डा. ज्ञानेन्द्रबहादुर कार्की
नेतृत्वले राष्ट्रिय एकतालाई देशको शासन व्यवस्थाको आधारशिला बनाई, राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउनुपर्छ । त्यसका लागि वृहत्तर समाजको हितका योजनाहरू अगाडि सार्दै राष्ट्रियताको मुद्दामा खरोसँग उभिएर राष्ट्रवादी शक्तिलाई समेट्न सक्नुपर्छ । नेतृत्वले सबै जनतालाई खुसी र सिङ्गो राष्ट्र बनाउने सोच लिनुका साथै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, लोकतन्त्र र जनताको अधिकारका लागि समर्पित भएर लाग्नुपर्छ । राष्ट्रिय स्वाधिनतालाई बलियो बनाउन देशभक्त शक्तिसँग सहकार्यको कुनै विकल्प हुँदैन, त्यसैले राष्ट्रियताको सवालमा दूरदृष्टि राख्दै परिवर्तनको एजेन्डालाई बलियो बनाउनुपर्छ ।
धेरैजसो उच्च तहमा रहेका राजनीतिक व्यक्ति र उच्च तहका कर्मचारीहरू दलालको चङ्गुलमा फसेर दलाल–नोकरशाहमा परिणत भइरहेका छन्, यिनै वर्गले देश र जनताको दोहन गरेर लुट मच्चाइरहेका छन् । त्यसैले नेतृत्वले दृढताका साथ राजनीतिक शक्ति, कर्मचारीतन्त्र र दलालहरूबीच देश र जनतालाई दोहन गरेर खाने त्रिकोणात्मक सञ्जाललाई तोड्नुपर्छ । साथै, देश र जनताको हितमा समर्पित भएर काम गर्ने शक्तिहरूलाई एकताबद्ध गराएर मुलुकको कायापलट गर्ने रणनीति लिनुपर्छ । नेतृत्वले चामत्कारिक आर्थिक रूपान्तरण गरेर गरिबी, पछौटेपन, विभेद हटाई समुन्नत एवम् समृद्ध राष्ट्रनिर्माणको अभियानमा सबैलाई सक्रिय बनाउनुपर्छ । राज्यको समृद्धिका लागि महान् व्यक्तित्वहरूको योगदान, समर्पण र प्रेरणाबाट आफूलाई रूपान्तरित गर्दै आर्थिक क्रान्तिको अभियान चलाउनुपर्छ ।
राष्ट्रनिर्माणको महान् अभियानमा दृढइच्छा शक्ति हुनुको साथै असल राष्ट्रवादी नेतृत्वको विकास गर्न नेतृत्वबाट नै व्यापक सुधारको थालनी गर्नुपर्छ । साथै, राष्ट्रनिर्माणका लागि सकारात्मक सोचको विकास गर्दै नेतृत्वले देश र जनताको पक्षमा काम गरी जनताको मन जित्नुपर्छ । नेतृत्वले सुशासन र सदाचारलाई आधार बनाएर आर्थिक अनुशासन, पारदर्शिता, भ्रष्टाचाररहित समाजको निर्माण गर्न सुशासनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्छ । राष्ट्रनिर्माणको अभियानमा स्पष्ट दीर्घकालीन, मध्यकालीन र अल्पकालीन दृष्टिकोणहरू अगाडि सारेर विकास निर्माणमा योजनाबद्ध ढङ्गले लाग्नुपर्छ ।
