logo
२०८१ बैशाख २७ बिहीवार



अति सर्वत्र वर्जयेत्

विचार/दृष्टिकोण |




नारायणप्रसाद पौडेल

शयनकक्ष र स्नानगृहमा मात्रै मान्छे निर्वस्त्र हुन्छ भन्ने लोकोक्ति गलत सिद्ध गर्न खोजिँदैछ । सडक, सभाकक्ष र सम्मेलनमा पनि मान्छे नाङ्गिन्छ भन्ने कुराको पुष्टि गरिँदैछ । एक अर्कालाई नङ्ग्याएर मज्जा लिइँदैछ । आफैँलाई मुर्दा बनाएर आफैँ मलामी गइँदैछ, के भइँदैछ ? एक पटक ऐना हेर्ने कि ?
उल्टो बाटो हिँडियो । आफैँंसँग भिडियो । शत्रुलाई परास्त गर्ने विषय बिर्सियो । अहंकारले अन्धो बनाएपछि भएको हो यस्तो । आफैँभित्रका शत्रुसँग पराजित भएको मान्छेले वैरीमाथि विजय प्राप्त गर्न सक्दैन । काम, क्रोध, लोभ, मोह मद र मात्सर्यभन्दा ठूलो शत्रु अरू केही हुँदैन । त्यसैको बसमा परेपछि अरूले केही गरिदिनै पर्दैन । आफैँ सकिन्छ मान्छे, संस्था, सभ्यता र संस्कृति । त्यसैको घोडा चढेर आउँछ विकृति । लोभ र लाभको लाममा लागेकाले देख्दैन, देख्नेले भनेको पनि सुन्दैन, बुझ्दैन र मान्दैन । आफैँले जान्दैन, सत्तान्धताको रोगले च्यापेपछि । सत्ता अर्थात् परिवारभित्र, सङ्घ–संस्था, पार्टीभित्र र राज्यसंयन्त्रको – जुन सत्ताको मुलीमा अहंकारको विष जति बढी फैलिन्छ उति छिटो त्यो संरचनाको आयु सिद्धिन्छ । मान्ने नमान्ने अधिकार सबैलाई छ ।
पञ्चायतकालमा पढाइन्थ्यो – संसदीय व्यवस्था असफल हुनाका कारणहरू । बहुदलीय व्यवस्थाको पुनस्र्थापनपछि सिनेमा हेरेझै भएको छ धेरैलाई भित्री र बाहिरी दलीय झगडा देखेपछि । गणतन्त्र आएपछि पनि उस्तै रह्यो । खै के नयाँ भयो ? ओरालो लाग्ने बेलामा गृहकलह हुन्छ भन्ने कुरा दाह्रा किटेर दोहोरो दन्तबजानमा लागेकाहरूलाई थाहा छ । दाजुभाइका बीचमा पाखुरा सुर्कासुर्की गरेर पौँठेजोरी खेल्नुलाई पौरख ठान्नेहरूले पनि बुझेका त छन् तर पनि नरम हुन सकेनन् । गरम यति बढी भए कि आरनमा तताएको फलामलाई जुन औजार बनाउन पनि सक्ने भयो लोहारले । आज जे छु, भोलि के बन्छु भन्ने कुरा बिर्सेपछि हुने यस्तै हो ।
सत्ताधारी कम्युनिस्ट पार्टीका दुई खेमाका आवेग र उत्तेजनामा वेद पढ्ने काम भएकै छैन ।
कुरुक्षेत्रतिरको यात्रा जारी छ । महाभारतको तयारी छ । एकातिर कृष्ण र अर्कोतिर आक्षौहिणी सेना ! कौरव र पाण्डवका बीचमा हुने युद्धमा मध्यस्थता गर्नेभन्दा पक्षधरता लिने बढी भए । वंश र अंश विनास निम्त्याउनेहरूले दुवैतिर उक्साए । पौराणिक कालमा महाभारतको युद्ध भएको हजारौँ वर्षपछि पनि कुरुक्षेत्रमा कुनै वनस्पति उम्रँदैन अझै । बाँझो छ । नेपालमा कम्युनिस्टको बीउसमेत नष्ट गर्न चाहनेहरूका लागि अत्युत्तम समय त होला यो तर त्यसले पनि कति शान्ति र समृद्धि देला भविष्यमा ? कथित प्रजातन्त्रवादीले पनि आफ्नो नग्ननृत्य देखाएकै हुन् विगतमा । आगत त्योभन्दा भिन्न नहोला ।
