logo
२०८१ मंसिर ८ शनिवार



कोरोनाबाट बच्न सतर्कता मूलमन्त्र

विचार/दृष्टिकोण |




नगेन्द्रराज पौडेल

प्रधानमन्त्री शेरबहादुर देउवाले एक भिडियो सन्देशमार्फत ‘कोरोना महामारीको तेस्रो लहर सुरु हुने सङ्केत देखिएको’ भन्दै सचेत रहन आग्रह गर्नुभयो । यही गतिमा कोरोना सङ्क्रमण बढ्दै जाने हो भने छिट्टै तेस्रो लहर भित्रिने चेतावनी जनस्वास्थ्य विज्ञहरूले समेत दिइरहेका छन् । सङ्क्रमण बढ्दै गएकाले मङ्गलबार सम्ममा कोरोनाकै कारण मृत्यु हुनेको सङ्ख्या १० हजार ११५ छ भने सङ्क्रमितको सङ्ख्या सात लाख २० हजार ६८० (पीसीआर परीक्षण) पुगेको छ ।
कोरोनाकै कारण पहिलो पटक २०७७ साल जेठ ३ गते सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । त्यस यताका १४ महिनाको अवधिमा १० हजारभन्दा बढीले यसैका कारण ज्यान गुमाउनुपरेको छ । गत जेठ ५ गते एकै दिन कोरोना सङ्क्रमणका कारण २४६ जनाको मृत्यु भएको थियो । यो सङ्ख्या अहिलेसम्मकै उच्च हो ।
पछिल्लो समयमा हामीकहाँ कोरोना सङ्क्रमण अप्रत्याशित रूपमा बढेको छ । बन्दाबन्दी खुकुलो भएसँगै सल्बलाएको जनजीवन र बढ्दो राजनीतिक घटनाक्रमसँगै दैनिकजसो देखिएका सभा, समारोह, जुलुस र आम सभाका कारण पनि सङ्क्रमण बढेको हो । कोरोना भाइरसको परिवर्तित रूप ‘कप्पा भेरियन्ट’ समेत पुष्टि भएकाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न विज्ञहरूले सुझाएका छन् ।

दोस्रो लहर झनै जोखिम
विज्ञका अनुसार अहिले कोरोनाको दोस्रो लहरकै निरन्तरता चलिरहेको छ । आउँदो दसँैताका भारतमा तेस्रो लहर आउने र सँगसँगै नेपालमा पनि भित्रिने आकलन गर्दै यसका लागि पूर्व तयारी गर्न विज्ञहरूले सुुझाएका छन् । हाल परीक्षण सङ्ख्याका आधारमा २५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएबाट पनि थप सतर्कता जरुरी देखिन्छ ।
कोरोनाबाट बच्न सरकारले खोपलाई प्राथमिकतामा राखे पनि यो अझै सर्वसुलभ हुन सकेको छैन । गत चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाएका सबैले दोस्रो मात्रा पाएका छैनन् । सरकारले साउन २५ गतेदेखि साउन ३२ गतेसम्म खोप सप्ताह मनाउने र यसबीचमा कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई एस्ट्राजेनिका खोप दिन थालिएको छ । यसबाट पहिलो मात्रा कोभिसिल्ड खोप लगाएका १० लाखभन्दा बढीलाई राहत मिल्नेछ । अन्य नागरिकलाई पनि प्राथमिकता क्रम तोकेर क्रमशः खोप दिने सरकारको लक्ष्य आम नागरिकको पक्षमा देखिन्छ र यसले निरन्तरता पाउनुपर्छ ।
कोरोनाको पहिलो लहर २०७७ चैत १ सम्ममा तीन हजार १४ जनाले ज्यान गुमाएका थिए । त्यस यता सात हजारभन्दा बढीको सङ्क्रमणकै कारण मृत्यु भइसकेको छ । यो नितान्त दुःखदायी अवस्था हो । दोस्रो लहरसम्म आइपुग्दा अक्सिजनको हाहाकार, आईसीयू बेडको अभाव, अस्पतालले भर्ना लिन गरेको आनाकानी र खर्चिलो उपचारका कारण पनि दोस्रो लहरमा धेरै जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा ६० वर्षमाथिका नागरिक बढी रहेका छन् । अघिल्लो सातासम्मको तथ्याङ्क हेर्दा ज्यान गुमाउने पाँच हजार ३८७ जना ६० माथिका रहेका छन् । नौ वर्षसम्मका ४५ जना, १० देखि १९ वर्षका ५० जना, २० देखि २९ उमेर समूहका ३०४ जना, ३० देखि ३९ का ८२८ जना, ४० देखि ४९ का १४३७ जना, ५० देखि ५९ का एक हजार ९६१ जना र मिश्रित उमेर समूहका सात जना छन् । यो तथ्याङ्कले कोरोनाले सबै उमेर समूहमा आक्रमण गर्छ भन्ने कुराको पुष्टि गर्छ । यसको अर्थ उच्च सतर्कता सबैका लागि अनिवार्य छ भन्ने सन्देश यो तथ्याङ्कको विश्लेषण गर्दा थाहा हुन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार कोरोनाबाट मृत्यु हुनेको दर १.५ प्रतिशत रहेको छ । यो दर सार्क मुलुक भुटान, भारत, माल्दिभ्स र श्रीलङ्काको भन्दा बढी हो । भारतमा मृत्युदर १.३, भुटानमा ०.१, माल्दिभ्समा ०.३, श्रीलङ्कामा र पाकिस्तानमा १.४ रहेको छ ।

