logo
२०८१ बैशाख २७ बिहीवार



कोरोना : डर र भर

विचार/दृष्टिकोण |




नारायणप्रसाद पौडेल

भारतमा कोरोना भाइरसको दोस्रो लहर फैलियो भनेर यतातिरका मान्छेका मुहार मलीन हुनु उति युक्तिसङ्गत नहोला । कोरोना भाइरसविरुद्धको खोप ‘अक्सफर्ड एस्ट्राजेनेका (कोभिसिल्ड)’ निर्यातमाथि भारतले प्रतिबन्ध लगायो भनेर आत्तिनु पनि जायज नहोला । उतातिरको कोरोनाको हावाकावा खाँदै यतातिर हुत्तिएर आउला, नआउला वा उतैबाट बिस्तारै बिलाउँदै जाला, प्रतिक्षाको विकल्प छैन । तथापि, आफू सतर्क हुन र विश्व स्वास्थ्य सङ्गठन एवम् स्वास्थ्य मन्त्रालयद्वारा तोकिएका सावधानीका उपाय अपनाउनचाहिँ बिर्सन हुँदैन । सबैका शरीर र स्वास्थ्यको सुरक्षा कसैले सधैँ गरिदिन सक्दैन । आफ्नै लापरबाहीले सङ्क्रमित भएपछि सरकारलाई आरोप लगाएर सुरक्षित भइँदैन । असुरक्षित हुन रुचाउनेले अरूलाई दोष दिन मिल्दैन, पाइँदैन ।
तीन करोड जनसङ्ख्या भएको नेपालमा तीन सयमात्रै हैन, दैनिक तीन हजारजनालाई रुघाखोकी, टाउको, शरीर र घाँटीको दुखाइसहितको ज्वरो आउन सक्छ । मौसम परिवर्तनसँगै वा सामान्य समयमा पनि आउने त्यस्तो ज्वरो पहिले पनि आएको हुन सक्छ । कोरोनाको ज्वरोले घ्राण, श्रवण र स्वाद शक्तिमा असर पार्दोरहेछ– भुक्तभोगीले बताएअनुसार । अरू किसिमको ज्वरो आएका बेलामा पनि खाना मीठो नहुने, मुख तीतो र दुर्गन्धित भएर, कमजोर बनाएर थला पार्ने त गर्छ नै । हरेक रोगले गलाउँछ, हप्तौँसम्म बिस्तारामै ढलाउँछ र लखतरान पार्छ नै । कोरोनाले पनि पार्ने रहेछ तर मार्ने त रहेनछ नि ! एक सय, ९० र ८० वर्षवरिपरिका सङ्क्रमितले समेत स्वास्थ्यलाभ गरेर सुरक्षित रहे बहुर्राष्ट्रिय कम्पनीका कुनै औषधि नखाए पनि ।
सामान्य विषय होइन यो । हाम्रो परम्परागत एवम् संस्कारगत सावधानी, स्वसतर्कता, आफ्नै खेतबारीमा उत्पादित रैथाने ताजा फलफूल, अन्न, दाल, तरकारी, भान्छामा पकाएर तातै खाने र घरमा पनि अलग बस्ने तौरतरिकाले गर्दा होला । तुलसीका पात, ज्वानो र बेसार पानी उमालेर खाने गर्नाले पनि होला । गुर्जो, अदुवा, त्रिफला, यष्ठिमधु, त्रिकुटा, सिलाजित, अश्वगन्धा, जिम्मु, टिमुर, मरौटी आदिको असरले पनि होला । बहुर्राष्ट्रिय कम्पनीद्वारा उत्पादित पोका, डब्बा र बोतलका, फ्रिजमा राखिएका बासी र त्यासी तयारी खाना खाने, अप्राकृतिक एवम् अति सुविधायुक्त विलासी जीवन जिउने त कोरोना कहर नआएको भए पनि असुरक्षित थिए नै । भोलि पनि हुनेछन् । प्रकृतिलाई चुनौती दिनेलाई चेतावनी दिन खोजेको हुन सक्छ बेलामौकामा कोरोनाजस्ता महामारीसहित अन्य विपत एवम् दैवी दुर्घटना पठाएर प्रकृतिले पनि । अप्राकृतिक जीवनशैलीको उपज हुन पनि सक्छ कोरोना ।
