logo
२०८१ मंसिर ७ शुक्रवार

  मध्यकालीन पानी वितरणको नमुना पाटनका ढुङ्गेधारा  



चौधवटा मासिए, पाँच चालु , ५० वटा पुननिर्माणको पर्खाइमा

पढ्नै पर्ने |
खुला |


चौधवटा मासिए, पाँच चालु , ५० वटा पुननिर्माणको पर्खाइमा


तस्बिर: केशब गुरुङ्ग
काठमाडौं, माघ १ गते । ललितपुरका ऐतिहासिक महत्व बोकेका ढुङ्गेधारा एकपछि अर्को मासिन थालेपछि सम्पदाकर्मी चिन्तित बनेका छन् । नेपालका मध्यकालीन विशेष गरी उपत्याकाको कारिगरी तथा इञ्जिनियरिङ्ग कतिको वैज्ञानिक र उन्नत थियो भन्ने कुराको उदाहरणका रुपमा पाटनको तत्कालीन खानेपानी वितरण प्रणालीलाई हेर्दा पुग्छ । पाटका ढुङ्गेधार तथा पोखरीले नेवाः समुदायमा विकसित काल तथा सांस्कृति तथा उन्नत वास्तुकलाको तजा तस्बिर प्रस्तुत गरेका छन् ।

प्राकृतिक तथा सांस्कृतिक सम्पदा झल्काउने धाराहरु लोप हुँदैगएको सम्पदाविद प्रज्ञालाल जोशीले बताउनुभयो । ललितपुर महानगरपालिकाकाअनुसार ललितपुरका विभिन्न क्षेत्रमा सय बढी कललात्मक ढुङ्गे धाराहरु छन् । तर कतिपय ढुंगेधाराको अस्तित्व मेटिने अवस्थामा छ ।



महानगरपालिकाकाअनुसार विगतका करीब पाँच दर्जन यस्ता ढुङ्गेधारामध्ये पाँच वटा ढुंगेधारा मात्र काम लाग्ने अवस्थामा छन् । वर्षा मौसममा मात्र पानी आउने ५० वटा ढुंगेधारा रहेको महानगरपालिकाको भनाई छ । यस्तै, केही ढुंगेधाराको पुनरनिर्माणको काम पनि भइरहेको महानगरपालिकाले जनाएको छ । पुरानामध्ये १४ वटा ढुंगेधाराको अस्तित्व मेटिइसकेको महानगरले जनाएको छ ।

सांस्कृतिक सम्पदाका हिसाबले पनि ढुंगेधाराको संरक्षण अनिवार्य रहेको सम्पदाविद जोशीले बताउनुभयो । “सांस्कृतिक सम्पदाको रेखदेख र संरक्षण गर्नु नगरपालिकाको जिम्मेवारी हो । तर मेयरपिच्छे फरकफरक इच्छा र काम गर्ने शैली भएपछि सम्पदा संरक्षणमा चुनौति थपिदैआएको देखिन्छ” जोशीले भन्नुभयो ।

ढुङ्गे धारा ऐतिहासिक संस्कृतिक पक्ष
ललितपुरको पाटनमा देखाइने कार्तिक नाचमा दैत्य नाच्दानाच्दै बेहोस हुन्छन् । बेहोस भएका दैत्यलाई मंगलबाजारको ढुङ्गे धाराको पानी खुवाएर होसमा ल्याउने परम्परा छ । सम्पदा विज्ञ जोशीले भन्नुभयो, “ढुङ्गे धाराको पानी नखुवाएसम्म ती दैत्य होसमा आउँदैनन् ।” ढुंगेधाराको पानी नखुवाउँदासम्म ज्यान नै संकटमा पर्ने गरेको उहाँको भनाई छ ।



ऐतिहासिक महत्व बोकेको मंगलबजारको ढुङ्गे धारामा अहिले पानी आउँदैन । यसपालीको कार्तिक नाचमा बेहोस भएका दैत्यलाई धारा खनेर मुहानबाट निकालेको पानी खुवाइएको थियो । ढुङ्गे धाराको पानी दैत्यको ज्यानसँग जोडिएको जोशीको भनाई छ ।

