logo
२०८१ बैशाख २६ बुधवार



अनियन्त्रित आगलागी

विचार/दृष्टिकोण |




नारायणप्रसाद पौडेल
वन डढेको सबैले देख्छन्, मन डढेको कसैले देख्दैनन्, भन्ने विरही गीत अब कहिल्यै सुन्न नपरोस् । पीडितका मनको आगो निभाउने काम लोकतन्त्रले गरोस् भन्ने चाहना थियो सबैको । तर, लोभतन्त्रमा परिणत गरिँदा आगलागीपीडितहरूमात्रै हैन, बाढी र पहिरो, डुबान र कटान, शीतलहर र भूकम्प आदि प्रकोपपीडितको विवादरहित तरिकाले उपकार हुन नसकेको गुनासो सुन्न परेकै छ सधैँ । हरेक वर्ष उही समय र मौसममा पीडितबाट उस्तै पीडा पोखेको सुन्न र देख्नपर्दा मन कुँडिन्छ । तन दुख्छ रकुटुकुटु मुटु खान्छ ।
मिरिङदेन गाउँपालिका–८, खाम्लुङ दोभानमा यही फागुन १८ गते लागेको आगोले ४९ घर जलेर नष्ट भएसँगै ५५ परिवार विस्थापित हुन पुगे ताप्लेजुङमा । सोही दिन लागेको अर्को आगोले यशोधरा गाउँपालिका–८, बाँसखोर कपिलवस्तुका ६ घर जले, ती घरमा बस्ने सवै परिवार बिचल्लीमा परे । उक्त दिन अरू जिल्लाका विभिन्न ठाउँमा पनि भए होलान् आगलागी र विस्थापित हुनपरेको पनि हुन सक्छ । असारसम्म हरेक दिन यस्तै आगलागीका दुःखद घटना सुन्नुपर्छ । यस्तो सुन्न र देख्न नपर्ने अवस्थामा कहिले पुगिन्छ, नियन्त्रण गर्न कसरी सकिन्छ ? चित्तबुझ्दो जवाफ कसले दिन्छ ?
गर्मी बढेसँगै मौसम परिवर्तन हुँदै छ । प्रि मनसुन सुरु भएको भनिँदै छ– अंग्रेजी महिनाको मार्च १ तारिखपछि । तीन महिनासम्म चल्छ भनिन्छ र मानिन्छ पनि । हावाहुरी र आँधीसँगै आगलागीका घटना बढ्छन् अब । खर र परालले छाएका, झासझुसले बारेका फुसका घर सानै झिल्काले पनि डढ्छन् र विपन्न परिवार बिचल्लीमा पर्छन् । चारपाङ्ग्रे गाडी पुग्न सक्ने तराई÷मधेस र पहाडका सडककिनारका घर÷गोठ जोगाउन दमकल पुगे पनि दूरदराज गाउँठाउँमा पुग्दैनन् । दमकल लैजान मिल्नेखालका बाटै छैनन्÷हुँदैनन्, पुराना बजारका गल्लीमा भने कुनाकाप्चामा त पुग्नै सक्दैनन् । पुगिहाले पनि जान लाग्ने समयसम्म सखाप पारिसकेको हुन्छ आगोले । आगो निभाउनका लागि मान्छेकै भर पर्नुपर्छ । तर, चाहिनेजति मान्छे पाउन मुस्किल छ अचेल । मुग्लान पस्ने र खाडी मुलुकतिर लाग्नेको लर्कोले रित्तै छन्– धेरैजसो गाउँबस्ती । खोजेजति जन्ती र मलामी पाउन पनि मुस्किल छ । जो छन् गाउँमा, तिनीहरूले गाह्रो–साह्रोबाट उम्काउन र मानव एवम् प्राकृतिक प्रकोपबाट पार लगाउन सक्दैनन् । अशक्त, बालबालिका र वृद्धवृद्धामात्रै हुन्छन्– अधिकांश ठाउँमा । प्रविधिको पहुँच सबै ठाउँमा पुगेको छैन । झुप्रा र छाप्राको बास सुरक्षित मानिदैन त्यसैले ।
धेरै पालिकाले जस्तापाता वितरण गर्ने अभियान चलाएका छन् । जस्तापाता नपाएकाको विपत र विरह आफ्नै ठाउँमा छ । पाएका विपन्न गुनासो छ– अलि बलियो र सुरक्षित घर बनाउन चाहिने काठ (दार), काँटी र किला छैनन्, भएकाले सित्तैमा दिँदैनन्, टिनका पाता पाएरमात्र के गर्नु । टोक्नु कि त्यसैमा टाउको ठोक्नु, मनको वह कोसँग पोख्नु ?’
