पशुपति अधिकारी
कोरोना महामारीका कारण ठप्प भएको नेपालको पर्यटन उद्योगको अहिले बिस्तारै सुधार हुँदै गएको छ । पोखरा, चितवनजस्ता पर्यटकीय गन्तव्य स्थलहरूमा पर्यटकको चहलपहल बढेको छ । नेपालमा पर्वतारोहण, पदयात्रा पर्यटन र वन्यजन्तु पर्यटनका लागि विदेशी पर्यटक आउने गर्दछन् । दक्षिण एसियामा सबैभन्दा पहिला वन्यजन्तु पर्यटनको थालनी गर्ने देश नेपाल हो । सन् १९६४ मा चितवनको मेघौलीमा टाइगर टप्प जङ्गल लज स्थापना गरी जङ्गल सफारी र सन् १९७२ मा ढोरपाटनमा शिकार पर्यटन सुरु भयो । देशभर राष्ट्रिय निकुञ्ज, आरक्षजस्ता संरक्षित क्षेत्रहरूको स्थापना भएपछि वन्यजन्तु पर्यटनका लागि आधार स्तम्भ खडा भएको छ । अहिले नेपाल भ्रमणमा आउने करिब ६० प्रतिशत पर्यटक वन्यजन्तु पर्यटनमा संलग्न हुने गरेका छन् । वन्यजन्तु पर्यटनअन्र्तगत जीप सफारी, हात्ती सफारी, जङ्गलमा पैदल यात्रा, मचानमा बसेर वन्यजन्तु अवलोकन, चरा अवलोकन, डुङ्गा सफारी र शासनिक शिकार (ट्रफि हन्टिङ) पर्दछन् । बाघ पाइने कतिपय देशमा बाघ पर्यटन प्रवद्र्धन गर्न वाइटिङ, रेन्चिङ गरेका छन् । पाल्तु जनावरलाई बाघको वासस्थानमा राखेर नजिकैको मचानबाट बाघको गतिविधि हेर्ने कार्य वाइटिङ हो भने पर्यटकको सुविधाका लागि ठूलो क्षेत्रमा तारवार लगाई त्यहाँ प्राकृतिक वातावरण कायम गरी बाघ पाल्ने कार्य रेन्चिङ हो । प्राणी उद्यान, चिडियाखाना र नियन्त्रित प्रजनन (क्याप्टीभ ब्रिडिङ) केन्द्रले समेत वन्यजन्तु पर्यटन प्रवद्र्धन गर्न सहयोग पु-याएका छन् । वन्यजन्तुको आखेटोपहार प्रदर्शनी गरेर पनि पर्यटक आकर्षित गरिन्छ । वन्यजन्तु पर्यटनमा सामान्य र विशिष्ट पर्यटकीय गतिविधि सञ्चालन गर्ने गरिन्छ । सामान्य पर्यटकीय गतिविधिमा वन्यजन्तुको अवलोकन गर्ने, फोटो खिच्ने पर्दछन् भने विशिष्ट पर्यटकीय गतिविधिमा वन्यजन्तुको शिकार गर्ने, वन्यजन्तुसँगसँगै बसेर खेल्ने र माछा मार्ने पर्दछन् ।
विश्व परिवेश
विश्व पर्यटन सङ्गठनका अनुसार विश्व पर्यटन बजारमा वन्यजन्तु पर्यटनको हिस्सा सात प्रतिशत रहेको छ । यो बर्सेनि तीन प्रतिशतका दरले बढिरहेको छ । विश्वभर वन्यजन्तु पर्यटनबाट दुई करोड २० लाख रोजगारी सिर्जना भएको छ भने विश्वको कुल गार्हस्थ्य उत्पादनमा १२० बिलियन डलर बराबरको योगदान पुगेको छ । अफ्रिकी देशहरू केन्या, जिम्बावे, युगाण्डा, जाम्बिया, वोत्स्वाना र नामिविया वन्यजन्तु पर्यटनका लागि प्रसिद्ध छन् । विश्वमा वन्यजन्तु पर्यटनको सबैभन्दा ठूलो बजार भएको देश केन्या हो भने दोस्रो ठूलो बजार भारतमा रहेको छ ।
नेपालको वर्तमान अवस्था
