logo
२०७९ असोज १६ आईतवार



सङ्कटमा सिकाइ निरन्तरता

विचार/दृष्टिकोण |




नगेन्द्रराज पौडेल
कोरोना भाइरस (कोभिड १९) को नयाँ भेरियन्टका कारण यतिबेला विश्व सङ्कटमा परेको छ । हाल ओमिक्रोन नामक नयाँ भेरियन्टसहितको कोभिडको तेस्रो लहर चलिरहेको छ । पछिल्लो तथ्याङ्कअनुसार यसबाट विश्वमा करिब ३७ करोड मानिस प्रभावित भएका छन् । करिब ५६ लाखको हाराहारीमा मृत्यु भइसकेको छ । नेपालमा पनि नौ लाख ५४ हजारभन्दा बढी यसबाट प्रभावित भइसकेका छन् भने ११ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । हजारौँ सङ्क्रमित छन् ।

तेस्रो लहरमा देखापरेको ओमिक्रोन नामक नयाँ भेरियन्टले बालबालिकामा पनि सङ्क्रमण बढाएको छ । यसबाट सङ्क्रमित बालबालिकाको सङ्ख्या उच्च रहेको देखिन्छ । खोपको दायराभन्दा बाहिर रहेका १२ वर्षमुनिका बालबालिकामा सङ्क्रमणको जोखिम बढी देखिएको छ । परिवारमा आफ्ना अभिभावक सङ्क्रमित भएको अवस्थामा बालबालिकालाई बेग्लै राख्न सम्भव नहुने तथा यसअघि कोरोनाविरुद्ध खोप नदिइएको कारण पनि जोखिम बढेको हुन सक्छ ।

कोरोनाको सङ्क्रमणका कारण पुसको अन्तिम सातादेखि विद्यालय बन्द गरिएको छ । बालबालिकामा थप प्रभाव नपरोस् भनी सीसीएमसीको सिफारिसमा विद्यालय बन्द गर्ने निर्णय गरेर स्थिति भयावह हुने सम्भावनालाई टारेको छ । हाल १२ देखि १७ वर्षका बालबालिकाले कोरोनाविरुद्ध खोप पाइरहेका छन् । ४० लाखको सङ्ख्यामा रहेका ५ देखि ११ उमेर समूहका बालबालिकाका लागि सरकारले निकट भविष्यमा नै फाइजरको गुलाबी खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार, हालसम्म एक करोड, ३७ लाख, ३४ हजार ३९० जनालाई पूर्ण खोप उपलब्ध गराइसकिएको छ । यो सङ्ख्या कुल जनसङ्ख्याको ४५.२ प्रतिशत हो । त्यसैगरी, एक करोड, ६४ लाख, ५८ हजार ४७५ जनालाई एक मात्रा खोप दिइसकिएको छ । यो सङ्ख्या कुल जनसङ्ख्याको ५४.२ प्रतिशत हो । दुई लाख ८२ हजार सात सयभन्दा बढीले अतिरिक्त मात्रा खोप पाइसकेका छन् र हाल प्राथमिकताका आधारमा अतिरिक्त खोप दिन थालिएको छ । ५ देखि ११ वर्ष उमेर समूहका लागि पनि खोपको प्रबन्ध हुँदै गरेको समाचारले मनोवैज्ञानिक सान्त्वना पैदा भएको छ । आत्मबल बढेको छ । यो सकारात्मक पक्ष हो । यसरी सबै समूहका लागि पुग्दो खोप लगाएपछि क्रमशः जोखिम हट्दै जाने विश्वास लिन सकिन्छ ।

पुसको अन्तिम साताबाट बन्द भएका विद्यालयहरू माघ मसान्तसम्म खोलिने छैनन् । अहिले कक्षा १ देखि विश्वविद्यालयसम्मका सबै विद्यार्थीहरू घरमा बस्न बाध्य छन् । विद्यार्थीलाई कहिले विद्यालयले त कहिले सरकारले बेलाबेलामा अनलाइन पढाइ र परीक्षाको सन्दर्भ देखाएर थप डर सिर्जना गराएको छ । यस्तो बेलामा उनीहरूलाई डरभन्दा पनि माया देखाउनुपर्छ । अहिलेको चासो कति पढ्नेभन्दा पनि सङ्क्रमणबाट कसरी बच्ने भन्ने हो ।

