क्रियाकलापसमेत हुने गरेका छन् ।
शहीद गङ्गालाल हृदय केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीका अनुसार सुर्तीजन्य पदार्थ सेवनबाट युवामा समेत हृदयाघात हुने जोखिम बढी हुन्छ । अल्कोहल बढी प्रयोग गरेकै कारण विगत १० वर्षमा हृदयाघात हुनेको सङ्ख्या ४६ प्रतिशतले बढेको जानकारी अधिकारीले दिनुभयो । चुरोटजस्ता सुर्तीजन्य पदार्थ सेवनमा युवाभन्दा युवती अघि रहेको पाइन्छ । पुरुषको तुलनामा महिलालाई १३ गुणा बढी हृदयाघातको सम्भावना रहेको डा. अधिकारीको भनाइ छ ।

मादक तथा लागूपदार्थ सुख वा दुःख जस्तोसुकै अवस्थामा धनी, गरिब सबैले सेवन गर्छन् । यस्ता पदार्थ प्रयोग गरेपश्चात् लाग्ने रोगको उपचार धनी मानिसले सजिलै गर्नसक्ने भए पनि गरिबका लागि रोग लाग्नु दुर्भाग्य हो । अमेरिकामा मात्रै लागुपदार्थको प्रयोगबाट बर्सेनि एक लाखभन्दा बढीको मृत्यु हने गरेको तथ्याङ्क त्यहाँको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले हालै सार्वजनिक गरेको छ । यो तथ्याङ्क गत वर्षभन्दा २८ प्रतिशतले बढी हो । विश्वभर फैलिएको कोभिड–१९ का कारण पनि कतिपय मानिसले आफ्नो पेसा–व्यवसाय नै गुमाएकै कारण फुर्सदिलो भएर बढेको तनावका कारण लागूपदार्थ सेवन गर्नेको सङ्ख्या बढेको पाइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा प्रत्येक वर्ष सुर्तीजन्य पदार्थ सेवनाबाट मात्रै ६० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । अफिस, स्कुल, आफ्नो पेसा व्यवसायमा व्यस्त हुँदा आर्थिक स्थिति मजबुत हुन गई मानिस त्यसै खुसी हुन्छन् । यतिखेर उनीहरूलाई खुसी बनाउन कुनै नशालु पदार्थ प्रयोग गरिरहनु पर्दैन । यस्तोमा मानिस आफ्नो परिवार, आफन्तसँग बसेर रमाउन खोज्छन्, खुसी बाँड्छन् न कि एकान्तमा लुकेर लागूपदार्थ सेवन गर्छन् ।

विभिन्न खोजअनुसार निरक्षर तथा गरिब व्यक्तिले धनीको भन्दा बढी लागु तथा मादक पदार्थ प्रयोग गरेको पाइएको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने निरक्षर र गरिब मानिस दुर्गमका गाउँघरमा बढी बस्छन् । मेरो गाउँका धेरैजसो पुरुषमा रक्सीको लत लागेको छ । कतिपयलाई गाउँबाट धनगढी ल्याएर रक्सीको लत छुटाउने कोशिश गरिए पनि सफल भने हुन सकिएको छैन । भारतीय सेनामा भर्ती भएका एक जना काकाले आफ्नो छोराका लागि अहिलेभन्दा ३० वर्षअगाडि अन्न पिस्ने चक्की (मेसिन) किनिदिएका थिए । ओखल, जाँतो छोडेर महँगो पैसा तिर्दै कतिपय गाउँबाट मकै, गहुँ, चामल पिस्न उनको चक्कीमा आउँथे र अहिले पनि आउँछन् । रक्सीको लत लागेका उनी अहिलेसम्म पनि लाखौँको ऋणमा डुबेका छन् ।