थप सतर्कता जरुरी
छिट्टै कोरोनाको तेस्रो लहर आउन सक्ने र यसले सबै उमेर समूहका मानिसलाई प्रभाव पार्ने हुँदा बेलैमा सतर्कता अपनाउन र सुरक्षाका उपाय अवलम्बन गर्न जरुरी छ । तर बढ्दो लापरबाही र खुला आवतजावतका कारण कोरोनाको जोखिम दिनानुदिन उच्च रहेको तथ्य प्रष्ट छ । लापरबाही यतिसम्म बढेको छ कि मानिस न मास्क, न भौतिक दूरी, न नियमित साबुन पानीको प्रयोग नै गर्छन् । एक किसिमले भन्ने हो भने सतर्कता शून्य छ । कोरोना सङ्क्रमण बढ्न यो उपयुक्त अवस्था हो, जसलाई हामी आफँैले मलजल गरिराखेका छौँ ।
आजको आवश्यकता कोरोनाका कारण हुने मृत्युबाट जोगिनु र जोगाउनु हो । यसका लागि सजिलो उपाय कोरोना सङ्क्रमण नै हुन नदिनु हो । सङ्क्रमण हुन नदिन भीडभाड कम गर्ने, उच्च गुणस्तरको मास्क लगाउने, साबुन पानीले बेलाबेलामा हात धुने र भौतिक दूरी बढाउने तथा स्वास्थ्य मापदण्ड पालना गर्ने नै हो । जति धेरै जोखिम त्यति बढी सतर्कता आजको आवश्यकता हो । सबैको सामूहिक प्रयासबाट मात्र कोरोनाबाट बच्न र बचाउन सकिन्छ । स्वास्थ्य मापदण्ड सरकारका लागि नभएर आफ्नै हितका लागि अपनाउने हो । कोरोनाबाट आफूलाई जोगाउन यी मापदण्ड पालना गर्न जरुरी छ ।

अभियानका रूपमा मास्क
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर मास्क अभियान सञ्चालन गरिरहेको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको हो । यो कदम निकै सराहनीय छ । अत्यन्त सरल, कम खर्चिलो र सबैले प्रयोग गर्न सक्ने मास्क कोरोना भाइरस सर्नबाट रोक्ने उपयुक्त विधि हो । यसको प्रयोग गर्न कुनै पनि अवस्थामा चुक्नुहुँदैन भन्ने सन्देश मास्क लगाऊ अभियानले दिने विश्वास लिन सकिन्छ ।
चिकित्सक गुणस्तरीय मास्कमा जोड दिन्छन् । सुरक्षाकर्र्मी यात्रुलाई मास्क लगाउन प्रोत्साहन गर्छन् । तर पनि आम मानिस अझै मास्कप्रति सजग छैनन् । कतिपयले लगाउँदैनन्, लगाएकाहरूले पनि चिउँडोमा झारेर राख्ने गर्छन् । मानौँ यो उनीहरूले सरकारका लागि लगाइदिएको हो जस्तो ठान्छन् । मैले लगाएको मास्क मेरै सुरक्षाका लागि हो भन्ने चेत आम मानिसमा अझै आएको छैन । आएको हुँदो हो त प्रहरीले समाएर मास्क लगाउनुस् भन्नुपर्ने अवस्था नै आउने थिएन । महामारी नियन्त्रणमा खोपजतिकै मास्क, सेनिटाइजर, भौतिक दूरी कायमजस्ता नियमको पालना गर्न पनि आवश्यक छ । यसका लागि जनचेतना जगाउनुपर्छ । मास्क लगाए पनि कतिपयले बोल्दा मास्क फुकाल्ने, चिउँडोमा लगाउने, सही तरिकाले मास्क नलगाउने जस्तो देखिएको छ । आशा गरौँ, यो अभियानपछि यसमा सुधार आउनेछ ।

परीक्षा स्थगित : सकारात्मक कदम
साउन ३१ गतेदेखि हुने भनिएको कक्षा १२ को अन्तिम परीक्षा स्थगन गरेर सरकारले राम्रो सन्देश दिएको छ । यतिबेला बजारमा भीडभाड बढ्दो छ । भौतिक दूरी कायम गरिएको छैन । यस प्रकारको विषम् परिस्थितिमा परीक्षा स्थगन गरेको हो । यो अवस्था भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न सकिने अवस्था नै होइन । यसै पनि आम विद्यार्थी र तिनका अभिभावक परीक्षाभन्दा पनि कोभिड–१९ महामारी सर्ने डरले त्रासमा थिए । उनीहरूको मनोविज्ञान पढाइमा थिएन । मृत्युदर १.५ प्रतिशत रहेको र सङ्क्रमितको दर पनि बढिरहेकाले परीक्षा सञ्चालन नगर्ने सरकारी निर्णय उपयुक्त छ । जीउ रहे घिउ खाउँला भनेझैँ यो महामारीबाट जोगिन सके परीक्षा दिँदै गरौँला भन्ने भावना सबैमा थियो । सरकारले बेलैमा परीक्षा स्थगित गरेर राम्रो काम गरेको छ । तर अब कोभिडविरुद्ध खोप विद्यार्थीलाई पनि दिन जरुरी छ । विद्यालय बन्द, पठनपाठन बन्द, परीक्षा स्थगित गरेर मात्र सरकारको दायित्व पूरा हुँदैन । आम विद्यार्थीलाई खोपको व्यवस्था गरेर पठन पाठन सुचारु गर्नुपर्छ । स्थगित परीक्षा सञ्चालन गर्नुपर्छ । यस कार्यमा सरकार तीव्र गतिमा लाग्न जरुरी छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?