नेतृत्वले आर्थिक तथा सामाजिक सुधारका कार्यलाई निरन्तरता दिँदै समाज सुधारकका रूपमा पहिचान बनाउन सक्नुपर्छ । सहयोगी मित्रको भूमिकालाई सधैँ सन्मान गर्ने बानी बसाल्दै मुलुक बदल्ने अभियानमा सबै एकढिक्का भएर काम गर्न सक्नुपर्छ । नेतृत्वले पार्टीभित्र भ्रष्टाचार मौलाउन दिनुहुँदैन, त्यसका लागि सुशासनको नीति अगाडि सारेर पार्टी शुद्धीकरणका लागि सधैँ सचेत बनेर निगरानीका साथ काम गर्ने रणनीति लिनुपर्छ । संस्थागत सुशासन कायम गर्न जोड दिँदै न्यून खर्च गरी बढी बचत गर्ने बानी बसाल्नुपर्छ । नेतृत्वले सही निर्णय लिन सक्ने र निर्णयमा अन्त्यसम्म अडिन सक्ने क्षमता राख्नुको साथै सङ्कटको समयमा धैर्यपूर्ण ऐक्यबद्धताका आधारमा राष्ट्रलाई निकास दिने क्षमता पनि राख्नुपर्छ ।
मुलुकलाई बाहिरी हस्तक्षेपबाट सुरक्षित राख्न राष्ट्र र राष्ट्रियताको पक्षमा नेतृत्व अत्यन्त जिम्मेवार बनेर छिमेकी राष्ट्रसँग घनिष्ठ सम्बन्ध कायम गर्दै सीमाविवाद सधैँका लागि अन्त्य गर्ने नीति लिनुपर्छ । सीमा सुरक्षा कडा बनाई आफ्नो भूमिमा बाह्य शक्तिबाट हुने असुरक्षा र हस्तक्षेपबाट बचाउन स्थायी रूपमा तारबार र पर्खालको व्यवस्था गर्नुपर्छ । राष्ट्रिय हित तथा आवश्यकताभन्दा बाहिरका असमान सन्धि र सम्झौतामा पुनरावलोकन गरी राष्ट्रिय हित र आवश्यकतालाई बलियो बनाउनेगरी परिमार्जन गर्नुपर्छ । आन्तरिक मामिलामा कुनै पनि राष्ट्रबाट हुने हस्तक्षेपको विरुद्ध राष्ट्रवादी सबै शक्ति एकढिक्का भएर प्रतिकार गर्नुपर्छ, अन्यथा हस्तक्षेपकारी शक्ति राष्ट्रियता कमजोर बनाउन हाबी हुन सक्छ ।
नेपाली राष्ट्रवादको पुनर्जागरण अभियानमा अगाडि बढ्न आन्दोलनका उपलब्धिहरूको संरक्षण र सुदृढीकरणमा जोड दिँदै जनताको आशा जगाउनेगरी रणनीतिक कार्यक्रमहरू अगाडि सारेर मुलुकलाई सही निकास दिन सक्नुपर्छ । राष्ट्रनिर्माणको अभियानलाई सफल बनाउन क्षमतावान व्यक्तित्वलाई समेटेर पार्टी तथा सरकारको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गर्नुपर्छ । राजनीतिक सहमतिका नाममा जहाँ पनि भागबन्डा मिलाएर खाने प्रवृत्तिको अन्त्य गरिनुपर्छ ।
मुलुकलाई अग्रगामी निकास दिने हो भने राजनीतिक दलसँग राष्ट्रनिर्माण गर्ने ठोस कार्यक्रम र दृष्टिकोणहरू हुनुपर्छ । धर्म र जातका नाममा सामाजिक सद्भाव खल्बलाउने स्वदेशी तथा विदेशी चलखेलको अन्त्य गर्दै गरिखाने राष्ट्रिय चरित्रको विकास गर्नुपर्छ । राजनीतिक दलले नागरिकलाई सङ्गठित गराएर अधिकारप्रति सचेत र आन्दोलित गराई सुरक्षित भविष्यतिर आकर्षित गर्दै राष्ट्रिय एकतामा बाँध्न सक्नुपर्छ । जनताको अधिकार र पहिचानको नाममा राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई कमजोर पार्ने भूमिका कुनै पनि राजनीतिक दलहरूले गर्नुहुँदैन । आमजनतामा राष्ट्रियताप्रतिको गौरवबोध र राष्ट्रिय एकताको भावलाई बलियो बनाउने कार्यमा सबै पक्ष मिलेर काम गर्नुपर्छ ।