‘आँप, अम्बा र लिचीका पात राम्ररी धोएर, एउटै भाँडामा अलिबेर पकाएर बनाएको काँडापानी दिनको तीनपटक खाँदा निको हुन्छ कोरोना,’ आयुर्वेदिक चिकित्सक डा. बीपी तिम्सिनाले सुझाउनुभएको थियो, धेरै सञ्चारमाध्यमलाई दिएका अन्तर्वार्ताहरूमा । पीसीआर परीक्षण गराउन नगएका, गराउन जान डराएका तर ठ्याक्कै कोरोनाकैजस्तो लक्षण मिल्ने ज्वरोले थलिएका कतिपय बिरामीलाई सुझाउँदा सकारात्मक नतिजा निस्क्यो । पङ्तिकारसहित त्यसरी निको भएका व्यक्तिहरूसँग प्रत्यक्ष भेटेर कुराकानी गर्न सकिन्छ । साँचो भन्नु, मान्नु वा अपवाद ठान्नु स्वविवेकको विषय भयो । पतञ्जलीले उत्पादन गरेका ‘कोरोनिल’को प्रयोग पनि गरे धेरैले । ‘तुलसीका पात, ज्वानो र बेसार पानी पकाएर खाए हुन्छ । अरू परम्परागत जडीबुटीको प्रयोगबाट पनि उपचार हुन सक्छ, डराउन पर्दैन । हाच्छिउँ गरेर कोरोनालाई हराउन सकिन्छ । रोग प्रतिरोधी क्षमता धेरै उच्च छ– हामी नेपालीमा’ भनेर प्रधानमन्त्रीले सुझाउँदा नपत्याएर अनर्गल आरोप लगाएर अत्याउने जमातको जीवन त्यसैगरी जोगिएको हो । आफैँ सोचून् र कसरी जोगिइयो भनेर खोजून् । भारतको खोप आए वा नआए पनि, चीन वा विश्व स्वास्थ्य सङ्गठनले दिने भनेको खोप समयमै पाए वा नपाए पनि, उतै कोरोना भाइरसको महामारी धेरै बढेर यता खोप पठाउन नमिले पनि, बाँच्न त आफैँलाई छ, सबैलाई छ । सरकारलाई गाली गरेर बाँच्ने कि आफैँ सुरक्षित हुन सावधानीका उपाय अपनाएर जोगिने ? बाटो आफैँले रोज्ने त हो नि !
विशाल भारतको जनसङ्ख्या एक अर्ब ३० करोडभन्दा बढी छ । त्यत्रो जनसङ्ख्यामा दैनिक ४०÷५० हजारमात्रै हैन, दुई÷तीन लाख मान्छेलाई रुघाखोकी र ज्वरो आउनु स्वाभाविकै हो भनेर मान्नुपर्ने हुन्छ, अहिलेको प्रदूषित वातावरणमा । रुघाखोकी, शरीर र घाँटीको दुखाइसहितको त्यस्तो ज्वरोमा कोरोना भाइरसका नयाँ जीवाणु भेटिनुले औषधि विज्ञान र उपचार विधिवेत्ताका लागि सोचनीय विषय बन्नु जायज पनि ठहरिएला । तर, त्यही विषय सर्वसाधारण जनतालाई पनि बारम्बार सुनाएर अत्याउन हुँदैन । व्यापार, व्यवसाय चौपट पारेर बन्दाबन्दी (लकडाउन) गरेर सताउनु पनि न्यायोचित र समयोचित मान्न सकिँदैन । कोरोनाले भन्दा बढी त अरू धेरै रोगले मान्छेको मृत्यु हुने रहेछ प्रतिदिन । कुष्ठ, क्षय, क्यान्सर, मुटु, मिर्गौला, मधुमेह, दम, झाडापखाला, निमोनिया, कुपोषण, उच्च रक्तचाप, निम्न रक्तचाप, वात, बाथ, कालज्वर, हृदयाघात र मस्तिष्कघात आदि रोगबाट हुने दैनिक मृत्युको तत्थ्याङ्क हेरे आफैँ थाहा पाइन्न्छ । पश्चिमी प्रचारको प्रभावमा परेर बर्बराउनेले हेरून् ।
कोरोनालाई काल हो भनेर अब नभनून्, प्रचार नगरून् । आफ्ना परम्परागत उपचार विधिको सदुपयोग गरून् । पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालय र कीर्तिपुर काठमाडौँको आयुर्वेद उपचार एवम् अनुसन्धान केन्द्रसहित अन्य धेरै ठाउँका आयुर्वेदिक चिकित्सकले गरेको उपचारलाई अवमूल्यन नगरून् । घरको सफलताको अपमान गरेर अर्काको असफलताको बखान गर्नु बुद्धिमानी हुनै सक्दैन । हाम्रै गाउँघरवरिपरि, खेतबारी र वनपाखामा पाइने बहुमूल्य जडीबुटीमा कति र कुन रोग निको पार्ने तŒव छन् भनेर अध्ययन गर्नु समयोचित हुनेछ । समयानुसार परिष्कृत पार्दा अनुभव बढ्नेछ र आत्मनिर्भर हुने अवसर पनि मिल्नेछ । अक्कल अपनाउन नसक्नेले हो अरूको अन्ध–नक्कल गर्ने पनि । नक्कल गर्नेहरू बहकिन्छन् नै । बहकिनेका पछि लागेर स्यालहुइँया गर्नुभन्दा आफैँ सुरक्षित हुने उपाय अपनाए बँचिन्छ । नत्र जे पनि हुन्छ । अराजक, उत्तेजक र उरन्ठेउला जमातलाई जोगाउने जिम्मा त कसले पो लिन सक्छ र ?
