पशुपति अधिकारी
सङ्कटापन्न वन्यजन्तु, वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारलाई नियमन तथा नियन्त्रण गर्न बनेको साइटिस महासन्धिमा हस्ताक्षर गरेको दिनको सम्झनामा हरेक वर्ष मार्च ३ लाई विश्व वन्यजन्तु दिवसका रूपमा मनाउने गरिन्छ । यस महासन्धिमा नेपाललगायत १७० सदस्य राष्ट्र आबद्ध छन् । नेपालमा साइटिस कार्यान्वयनका लागि सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ लागू गरिएको छ । कोरोना भाइरस चमेरोबाट मानिसमा फैलिएपछि साइटिस महासन्धिको उपादेयता अझै बढेको छ ।
साइटिस महासन्धि र वन्यजन्तु
साइटिस महासन्धिले विश्वभरका वन्यजन्तु, वनस्पतिलाई तीनवटा अनुसूचीमा वर्गीकरण गरी तिनीहरूको संरक्षण र दिगो उपयोगको व्यवस्था गरेको छ । अनुसूची १ मा व्यापार एवं ओसारपसार गर्न पूर्ण रूपमा नियन्त्रण गरिएका वन्यजन्तु, वनस्पति पर्छन् भने अनुसूची २ मा तोकिएको कोटाभित्र मात्रै व्यापार गर्न पाइने वन्यजन्तु, वनस्पति पर्छन् । त्यस्तै अनुसूची ३ मा कुनै सदस्य राष्ट्रको मागबमोजिम अनुसूचीमा राखेका वन्यजन्तु, वनस्पति पर्छन् । विश्वभर हुने अवैध व्यापारमध्ये लागूऔषध, मानव बेचबिखन, नक्कली सामानको बिक्री वितरण र वन्यजन्तुको कारोबार क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । वन्यजन्तुको अवैध कारोबारबाट विश्वभर बर्सेनि ७.८ विलियनदेखि १० विलियन डलरसम्मको व्यापार हुने गर्दछ । जैविक विविधता र वातावरणीय सेवा मूल्याङ्कनसम्बन्धी विश्व प्रतिवेदनले अहिल्यै नै पृथ्वीका एक चौथाइ जीवजन्तु वनस्पति लोप हुने स्थितिमा पुगेको र पृथ्वीले प्रदान गर्दै आएका वातावरणीय सेवाहरू विगतको तुलनामा झन्डै आधाले घटेको उल्लेख छ । उक्त प्रतिवेदनले जैविक विविधता विनाशको दरमा कमी नआएको हुँदा मानिसको अस्तित्व सङकटमा पर्दै गएको जनाएको छ । विश्व संरक्षण सङ्घले तयार पारेको रातो सूची (रेडलिष्ट) मा विश्वभर आठ हजार, चार सयभन्दा बढी प्रजातिका वन्यजन्तु, वनस्पति अति सङ्कटापन्न अवस्थामा पुगेको उल्लेख छ ।
संरक्षणमा चुनौती
गत कात्तिकमा बेलायतको ग्लास्गोमा सम्पन्न विश्व जलवायु सम्मेलनमा पेस गरेको जलवायु परिवर्तन र जैविक विविधता नामको प्रतिवेदनमा मानव जातिले अहिलेसम्म पृथ्वीको जमिनको ७७ प्रतिशत र समुद्रको ८७ प्रतिशत भाग प्रयोगमा ल्याएको उल्लेख छ । उक्त प्रतिवेदनमा पृथ्वीको जैविक पिण्डको ९६ प्रतिशत भाग मानिस र घरपालुवा पशुपन्छीले ओगटेको उल्लेख छ । पृथ्वीको ३० देखि ५० प्रतिशत जमिन र पानीको भाग इकोसिष्टम व्यवस्थापनको लागि छुट्ट्याए मात्रै जलवायु चक्रको सन्तुलन, जैविक विविधता संरक्षण र स्तरीय जीवनयापन कायम राख्न सकिने उक्त प्रतिवेदनले औल्याएको छ । वन्यजन्तु संरक्षणमा सबैभन्दा महìवपूर्ण पक्ष वासस्थान हो तर जलवायु परिवर्तनका कारण सुक्खा बढ्नाले आहाराको उपलब्धता घटेको छ र आगलागी बढेको छ । अहिले नेपालमा वन क्षेत्रभित्र निर्माण गरिने सडक, नहर, तटबन्ध, बाँध र विद्युत् प्रसारण लाइनजस्ता भौतिक संरचना वन्यजन्तु संरक्षणमा चुनौती बनेका छन् । यस्ता संरचनाहरू निर्माण गर्दा पूर्व सावधानी नअपनाउँदा वन्यजन्तु दुर्घटनामा परेका छन् ।