राष्ट्रिय एकता नै उन्नति तथा समृद्धिमा अगाडि बढ्ने महŒवपूर्ण हतियार हो । त्यसैले राष्ट्रिय एकताको खिलापमा पार्टी तथा नेताहरूले विदेशी शक्तिसँग गर्ने गोप्य सम्बन्धले मुलुकलाई ठूलो नोक्सान पु¥याउँछ । मुलुकलाई विदेशीबाट बचाउनुभन्दा पहिला विदेशीसँग साँठगाँठ गर्ने नेताहरूबाट बचाउन आवश्यक हुने हुँदा व्यक्तिगत लाभका पछाडि दौडने पार्टीका विदेश परस्त नेताहरूलाई पार्टीले निगरानी राखेर गलत गतिविधिका विरुद्ध कारबाही गर्नुपर्छ । यस्तो कार्य प्रशासनिक तथा अन्य क्षेत्रमा कार्यरत व्यक्तिहरूले पनि गर्ने गर्छन्, त्यस्ता व्यक्तिको गतिविधिमा पनि निगरानी राख्नुपर्छ ।
नेतृत्वले जहिले पनि राष्ट्रिय मुद्दामा अडान नछाड्ने र आमजनताले निरन्तर सहयोग गर्नुपर्छ ताकि राष्ट्र र राष्ट्रियताविरोधी देशी तथा विदेशी शक्तिहरू निरन्तर कमजोर बन्दै जाओस् । राष्ट्र र राष्ट्रियताको पक्षमा सबै राजनीतिक पार्टीहरूले निःस्वार्थ रूपमा एकता र सहकार्य गर्ने परिपाटीको विकास गर्नुपर्छ ।
राष्ट्रियता कमजोर बनाउने दलाल पुँजीपतिहरूप्रति सचेत हुँदै राजनीतिक शक्तिकेन्द्र र प्रशासनिक शक्तिकेन्द्रको वरिपरि घुमेर संरचनागत तथा नीतिगत रूपमा प्रभाव पारी दीर्घकालीन रूपमा असर पुग्नेगरी परिवर्तन गराउने र आपसी फाइदामा सम्झौता गरी राज्यलाई दोहन गर्ने शक्तिका विरुद्ध राष्ट्रवादी शक्ति एक भएर राष्ट्रघाती शक्तिलाई परास्त गर्नुपर्छ । राष्ट्रवादी सोच र राष्ट्रवादी नाराले नै राज्यको जग बलियो बनाउने हुँदा, पार्टी तथा सरकार राष्ट्रवादी सोच तथा राष्ट्रवादी नाराका साथ आमजनतालाई एकताबद्ध गरेर समृद्धिको अभियानमा लाग्न सक्नुपर्छ ।
साथै सरकारले सुरक्षा निकायलाई शान्ति सुरक्षा र राष्ट्रनिर्माण अर्थात् विकास निर्माणमा छुट्टै पहिचानका साथ अगाडि बढाउने रणनीति लिनुपर्छ । सेना, सशस्त्र र जनपद प्रहरीबीच शान्ति सुरक्षा र विकास निर्माणको सवालमा एक–आपसमा समन्वयात्मक भावनाको विकास गरी श्रम तथा उत्पादनको क्षेत्रमा पनि सक्रिय गराउने नीति लिनुपर्छ ।
राष्ट्रिय एकता बलियो बनाउन जातीय, साँस्कृतिक, भाषिक र धार्मिक समानताको जग दह्रो बनाउँदै सबैमा साझा सहमति बनाएर निष्पक्ष रूपमा सबैको स्तरोन्नतिमा जोड दिँदै आपसी सहिष्णुताको विकास गर्नुपर्छ । जातीय, क्षेत्रीय, भाषिक, लैङ्गिक, धार्मिक, आत्मनिर्णयको अधिकार आदि कारणले मुलुकलाई कहिल्यै पनि विसङ्गति र विखण्डनको स्थितितिर जान दिनुहुँदैन ।
