प्रदिप्नराज पन्त
फेसबुकका प्रमुख कार्यकारी मार्क जुकेनवर्गले आवाज (भ्वाइस) अर्थात् स्वतन्त्र अभिव्यक्तिको पक्षमा वकालत गर्नुभएको छ । हुन त झुटलाई उहाँ पूर्णरूपले फेसबुकमा नियन्त्रण गर्न चाहनु हुन्थ्यो तर अन्ततः उहाँ खुला र स्वतन्त्र अभिव्यक्तिको पक्षमा जानुभयो, ‘यदि तपाईं एक राजनेता हुनुहुन्छ र फेसबुकमा आफ्ना राजनीतिक विज्ञापनमार्फत झुट बोल्न चाहनुहुन्छ भने केही फरक पर्दैन तपार्इं गर्न सक्नु हुन्छ ।’ उहाँको यो भनाइ अहिले जताततै पढ्न पाइन्छ ।
जुकेनवर्गको विचारमा यदि तपाईं स्वतन्त्रताका पक्षमा हुनुहुन्छ भने त्यसबाट उपलब्ध राम्रा, नराम्रा केही परिणामहरूलाई पनि स्वीकार गर्नुपर्छ । मानिसहरूले झुट बोल्छन्, केही भन्छन् र बोल्छन् । उहाँको तर्कअनुसार एउटा प्रविधिसँग सम्बन्धित कम्पनीले कसले झुट र कसले साँचो बोलेको छ, निर्णय दिनु हुँदैन । हुन पनि कसले झुट र कसले साँचो बोल्यो त्यो छुट्याउन विशेष गरेर राजनीतिमा सहज हुँदैन ।
अजेय भ्रम
नेपालको राजनीतिमा पनि अहिले सत्य के र झुट के भन्ने छुट्याउन सहज छैन । दुई कम्युनिस्ट एक भएर नेपाल कम्युनिस्ट पार्टी बन्यो । भलै प्राविधिक रूपमा अदालतले छुट्याए पनि उनीहरूले चाहेको भए फेरि मिल्न सक्थे तर मिलेनन् । मिल्न नसक्दा वर्तमान प्रधानमन्त्री केपी ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल बीच १९ र ३८ पानाका आरोप प्रत्यारोप चल्यो । त्यसपछि प्रचण्ड पक्ष र ओली पक्षको बीचको जाली–महाजाली भन्दै जुहारी नै चल्यो ।
दलका नेताहरूले एक अर्कालाई गालीगलौज गर्नु भनेको दलका मानिसहरूबीच विश्वासको आधार भत्किएको भन्ने अर्थ लाग्छ । विश्वासको आधार भत्किने असत्य कथनले नै हो । अहिले पूर्व प्रधानमन्त्री माधव नेपाल पक्ष र ओली पक्षबीच पनि एक अद्भूत किसिमको फरक अवधारणा छ ।
नेपाल पक्ष पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवाको समूहमा गएको र ओलीले राष्ट्रपतिसमक्ष एमालेका आफ्ना सबै सदस्य आफूसँग रहेको मात्र नभई जनता समाजवादी पार्टीको समेत साथ रहेको भनेर १५३ सदस्यको सहमति रहेको जनाएपछि एक अर्को शृङ्खलाको सुरुवात भएको छ । स्पष्ट छ, अबको केही महिना नेपाली राजनीतिमा फेरि पनि दलहरूले एकले अर्कोलाई झुट साबित गर्न खोज्ने छन् ।