वन्यजन्तुको वासस्थानमा निर्माण गरिएका भौतिक संरचना वन्यजन्तुमैत्री नहुँदा वन्यजन्तुको स्वतन्त्र विचरणमा अवरोध पुगेको छ । त्यस्ता ठाउँमा अन्डरपास र ओभरपासजस्ता वन्यजन्तुमैत्री पूर्वाधार नहुँदा विगत पाँच वर्षको अवधिमा सडक दुर्घटनाबाट बर्सेनि औषत १२३ वटा वन्यजन्तु मरेको राष्ट्रिय निकुञ्ज विभागको अभिलेख छ । निकुञ्ज क्षेत्रभित्र पर्ने सडक खण्डमा सबारी चाप बढ्दै गएकाले दिउँसोको समयमा वन्यजन्तु ओहोरदोहोर गर्न कठिन हुने गरेको छ । अहिले चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने कसरा वनकट्टा हुलाकी सडक खण्डमा दैनिक औषत ७२० वटा
सवारीसाधन ओहोरदोहोर गर्ने गर्दछन् । यसबाट वन्यजन्तुको वासस्थान टुक्रिएको छ र तिनको स्वतन्त्र विचरणमा बाधा पुगेको छ । जीविकोपार्जनका अवसर कम भएका स्थानीय वासिन्दा निकुञ्ज क्षेत्रभित्र पस्ने हुँदा बाघ, गैडा, हात्तीको आक्रमणमा परि मर्ने घटनामा वृद्धि भएका छन् । देश सङ्घीय संरचनामा गएपछि तीन तहका सरकारहरूबीच समन्वय र सहकार्य हुन नसक्दा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गरी संरक्षण कार्यलाई सहज र द्वन्द्वमुक्त बनाउन कार्यान्वयनमा ल्याएको मध्यवर्ती क्षेत्र व्यवस्थापनको कार्यक्रम प्रभावहीन बन्दै गएको छ ।
इकोसिष्टम पुनस्र्थापना
वन, घाँसेमैदान, सीमसार र खेतबारीमा रहेका जैविक र अजैविक वस्तुहरूबीचको अन्तक्र्रिया र अन्र्तसम्बन्ध इकोसिष्टम हो । नेपालको तराईमा १० वटा, चुरेमा १३ वटा, मध्यपहाडमा ५२ वटा, उच्च पहाडमा ३८ वटा र खेतबारी, नदीमा पाँचवटा इकोसिष्टम रहेको फ्रान्सेली वनस्पतिशास्त्री डोब्रेमेजको सन् १९७२ को प्रतिवेदनमा उल्लेख छ । नेपालमा चितवन राष्ट्रिय निकुञ्जको स्थापनासँगै इकोसिष्टम पुनस्र्थापनाको थालनी भएको हो । नेपालमा रहेका कुल ११८ वटा इकोसिष्टममध्ये मध्यपहाडका अधिकांश इकोसिष्टमहरू निकुञ्ज, आरक्षभित्र समेट्न सकिएको छैन । अहिले देशको एकतिहाइ वन क्षेत्र २२ हजारभन्दा बढी सामुदायिक वन उपभोक्ता समूहमार्फत व्यवस्थापन गरिएको छ र सामुदायिक वनको विकाससँगै मध्यपहाडका इकोसिष्टमहरू पुनस्र्थापना गर्न टेवा पुगेको छ । सामुदायिक वन र मध्यवर्ती क्षेत्र ब्यबस्थापन कार्यक्रम लागू भएसँगै संंरक्षित क्षेत्र बाहिर पनि वन्यजन्तुको वासस्थान बिस्तार भएको छ । निकुञ्ज क्षेत्र बाहिर डडेलधुरा, रौतहट र इलामको वनमा समेत बाघ भेटिएका छन् । विश्व वन्यजन्तु कोषको सहयोगमा सञ्चालित तराई भूपरिधि कार्यक्रमले जैविक मार्गहरू पुर्नस्थापित गर्न सहयोग पुगेको हुँदा अहिले बाघ, हात्ती नेपाल, भारतबीच सहज रूपमा आवतजावत गर्न थालेका छन् । इकोसिष्टम पुनस्र्थापना भएसँगै सगरमाथा क्षेत्रमा विगत लामो समयदेखि नदेखिएको हिँउचितुवा अहिले देखिन थालेको छ ।