नेपालका राजनीतिक दलहरूलाई लाग्ने गरेको आरोप हो– लोकतन्त्र ल्याउन सक्ने, सरकार बनाउन र चलाउन पनि सक्ने, तर लोकतान्त्रिक आचरण र व्यवहार अपनाउन नसकेर जनतालाई सेवा पु¥याउनबाट चुक्ने ।’ सत्ता पक्षलाई मात्रै सरापेर उम्कन मिल्दैन विपक्षमा रहेका दलहरू । पालैपालो सत्तासुख नभोगेको कोही छैन, प्रतिबन्धितसहितका केही स–साना दलबाहेक । यसपालिको गर्मीमा पनि पुरानै कुरा दोहो¥याउन नपरोस्– आगलागीका घटना पोहोर–परारभन्दा यसपालि बढी भए, विपन्नले धेरै दुःख पाए, राहतजति पहुँच पुगेकाले लगेर खाए, वास्तविक आगलागीपीडित बेसहारा भए भन्ने अवस्था नआओस् । प्रधानमन्त्रीको प्रतिबद्धता पूरा गर्न र आफैँ लोकप्रिय बन्नका लागि पनि पराल र खरका छाना भएका घरलाई टीन÷जस्तापाताले छाउन सक्ने बनाउन सबै पालिका लागि परून् । सबै राजनीतिक दलले सघाऊन् । जनताको सेवा गर्ने विषयमा कसैले अवरोध नगरून् र दलीय विवाद नदेखाऊन् ।
सम्भव हुन्छ भने जनताको सेवामा अहोरात्र खट्ने, डट्ने र जस्तै परे पनि पछि नहट्ने, भनेका बेलामा जुट्ने सर्वदलीय संयन्त्र बनाऊन् । खर र परालका छाना भएका गाउँटोलका कुनाकाप्चाका विपन्न बस्तीमा पुगेर, आवश्यक पर्ने काठ, किला, काँटी आफैँले लगेर, राजनीतिक दलका प्रतिनिधिले जस्तापाताले छाइदिएर स्याबासी पाऊन् । आगलागीका समस्या अलिकति भए पनि त्यसरी हटाऊन्, टाढा पठाऊन् । पालिका र दलहरू छँदाछँदै विदेशी दातृनिकायका लागि गुप्तचरी गर्ने आरोप लागेका गैरसरकारी सङ्घ–संस्था नगुहारून्, गुहार्न नपारून् । दातृनिकायबाट पाइने, आउने सहयोगको सदुपयोग भएको देख्न पाइयोस् । दुरुपयोग गरेका खबर लेख्न र सुन्न नपरोस् । दैवीप्रकोप उद्धार समितिले पनि विवाद नआउने, सबैबाट स्याबासी पाउने काम गरोस् । राहत पाउनेले मात्रै हैन, छेउकिनारमा बसेर हेर्नेले पनि राम्रै काम गरे भनोस् । अन्तरात्माबाटै धन्यवाद दिएर प्रशंसा गरोस् ।
सहर बजारमा हुने आगलागीका घटनामा विद्युतीय उपकरणको घर्षण, नाङ्गा तारको छेकबार नगरिनु र चट्याङले धेरै प्रतिशत ओगटेको पाइएला । गाउँघरमा हुने आगलागी मानवीय कमजोरी, असावधानी र असुरक्षित आवासका कारणले गर्दा हो । कतिपय ठाउँमा त बदलाको भावनाले पनि काम गरेको देखिन्छ । हुलदङ्गा हुँदा, जातीय, क्षेत्रीय, भौगोलिक, भाषिक, धार्मिक, साँस्कृतिक र साम्प्रदायिक द्वन्द्व चर्किंदा पनि आक्रोशित भीडले आवेगमा आएर आगो लगाउने गर्छन् । त्यस्ता तŒवलाई उचाल्ने काम दलहरूले
गरेका भेटिन्छन् ।
वनको डढेलो गाउँ पसेर पनि किनारका बस्ती सखाप पारेको भेटिन्छ । घाँस, दाउरा खोज्न र गाई, भैँसी, भेडा, बाख्रा, चराउन जाने अम्मलीले ननिभाइर्कन फालेका चुरोट र बिँडीका ठँुडाले पनि ठूलै विपत निम्त्याउने गरेको छ । यस्ता विषयमा सिङ्गै समाजलाई सम्झाउने, बुझाउने र नियन्त्रण गर्न लगाउने काममा कमी हुन गएको छ । डढेलो रोक्ने अभियान पनि चलेका त छन् तर आगलागी नरोकिँदा, वर्षैपिच्छै उस्तै विपत दोहोरिँदा, अलि नयाँ तरिकाले सोच्ने र राम्रो नतिजा निस्कनेगरी काम थाल्दा
उपलब्धि हात लाग्छ कि ?
