logo
२०७९ असार १८ शनिवार



सिमसार र पानी : जीवनका आधार

विचार/दृष्टिकोण |




पशुपति अधिकारी

सधैँ पानीले भिजिरहने घोल, सिम, दलदले, ढाब नामले चिनिने ओसिलो जमिनदेखि लिएर छ मिटर गहिराइसम्म पानीले ढाकेको क्षेत्रलाई सिमसार भनिन्छ । यता ठाउँ प्राकृतिक वा मानवनिर्मित, स्थायी वा अस्थायी जुनसुकै स्वरूपका पनि हुन सक्छन् । नेपालको करिब सात हजार पाँच सय वर्गकिलोमिटर अर्थात् करिब पाँच प्रतिशत भू–भाग सिमसार क्षेत्रले ओगटेको छ । यसअन्तर्गत नदी, ताल, जलाशय, पोखरी र खेत पर्छन् ।

 रामसार महासन्धि र सिमसार
क्यास्पियन सागरको किनारमा अवस्थित इरानको एक सहरको नाम रामसार हो । सन् १९७१ को फेब्रुअरी २ का दिन त्यस ठाउँमा भएको सिमसार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिलाई नै रामसार महासन्धि भनिन्छ । यो महासन्धि वातावरण संरक्षणको क्षेत्रमा भएको विश्वको पहिलो सन्धि हो । उक्त सन्धिअनुरूप अन्तर्राष्ट्रिय महŒव बोकेका विश्वका विभिन्न सिमसारलाई सूचीकृत गर्ने गरिएको छ । त्यस सूचीमा पर्ने सिमसार रामसार क्षेत्रका रूपमा घोषित हुन्छन् । यस्ता क्षेत्रले मौसमी यात्रामा विश्व विचरण गर्न उडेका लाखौँ चराचुरुङ्गीलाई आश्रय दिन्छन् । सिमसार क्षेत्रमा आश्रय लिने पक्षीमध्ये पानीहाँस (वाटरफल) मुख्य हुन् । यिनै पानीहाँसको वासस्थान संरक्षण गर्ने उद्देश्यले रामसार महासन्धि कार्यान्वयनमा आएको हो । हजारौँ किलोमिटर यात्रा तय गर्ने पक्षीलाई तिनको उडान मार्गमा पर्ने र वासस्थानका रूपमा हिउँदभर बस्ने सिमसारलाई जोगाइराख्ने महासन्धिको उद्देश्य हो ।
नेपाल सन् १९८७ देखि रामसार महासन्धिको पक्षधर रहेको छ । हालसम्म यहाँका १० वटा सिमसार रामसारमा सूचीकृत छन् । ती क्षेत्रहरू क्रमशः कोसीटप्पु, बीस हजारी ताल समूह, घोडाघोडी ताल, जगदीशपुर ताल, गोक्यो ताल क्षेत्र, गोसाइँकुण्ड क्षेत्र, शे–फोक्सुन्डो ताल, राराताल र निकुञ्ज, इलामको माईपोखरी र पोखराका नौताल समूह हुन् ।

 सिमसार नीति
नेपाल सरकारले सिमसार क्षेत्रको दिगो विकास र वातावरणीय सन्तुलन कायम राख्ने दूरदृष्टि राखेर राष्ट्रिय सिमसार नीति–२०६९ लागू गरेको छ । यस नीतिले स्वामित्वका आधारमा सिमसार क्षेत्रलाई संरक्षित क्षेत्रमा अवस्थित सिमसार, वन क्षेत्रमा अवस्थित सिमसार, वन क्षेत्रबाहिर सरकारी निकाय, स्थानीय तह वा स्वायत्त संस्थाको स्वामित्व वा भोगमा रहेका सिमसार र निजी जग्गामा रहेका सिमसार गरी चार वर्गीकरण गरेको छ । त्यस्तै, सिमसार क्षेत्रको महŒव, उपलब्ध हुने वस्तु, सेवा तथा उपयोगिताका आधारमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महŒवका सिमसार क्षेत्रमा वर्गीकरण गर्ने नीति लिएको छ । यस नीतिको कार्यान्वयनका लागि केन्द्रीयस्तरमा वन तथा वातावरण मन्त्रालयका सचिवको संयोजकत्वमा राष्ट्रिय सिमसार समिति गठन गर्ने व्यवस्था गरिएको छ भने जिल्लास्तरमा काम गर्ने जिम्मेवारी जिल्ला वनक्षेत्र समन्वय समितिलाई दिइएको छ ।