विन्स्टर्न चर्चिलले भन्नुभएको छ, ‘‘सत्य महŒवपूर्ण हुन्छ तर त्यसलाई झुटको अङ्गरक्षकहरूले बेरेर राख्नु पर्छ ।’’ अर्थात् झुटको सहारा लिइएन भने राजनीतिमा सत्य पनि साबित गर्न सकिन्न । राजनीतिमा सत्यको मूल्यलाई कतिसम्म सुरक्षित राख्न सकिन्छ, त्यो महŒवपूर्ण हुन्छ । यो सन्दर्भमा जोन ग्रे ले ‘एस्टे««डग’ भन्ने किताबमा अजेय भ्रम (इन्भिन्सिबल इलुजन ) उल्लेख गर्नुभएको छ र राजनीतिमा भ्रम कसरी उत्पन्न हुन्छ भनेर सम्झाउनुभएको छ । उहाँले राजनीतिमा भ्रम सबैतिर हुने र केही भ्रमहरू अजेय अथवा कहिल्यै समाप्त नहुने बताउनुभएको छ ।
तर समाजको सञ्चालन सत्यको सिद्धान्तबाट हुनुपर्छ र समाजभित्र राजनीति पनि आउँछ । दर्शन, समय र संस्कृति जस्तोसुकै होस् मानिस जहिले पनि सत्यकै पक्षमा अभिमत जाहेर गर्छ । सत्यमा रहुन्जेल मानिसले शान्तिपूर्ण जीवन गुजार्छ । मानिस र मानिसको बीच सम्बन्धमा खटपट त्यति खेर आउँछ जब झुट प्रगाढ हुन्छ र विश्वासको आधार टुट्छ । नेपाली कम्युनिस्टहरूको बीचमा पनि केही भ्रमहरू सिर्जना भएका छन्, जसले गर्दा दलका शीर्ष नेताहरूबीच टकारावको स्थिति देखा परेको छ । जुनसुकै कारणले होस् जब मानिसबीच भरोसा टुट्छ तब सम्बन्ध मात्रै होइन, ठूला ठूला संरचना पनि गिर्छन् । अहिलेको कम्युनिस्टहरूको संरचना धर्मराउनुमा पनि भ्रम भनौँ या झुटकै भूमिका छ, जो लोकतन्त्रमा सुहाउँदैनथ्यो ।
को झुटो को सच्चा ?
झुट बोल्ने र नबोल्नेका बीच एक लक्ष्मण रेखा स्पष्ट देखिन्छ । झुटबाट सुरुमा शक्ति एकत्र भए पनि कालान्तरमा शक्तिको क्षय निश्चित छ । झुटले राजनीतिमा सिद्धान्तको रूपमा कहिले पनि काम गर्न सक्दैन ।
नेपालको समग्र राजनीतिमा पनि को झुटा को सच्चा जान्न जरुरी छ । झुट र साँचो बुभ्mन राजनीतिलाई कसरी बहसको विषय बनाइएको छ, त्यो सबभन्दा महŒवपूर्ण छ ।
ईसापूर्व पाँचौं शताब्दीको मध्यतिर एरिस्टोफेन्सको बहुचर्चित प्रहर्सनमा एउटा मुद्दा उठाइएको थियो । त्यसमा एउटा कुत्सित र घृणित तर्कलाई अत्यन्त चलाखीपूर्ण तरिकाले प्रस्तुत गरिएको छ र आफ्ना तर्कलाई प्रेरक बनाउन सार्वजनिक वक्ताले खतरनाक उपायहरू प्रयोग गरेको हुन्छ । प्रहर्सनमा झुट बोल्ने मानिसलाई चलाख साथसाथ साहसी देखाइएको छ । तर उनीहरूको छाती हुन्छ, हृदय हँुदैन र आफ्नो कुरा मनाउन उनीहरू जे पनि गर्छन् । यसकारण आम मानिसले उनीहरूको झुटलाई सत्यको रूपमा लिन बाध्य हुन्छन् । तर अन्त्यमा भीडलाई साक्षी बनाएर शब्दसज्जित भाषण बोल्दैमा न्याय गरेको भनेर मान्न नसकिने र अनुनयको प्रकृति कस्तो हुन्छ भनेर प्रहर्सनमा देखाइएको छ ।