यसअघिका दुई वर्ष पनि लामै अवधि विद्यालय बन्द मात्र रहेनन् माध्यमिक शिक्षा परीक्षा (एसइई) समेत प्रभावित हुन पुग्यो । यस पटक त्यो अवस्था नआउला तर पनि सङ्क्रमण कायम नै छ । यसकारण सुरक्षा सावधानी अपनाउन जरुरी छ । यसका लागि विद्यालय बन्द हुनुपर्ने थियो, भयो । विद्यालय बन्द हुँदा आफ्ना बाबुनानीको पठनपाठन प्रभावित भएकोमा हरेक अभिभावकमा चिन्ता आएको छ । यो स्वाभाविक हो । प्रत्येक बालबालिकाको पहिलो पाठशाला नै घर हो भन्ने कुरा बुझ्न जरुरी छ । किनभने अभिभावकबाट नै उसको पहिलो सिकाइको सुरुवात हुन्छ । घर परिवारले गर्ने व्यवहारले बालबालिकाहरूलाई प्रत्यक्ष असर गरेको हुन्छ । विद्यालयमा बालकले बिताउने समय त छ घन्टा मात्रै हो । १८ घन्टा त अभिभावकसँगै रहेका हुन्छन् । यसकारण पनि सिकाइका लागि विद्यालय मात्र जिम्मेवार छैन । विद्यालय बन्द भए पनि बालकको पहिलो पाठशाला घर सधँै खुला छ । सिकाइका लागि घर परिवारबाटै पहल हुन जरुरी देखिन्छ ।

अब विद्यालयमा मात्रै सिकाइ हुन्छ भन्ने धारणामा परिवर्तन गर्नुपर्ने देखिन्छ । बालबालिकालाई कस्तो बनाउने भन्ने निर्णायक भूमिका अभिभावकमा रहेको हुन्छ । अहिले २४सैँ घन्टा अभिभावकसँग बच्चा रहेका छन् । यो अवधिमा बालबालिकालाई घरका कामहरू जस्तै सरसफाइ, सिर्जनशील काममा लगाउने, घरका निर्णयमा सहभागी गराउने, खेल खेल्ने, योग ध्यान तथा व्यायाममा सहभागी गराउने, इन्टरनेटको सम्भावना भएको ठाउँमा त यसको प्रयोग गरी ज्ञानबर्धक सामग्रीहरू खोज्न लगाउने, रचनात्मक र प्रेरणादायी कुराहरूको खोजका लागि प्रेरित गर्ने, समाजका रीतिरिवाज तथा चालचलन संस्कृतिको बारेमा कुराकानी गराउनुपर्छ जसले गर्दा उसका लागि विद्यालयीय सिकाइमा कोसेढुङ्गा साबित हुन सकोस् ।

आजका बालकहरूमा दूध डेरीबाट आउँछ, चामल धानबाट होइन पसलबाट पाइन्छ भन्ने गलत धारणा बसेको छ । ढिकी, जाँतोका बारेमा त कतिपय अभिभावकलाई समेत जानकारी छैन । विद्यालय बन्दको समयमा बालबालिकालाई करेसाबारी, फूलबारी आदिको कामको बारेमा समेत जानकारी गराउन सकिन्छ । अभिभावकसँग खेतवबारीमा गएर काम गर्ने, खेतबारीको कामले कामको मात्रै सिकाइ नभई बालबालिकाले सजीव र निर्जीव, एकदलीय र बहुदलीय, नगदेवालीको महìव, खेतीपाती लगाउने तरिका, कृषि काम गर्दा प्रयोग हुने परम्परागत तथा आधुनिक सामग्रीको बारेमा जानकारी गराउन सकिन्छ । कतिपय कुरामा त उनीहरू आफैँ जिज्ञासु भई सोधखोज गर्ने, यो के हो ? कसरी भयो ? आदिजस्ता प्रश्न गरेर अभिभावकसँग उत्तर खोजिरहेका हुन्छन् । यस अवस्थामा उनीहरूलाई सही किसिमले दिशानिर्देश गर्न सकियो भने कृषिसम्बन्धी ज्ञान पनि ताजगी भई स्थिर रूपमा रहन्छ । कम्तीमा पनि दैनिक जीवनसँग सरकोकार राख्ने विषयका बारेमा अध्यावधिक गराइराख्न यस किसिमको बन्दलाई उपयोग गर्न सकिन्छ ।