यस्तै, च्यासलको गुठी सञ्चालन गर्न ढुङ्गे धाराको पानी नै चाहिन्छ । मच्छिन्द्रनाथको जात्रामा रथलाई सुनधारामा रोकिन्छ । मच्छिन्द्रनाथलाई सुनधाराको पानीले मुख धुन लगाउने चलन छ । दोलखामा ढुङ्गे धाराको पानी दोलखा भिमसेनको मुख धुनमा प्रयोग गरिन्छ ।

ढुङ्गे धाराको इतिहास
ढुङ्गे धारा भर्खर निर्माण भएको सम्पदा होइन । यसको पछाडिको इतिहास लिच्छविकालसम्म जोडिएको सम्पदाविदहरुको भनाई छ । राजा मानदेव प्रथमको पालामा काठमाडौंमा पहिलो ढुङ्गे धारा स्थापना गरिएको थियो । १८ औं शताब्दीमा राणाकालमा बनाइएको काठमाडौंकै सुनधारामा रहेको धारा अन्तिम ढुङ्गे धारा थियो । तर अहिले त्यो ढुंगेधाराको अस्तित्व पनि मेटिएको छ । लिच्छवी र मल्ल कालमा पनि थुप्रै ढुङ्गे धाराहरु निर्माण गरिएका थिए ।

ढुङ्गे धाराको च्यानल काठ, इट्टा, ढुङ्गा र तेरिकोटाबाट बनेको हुन्छ । यस्तै, लिच्छवीकालमा ढुंगाको मात्र च्यानल बनाउने गर्थे । मल्ल कालमा भने तेरिकोटाबाट च्यानल बनाउने गर्थे । ढुङ्गे धाराको पानीको लेभल (मात्रा) यसरी मिलाइएको छ कि जति बग्दा पनि पानी सकिदैन । ३६५ दिन नै बगिरहन्छ ।

वैज्ञानिक पक्ष
वैज्ञानिक हिसाबले ढुङ्गे धाराको महत्व धेरै छ । इतिहासमा ढुङ्गे धारामा २४ सै घण्टा पानी बगिरहने सम्पदाविद जोशीको भनाई छ । उहाँकाअनुसार ढुङ्गे धाराको डिजाइन सन्तुलित तरिकाले गरिएको थियो । त्यस प्रकारको ढुङ्गे धारा निर्माण गर्न धेरै समय लाग्ने उहाँले बताउनुभयो । त्यो समयमा अहिलेकोजस्तो सेवा सुविधा नभए पनि कलात्मक ढुङ्गे धाराहरु निर्माण गरिएका थिए ।

जोशीकाअनुसार नेपालको ढुङ्गे धारा विश्वकै अलग पहिचान बोकेको सम्पदा हो । यो परम्परागत खाने पानी प्रणाली पनि हो । नेपालमा रहेको विशिष्ट परम्परागत ढुङ्गे धारा अन्य देशमा नरहेको उहाँको भनाई छ । यद्यपि इरानमा पनि विशिष्ट पहिचान बोकेका ढुङ्गे धारा रहेको उहाँले बताउनुभयो ।

ढुङ्गे धाराको संरचना
परम्परागत ढुङ्गे धाराहरुमा जीव जनावरहरुको कलात्मक आकृति राख्ने गरिएको उहाँले बताउनुभयो । ‘धारामा भ्यागुतो, नाग, छेपारोको आकृति देख्न सकिन्छ, ढुङ्गे धारामा बनाइने आकृतिहरु प्रायः पानीमा बस्ने जिव जनावरहेको रहनेगरेको सम्पदा विज्ञ जोशीको भनाई छ ।

ढुङ्गे धाराबाट निस्कने पानीमा साना जिवहरु छिर्न मिल्नेगरी कलात्मक ढङ्गले बनाइने गरिएको विज्ञ जोशीले बताउनुभयो । उहाँकाअनुसार यस्ता जिवहरु आवतजावत गर्दा ड्रनेज (पानी निकास) सफा राख्न मद्दत मिल्छ । कुनै कुनै ढुङ्गे धाराको टाउकोमा गोही, नाग, बोका र बाघको चित्र कोरिएको देखिए पनि त्यसको खासै अर्थ नभएको उहाँले बताउनुभयो ।