पाँचांै शताब्दीको एथेनियनका अधिकांश साहित्यले लोकतन्त्रको निन्दा गरेका छन्, चिन्तित छन् किनकि राजनेताहरूको भाषण भरोसायोग्य नहुने र उनीहरूको भाषण भीडलाई आकर्षण गर्नको लागि मात्र हुने भनेर निन्दा गरिएको छ । हुन पनि भीड जम्मा गर्न सुरासुन्दरी प्रयोगदेखि पैसाको खोलो बगाउने चलन राजनीतिमा प्रचलनमा आएका देख्न र सुन्न जताततै अहिले पनि पाइन्छ ।
अहिलेको नेपालको राजनीतिलाई कता कता एथेन्सको एउटा महान् युद्धसँग पनि जोड्न सकिन्छ । स्पार्टाको विरुद्ध युद्धका लागि सिसिलिकाको जनताहरू समक्ष सहायताका लागि अपिल गरियो ।
सिसिलिका जनतासँग स्पार्टालाई हराउन सक्ने अपार संसाधन थियो तर त्यही संसाधन एथेन्सको हारको कारण बन्यो । राजनीतिक हस्तीहरूले अत्यन्त सुन्दर तरिकाले अज्ञान र निरक्षर जनतालाई आलङ्कारिक र विशिष्ट भाषणले युद्ध सामग्री पठाउन मन्जुर त गराए तर जब जनताले मानवताको विरोधमा युद्ध हुँदैछ र त्यसबाट कुनै पनि लाभ नहुने थाहा पाए, उनीहरू नै अर्थात् आफ्नै जनता युद्धको विरोधमा आए । एथेन्सले हार बेहोर्नुप¥यो, ठूलो मूल्य चुकाउन प¥यो । राजनीतिक असावधानीले एथेन्स पराजित मात्र भएन आआफैँबीच काटमार पनि भयो । अनावश्यक आश्वासन दिएर पूरा गर्न सकिएन भने ठूलो मूल्य चुकाउनुपर्छ । पूरा गर्न नसक्ने वाचा गरेर राजनीतिमा अघि बढ्न सकिन्न ।
जब निरोले आफ्ना पहिलो भाषण दिए, इतिहासकार टैसिटसले रोमन सम्राटले पहिल्यै लेखेको भाषण पढेको भनेर निरोलाई चोरको आरोप लगाए । इमानदारिता प्रमाणिकता र सच्चाइ नभएको भनेर टैसिटसले उन्को आलोचना गरे । तर अरूले नै लेखेका भए पनि निरोको भाषणले मानिसहरू प्रभावित भए । तर सम्राटले त्यही भाषण पढ्दा उनी बदनाम र दण्डित भएका थिए ।
राजनीतिमा हिजो के गरेको थियो अथवा के भएको थियो भनेर त्यसबाट निष्कर्ष निकाल्ने प्रयास गर्नु पनि हुँदैन । हिजो जे गर्दा सत्तामा पुगियो आज त्यसरी त्यही विधिबाट सत्तामा पुग्न सकिन्न । यसकारण पनि हिजो यस्तो सम्झौता गरिएको थियो पालना भएन भन्नुको कुनै अर्थ छैन । वर्तमान नै सर्वोपरि हो राजनीतिमा । अहिले नेपालको राजनीतिक दलका एजेण्डा कोरोना केन्द्रित हुनुपथ्र्याे । यसकारण नेपाली राजनीतिमा को झुटा को सच्चा जान्ने आधार दलहरूको बहस र कार्यक्रमको प्राथमिकता वर्तमान समस्या केन्द्रित छ कि छैन भन्ने नै हो ।
लोकतन्त्र र राजनीति