 सिमसारको योगदान
सिमसारबाट प्राप्त हुने वातावरणीय सेवा सबैभन्दा महŒवपूर्ण रहिआएको छ । सिमसारले पानी सञ्चय गरेर राख्छ र स्वच्छ पानी उपलब्ध गराउँछ । यसले प्राकृतिक रूपमै पानी शुद्धीकरण गरी पिउनयोग्य बनाउँछ । अहिले बजारमा माछाको माग बढेसँगै उत्पादन पनि बढेको छ । विश्वका साढे तीन अर्ब जनसङ्ख्याले खाने चामलको उत्पादन पनि सिमसारबाटै हुने गरेको छ ।
सिमसारले बर्सेनि अर्बौं मूल्यबराबरको वातावरणीय सेवा प्रदान गर्दै आएका छन् । सिमसारले वनक्षेत्रभन्दा दुई गुणा बढी कार्बन सञ्चय गर्छन् । पृथ्वीमा रहेका ४० प्रतिशत जीवजन्तु सिमसारमा बस्ने तथा प्रजनन गर्ने गर्छन् । सिमसार विश्वकै दुर्लभ, बसाइँ सरी आउने र रैथाने प्रजातिका चरा, जीवजन्तु र वनस्पतिका आश्रयस्थल हुन् ।
नेपालका सिमसारमा हिउँदको समयमा झन्डै १०० प्रजातिका चलचरा बसाइँ सरी आउने गरेको पाइएको छ । नेपालले सन् २०१४ मा जैविक विविधता महासन्धिको सचिवालयमा पेस गरेको प्रतिवेदनअनुसार नेपालका सिमसारले २३० स्थानीय माछाका प्रजातिलाई संरक्षण प्रदान गरेका छन् । करिब ११७ प्रजातिका भ्यागुता, गोहीजस्ता उभयचर सिमसारमा पाइन्छन् । फूल फुल्ने वनस्पतिका २६ रैथाने प्रजाति र जङ्गली धानका पाँच प्रजाति नेपालका सिमसारमा पाइएका छन् ।
इकोसिष्टम (पर्यावरण चक्र)मध्ये सिमसार सबैभन्दा उर्वर इकोसिष्टम मानिन्छन् । सिमसार जीवजन्तुका अन्तिम आश्रयस्थल पनि हुन् । घाँस र पानीको अभाव हुने (पिन्च पिरियड) सुख्खा मौसममा वन्यजन्तु सिमसारमा केन्द्रित हुने गर्छन् । पानी र चरन सहज रूपमा उपलब्ध भएमात्रै वन्यजन्तुको दीर्घकालीन संरक्षण गर्न सम्भव हुन्छ । यसको उदाहरणका रूपमा सिमसार र गैँडाको सम्बन्धलाई लिन सकिन्छ । गैँडा अर्धजलीय (सेमी–एक्वाइटिक) वन्यजन्तु हो र उसको शरीरको बाक्लो छालाका कारण शरीरको तापक्रम सन्तुलनमा राख्न आफ्नो जीवनको करिक एकतिहाइ समय सिमसारमा बिताउने गर्छ । सिमसारमा पाइने घाँस, लेउ, झार गैँडाका आहाराका मुख्य स्रोत हुन् ।

