प्रदिप्नराज पन्त
रुस र युक्रेनबीच युद्ध भड्किएको छ । रुसी सैनिकले आक्रमण गरेको र युक्रेनी सैनिकले पनि जबाफी कारबाही गरेको समाचार प्राप्त भइरहेका छन् । युद्धमा सैनिकलगायत सर्वसाधारणको हताहतको खबर पनि छ तर आधिकारिक रूपमा कुन पक्षले कति विनाश ग¥यो भन्ने बारेमा सम्पूर्ण तथ्याङ्क उपलब्ध छैनन् । युद्ध आक्रामक हुँदै गएको समाचार सार्वजनिक भएका छन् । विश्वका सबैजसो सञ्चारमाध्यमले हरेक दिन रुसी सैनिक र सैनिक गतिविधि नाटकीय ढङ्गले बढेको र युद्ध झन् खतरनाक हुँदै गएको आकलन गरेका छन् । यसका साथै एक लाखभन्दा बढी युक्रेनी नागरिक छिमेकी देशमा विस्थापन भइसकेका छन् संयुक्त राष्ट्रसङ्घका महासचिव एन्थोनी गुटरेसले बढ्दो तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । राष्ट्रसङ्घले युद्ध रोक्न र कूटनीतिको कुनै विकल्प नभएको भनेर विज्ञप्तिसमेत प्रकाशित गरेको छ ।
पृष्ठभूमि
युक्रेन स्वतन्त्र राष्ट्र नभएको प्रतिक्रिया रुसका राष्ट्रपति भ्लादिमिरि पुटिनको छ । आधुनिक युक्रेन सम्पूर्ण रूपले रुसद्वारा निर्मित देश हो भनेर पुटिनले पटक पटक भन्नुभएको छ, जसलाई अमेरिका र युरोपका मुलुकले अस्वीकार गरेका छन् । पुटिनका अनुसार युक्रेन रुसको हिस्सा भएको र रुसको पूर्व कम्युनिस्ट शासक भ्लादिमिर इ लेनिनले युक्रेनलाई आत्मनिर्णयको अधिकार दिएर रुसप्रति अन्याय गरेको टिप्पणी गर्नुभएको छ । कम्युनिस्ट शासनकालमा उक्रेनियन भाषा र उक्रेनियनलाई स्वायत्तता दिइएको जनस्तरमा पनि आक्रोश नभएको होइन । अचम्म के थियो भने लेनिनको शासनकालमा सम्पूर्ण युरोपमा युरोपियन चाहिँ आफ्नो देशमा एक भाषा होस् भन्ने चाहन्थे र भाषालाई नै राज्य एकताका आधार मानेका थिए तर लेनिनले युक्रेनलाई विशेष दर्जा दिनुभएको थियो । उहाँ युक्रेनको छुट्टै परिचय र भाषाको पक्षमा रहिरहनुभयो । लेनिनको मृत्युपश्चात् स्टालिनले पनि यही नीति कायम गर्नुभयो । स्टालिनले त अन्य राज्यमा समेत स्थानीय भाषा बोल्न र लेख्न सक्ने बनाइदिनुभयो । जर्जियाले जर्जिएन आर्मेनियाले आर्मेनिएन आदि ।
त्यतिखेर सोभियत रुसमा एउटै सर्त थियो, कम्युनिस्ट सिद्धान्त मानुन्जेल कुनै भाषा बोल्न र धर्म अपनाउन कुनै प्रतिबन्ध थिएन । जब मिखाएल गोर्वाचोभ, सोभियत रुसका अन्तिम कम्युनिस्ट शासकले ग्लासनस्ट र पेरोस्ट्रोइका (खुलापन र पुनर्निर्माण) भनेर कम्युनिस्ट शासनमा नयाँ नीति बनाउनुभयो त्यसपछि भाषा, जाति, संस्कृति र सिद्धान्तको वादविवादमा बहस हुन थाल्यो । कसैको तर्क जतिसुकै व्याख्यात्मक किन नहोस्, सिद्धान्त जतिसुकै वैज्ञानिक किन नहोस्, भाषा, संस्कृति र रीतिरिवाज सबैलाई प्रिय लाग्ने देखियो । जसले गर्दा विखण्डनको अङ्कुरण हुन थाल्यो र सोभियत सङ्घ विखण्डन हुन लाग्दा सम्पूर्ण रसियनले अहिलेको युक्रेनको किभलाई युक्रेनमा राख्न दिन नहुने धारणा व्यक्त गरे । गोर्वाचेभले उक्त प्रस्तावको उपेक्षा गर्नुभयो । सम्भवतः यही एउटा मुख्य कारण थियो कि रुसमा कम्युनिस्ट चुनावी मैदानमा जहिले पनि नराम्रोसँग पछारिए ।