‘जिते हस्तिनापुरको रजाइँ, हारे चपरीमुनिको बास’ श्वास रहुञ्जेलसम्मको आश । जुवाको खालमा द्रौपदीको चीरहरण देख्न नचाहने धेरै थिए तर पूर्व प्रतीज्ञाप्रति प्रतिबद्ध हुनाले दुर्योधनको साथ दिन विवश भएझै हुनेहरू अहिले पनि धेरै होलान् । जो जता लागे पनि आफ्नै अंश र वंशको विनास हो भन्ने विषय किन सम्झेनन् ? सोचनीय छ । मलामीलाई देखेर शुभकामना दिनेहरू शुभेच्छुक हुँदैनन् । जन्ती देखेर पो खुशी हुने हो । मलामीहरूका बीचमा भएको मारमुङ्ग्रीले शवको सङ्ख्या मात्र बढाउने सम्भावना छ । मृत्योत्सव कति मनाउने हो र ? दुर्गतिलाई कहाँसम्म पु¥याउने हो ? भयो, अब पुग्यो, रोक भन्ने र सम्झाउने शक्तिको अभाव भयो । कम्युनिस्टहरूको कचिङ्गल हेरेर, अधोगतितिरको यात्रालाई अगाडि बढ्न दिएर मजा लिनेहरूले, आफूहरूलाई सत्ता निकट पु¥याइदिएको ठान्नेहरूले, बुझे हुन्छ – सिंहदरबारमा जो गए पनि लाग्ने रोग उही हो । हिजो पञ्चाङ्ग्रेसलाई लागेको थियो, आज कम्युनिस्टहरू सिकिस्त भएका छन् । छेउ किनारमा बसेर, रोगीहरू बर्बराएको देखेर, ताली बजाउनु र गाली गर्नुभन्दा रोगै उन्मूलन गर्ने बाटो खोज्नु बुद्धिमानी हुनेछ ।
बहुदलपछि जो सत्तामा गयो, सिंहदरबारमा पस्यो, त्यसैलाई त्यही सिंहदरबारले डस्यो र खस्यो । हिजो धेरै खसेका हुन् । आज खस्ने पालो कम्युनिस्टको आएको होला । यसपालि खसेपछि फेरि कहिल्यै पस्ने मौका पाउँदैनन् भनेर नसोचे हुन्छ । अलि टाढा पुग्ला समय, फरक त्यत्ति हो । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लेख्नुभएको थियो–‘‘कम्युनिस्टहरूले २० वर्षसम्म सत्ता चलाउलान् भनेको त पाँच वर्ष पनि नटिक्ने भए ।’’ । उहाँको यो भनाइ भोलिको काँग्रेसका लागि पनि उत्तिकै लागू हुनेछ । कुनै पनि सरकार पूरै कार्यकाल टिक्न नदिने सिंहदरबारको इतिहास यसपल्ट पनि दोहोरियो । भविष्यमा फेरि नदोहोरियोस् र राजनीति नफोहोरियोस् भनेर सबै दलले सोच्न र विकल्प खोज्न पर्छ । विकल्प खोज्नका लागि बाहिर धाउन पर्दैन, आफ्नै अन्तरात्माभित्रको आवाजलाई समाउन पर्छ । जोशमा होस गुमाउन भएन । अहिलेसम्मका सबै राजनीतिक दुर्घटनाहरू होस गुमाएपछिका उपज हुन् नेपालमा ।