कोरोना भाइरसको हल्लाखल्ला चाहिनेभन्दा धेरै गरेर डर नबाँडौँ, भर बाँडौँ । सर्वसाधारण जनताको आत्मबल घटाउने हल्ला नफैलाऊँ, मनोबल बढाउने उपाय खोजौँ, प्रचार गरौँ । आफैँले अपनाऊँ, अरूलाई समेत अपनाउन लगाऊँ । भ्रम नछरौँ । व्यापार व्यवसायसहित अन्य धेरै किसिमका उद्यम र इलम गरेर खानेलाई, अरूको जीवन जोगाउन लागिपर्नेलाई, एकल वा सामूहिक रूपमा श्रम गर्नेलाई अनावश्यक समाचार सुनाएर अत्याउनु पनि अपराध हो । उत्पादनमा अवरोध पु¥याए आफैँ भोकै परिन्छ । सुरक्षामा अवरोध पु¥याए आफैँ असुरक्षित भइन्छ । स्वास्थ्य सेवामा लागेकालाई निराश बनाए आफैँले उपचार नपाउने अवस्था आउँछ । आफ्नो अवस्था जस्तो छ, त्यस्तैमा बाँच्न सिकौँ र सिकाऊँ । युरोप, अमेरिका, जापान, भारत, चीनका कुरा गरेर यता यस्तो र उता उस्तो भन्नुको अर्थ छैन । सके आफैँले पनि त्योभन्दा राम्रो गरे हुन्छ । सकिँदैन भने जे छ, त्यसैलाई सुधारेर सुरक्षित हुने उपाय अपनाउन सकिन्छ ।
कोरोनाको दोस्रो लहर नेपालमा आएछ नै भने पनि आत्तिन पर्दैन । त्यो आउँछ र जान्छ, धेरै चिन्ता लिन हुँदैन । क्वारेन्टिन र आइसोलेसन चाहियो भनेर उत्पात नमच्चाइयोस् । पढाइ भइरहेका विद्यालय अब बन्द गर्न हुँदैन । विद्यालयमा गएका बालबालिकालाई तरिका सिकाएर अभिभावकलाई सुरक्षित राख्न लगाउन सकिन्छ । विद्यार्थीमार्फत दिइएको शिक्षाले सकारात्मक प्रभाव पार्छ । नकारात्मक दुष्प्रचारको अन्त्य गर्छ । कोरोनाजस्ता महामारी र अप्रत्यासित राजनीतिक उतारचढावलाई समाप्त पार्न सकिन्न । सहज रूपमा लिने अभ्यास गर्नुपर्छ अब । रोग र राजनीतिक भाइरसको उन्मूलन गाह्रो हुनाले अभ्यस्त हुन नसकेकाहरूमात्र आत्तिन्छन् । अरूलाई अत्याएर अकल्पनीय दुर्घटनातिर धकेल्नु, सहज वातावरणलाई खल्बल्याएर असहज बनाउनु निन्दनीयमात्रै हैन, दण्डनीय पनि हुन्छ ।
सोचोस् सरकारले पनि र उपचारका लागि नयाँ शैली अपनाओस् । हरेक जिल्लामा तीनदेखि पाँचजनासम्मको दुई÷तीनवटा चिकित्सकसहितको साधन सम्पन्न टोली बनाओस् । जुन ठाउँमा सङ्क्रमितहरू बढी भेटिन्छन्, समयमै त्यहाँ पुगेर घर–घर गएर हेरोस् । गम्भीरखालका बिरामी रहे, आईसीयू र भेन्टिलेटरमा राख्न पर्नेखालका भए, अस्पतालमा लैजान लगाओस्, नभए निगरानी गरोस् । त्यति गरे हुन्छ, पुग्छ ।
(लेखक स्वतन्त्र पत्रकार हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?