हावाहुरी चल्न र आगलागी हुन मत्थर भएर वर्षा सुरु भएसँगै डुबान, कटान, बाढीपहिरोपछि फेरि शीतलहरको समस्या आउँछ । आउँछ भन्ने कुरा थाहा छ सबैलाई । स्थायी पिरलो हो सधैँको । पूर्वजानकारी भएको विषय हुनाले राम्रै तरिकाले पूर्वतयारी गरियोस् यसपालि । उद्धार र राहतमा बदमासी हुने विगतको दुःखद स्थिति नदोहो¥याउन समयमै पहल गरियोस् । कोरोना भाइरसको महामारीका समयमा भएको बन्दाबन्दीका बेला वितरीत उद्धार र राहतले झन् धेरै आहत पारेको आरोप लागेको हो ।
त्यस्तै आरोप आउने बाटो बन्द गर्ने काम अहिल्यैबाट थालियोस् । आरोपलाई विरोधीले लगाएको, राजनीतिक रङ भरेको, आफू र आफ्ना मान्छेले नपाएपछि आक्रोश पोखेको र रफ्फु भरेको भनेर उम्कने चलन छ । आत्मरतिका लागि त्यस्तो भन्न त सकिएला । तर, चोट खाएका÷पाएका मान्छेले लगाएको खोटलाई निराधार भन्न सकिन्न ।
भौगोलिक, धार्मिक, भाषिक, साँस्कृतिक विविधतायुक्त समाजमा आरोपमुक्त मान्छे पाउन दुर्लभ होला । दलीय राजनीतिले आरोपको उपयोग गर्न प्रोत्साहन पनि गर्ला । विद्यमान अवस्था र व्यवस्थामा समयानुकूल हरेक प्रकारका समाजसँग घुलमिल एवम् संयोजित भएर रहन अभ्यस्त हुनपर्ला । हरेक समयमा हुने प्राकृतिक एवम् मानवनिर्मित वा सिर्जित विपत्तिले उन्मुक्तिका अवसर पनि लिएर आएका हुन्छन् ।
समस्याले नै समाधानका उपाय सिकाउँछन् । आवश्यकता नै आविष्कारको जननी हो, त्यसै भनिएको हैन, छैन । आगलागीबाट उम्कने उपाय छन् तर सबै मिलेर सहकार्य गरी खोजी गर्नुपर्छ । पीडितका पीडा हटाउन पनि सकिन्छ । परोपकारप्रति प्रतिबद्ध हुने हो र सबै लागिपर्ने हो भने समाधान गर्न नसकिने समस्या हैन आगलागी । दीर्घकालीन तरिकाले समाधान गर्न छाडेर भागीभागी र मागीमागी समय गुजार्ने र झारा टार्ने हो भने अर्को साल पनि फेरि उस्तैगरी दोहोरिनेछ यस्तो । सत्ता, भत्ता र दलभित्रको आगलागीले शासकका आसनमा असर गर्ला । गाउँ र सहरका झुप्रा र वनमा लागेको आगोले हाम्रो दुरावस्थाको दर्दनाक चित्र र चरित्र प्रस्तुत गरेको छ ।
(लेखक स्वतन्त्र पत्रकार हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?