यौवन र जवानीको नसा र जोस । जुवा, जाँड, गाँजा, भाङ, धतुरो र लागू पदार्थको नसा र जोस । शक्तिको नसा र नसाको शक्तिको जोस । धनबल र जनबलको नसा र जोस । राजनीति, पद र पहुँचको नसा र जोसका आ–आफ्नै सीमा हुन्छन् । ती सीमा नाघियो भने दुर्घटना निम्तिन्छन् । दुर्घटनाको डिलमा बसेर डिङ हाँक्नुभन्दा श्यामशरण, रञ्जित रे र यस.डी.मुनिका आलेख पढेर अथ्र्याउने कोसिस गरे हुन्थ्यो । साख्खै भएर, साथ दिएझै गरेर, सखाप पार्ने शैली कसरी अपनाइएको रहेछ र कम्युनिस्टकै हातबाट कम्युनिस्टलाई सिध्याउने रणनीति प्रयोग गरिएको रहेछ भनेर थाहा पाउन सकिन्छ । आफूभित्रको शक्ति आवेग, आक्रोश र उत्तेजना रोक्न खर्चियोस् । जोसमा होस गुमाएर आगो ओकल्नुभन्दा समन गर्न सक्नु पो बुद्धिमानी हो ।
‘भाइ फुटे, गँवार लुटे’ स्मरणीय छ । लङ्काधिपति रावणकै भाइ विभीषण रामको पक्षमा गएकोले लङ्का जित्न सफल भएका हुन् अवधेशले । झण्डै दुईतिहाई बहुमतको कम्युनिस्ट सरकार ऐतिहासिक उपलब्धि थियो विश्व कम्युनिस्ट आन्दोलनका लागि पनि । टिकेन, टिक्न दिइएन आन्तरिक अहंकारको टक्करले । जसले जोबाट साथ पाए पनि विभाजित दुवै पक्षलाई सघाउन आउनेहरू सिध्याउने तयारी गरेर हात समाउनेहरू हुन् । ओरालो लागेका बेलाका सहयात्रीले टाकुरामा पु¥याउँदैनन्, घाटमा लैजाने हुन् ।
बाङ्गिनुसम्म सह्य हुन्छ । नाङ्गिनुचाहिँ असह्य भयो । अलि थोरै नाङ्गिएको मात्रै भए पनि उति फरक पर्दैनथ्यो, ह्वाङ््गै भएर उदाङ्गिइयो पूरै । ..के जातिलाई भन्दा देख्नेलाई लाज भनेजस्तै भयो । जति उच्च ओहोदामा पुगेका व्यक्तिका वाणीबाट उति तुच्छ वचनको वमन हुनुले छेउ किनारका मान्छेका लागि पनि दिगमिग बनाएको छ । फोहोरी दोहोरीको अन्त्य गरियोस् । ‘रुझेका मान्छेलाई भिज्न के डर ?’ भन्दै नथर्काइयोस्, शब्दवाण नफर्काइयोस् । भित्र जो जति कमजोर हुन्छ, बाहिर उसैको स्वर उति चर्को बन्छ भन्ने पनि थाहा पाएको छ दुनियाँले । नरम शैलीमा जति गरम कुरा पनि गर्न सकिन्छ । बाहिर गरम भित्र नरम, यता गरम, उता नरम शैलीका भैली धेरै नखेलियोस् । स्वचालित र सञ्चालितका कुरा पनि अब धेरै नगरियोस् ।
कहिले यता र कहिले उताले यता न उताको बनाउने सम्भावना बढ्यो । विश्वासमा बाधा पु¥यायो । हितैषी मित्र गुम्ने र शत्रु बढ्ने भए । निःस्वार्थ सेवा र सहयोग गर्नेहरू किनारतिर लाग्ने दिन आए । गुहार माग्दा पनि नपाइने अवस्था आउन सक्छ भोलि । अलि गम्भीर भएर सोचियोस् । उक्साउने, रौस्याउने, जोस्याउने, हौस्याउने र दुर्घटनातिर डो¥याउनेहरूले अहंकारको आकार बढाइदिएका छन् । आवेग र उत्तेजनाले उन्मत्त भएका अगुवालाई धारिला हतियार तिखार्दै दिँदै गर्नेहरूले यदुवंश विनासको पौराणिक कहानीको पुनरावृत्ति गराउँदैछन् । आफैँले खनेका खाल्टामा पुर्न उद्यत जमातलाई चिनियोस् र अलि सोचेर, सम्झेर, गमेर मात्रै हिँडियोस्, बोलियोस् ।
(लेखक स्वतन्त्र पत्रकार हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?