logo
२०७९ श्रावण २७ शुक्रवार



पार्टीमा गुट प्रभाव र व्यवस्थापन

विचार/दृष्टिकोण |




डा. ज्ञानेन्द्रबहादुर कार्की

पार्टीभित्र वैचारिक, सैद्धान्तिक तथा नीतिगत मतान्तर नभए पनि व्यक्तिगत स्वार्थ र आफ्नो पकड जमाउन अर्थात् निहित स्वार्थ पूरा गर्न नेता र कार्यकर्ताहरूले समूहगत गतिविधि गर्न गुट तथा उपगुटको विकास गर्छन् । त्यसले पार्टीको एकतामा प्रत्यक्ष तथा अप्रत्यक्ष  रूपमा खलल पु¥याउने काम गर्छ । गुट, उपगुट पार्टीमा खुला हुँदा गुटगत पकड बलियो बनाउन विभिन्न सामाजिक सङ्घ संस्थाको नाममा केन्द्रदेखि तलसम्म नै गुटगत गतिविधि सञ्चालन गर्ने अत्यन्त अस्वस्थकर काम हुने गर्छ । त्यसैले पार्टीमा गुटगत क्रियाकलाप सञ्चालन गर्ने संस्थालाई निगारानी राखेर संस्थागत निर्णण गरी खारेज गर्नुपर्छ । गुटगत परिपाटीको अन्त्य गर्न पार्टीका कार्यदिशा, नीति र सिद्धान्तका आधारमा सबै पार्टी सदस्यहरूलाई क्रियाशील बनाई पार्टीको लक्ष्य तथा कार्यक्रममा केन्द्रित गरेर पार्टीगत भावनाको विकास गराउनुपर्छ । गुट तथा उपगुटहरू देश, जनता र पार्टीको हितभन्दा गुटगत र व्यक्तिगत स्वार्थमा नै लिप्त हुने भएकोले पार्टीभित्र गुट र उपगुटलाई निस्तेज बनाउने रणनीति पार्टी नेतृत्वले लिनुपर्छ ।
पार्टीमा अनुशासनहीनता, विलाशिता, अवसरवाद, अराजकता हावी हुँदै गएपछि पार्टीभित्र गुटबन्दीको जन्म हुन्छ । गुटबन्दीको अस्वस्थ राजनीतिक प्रतिस्पर्धाले वैचारिक, सैद्धान्तिक तथा साङ्गठनिक क्षेत्रमा क्रमिक  रूपमा क्षयीकरण हुँदै जान्छ र पार्टीको भविष्य अन्धकारतिर धकेलिन्छ । गुटभित्र पनि उपगुटहरू व्यक्तिगत शक्ति आर्जन गर्ने उद्देश्यले सक्रिय हुन्छन् । पार्टीमा झाङ्गिएको खराब संस्कारको कारण गुटमा आबद्ध नभएकाहरूलाई कुनै पनि गुटले अवसर नदिने र अयोग्य साबित गर्ने भएकाले नेता तथा कार्यकर्ताहरू बाध्य भएर गुट तथा उपगुटमा लाग्ने गर्छन् । गुट र उपगुटमा सक्रिय नेतृत्वले सिङ्गो पार्टीको नेता हुने योग्यता गुमाउँदै जान्छन् । गुटमा लिप्त नेतृत्वले पार्टी र मुलुकको सफल नेतृत्व कहिल्यै पनि गर्न सक्दैनन् । त्यसैले नेता तथा कार्यकर्ताले जुन हदसम्म गुटबन्दी गर्छन्, त्यही हदसम्म पार्टीप्रति बेइमान हुने भएकाले गुटबन्दीलाई नेता तथा कार्यकर्ताले निष्क्रिय बनाउने रणनीति लिई पार्टीलाई शक्तिशाली बनाउनुपर्छ ।पार्टीमा गुटबन्दी झाँगिंदै गयो भने पार्टीमा घात, अन्तर्घात, अपराध, गुण्डागर्दी, अनुशासनहीनता जस्ता खराब प्रवृत्तिहरू मौलाएर अराजकतातिर मोडिन्छ । गुट पार्टीका लागि जटिल आन्तरिक समस्या र खतारनाक रोग हो, त्यो केन्द्रदेखि तल्ला कमिटीसम्म पैmलिएर झाङ्गिने गर्छ । गुटबन्दीको सिकार भएर इमानदार, योग्य नेता तथा कार्यकर्ताहरू अन्यायमा परेर बाहिरिन बाध्य हुनुपर्छ, त्यसले पार्टीलाई ठूलो नोक्सान पु¥याउँछ । गुटबन्दीको कारण पार्टी शक्तिहीन भई शिथिल बन्छ । त्यसैले पार्टी तथा नेतृत्वले आफ्नो पार्टीलाई गुटबन्दीको विरुद्ध संस्थागत रूपमा खुला छलफल गरी पार्टीभित्र वैचारिक सङ्घर्षलाई जोड दिने रणनीति लिनुपर्छ ।