सबै भाषाभाषी, जातजाति तथा धर्मावलम्बीहरूबीच एकले अर्कालाई सम्मान गर्दै आपसमा सहिष्णुता कायम गरी एकताको भावना जागृत गराउने वातावरण राज्यले बनाउनुपर्छ । जातीय सङ्कीर्णता, भौगोलिक विखण्डन र धार्मिक अतिवादजस्ता प्रवृत्तिलाई राज्यले पूर्णरूपमा निरुत्साही र नियन्त्रण गर्नुपर्छ । सबै भाषा, धर्म, संस्कार र संस्कृति राज्यको गौरव तथा राष्ट्रियताका प्रतीक हुन्, त्यसको संरक्षण तथा प्रवद्र्धनमा जोड दिँदै सम्मान गर्ने रणनीति बनाउनुपर्छ । तर, जातीवाद र क्षेत्रीयतामा खुम्चिएर जनतालाई कहिल्यै पनि निराश बनाउनुहुँदैन ।
नेपाली समाजमा सामन्तवाद अवशेषका रूपमा बाँकी रहेको र पुँजीवादको प्रवेश भएको अवस्थामा राजनीतिक रूपमा दलाल पुँजीवाद र सामन्तवाद हाबी भएको छ । नेपालमा दलाल र नोकरशाही पुँजीपतिहरूको मिलोमतोमा राज्यको नियन्त्रणमा रहेका ठुल्ठूला कारखानाहरू निजीकरणमा लगेर पुँजीवादलाई प्रश्रय दिइएको छ, यसले स्वाधीन तथा आत्मनिर्भर अर्थतन्त्र र राष्ट्रियता दुवैलाई कमजोर बनाएको छ ।
यस्तै ठुल्ठूला जलविद्युत् आयोजना तथा अन्य सेवा क्षेत्रका आयोजनाहरूसमेत दलाल पुँजीपति र साम्राज्यवादीहरूले आफ्नो पकडमा लिइरहेका छन् । यसरी दलाल पुँजीपति र साम्राज्यवादीहरू मुलुकको अर्थतन्त्र आफ्नो हातमा लिन प्रयत्नरत छन् भने उनीहरूको पक्षपोषणका रूपमा दलाल र नोकरशाही पुँजीपतिहरूले साथ दिइरहेका छन् ।
राज्यसत्तामा दलाल पुँजीपतिहरू र भ्रष्ट नोकरशाहहरू आ–आफ्नो स्थानमा बलियो पकड बनाउँदै गइरहेको अवस्थामा देशलाई माया गर्ने राष्ट्रिय भावना भएका राष्ट्रिय पुँजीपतिहरूलाई प्रोत्साहन गर्न नसिकाएका कारण राष्ट्रिय अर्थतन्त्रलाई दिगो र स्थायित्व बनाउन सकिएको छैन । स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको विकास नभएसम्म हाम्रोजस्तो विकासोन्मुख मुलुकमा विभिन्न कोणबाट साम्राज्यवादीहरूको हस्तक्षेप कायम रहिरहन्छ । त्यसैले ठोस योजना र कार्यक्रम अगाडि सारेर स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको विकासलाई पहिलो प्रथामिकतामा राखी राष्ट्रिय पुँजीलाई औद्योगिक क्षेत्रमा लगानी गर्ने वातावरण बनाई उत्पादनमा जोड दिने रणनीति नेतृत्वले लिनुपर्छ ।
मुलुकमा राजनीतिक अस्थिरता, अशान्ति, भ्रष्टाचार, बेथिति, बेरोजगारी, न्यून आयलगायतका कारणले सुरक्षित भविष्यका लागि जन्मभूमि त्यागेर विदेश पलायन हुन बाध्य भएका राज्यका होनहार प्रतिभालाई रोकी राष्ट्रनिर्माणको अभियानमा लगाउनुपर्छ । साथै, राष्ट्रियताको सवालमा अडिग रहेका पार्टी तथा समूहहरूसँग मेलमिलापको नीति लिएर राष्ट्रिय एकता बलियो बनाउनुपर्छ । राष्ट्रियतालाई बलियो बनाउन राजनीतिक दलहरूबीच सहमति, सहकार्य र एकताको वातावरण सुदृढ बनाउनुपर्छ । राष्ट्रिय समस्या समाधानका लागि सधैँ गम्भीर बनेर थप समस्या सिर्जना हुन दिनुहुँदैन ।
(लेखक अर्थविद् हुनुहुन्छ ।)