प्रमुख वन्यजन्तुको पुनः वृद्धि
यसवर्ष बिश्व वन्यजन्तु दिवसको नारा इकोसिष्टम पुनस्र्थापनाका लागि प्रमुख वन्यजन्तुको पुनः वृद्धि गरौँ भन्ने रहेको छ । प्रमुख वन्यजन्तु (कि स्पेसिज) अन्र्तगत बाघ, हिउँचितुवा, ध्वाँसे चितुवा, चितुवा, ब्वाँसो, सोस (डल्फिन), गोही, गिद्ध, गरुड, हुँचिल, मौरी, पुतलीजस्ता खाद्य चक्र (फुड साइकल) को माथिल्लो तहमा रहेका वन्यजन्तु र हात्ती, गैँडा, गौरीगाई जस्ता ठूलो शरीर र लामो आयु भएका वन्यजन्तु पर्छन् । इकोसिष्टम अनेकौँ खाद्य चक्रहरूको सञ्जाल हो र प्रमुख वन्यजन्तुको संरक्षण भए अन्य वन्यजन्तु स्वतः संरक्षण हुन्छन् । खाद्य पिरामिडको माथिल्लो तहमा रहेका वन्यजन्तु लोप भएमा विनाशकारी जन्तु (पेष्ट एनिमल) भनिने बाँदर, बँदेलजस्ता उच्च प्रजनन क्षमता भएका वन्यजन्तुको सङ्ख्या बढ्न जान्छ । अहिले नेपालमा खाद्यान्न बालीमा क्षति पु¥याउने यस्ता वन्यजन्तुको सङ्ख्या बढ्नुको मुख्य कारण चितुवा र ब्वाँसो मासिनाले हो ।
नेपालका उच्च पहाडी क्षेत्रमा पाइने ब्वाँसोले बँदेलका पाठा खाने गर्दछ तर द्वन्द्वकालमा विषादी प्रयोग गरी ब्वाँसो मारेकाले ढोरपाटन सिकार आरक्ष वरपरका बस्तीमा बँदेलबाट आलु र मकै बालीमा बढी क्षति पुगेको थियो तर अहिले पुन ब्वाँसोको सङ्ख्या बढेसँगै बँदेलबाट पुग्ने क्षतिमा कमी आएको छ । यस्तै घटना अमेरिकाको एलो स्टोन राष्ट्रिय निकुञ्जमा समेत घटेको पाइन्छ । अमेरिकी सरकारले सन् १९२४ मा निकुञ्जबाट ब्वाँसो निर्मूल गरेपछि निकुञ्जमा वन्यजन्तुको सङ्ख्या बढ्न गई अति चरिचरनका कारण निकुञ्जका घाँस र रुख प्रजाति मासिँदै गए र सन् १९९० को दशकमा पुन ब्वाँसोलाई निकुञ्जमा छाडिएको छ । बाँदर र बँदेलका कारण नेपालको खाद्य सुरक्षामा थपिएको चुनौती निराकरण गर्न समेत बाघ, चितुवा, ब्वाँसोजस्ता प्रमुख वन्यजन्तुको पुनः सङ्ख्या वृद्धि गर्न आवश्यक छ ।
विश्वमा बाघ पाइने १३ देशको सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर वृद्धि गर्ने योजना यस दिशातर्फको पहल कदमी मान्न सकिन्छ । नेपाल सरकारले समेत बाघ, गैँडा, हात्ती, हिउँचितुवा, गौरीगाई, अर्ना, घडियाल गोही, सोंस (डल्फिन) जस्ता विश्वमै दुर्लभ वन्यजन्तुको पुनरोत्थान योजना (रिकोभरी प्लान) बनाई लागू गरेको छ । सीमित स्थानमा मात्रै रहेका वन्यजन्तु कुनै रोगब्याधि वा प्राकृतिक प्रकोपका कारण गैँडा लोप हुन नदिन गैँडा, कृष्णसार, अर्ना र बाह्रसिङ्गा स्थानान्तरण गरी दोस्रो वासस्थान कायम गरिएको छ ।नेपालले बाघ, गैँडा, हात्ती, घडियाल गोहीजस्ता विश्वमै दुर्लभ वन्यजन्तुको संरक्षणमा उल्लेखनीय सफलता हासिल गरेको छ । तैपनि वन्यजन्तु संरक्षणमा समन्वय, सहकार्यमा कमी र वन्यजन्तुमैत्री भौतिक पूर्वाधारको अभावले निरीह वन्यजन्तुको अप्राकृतिक मृत्युदर बढेको छ । हामीमा सहअस्तित्वको भावना कमजोर हुँदै गएको छ र हेलचक्राइ, विषादी, विद्युतीय करेन्ट र पासो प्रयोग गरी वन्यजन्तु मार्ने घटनामा वृद्धि हुन थालेका छन् ।