नरसागर श्रेष्ठ
करको माध्यमबाट व्यक्ति र संस्थाको आर्थिक साधनहरू सरकारमा स्थानान्तरण हुने र व्यक्ति र संस्थाको क्रयशक्तिमा ह्रास आउने भएकाले करलाई व्यक्ति र संस्थाहरूले अनावश्यक बोझका रूपमा लिने गर्छन् । कर तिरेपछि तत्काल कुनै प्रत्यक्ष लाभ प्राप्त नहुने भएकाले करप्रतिको नकारात्मक धारणालाई स्वाभाविक रूपमा कर प्रशासनहरूले हेर्ने गरेको पाइन्छ । व्यक्ति, समाज र सरकारका लागि कर अति आवश्यक कुरामात्र होइन, यसले यिनीहरूबीचको सम्बन्ध र सरकारको वैधानिकतासमेत निर्धारण गर्छ । यी तीनवटै पक्षहरूको आ–आफ्ना धारणाहरू हुन्छन् । करदाता र कर व्यवस्थाबीचको सम्बन्ध जहिले पनि जटिल र व्याख्या गर्न अति कठिन हुन्छ । तुलनात्मक रूपमा सरकारले अन्य देवानी कानुनहरूभन्दा कर कानुनहरूको कार्यान्वयनमा करदाताको बढी प्रतिरोधको
सामना गर्नुपर्छ ।
एक करविज्ञले यसलाई जीवन नै भनेका छन् । मानिसको जीवनमा जसरी विविध पक्षहरू हुन्छन्, करका पनि विविध पक्षहरू हुन्छन् । यसलाई दुईतिर हेरिरहेको देवताका रूपमा पनि चित्रण गरिएको छ । एकातिरको मुखले आयकर र सम्पति करजस्ता प्रत्यक्ष करहरूतिर हेरिरहेको हुन्छ भने अर्कोतिरको मुखले मूअक, अन्तःशुल्क र अरू अप्रत्यक्ष करहरू पनि हेरिरहेको हुन्छ ।
समाजले आफूलाई सभ्य छु भन्ने प्रमाणित गर्ने आधार कर हुन्छ भने सरकारले पनि आफ्नो सार्वभौम सत्ता कुनै क्षेत्रमा प्रयोग गरिरहेको छ भनी देखाउने अन्य आधारहरूमा कुनै क्षेत्रमा सहज र सरल ढङ्गले कर लगाउन सक्नुपर्छ, जसलाई कर साहित्यमा टेरिटोरियालिटीको सिद्धान्तबाट चिनिन्छ । त्यसकारण नेदरल्यान्ड्समा कर प्रशासनले स्पष्ट रूपमा भनेको छ कि हामीले यसलाई राम्रो बनाउन सक्दैनौँ तर सजिलो भने बनाउन सक्छौँ । करदातालाई कर अधिकारीहरूले उनीहरूको उपस्थिति सहज नमाने पनि सहयोग गर्न बसेका हौँ भनी उद्घोष नै गरेका छन् । करलाई करदातालाई सजाय गर्ने उद्देश्यले होइन कि जनतालाई सरकारी खर्चमा सहभागी गराउने उद्देश्यले उठाउनुपर्छ । धन र सम्पत्ति भएका मानिसलाई अपमानित हुनेगरी कर लगाउनुहुन्न ।
अर्थशास्त्रीहरू, राजनीतिज्ञहरू र सङ्गीतकर्मीहरूले समेत करलाई आ–आफ्नै ढङ्गले हेर्ने गरेको पाइन्छ । मिल्टन फ्रिडम्यानले समेत भनेका छन्– संसारमा त्यस्तो कर व्यवस्था विकास गरिएको छ, जसले काम गर्नेलाई बढी कर लगाउँछ र त्यो करबाट उठेको रकम काम नगर्ने अल्छीहरूलाई अनुदानका रूपमा बाँड्ने कार्य गर्छ । उनले करको रकम खर्च गर्नेसम्बन्धमा असन्तुष्टि प्रकट गरेका छन् । त्यसैगरी, किन्सले भनेका छन् कि कर छली गर्नु नै एउटा त्यस्तो कार्य हो, जो अझै पनि पुरस्कृत होइन्छ । संयुक्त राज्य अमेरिकाका एकजना सांसद रसेल लडले त भनेका छन्– उसलाई मात्र कर नलगाऊ, मलाई कर नलगाऊ र त्यो रूख पछाडि बसेको मानिसलाई मात्र कर लगाऊ । बेलायतमा मलाई कर नलगाऊ मेरो पछाडि बस्नेलाई कर लगाऊ भन्ने उखान निकै प्रचलनमा रहेको पाइन्छ । यसैगरी, करप्रति व्यङ्ग्य गर्र्दै प्रसिद्ध गायन समूह बिटल्सले ट्याक्स म्यान नामक गीत गाएर यदि तिमीले कार हाँक्छौ भने ट्याक्स म्यानले सडकमा कर लगाउँछ र तिमीले बस्न खोज्यौ भने उसले कुर्सीमा कर लगाउँछ । यसैगरी, क्रिस रकजस्ता हास्यकलाकारले तिमीले कर नतिरे तापनि उनीहरूले त्यसै असुल गर्छन् भनी व्यङ्ग्य गरेका छन् । अङ्ग्रेजी साहित्यका एकजना लेखक र नाटककारले त करका लागि मात्र मैले एक वर्ष अनाहकमा बिताउँछु भनेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनतालाई फकाउने हिसाबले कर तिर्नु भनेको प्रकृति, कर नतिर्नु भनेको विकृति र बढी काम गरेर कर तिर्नु भनेको संस्कृति भनेका छन् । अल्बर्ट आइन्सटाइनले समेत संसारमा सबैभन्दा बुझ्न गाह्रो विषय आयकर हो भनी उद्घोष गरेका छन् ।
विभिन्नप्रकारका सरकारहरूले यसलाई आफ्नो स्वार्थ पूरा गर्नका लागि विविध तरिकाले उपयोग गर्दै आएको पाइन्छ । उदाहरणका लागि शीतयुद्धको समयमा रुमानियामा चाउचेस्कुको शासनकालमा जनसङ्ख्या वृद्धि गर्न प्रोत्साहित गर्ने उद्देश्यले यदि ३५ वर्ष पुगेका युवकयुवतीहरूले छोराछोरी जन्माएनन् भने उनीहरूलाई बढी कर लगाउने व्यवस्था गरिएको थियो । रूसले द्वितीय विश्वयुद्धमा आफ्नो देशका धेरै मानिस मरेपछि त्यसलाई पूरा गर्न सन् १९४१ मा सन्तान नजन्माउने मानिसलाई बढी कर लगाउने प्रचलन प्रारम्भ ग¥यो र यो व्यवस्था सन् १९८० सम्म कायमै रह्यो । संसारमा ठुल्ठूला औद्योगिक प्रतिष्ठानहरूमा रोबोटको बढी प्रयोग भई धेरै श्रमिकहरूले रोजगारी गुमाउनुपर्ने अवस्था आउने भएकाले माइक्रोसपm्टका मालिक बिल गेट्सले श्रमको आम्दानीमा जस्तै रोबोटले बढाएको उत्पादनमा कर लगाई त्यस्तो रकम श्रमिकहरूको सीप विकासमा खर्च गर्नुपर्ने सुझाव दिएका थिए । युरोपका कर प्रशासनहरूले लागू गर्न पनि खोजेको थिए तर त्यहाँका सांसदहरूले रोके । यतिमात्र होइन कि विकसित देशहरूमा जनसङ्ख्या बूढो हुँदै गएको र विदेशी आप्रवासी श्रमिकहरू उपयोग गर्नुको सट्टा महिलाहरूको श्रमबजारमा सहभागिता बढाउन पनि यसलाई औजारका रूपमा प्रयोग गरेको पाइन्छ ।
करबाट सरकारी मूल्य र मान्यता पनि थाहा पाउन सकिन्छ । उदाहरणका लागि सन् १९९३ अगाडि दक्षिण अफ्रिकामा रङ्गभेद नीतिअन्तर्गत सरकारले काला जातिका मानिसलाई विशेष कर लगाउने गरेको थियो, जसलाई बान्टु जनरल ट्याक्स भनिन्थ्यो ।