आर्थिक वर्ष २०७५/७६ मा सात लाख छ हजार १४८ पर्यटकले नेपालका संरक्षित क्षेत्रहरूको भ्रमण गरेका छन् । त्यसैगरी, आर्थिक वर्ष २०७४/७५ मा एक लाख ५२ हजार ६७१ र आर्थिक वर्ष २०७५/७६ मा एक लाख ८७ हजार १०९ जना पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले बढी हो । त्यसपछिका वर्षहरूमा भने कोरोना महामारीका कारण पर्यटको सङ्ख्या घटेको छ । हालसम्म यूनेस्कोले विश्व प्राकृतिक सम्पदा सूचीमा सूचीकृत गरेका २१८ वटा प्राकृतिक सम्पदामध्ये नेपालमा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् । चितवन राष्ट्रिय निकुञ्ज जङ्गल सफारीको लागि विश्व प्रसिद्ध छ । सन् २०१२ देखि निकुञ्जभित्र रहेका सात वटा होटल बन्द गरिए पनि जङ्गल सफारीमा महìवमा कुनै कमी आएको छैन । अहिले चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीको लागि १७१ वटा जीप र ४० वटा निजी हात्ती रहेका छन् । चितवनको वन्यजन्तु पर्यटन सौराहा केन्द्रित रहेको छ । यसलाई पश्चिम चितवन, माडी र नवलपुर क्षेत्रमा बिस्तार गरेमा वन्यजन्तु पर्यटनको बजारलाई अझै ठूलो बनाउन सकिनेछ । त्यस्तै, ढोरपाटन शिकार आरक्षमा सञ्चालन गरिने शिकार पर्यटन अझै बढाउन आरक्षलाई पूर्वमा गुर्जा हिमालको फेदी र पश्चिममा लालपाटनसम्म बिस्तार गरेमा थप पर्यटक आकर्षित गर्न सकिनेछ । पूर्वी नेपालको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा समेत शिकार पर्यटन खुला गर्न स्थानीयबाट माग भएको छ । चितवनको तुलनामा तराई क्षेत्रका अन्य राष्ट्रिय निकुञ्ज र आरक्षमा वन्यजन्तु पर्यटन सुरुवाती अवस्थामा छ ।
पछिल्लो समयमा पर्सा राष्ट्रिय निकुञ्जको आधाभारदेखि ठोरीसम्म जङ्गल सफारी सञ्चालन गर्न वीरगञ्ज र सिमराका होटल व्यवसायीले माग गरेका छन् । सन् २०१६ मा बेलायती राजकुमार ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण गरेपछि त्यहाँसमेत भ्रमण गर्ने पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । बाह्रसिंगा भन्ने मृगको ठूलो बथान रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा र कृष्णसार स्थानान्तरण गरेपछि पर्यटकको सङ्ख्या बढेको छ । पूर्वी तराईमा वन्यजन्तु पर्यटनको उच्च सम्भावना भएर पनि प्रवद्र्धन गर्न सकिएको छैन । सानो क्षेत्रफलमा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्षमा स्थानीय बासिन्दाको वर्षौंदेखिको असहयोगका कारण त्यहाँ रहेका जङ्गली हात्ती, अर्ना र गिद्ध, पानीहाँस लगायतका चराहरूको अस्तित्व सङ्कटमा पर्दै गएको छ । पूर्वी तराईका रैथाने जङ्गली हात्तीको