ढुङ्गे धाराको महत्व
ढुङ्गे धाराको मुनी ढुङ्गामा कुँदेको चित्र देख्न सकिन्छ । उहाँकाअनुसार त्यो चित्र राजा भगीरथको हो । राजा भगीरथले तपस्या गरेर स्वर्गबाट गंगालाई पृथ्वीमा ल्याउनुभएको किम्बदन्ति रहेको विज्ञ जोशीले सुनाउनुभयो । भगीरथ राजाले पृथ्वीमा पानी ल्याउनुभएका कारण उहाँको चित्र ढुङ्गे धारामा कुँदिएको हो ।

लुगा धुन अठ प्रयोग
ढुङ्गे धाराको तलतिर ओभल आकारको एउटा ढुङ्गा राखिएको देख्न सकिन्छ । जसलाई नेवारी भाषामा अठ भनिन्छ । अठ अर्थात् राणा कालमा नेवार समुदायले लुगा धुन प्रयोग गरिने ढुङ्गाको भाँडा हो ।
जोशी भन्नुहुन्छ, “ढुङ्गे धारामा राखिएको यो अठ ‘फिल्टर च्याम्बर हो जहाँबाट पानी फिल्टर हुन्छ । पहिला पनि पानी फिल्टर गरी खानुपर्छ भन्ने जागरुकता थियो भन्ने देखिन्छ । त्यसमा बालुवा, गिट्टि र चारकोल राखिएको हुन्छ । बालुवा र गिट्टिले पानीमा भएको किरा मार्ने काम गर्ने जोशीले बताउनुभयो ।

धारा भएका स्नथानमा खन्न आग्रह
ढुङ्गे धाराको ऐतिहासिक महत्व जोगाउन धारामा भएको हातामुनी नखन्न आग्रह गरिएको सम्पदा विज्ञ जोशीको सुझाव छ । उहाँकाअनुसार त्यो खन्ने मान्छेको ज्यान नै जानसक्ने जनविश्वास रहेको उहाँले बताउनुभयो । “यो जनविश्वास सम्पदा बचाउनका लागि कायम गरिएको हुनसक्छ उहाँले भन्नुभयो ।

किन मासिदैछन् ?
सम्पादा विज्ञ जोशीकाअनुसार मानिसहरुले धाराको मुहान भएको क्षेत्रलाई अतिक्रमण गर्दैआएका छन् । ललितपुरको लगनखेलमा पहिले पानीको दुई वटा मुहान थिए । लगनखेलको औद्योगीक क्षेत्रमा भएको पानीको मुहानलाई मासेर ठूला घरहरु बनेका छन् । जसलेगर्दा स्थानीय १२ वटा ढुङ्गे धारालाई असर पुगेको जोशीको भनाई छ ।
र् मानिसहरुले पानी आउने च्यानल अतिक्रमण गरेर घर, इनार बनाए । आफैंले पम्पले तान्ने र पानी बेच्न थाले । त्यसले ढुंगे धाराको अस्तित्व नै मेटायो, जोशीले भन्नुभयो “ढुंगे धारा विनाशको मुख्य कारण यही हो ।”

संरक्षणमा सरकारी पहल
सरकारले ढुंगे धारा संरक्षणका लागि ‘लोकल सेफ गभर्नेन्स एक्ट ल्याएको भए पनि त्यसमा संरक्षणका विषय नसमेटिएको सम्पदा विज्ञ जोशीको भनाई छ । बाटो चौडा गर्दा ऐतिहासिक महत्व बोकेको परम्परागत ढुंगे धारा मास्नु उचित नभएको विज्ञ जोशीको सुझाव छ । परम्परागत धारा मासेर पुनः त्यो ठाउँमा परम्परागत अस्तित्व झल्काउने ढुंगे धारा निर्माणमा स्थानीय सरकारको चासो नदेखिएको उहाँले बताउनुभयो । “स्थानीय सरकारको यस्तो रवैयाले ऐतिहासिक महत्व बोकेका ढुंगे धाराको अस्तित्व मासिदै जाने देखिन्छ” उहाँले भन्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?