विश्वमा कोभिड–१९ को महामारी फैलिएको दुई वर्ष पुग्न लागेको छ । यसबीचमा कोभिडकै कारण विश्वभर झन्डै ५२ लाख मानिसले ज्यान गुमाइसकेका छन् । समग्रमा हेर्ने हो भने बजारमा खुला रूपमा पाइने विभिन्न प्रकारमा नशालु पदार्थ प्रयोगले बर्सेनि कोरोना भाइरसले भन्दा लाखौँ बढी मानिसको मृत्यु भइरहेको छ । नशालु पदार्थ जस्तै– चुरोट प्रयोग गर्ने मानिसका कारण नजिकै बसिरहेका तथा परिवारका लाखौँ सदस्यको शरीरमा नराम्रो असर पु¥याइरहेको छ । डाक्टरलाई बिरामीले भगवान्को दर्जा दिएका छन् । डाक्टरले जुनसुकै भए पनि नशालु पदार्थ प्रयोग गर्नाले मानिस रोगको सिकार भई उनीहरूको मृत्युसमेत हुनसक्ने बताइरहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले समेत चुरोटजस्ता सुर्तीजन्य पदार्थ प्रयोग गर्नेलाई डाक्टरले डर देखाइदिनुप¥यो भनिरहेका छन् । सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चित्र छाप्नुपर्ने नियम भए पनि त्यस्तो भएको पाइँदैन । कतिपय परिवारमा आमाबुवाले नै साना छोराछोरीलाई सुर्तीजन्य पदार्थ किन्न पठाउँछन् । आफूले खाएपछि छोराछोरीलाई नखाऊ है भन्न सकिँदैन । लत लागिसकेपछि न प्याकेटमा भएका चित्रले डराउँछ, न यसमा खर्च हुने पैसाले न त छोराछोरीबाट डर र लाज नै लाग्छ ।
कोरोना भाइरसको महामारी देखिँदा सारा विश्व नै ठप्प भएजस्तै मानिसको स्वास्थ्यका लागि हानिकारक मानिने पदार्थको उत्पादन नै बन्द गरिदिँदा यसबाट मानव स्वास्थ्यप्रति न्याय गरेको ठहरिने थियो । न्युजिल्यान्ड सरकारले धूमपान कम गर्ने अभियान सफल तुल्याउन निकै लामो समय लागेको बताएको थियो । यसबाट उचित प्रतिफल नपाएको भन्दै सुर्तीजन्य उद्योगमा कडा प्रतिबन्ध लगाउनुका साथै युवालाई चुरोट किन्न प्रतिबन्ध लगाउने योजनासमेत अघि सारेको छ ।

हालै इन्डोनेसियाको जकार्तामा दक्षिण पूर्वी एसियाका १२ देशका नगरप्रमुखको सुर्तीजन्य पदार्थ र नसर्ने रोगविरुद्ध छैटौँ सम्मेलन सम्पन्न भयो । भरतपुर महानगरपालिकाले गत आर्थिक वर्षमा सार्वजनिक स्थलमा धूमपान गर्नेहरूबाट एक लाख रुपियाँ सङ्कलनसमेत गरेको छ । मदिरा, सुर्ती तथा सुर्तीजन्य पदार्थले जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै हालै विज्ञापन बोर्डले तिनको विज्ञापन उत्पादन, वितरण र प्रचारप्रसारमा रोक लगाएकोमा विज्ञापन व्यवसायी त्यसको विरोधमा उत्रिएका छन् । मानव स्वास्थ्यमा नराम्रो असर गर्ने पदार्थहरू विज्ञापन गर्दै किन्न तथा खान उत्साहित पार्नु एक प्रकारको अपराध नै हो । यस्ता पदार्थ हामीले आफ्ना सन्तान र परिवारका कुनै पनि सदस्यलाई खान बन्देज लगाउँछौँ, निरुत्साहित गर्छौं भने आफ्नो स्वार्थपूर्तिका लागि अरूलाई खान भनेर प्रोत्साहित गर्नु अत्याचार हो, अपराध हो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हालै सम्पन्न कोप सम्मेलनमा विश्वव्यापी तापमान कम गर्न कार्बनको खपत घटाउने प्रतिबद्धता जनाएर आएका थिए । लगत्तै परेको तिहारका कारण पटाका बढी पड्काएर भएको वायुमण्डलीय प्रदूषणका कारण दिल्लीका स्कुल, कलेज, अफिसलगायत अनिश्चित समयका लागि बन्द गर्नुप¥यो । नेपालको तराईसम्म समेत भारतको प्रदूषणको असर परेको जनाइएको छ । नेपालमा तिहारमा खासै पटाका पड्काइँदैन । प्रहरीको सक्रियताका कारण यो सम्भव भएको छ । सरकारले नै पटाका पड्काउन प्रतिबन्ध लगाउँछ । त्यस्तै भारतमा पनि गर्न सकिन्थ्यो । सरकारले कडाइका साथ काम गर्ने हो भने यो सम्भव हुन सक्थ्यो तर विडम्बना ! प्रत्येक वर्ष तिहारको समयमा हुने अत्यधिक प्रदूषणले मानव स्वास्थ्यमा नराम्रो असर पर्दै गएको छ । विश्वमा हुने गरेका यस्ता प्रदूषणले त्यहाँका मान्छेलाई मात्रै असर गर्दैन । कसैको क्षणिक खुसीका लागि गरिने यस्ता क्रियाकलापले विश्वका समस्त नागरिकमा त्यसको असर पर्ने भएकाले त्यस्ता क्रियाकलाप तुरुन्तै बन्द गरिनुपर्छ नत्र यसले कालान्तरमा मानव स्वास्थ्यमा प्रतिकूल असर पु-याउने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?