logo
२०७९ असार १८ शनिवार



जैविक विविधतामा मानव अस्तित्व

विचार/दृष्टिकोण |




पशुपति अधिकारी

हरेक वर्ष मे २२ लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका रूपमा मनाउने गरिन्छ । सन् १९९२ मा ब्राजिलको राजधानी रियो द जेनेरियोमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय वातावरण र विकाससम्बन्धी पृथ्वी सम्मेलनले वातावरण संरक्षण र दिगो विकासका लागि जैविक विविधता महासन्धिको रूपरेखा तयार पारेको थियो । हरितयुद्धको शुभारम्भ मानिएको यस सम्मेलनमा विश्वका १७८ राष्ट्रले भाग लिएका थिए र सम्मेलनकै समयमा नेपाललगायत १५२ राष्ट्रले यस महासन्धिमा हस्ताक्षर गरेका थिए । यो महासन्धि विश्वव्यापी रूपमा २९ डिसेम्बर १९९३ देखि र नेपालमा भने २१ फेब्रुअरी १९९४ देखि लागू भएको छ ।

के हो जैविक विविधता
प्रतिइकाइ क्षेत्रफलमा रहेका जीवजन्तु, वनस्पतिको कुल सङ्ख्या र तिनीहरूमा पाइने भिन्नतालाई जैविक विविधता भनिन्छ । जैविक विविधताअन्तर्गत घरपालुवा र जङ्गली दुवै किसिमका जीवजन्तु, वनस्पति पर्छन् । क्षेत्रगत आधारमा कृषि जैविक विविधता, वन जैविक विविधता, संरक्षित क्षेत्रभित्रका जैविक विविधता, सिमसार जैविक विविधता, पर्वतीय जैविक विविधता र हिमाली खर्क तथा घाँसेमैदान जैविक विविधता गरी छ भागमा वर्गीकरण गरिएको छ भने जातिगत, वंशाणुगत र पारिस्थितिकीय (इकोसिष्टम) विविधता गरी तीन तहमा बाँडिएको छ । विश्वभर अनुमान गरिएका ८० लाख जीवजन्तु, वनस्पतिका प्रजातिहरू जातिगत विविधता हुन् । नेपालमा अहिलेसम्म जनावरका २०८, चराका ८७८, सर्प र भ्यागुताका १४३, माछाका १८५, पुतलीका ६४० र फूल फुल्ने वनस्पतिका पाँच हजार १६० प्रजाति अभिलेख गरिएको छ । पृथ्वीमा भौगोलिक वनावट, उचाइ, मोहडा, तापक्रम र वर्षाले गर्दा फरक–फरक वासस्थान कायम भएका छन् र ती सुहाउँदो जीवजन्तु, वनस्पति हुर्केका छन् । फरक–फरक विशेषता बोकेका वासस्थानलाई ‘इकोसिष्टम’ विविधता भन्ने गरिन्छ । नेपालमा वन इकोसिष्टम ११२, खेतबारीका चार, पानीको सतहका एक र हिउँ, हिमनदी र चट्टानको एक गरी कुल ११८ इकोसिष्टम रहेका छन् ।

मानिस र जैविक विविधताको सम्बन्ध
मानव अस्तित्व जैविक विविधताामा अडिएको छ । अहिले धान, गहुँ, मकैलगायत खाद्यान्नका २० प्रजातिले विश्वको ९० प्रतिशत खाद्यान्नको आपूर्ति हुने गरेको छ । मानव जाति खानेकुरा, औषधि, लुगा, इन्धन, निर्माणसामग्री, स्वच्छ हावापानी, मनोवैज्ञानिक सन्तुष्टिका लागि जैविक विविधताामा भर पर्नुपर्छ । जैविक विविधता जति बढी कायम राख्न सक्यो, त्यत्ति नै मानिसको बाँच्ने आधार बलियो हुन्छ ।
अहिले एक प्रजातिको जिन अर्को प्रजातिमा प्र्रत्यारोपण गर्न सक्ने प्रविधिको विकास भएको छ । योसँगै जैविक विविधताको महŒव अझै बढेर गएको छ । अहिले अनुपयोगी देखिएका जीवजन्तु, वनस्पतिमा पनि कुनै न कुनै गुण लुकेको हुन्छ र भविष्यमा त्यसलाई मानवहितका लागि प्रयोगमा ल्याउन सकिनेछ । मानिसका लागि अत्यावश्यक पानी, स्वच्छ हावाजस्ता वातावरणीय सेवालाई अविच्छिन्न रूपमा सञ्चालन गर्नसमेत जैविक विविधताको संरक्षण हुन आवश्यक छ ।

आईची जैविक विविधता लक्ष्य
संयुक्त राष्ट्रसङ्घको आह्वानमा जैविक विविधता महासन्धिका पक्षधर राष्ट्रहरूले जैविक विविधता संरक्षणको क्षेत्रमा सन् २०११ देखि सन् २०२० सम्ममा पूरा गर्नेगरी निर्धारण गरेका लक्ष्यलाई आईची जैविक विविधता लक्ष्य भन्ने गरिन्छ । यस्ता लक्ष्यहरू २० वटा र ५८ वटा राष्ट्रिय सूचक रहेका छन् । यी लक्ष्यहरू जैविक विविधता संरक्षणसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने, जैविक विविधता संरक्षणमा राज्यका सबै निकाय उत्तिकै जिम्मेवार हुनुपर्ने कानुनी व्यवस्था गर्ने, तिनको संरक्षणमा संलग्न समुदायलाई अनुदान र प्रोत्साहनको व्यवस्था गर्ने, न्यून कार्वन उत्र्सजन हुने हरित अर्थतन्त्र अवलम्बन गर्नुपर्ने, वासस्थान टुक्रिन र क्षय हुन नदिने, प्राकृतिक स्रोतको दिगो उपयोग गर्ने, प्रदूषण नियन्त्रण गर्ने, बाहिरिया मिचाहा प्रजातिको व्यवस्थापन गर्ने, संवेदनशील इकोसिष्टमको संरक्षण गर्ने र राष्ट्रिय निकुञ्जजस्ता संरक्षित क्षेत्रको व्यवस्थापन गर्ने आदि रहेका छन् ।