यतिबेला उनीहरूले गर्नुपर्ने दैनिक व्यक्तिगत सरसफाइ, घरको सरसफाइ, घरवरिपरि फूलबारी तथा करेसा बारीमा गोडमेल तथा संरक्षण, कपडा धुने, मिलाएर राख्ने, आइरन गर्ने र प्रयोग गरेका सामग्री उचित ठाउँमा राख्ने, सामानहरूको मर्मत तथा संरक्षण गर्ने, मन परेको विषयमा स्वतन्त्र लेखन, मन परेको गीत गाउन तथा नाच्नेजस्ता जीवनोपयोगी सीप सिक्नका लागि समेत यो समय उपयुक्त अवसरका रूपमा परिणत हुन सक्छ ।

बिहान सबेरै उठेर योग ध्यान गराउन सकिन्छ । यसले गर्दा एकातिर उनीहरू आध्यात्मिकतातर्फ उन्मुख हुँदै जान्छन् भने अर्कोतिर स्मरण शक्तिको विकास हुनुका साथै मन र मस्तिष्कमा सकारात्मक भावना पैदा हुन्छ । त्यस्तै व्यायामले बालबालिकाको शारीरिक विकास हुनुका साथै शरीर स्वस्थ र फुर्तिलो बन्न सहयोग मिल्छ । भनिन्छ स्वस्थ शरीर नै स्वस्थ मस्तिष्कका लागि उपयुक्त आधार हो ।

विश्वव्यापी कोरोनाका कारण विद्यालय बन्द भएकोे अवस्थामा विद्यार्थीले विशेष गरी समय तालिका बनाएर सबै विषयलाई प्राथमिकतामा राखेर अध्ययन गर्ने, पुराना प्रश्नपत्रहरू, सन्दर्भ सामग्री, अडियो भिडियो सामग्रीका साथै सम्भव भएका ठाउँमा इन्टरनेटबाट सीधैँ वा डाउनलोड गरेर अध्ययन कार्यलाई थप प्रभावकारी बनाउन सकिन्छ । पढाइका औपचारिक, अनौपचारिक र अतिरिक्त तरिकामध्ये विद्यालय बन्द भएर औपचारिक पढाइ सम्भव नभए पनि अन्य दुई तरिकालाई विकल्पको रूपमा लिएर निरन्तरता दिन सकिन्छ ।

महान् दार्शनिक रुसोले भन्नुभएको छ प्रकृतिबाट सिक । महाकवि देवकोटा पानीका छहरा, पहाडका खोल्सा र प्रकृतिका दृश्यलाई पनि पढ्न सकिन्छ भन्नुहुन्थ्यो । तसर्थ विद्यालय बन्द हुनु भनेको सिकाइको अवसर बन्द हुनु होइन, थप सिकाइका लागि सम्भावनाको ढोका खुल्नु पनि हो । सिकाइका विभिन्न विधि छन् । सिक्नु मात्रै ठूलो कुरा होइन, व्यवहारमा परिवर्तन ल्याउनु सबैभन्दा महत्त्वपूर्ण विषय हो । बालबालिकाको व्यवहारमा परिवर्तन ल्याउनमा अभिभावकको भूमिका महत्त्वपूर्ण रहेकोले केही समय विद्यालयमा पढाइ स्थगित हुँदैमा बाबुनानीको शैक्षिक क्षति हुँदैन । वर्तमान अवस्थामा घरभित्रको सिकाइ तथा प्रविधिको प्रयोग गर्न सकिने ठाउँमा प्रविधिको प्रयोग गरी अनलाइन कक्षा, भर्चुअल कक्षाबाट पनि सिक्न सकिन्छ । कतिपय ठाउँमा अनलाइन विधिबाट पनि सिकाइले प्रश्रय पाएको छ । यसका लागि आगामी दिनमा देशको जुनसुकै ठाउँमा पनि प्रविधिको पहुँच पु-याउनुपर्ने जरुरी छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?