युक्रेनको किभसँग रुसको सम्बन्ध गहिरोसँग बुझ्न नवौँ शताब्दीको इतिहास पनि जान्नुपर्ने हुन्छ । युक्रेन र रुस दुवै नवौँ शताब्दीमा भाइकिङ्गसद्वारा स्थापित एउटा मध्ययुगीन साम्राज्य हो र युक्रेनको ऐतिहासिक वास्तविकता एकदमै जटिल छ । किभ मस्को भन्दा झन्डै हजार वर्षअघि स्थापित भएको हो, जसको कारणले युक्रेनियन मात्र होइन रुसीहरू पनि अहिले आफ्नो संस्कृति, धर्म र भाषाको जन्मस्थानका रूपमा दावा गर्ने गर्छन् । अनुसन्धानअनुसार आम रसियन किभ आफ्नो देश भएको दाबी अहिले पनि गर्छन् । केही विश्लेषकको विचारमा पुटिनले बहुसङ्ख्यक रुसी जनताको भावनाको प्रतिनिधित्व गरेका हुन् । यसका साथै युक्रेन र त्यसमाथि किभको इतिहास संस्कृति एकआपसमा अन्योन्याश्रित छ । दुवै रुढिवादी ईसाई धर्मावलम्बी (अर्थोडक्स क्रिस्चिएन) हुन्, उनीहरूको भाषा, रीतिरिवाज र व्यञ्जन एउटै छ र किभका बहुसङ्ख्यक मानिस रसिया समर्थित छन् ।
यसकारण यो युद्ध किभको बारेमा कुनै निष्कर्षमा नपुगी सहज तरिकाले शान्त हुन्छ भन्ने सोच्नु गलत हुन्छ तर पनि युक्रेन राष्ट्रपति जेलेन्स्कीले जमिन र हवाई युद्धको सट्टा कूटनीतिक ढङ्गबाट युद्ध सुल्झाउन खोज्नुभएको छ । कूटनीतिक उपचार खोजिएन भने यसबाट संसारलाई नै भयानक क्षति हुन जान्छ । रुसी राष्ट्रपति पुटिन पनि कूटनीतिक समाधानमा तयार देखिए पनि आफ्नो मनसायबाट पछि नहट्ने आकलन गर्न थालिएको छ । किनभने उहाँलाई यो युद्धमा सम्पूर्ण रुसी जनताले साथ दिएको देखिन्छ । रुसी किभलाई आफ्नो संस्कृति र सभ्यताको जननी मान्छन् । किभ रुसबाट छुटेको हेर्न नचाहने तमाम अनुसन्धानको नतिजा छ ।
वैश्विक प्रभाव
वैश्विक ऊर्जा उत्पादक मञ्चको प्रमुख खेलाडी रुस पनि हो । अमेरिका र साउदी अरेबियापछि ऊर्जा उत्पादनमा रुसको स्थान तेस्रो छ र युरोपमा प्रयोग हुने प्राकृतिक ग्यासको लगभग ४० प्रतिशत ऊर्जा रुसले निर्यात गर्छ भने विकासशील देशका लागि गहँु निर्यात गर्ने प्रमुख देश पनि रुस नै हो । यदि रुसले युरोपमा ग्यास आपूर्ति बन्द गरिदियो भने युरोपका कतिपय देश जाडोमा जीवनयापन गर्न असमर्थ हुनेछन् । यसका साथै अहिले नै ग्यासको मूल्य महँगो भएको छ भने सर्वसाधारणले क्षमताले भ्याएसम्म ग्यास भण्डारण गर्न थालिसकेका छन् । युरोपमा मात्रै होइन यो युद्ध लामो समय चलेमा यसले विश्वभरि नै महँगी बढाउनेछ । विकासशील देशमा पनि खाद्यान्नको मूल्य कल्पना गरेभन्दा बढी नै हुने निश्चित छ । अमेरिका र उसका सहयोगी राष्ट्रले युरोपमा इन्धन आपूर्तिको वैकल्पिक स्रोतको बारेमा योजना बनाइरहेका छन् तैपनि रुसले इन्धन आपर्ति बन्द गर्दा त्यसले कहालीलाग्दो प्रभाव छोड्ने निश्चित छ ।
रुसको अर्को ठूलो सबैभन्दा शक्ति भनेको रुस युक्रेनमा मात्र होइन विश्वभरि नै साइबर आक्रमण गर्ने हैसियत राख्छ र यो युद्धमा पनि रुसले साइबर आक्रमण गर्न सक्छ भनेर आकलन गरिएको छ । अमेरिकाको होमल्यान्ड सेक्युरिटीले २३ जनवरीमा रुसले अमेरिकामाथि साइबर आक्रमण गर्न सक्ने चेतावनी दिएको थियो । विश्लेषकले पनि यदि अमेरिकाले युक्रेनलाई सैनिक सहायताअन्तर्गत आफ्ना सैनिकलाई युक्रेनको सहायतामा पठाएमा साइबर आक्रमण हुन सक्ने आकलन गरेका छन् । यसैले होला रुसी र अमेरिकी सैनिक आमनेसामने हुने सम्भावना विश्लेषकले नकारेका छन् । साइबर आक्रमणको प्रभाव विश्वभरि नै हुनेछ र नेपाल पनि त्यसबाट अछूतो रहने छैन । भलै नेपाल र रुसको प्रत्यक्ष व्यापार ज्यादै न्यून नै किन नहोस् ।