आईची लक्ष्य र नेपाल
नेपालले सन् २०२० सम्ममा पूरा गर्नुपर्ने आईची जैविक विविधता लक्ष्यको प्रगति सन्तोषजनक छैन । संरक्षित क्षेत्रहरू व्यवस्थापनमा लक्ष्य हासिल गरेको देखिन्छ भने अन्य लक्ष्यको प्रगति न्यून रहेको छ । वन विनाशको दर घटे पनि उच्च पहाडी क्षेत्रको खस्र्रु वनविनाशको दर उच्च छ । उच्च पहाडी क्षेत्रको कृषि प्रणालीमा महŒवपूर्ण भूमिका राख्ने खस्र्रु वन मासिएसँगै हिउँदमा गाईबस्तुलाई खुवाउने डालेघाँसको अभाव भएको छ र त्यहाँको जीविकोपार्जनको मुख्य स्रोतका रूपमा रहेको पशुपालन व्यवसाय घट्दो छ । यसको असर कृषि उत्पादनमा समेत परेको छ ।
नेपालको कृषि प्रणालीलाई समयसापेक्ष सुधार गर्ने उद्देश्यले विगतमा स्थापना गरेका वागबानी फर्म, बाली विकास फर्म, कृषि तथा पशु अनुसन्धान केन्द्रले चर्चेका जग्गा र भवनमा सुरक्षा व्यारेक राखिएको छ भने कतिपय फर्महरू गैरसरकारी सङ्घ संस्थालाई हस्तान्तरण गरिएको छ । विगतको संस्थागत संंरचना भत्काइएको र उपयुक्त कृषि नीति अवलम्बन गर्न नसक्दा विगत चार दशकको अवधिमा नेपालबाट अन्नबाली, फलफूल, तरकारी र पशुपक्षीका सयौँ रैथाने प्रजाति विस्थापित भएका छन् । नेपाल जैविक विविधतामा धनी भनिए पनि जैविक प्रविधिको विकास गर्न नसक्दा ट्राउट माछा र कालिजका अण्डा अमेरिका र युरोपबाट ल्याउने गरिएको छ । हाइब्रिड बीउ र कृत्रिम गर्भाधानले किसानको बीउमाथिको नैसर्गिक अधिकार गुम्दै गएर बहुराष्ट्रिय कम्पनीको हातमा पुगेको छ । कतिपय हाम्रा रैथाने अन्नबाली, तरकारी, जडीबुटीमा छिमेकी देशहरूले आफ्नो पैतृक अधिकार (पेटेन्ट राइट) कायम गरेका छन् । हामीले आफ्ना परम्परागत ज्ञान, सीप र अभ्यासलाई पञ्जीकरण गर्न पनि सकेका छैनाँै ।
विश्व बजारमा ब्रान्डिङ गर्न सकिने जेठो बुढो, पहेँले, दुधे मार्सी, झिनुवा, अनदीजस्ता धान फल्ने खेत गैरकृषि कार्यका लागि मासिएको छ । कृषियोग्य भूमिको कानुनी संरक्षणको पक्ष फितलो रहेकाले कृषि भूमि पसलमा बेच्न राखिएका सामानजस्तै भएका छन् । हिउँदे वर्षा र हिमपात बर्सेनि कम हुँदै गएको छ । सुख्खा मौसमको अवधि लम्बिएसँगै मध्यपहाड र उच्चपहाडमा खानेपानीको चरम अभाव हुँदै गएको छ भने गहुँ, जौ, उवा, तोरी, मसुरो, केराउजस्ता हिउँदे बाली लगाउन छाडिएको छ ।

हाम्रो दायित्व
‘मानिस प्रकृतिका अभिन्न अङ्ग हुन्’ भन्ने यस वर्षको अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको नारा छ । जैविक विविधताको विनाश वा जथाभावी प्रयोग गरेमा कोरोना भाइरसजस्ता रोगव्याधि फैलिले सम्भावना रहिरहन्छ । हामी कतिपयमा गैँडा, बाघ, भालु, हात्तीजस्ता वन्यजन्तु मात्रै जैविक विविधता हुन् भन्ने भ्रम छ । जैविक विविधताको ठूलो हिस्सा त घरपालुवा पशुपक्षी, अन्नबाली, फलफूल, तरकारी, जडीबुटी, रूखबिरुवा र इकोसिष्टम विविधतामा रहेको छ । मानिसले विगत २०० वर्षमा गरेको भौतिक विकास र उपभोगशैलीमा आएको परिवर्तनले पृथ्वीको उत्पादन क्षमताभन्दा बढी जैविक सम्पदाको दोहन बढेको छ । अन्तर्राष्ट्रिय जैविक विविधता दिवसले हामी सबैमा जैविक विविवधतामैत्री कार्य गर्ने प्रेरणा मिलोस् । á

(लेखक चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?