करको विकासक्रमले छेपारोको रूप लिएको छ । यसको सञ्चालन सत्ताधारीहरू जनताको भोटबाट निर्वाचित वा सैनिक ‘कू’ गरेर आए तापनि कानुनविना कर लगाउन नपाइने म्याग्नाकार्टादेखि अहिलेसम्म आएर यसले आफ्ना रूपहरू बदलेको पाइन्छ । राज्य सञ्चालकहरूलाई थप स्रोत र साधनको आवश्यकता परेपछि यसले चोला बदल्दै नयाँ–नयाँ रूपहरू धारण गर्छ । बेलायतले फ्रान्ससँग युद्ध हारेपछि, अमेरिकामा आन्तरिक गृहयुद्ध सकिएपछि र भारतमा सेपोई विद्रोहपछि र खनिज तेलखानी भएका देशहरूमा पनि सरकारलाई रकमको आवश्यकता भएपछि यसले आयकरको रूप लिई अगाडि बढ्यो । साउदी अरेबिया, कुवेत र बहराइनजस्ता तेलबाट प्रशस्त सरकारी आम्दानी हुने देशहरूले पछिल्ला दिनहरूमा आयकर लगाउन थाले । यसको सञ्चालन सरकारमा रहेका अब्बल दर्जाका कर्मचारीहरूले गर्ने भएकाले पनि यसले सजिलै परिस्थितिसँगै रूप परिवर्तन गर्न सफल भइरहेको हो । एउटा सत्यलाई स्वीकार गर्नुपर्छ कि आर्थिक क्रियाकलापहरूमा सङ्कुचन आएपछि कर पनि गरुडको अगाडि साँप परेजस्तै साँघुरिन पुग्छ । नयाँ सार्वजनिक प्रशासनको सिद्धान्त सन् १९९० को दशकमा आउनासाथ यसले धेरै अप्रत्यक्ष करहरू एकीकृत गरी मूल्य अभिवृद्धि करमात्र लगाएन कि आयकरको संरचनामा परिवर्तन गरी कर प्रशासनमा आमूल परिवर्तन गर्ने कार्यहरू पनि अगाडि सा¥यो । यसैको फस्वरूप अहिले एकीकृत कर संहिताको विकास भयो ।
बहुराष्ट्रिय उद्यम वा कम्पनीहरूले गर्न सक्ने कर योजना र कर छली रोक्न आयकर भन्सार र मूल्य अभिवृद्धि करमा समेत मूल्य हस्तान्तरणका कडा नियमहरू कार्यान्वयन गर्न थालियो । एकातिर आफूलाई टेरिटोरियालिटीको सिद्धान्तमा अडिग रहने भनिए तापनि अर्कोतिर यसको छली रोक्न विभिन्न अन्तर्राष्ट्रिय सन्धि र सम्झौताहरू गर्न थालेको पाइन्छ । संसारभर अहिले तीन हजारभन्दा बढी कर सन्धिहरू भएका छन् । प्राकृतिक प्रकोप र आर्थिक उथलपुथलपश्चात् पनि यसको स्वरूपमा परिवर्तन हुने गरेको छ ।
कर लगाउने कार्यलाई हाँसको प्वाँख काढ्ने कार्यसँग तुलना गरिएको छ । जसरी प्वाँख काढ्दा हाँसलाई कमभन्दा कम चोट पुग्नेगरी प्वाँख काढ्नुपर्छ, त्यसैगरी सरकारले करदातालाई कर लगाउँदा कमभन्दा कम उसको आर्थिक क्रियाकलापहरूमा प्रभाव पार्नेगरी कर लगाउनुपर्छ । यसलाई मौरीले फूलबाट रस चुस्ने कार्यसँग पनि तुलना गरिएको छ । सरकारले जनतासँग कर उठाउँदा उसको आर्थिक क्रियाकलापहरू
(उत्पादन, उपभोग, बचत, लगानी आदि) लाई प्रभाव नपर्नेगरी सफल शल्य चिकित्सकले जस्तै कार्य गरी कर राजस्व परिचालन गर्नुपर्छ ।
(लेखक आन्तरिक राजस्व विभागका सेवानिवृत्त निर्देशक हुनुहुन्छ ।)