 सिमसार र पानी
सन् १९७१ देखि हरेक वर्ष फेब्रुअरी २ तारिखमा विश्व सिमसार दिवस मनाउने गरिएको छ । यस वर्ष सिमसार र पानी भन्ने मूल नारासाथ यो दिवस मनाउन विश्व समुदायलाई आह्वान गरिएको छ । सिमसार स्वच्छ पानीका स्रोत हुन् । त्यसैले नासिएका सिमसारलाई पहिल्यैकै स्थितिमा फर्काऊँ र ती विनाश हुनबाट रोकौँ भन्ने यस वर्षको मूल आसय छ । अहिले मानवजीवनका आधारका रूपमा रहेका सिमसार क्षेत्रहरू मासिँदै गएकाले नेपाललगायत विश्वभर स्वच्छ पानीको समस्या बढ्दो छ । प्राकृतिक रूपमा पानी भण्डारण हुने दरभन्दा खपतको दर बढेको छ ।

 संरक्षणमा चुनौती
सिमसारमा प्लास्टिक र सिसाजन्य फोहोरको मात्रा बढ्दै गएको छ । सहर–बजारको ढल र मलमुत्र पनि मिसिने गरेको छ । जलकुम्भी, आइपोमिया र माइकेनियाजस्ता मिचाहा प्रजातिका झारका कारणले पनि सिमसार सुक्दै गएका छन् । कतिपय ठाउँमा सिमसार मासेर बाटो तथा भौतिक संरचना निर्माण गरिएको छ । वन विनाश तथा जथाभावी भू–उपयोगका कारण जलाधार क्षेत्रको क्षयीकरण हुँदै जानाले पनि सिमसारले उत्पादन गर्ने पानीको मात्रा घट्दै गएको छ ।
जलीय इकोसिष्टम जोगाइराख्न कुनै ध्यान दिएको पाइँदैन । तुलनात्मक रूपमा संरक्षित क्षेत्रभित्रका सिमसार मासिने दर कम भए पनि ती क्षेत्रको दोहन भने घटेको देखिँदैन । माछा मार्नका लागि नदीमा यत्रतत्र थापेका जालमा घडियाल गोही अल्झने गरेका घटना सामान्य बनेका छन् । चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने रापती, नारायणी नदीमा आर्थिक वर्ष २०७५÷०७६ मा नौवटा र आव २०७६÷०७७ मा छवटा घडियाल गोही मरेको भेट्टाइएको छ । माछा मार्नेको जालमा परेका गोहीलाई मारेको पाइएको छ । सन् २०२१ को जनवरी २ देखि १८ सम्म देशभर गरिएको जलचरा गणनामा चराको सङ्ख्या घटेको पाइयो । यसको मुख्य कारण पनि सिमसारको विनाश रहेको अध्ययनबाट देखिन्छ ।
सिमसार र पानीकै कारण पृथ्वी जीव अनुकूलको ग्रह बनेको हो तर औद्योगिक युगको प्रारम्भ भएयता विश्वका करिब ८३ प्रतिशत सिमसार मासिइसकेका छन् । हिन्दु धर्मानुसार भगवान् विष्णुका १० अवतारमध्ये पहिलो मत्स्य (माछा) र दोस्रो कुर्म (कछुवा) हुन् । यसको अर्थ जीवको उत्पत्ति पानीबाट सुरु भएको हो । डार्विनको ‘उत्पत्तिको सिद्धान्त’अनुसार पनि जीवको उत्पत्ति पानीबाटै भएको हो । सिमसार मासिए पानीको उत्पादन घट्दै जानेछ र मानव जातिको बाँच्ने आधार पनि गुम्दै जानेछन् ।
जलाधार क्षेत्रको क्षयीकरण, पानीको निकास, सिमसार क्षेत्रको अत्यधिक प्रयोग, मिचाहा प्रजाति, प्रदूषण, सहरीकरण र औद्योगिक विकास सिमसार क्षेत्र विनाशका मुख्य कारण हुन् । कतिपय सिमसार भू–स्वामित्वको विवादले उपेक्षित हुन पुगेका छन् । सिमसारको थप विनाश हुन नदिन तथा विनाश भइसकेका सिमसारलाई पहिलेकै स्थितिमा फर्काउन समयमै पहल आवश्यक छ । पानीविना मानव अस्तित्व सम्भव छैन । यो प्राप्त गर्ने स्रोत सिमसार नै हुन् ।
(लेखक चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?