नेपाल अहिले चुनौतीपूर्ण अवस्थामा छ । लोकतन्त्रलाई कसरी परिभाषित गर्ने भनेर समेत बहस हुन थालेको देखिन्छ । निःसन्देह हामी सबै लोकतन्त्र चाहन्छौँ । हरेक बहसमा हामीले आफ्ना पक्षलाई लोकतान्त्रिक र अर्को पक्षलाई अलोकतान्त्रिक भन्ने गरेका छौँ । कुनै प्रदेशमा बसोवास भएकै आधारमा आफूलाई त्यो क्षत्रको सम्पूर्ण प्रतिनिधि ठान्छौँ र अर्को पक्षको दृष्टिकोणको आलोचना गर्छांै ।
तर आधुनिक लोकतान्त्रिक प्रक्रियालाई सुधार र संस्थागत गर्ने साझा अभियानमा सहभागी हुँदैनौँ । लोकतन्त्र के हो हामीले बुझ्ने प्रयास गरकै छैनौँ । लोकतन्त्रले निर्णयको रूपमा के महŒव राख्छ र निर्णय लिँदा कस्तो प्रक्रिया पूरा गर्नु पर्छ भन्ने बारेमा संशय हुनुपर्ने कारण नहुन पथ्र्यो ।
अक्सर भन्ने गरिन्छ कि लोकतन्त्रको निर्णय चुनावबाट हुने गर्छ । चुनाव लोकतन्त्रको ज्यादै सुन्दर पक्ष हो तर मतदानको बारेमा नागरिकहरूलाई जानकारी र शिक्षा भएन भने त्यस्तो मतदान सार्थक नहुन पनि सक्छ । मतदान गर्नु भनेको जसलाई मतदान गरिन्छ त्यो व्यक्तिको बारेमा एउटा सार्थक निर्णय लिनु पनि हो । मतदान जुन ‘जोगी आए पनि कानै चिरेका’ त हुन् नि भन्ने हिसाबमा गर्ने होइन ।
अर्को महŒवपूर्ण, प्लेटोनिक गणराज्यमा जस्तै चतुर दार्शनिकले मात्रै भोट हाल्न पाउने नभई नेपालभित्र या बाहिर रहेका नेपाली सबैले मतदान गर्न पाउने व्यवस्था गर्न जरुरी छ । जबसम्म हरेक नागरिकले मतदान गर्न पाउँदैनन्, त्यहाँ लोकतन्त्र छैन भने हुन्छ । छिमेकको गलत उदाहरण दिएर पन्छिन मिल्दैन, व्यवस्था गर्न सकिन्छ गर्नै पर्छ ।
लोकतन्त्रलाई कुनै किताबी परिभाषामा सीमित गरेर बुझ्न सकिन्न । लोकतन्त्र सहज प्रक्रिया पनि होइन । अन्य राजनीतिक व्यवस्थाको तुलनामा कठिन छ लोकतन्त्र । यो यस्तो चिज होइन जो तपाईंसँग छ या तपाईंसँग छैन । यो भन्न मिल्दैन कि म सँग छ या छैन । निर्मला पन्तलाई लोकतन्त्रले के ग¥यो ? तर लोकतन्त्र हुनुको फाइदा धेरै छ र लोकतन्त्रबाट धेरैले फाइदा पाउँछन् । एउटा असल सुदृढ लोकतन्त्र पाउनका लागि तपाईं अन्ध बनेर हँुदैन तपाईं जस्तोसुकै परिस्थितिसँग जुधेर भने पनि लोकतन्त्रको पक्षमा निर्णय गर्नुपर्छ न कि कुनै चिल्लो भाषण र प्रलोभनमा बहकिएर । नेपाली राजनीतिमा देखिएको बढ्दो झुटको त्रासदी हटाउन राजनीतिक बहस कता गएको छ, त्यसलाई मनन गरेर अब नेपाली जनता एकजुट हुनैपर्छ अन्यथा राजनीतिक अन्योल बढ्दै जानेछ ।
(लेखक अन्तर्राष्ट्रिय संस्थामा लामो समय काम गरेको अनुभव राख्नुहुन्छ ।)