सन् २०१५ को युक्रेन पावर ग्रिडको साइबर हमलामा युक्रेन रुसलाई नै दोषी ठह¥याएको छ । यही महिनादेखि युक्रेनका सबै सरकारी वेबसाइट बन्द भएका छन् तर यो बन्द गराउन कसको संलग्नता छ भनेर आधिकारिक रूपमा युक्रेन किटानसाथ नभने पनि उसले सङ्गठित ह्याकरले गरेको भनेको छ । हुन त युक्रेन सानो मुलुक होइन न त सूचना प्रविधिमा कमजोर नै हो तैपनि यस्तो समृद्ध अवस्थामा समेत ह्याकिङ भएको छ जसलाई सामान्य मान्न सकिन्न । कुनै सङ्गठित संस्था नै यसमा संलग्न छन् भन्ने अनुमान सहजै लगाउन सकिन्छ ।
साइबर प्रणालीबाट गरिने युद्ध अन्य जमिन र हावाबाट गरिने युद्धभन्दा पनि खतरनाक हुन्छ र युक्रेनले पनि जमिन र हवाई हमलाभन्दा पनि साइबर हमलाबाट हुने सम्भावित आक्रमणबाट बचाउन सहयोग मागेको छ । नाट पेट्या नामक साइबर आक्रमणले २०१७ मा विनाशकारी प्रभाव पारेको थियो । त्यस्तो विनाशकारी आक्रमण रोक्न अमेरिका मात्र सक्षम भएको आकलनले गर्दा अन्य देशको समर्थन र विरोधले अहिलेको युद्ध रोक्न या प्रतिकार गर्न खासै महìव राख्दैन । यसको साथै अमेरिका र युरोपको प्रस्ताव युद्ध बन्द गरेर युक्रेनलाई नाटो गठबन्धनमा प्रवेश दिनुपर्ने मागको रुसले सिधै अस्विकार गर्ने स्पष्ट देखिन्छ ।
यसै सन्दर्भमा चीन पनि यो युद्धमा प्रत्यक्ष सहभागी नभए पनि रुससँग संयुक्त युद्ध अभ्यासको थालनी गरेको छ, जसअनुसार जापान र पूर्वी चीन सागरमा लामो दूरीसम्म मार हान्न सक्ने खतरनाक नौ सैनिक अभ्यास सुरु भएको छ । चीन र रुसको निकटताको अर्को कारण के छ भने ताइवानको मुद्दामा अमेरिका संलग्न नहोस् भन्ने चीनको चाहना स्पष्ट देखिन्छ । चीनले रुससँग ताइवान मुद्दामा कम्तीमा नैतिक सहयोगको अपेक्षा गरेको आकलन पनि गर्न सकिन्छ । यसको प्रमाणका रूपमा युक्रेन युद्धको सम्बन्धमा सुरक्षा परिषद्मा हालै ११ देशले प्रस्ताव गरेको मुद्दामा चीनको सहभागिता भएन । महाशक्ति राष्ट्रको पक्ष–विपक्षले युद्धलाई झनै गम्भीर मोडमा लैजान सक्ने आकलन गरिएको छ । रुस र युक्रेनको पृष्ठभूमि हेर्दा रुसले किभलाई क्राइमियाभन्दा पनि बढी महत्त्व दिएको देखिन्छ र आफूले चाहेजस्तो गर्न राष्ट्रपति पुटिन जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने कुरा उहाँले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा दर्शाउनुभएको छ । तैपनि कूटनीतिले ठूल–ठूला युद्ध रोकिएका छन् । बेलारुसमा रुस र युक्रेनबीच हुन लागेको वार्ताले सकारात्मक नतिजा निक्लनेछ, जनधनको क्षति हुनबाट रोकिनेछ भन्ने आशा गर्न सकिन्छ । यसका लागि युक्रेनको राष्ट्रपति जेलेन्स्कीको वार्ताको प्रयास सराहनीय छ । कुनै पनि हालतमा कूटनीति माध्यमबाट यो युद्ध रोकिनुपर्छ अन्यथा यसले विश्वमा ठूलो विनाश निम्त्याउने स्पष्ट छ ।