संरक्षणका लागि चुरे र भावर क्षेत्रलाई समेटेर कुनै मोडलको संरक्षित क्षेत्र बनाउन जरुरी देखिन्छ । नेपालका २७ वटा ठाउँलाई महìवपूर्ण चरा क्षेत्र (इम्पोटेन्ट वर्ड एरिया) भनी सूचीकृत गरिएको छ । नेपालमा चराका धेरै प्रजाति पाइने र घनत्वसमेत उच्च रहेकाले नेपालले भविष्यमा चरा पर्यटनबाट धेरै फाइदा लिन सक्ने सम्भावना छ । ललितपुरको जाउलाखेलमा रहेको सदर चिडियाखाना नेपालको एक मात्र चिडियाखाना हो ।
समस्या
प्राकृतिक र जलवायु परिवर्तन, वासस्थान विनाश, चोरी शिकार, मानव वन्यजन्तु द्वन्द्वजस्ता मानवजन्य क्रियाकलापका कारण विश्वभर वन्यजन्तु लोप हुँदै जाने दरमा वृद्धि भएको छ । वन्यजन्तु पर्यटन भनेको नियन्त्रित पर्यटन (रेस्ट्रिक्टेड टुरिजम) हो तर उचित व्यवस्थापनको अभावमा नेपालमा खुला पर्यटन (मास टुरिजम)तर्फ उन्मुख हुँदै गएको छ । यसलाई व्यवस्थित गर्न नेपालमा वन्यजन्तु पर्यटनसम्बन्धी छुट्टै नियमावली बनेको छैन । शिकार पर्यटनमा नजिक र सजिला शिकार ब्लकहरूमा बढी सङ्ख्यामा कानुनी शिकार गर्ने समस्या रहेको छ । चितवन राष्ट्रिय निकुञ्ज र ढोरपाटन शिकार आरक्षमा वन्यजन्तु पर्यटनमा उपरोक्त समस्याहरू रहे पनि अन्य संरक्षित क्षेत्रमा भने वन्यजन्तु पर्यटन प्रारभ्मिक चरणमा रहेको हुँदा खासै समस्या देखापरेका छैनन् । वन्यजन्तु स्वभावैले दिउँसो निष्क्रिय हुने र राति सक्रिय हुने गर्छन् । वन्यजन्तु मानिसदेखि लुक्न, भाग्न खोज्दछन् र एकान्तमा बस्न रुचाउँछन् । त्यसैले, वन्यजन्तुको दिनचर्यालाई कमभन्दा कम खलल पु¥याएर वन्यजन्तु पर्यटन सञ्चालन गर्नुपर्ने हुन्छ ।
नेपालमा वन्यजन्तु पर्यटनमा संलग्न होटलहरूको वर्गीकरण गर्ने व्यवस्था छैन भने तालिम प्राप्त नेचर गाइडहरूको कमी रहेको छ । वन्यजन्तुको दिनचर्यामा अवरोध पुगेमा वन्यजन्तु विस्थापित हँुदै जान्छन् भन्ने पर्यटन व्यवसायी र पर्यटकले हेक्का राखेको पाइँदैन । उनीहरूमा वन्यजन्तुको बानिव्यहोराबारे ज्ञानको कमी छ । त्यसले गर्दा जङ्गल सफारीको समयमा वन्यजन्तुलाई बसेको ठाउँबाट उठाउने, भगाउने, जिस्काउने, होहल्ला गर्ने गरेको पाइन्छ । यस्तो क्रियाकलापले गर्दा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको भीडभाड बढेका ठाउँमा वन्यजन्तुहरू विस्थापित हुँदै गएका छन् भने पर्यटकले वन्यजन्तु अवलोकन गर्ने दरमा कमी आएको छ । पर्यटन व्यवसायीहरूबीच पेसागत आचारणको कमी र अस्वस्थ्य प्रतिस्पर्धाका कारण कतिपय होटल र होमस्टेमा निकुञ्जका नदीका माछा र बँदेलका मासुको व्यापार हुने गरेको छ । यसबाट निकुञ्जको स्रोतको दोहन बढेको छ । प्रायःजसो पर्यटन व्यवसायीले अनुमति नलिई निकुञ्जभित्रका नदीहरूमा डुङ्गा सफारी गराएका छन् । पर्यटन व्यवसायीमा वन्यजन्तु दराजमा सजाएर राखेका वस्तुजस्तै हुन् भन्ने सोच रहेकाले रात्रिकालीन जङ्गल सफारीको माग हुने गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रको वनमा पर्यटक प्रवेश गर्दा लाग्ने शुल्क र प्रवेश अनुमतिको प्रक्रिया फरक–फरक रहेकाले समेत वन्यजन्तुको बासस्थानमा पर्यटकको भीड लाग्ने गरेको छ । निकुञ्ज र मध्यवर्ती सामुदायिक वनहरूमा एकद्वार प्रणालीमार्फत पर्यटक प्रवेश गर्ने व्यवस्था लागू गर्न सकिएको छैन । मध्यवर्ती क्षेत्र पर्यटन प्रवद्र्धन गर्ने क्षेत्र भएर पनि सोअनुरूप व्यवस्थापन गर्न नसक्दा त्यहाँ पोल्ट्री फर्म र उद्योगहरूको सङ्ख्या बढ्दै गएको छ र पर्यटन व्यवसायीहरू विस्थापित हुनुपर्ने स्थिति छ ।
विकल्पको खोजी
पर्यटक र वन्यजन्तुबीचको सम्बन्ध आर्किमिडिजको पानीमा कुनै वस्तु राख्दा वस्तुको घटेको तौल बराबरको पानी विस्थापित हुने सिद्धान्तसँग मिल्दोजुल्दो छ । निकुञ्जमा पर्यटकको चाप जति बढ्दै जान्छ, उत्ति नै वन्यजन्तुहरू विस्थापित हुँदै जान्छन् । यसको विकल्पको रूपमा अन्तर्राष्ट्रिय स्तरको प्राणी उद्यान स्थापना गर्ने रहेको छ । उदाहरणका लागि चितवन वा नवलपुरको कुनै स्थानमा प्राणी उद्यान स्थापना गरेमा चितवन राष्ट्रिय निकुञ्जमा परेको पर्यटकको चापलाई कम गर्न सकिनेछ । अहिले नेपालमा हिंस्रक बाघ, चितुवा, जङ्गली हात्ती तथा बूढा सरकारी हात्ती र टुहुरा तथा घाइते गैँडाका बच्चा व्यवस्थापन समस्याको रूपमा रहेको छ । यो समस्या समाधान गर्न समेत प्राणी उद्यानको आवश्यकता छ । नेपालको वन्यजन्तु पर्यटनको बजारलाई अझै फराकिलो र विकेन्द्रित बनाउन बाघ, रातो पाण्डा, कस्तुरीमृग, ओँत, डल्फिन, घडियाल गोही र डाँफे, मोनाल, गिद्धजस्ता बढी पर्यटकीय महìव भएका वन्यजन्तुलाई चिडियाखाना बनाएर, नियन्त्रित प्रजनन केन्द्र स्थापना गरेर वा अर्धजङ्गली अवस्थामा पाल्नुपर्ने अनुभव प्राप्त भएको छ । यसैलाई दृष्टिगत गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा गरिएको पाँचौं संशोधनले निजी क्षेत्र, सङ्घसंस्था र स्थानीय तहलाई वन्यजन्तु पालन, प्रजनन र अनुसन्धान केन्द्र स्थापना गर्न पाउने कानुनी व्यवस्था गरेको छ । नेपालमा वन्यजन्तु पर्यटनका लागि प्राणी उद्यान वा चिडियाखानाजस्तो वैकल्पिक व्यवस्था र बढ्दै गएका बेथिति नियन्त्रण नगरे यसबाट वन्यजन्तु संरक्षणमा चुनौती थपिनेछ र यस क्षेत्रमा गरिएको अर्बौंको लगानी जोखिममा पर्नेछ ।