नेतृत्वले पार्टीभित्र गुटगत प्रतिस्पर्धालाई खुला गर्ने हो भने गुटगत प्रतिस्पर्धाले खुला रूपले माथिदेखि तलसम्मका पार्टी कमिटी तथा जनवर्गीय सङ्गठनमा गुटबन्दी मौलाउने गर्छ । त्यसले नेता तथा कार्यकर्ताहरूलाई पार्टीप्रति जबाफदेही नभई गुट परस्त हुन बाध्य बनाउँछ । गुटहरूबीचको शक्ति सङ्घर्षमा शक्तिशाली गुटले अन्य गुटलाई शक्तिहीन बनाउने रणनीति लिँदा सकेसम्म जिम्मेवारी नदिने, दिनैपर्दा कमजोर भूमिका भएको जिम्मेवारी दिने र राम्रा जिम्मेवारीलाई खोस्ने गर्छन् । शक्ति र सत्तामा पुग्दा संस्थागत रूपमा नचली एकलौटी ढङ्गले आफ्नै गुटका नेता तथा कार्यकर्तालाई नेतृत्वमा ल्याउने, विभिन्न निकायमा मनोनयन र नियुक्ति दिने काम गर्छन् । गुटबन्दीले चरम रूप लिँदा विधि, पद्धतिलाई लत्याएर अधिनायकवादको अभ्यासलाई प्राथामिकता दिने गर्छन् ।
गुटबन्दीबाट पार्टीलाई बचाउनका लागि पार्टीमा वैचारिक र सैद्धान्तिक छलफल, बहस चलाउनुपर्छ, आलोचना र आत्मालोचनाको पद्धतिलाई पार्टी कमिटीमा सहज बनाउनुपर्छ । पार्टीलाई नोक्सान पु¥याउने विषयवस्तुमा गम्भीरतापूर्वक छलफल गरी सही निर्णय र निकास दिनुपर्छ । गुटगत समस्याबाट बाहिर निस्कन फरक गुट र फरक विचार राख्ने पार्टी सदस्यहरू एक आपसमा मिलेर काम गर्ने वातावरण नेतृत्वले गर्नुपर्छ । फरक विचार र मतलाई निरन्तर रूपमा खुला छलफल गर्दै सही विचारलाई स्थापित गर्ने र खराब विचारलाई हटाउनुपर्छ । वास्तविक रूपमा संस्थागत रूपमा विधि र पद्धतिअनुसार अगाडि बढेको खण्डमा गुट क्रमिक रूपमा निस्तेज हुँदै जान्छ र पार्टीले स्थायित्व ग्रहण गर्छ । पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनमा ध्यान दिई उपयुक्त पात्रहरूलाई नीति तथा सङ्गठन निर्माणको जिम्मेवारी दिनुपर्छ । गुटमा परस्त नेता तथा कार्यकर्तालाई पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र जनप्रतिनिधिको प्रतिस्पर्धामा अगाडि बढाउने काम कहीँ कसैले पनि गर्नुहुँदैन । नेता तथा कार्यकर्ताले पार्टी कमिटीहरूलाई पार्टीको विधि पद्धतिअनुसार नचलाई गुटको विकासका लागि नेतृत्वलाई घेराबन्दी गरेर दायाँ बायाँ गर्न नदिने सङ्कीर्ण सोच विकास गर्र्दा गुटबन्दीले प्रश्रय पाउँछ । त्यसरी विकास भएका गुटगत समूहले पार्टी तथा नेतृत्वको छविलाई धमिलो बनाएर पार्टीमा ठूलो क्षति पु¥याइरहेका हुन्छन् । त्यस्ता खराब प्रवृत्ति र आचारण बोकेका पात्रहरूलाई पार्टी तथा नेतृत्वले विशेष सावधानी अपनाएर बाहिर राख्न सक्नुपर्छ अन्यथा तिनै शक्ति पार्टीका लागि अत्यन्त हानिकारक तìवमा परिणत हुने गर्छन् । त्यसैले पार्टी कमिटी, नेता तथा कार्यकर्ता पार्टीको विधि र पद्धतिअनुसार चलेमा गुटगत क्रियाकलाप निस्क्रिय भई गुटको उचित व्यवस्थापन हुने र पार्टी स्वतः सबल र सुदृढ हुँदै जान सफल हुनेछ ।
पार्टी वैचारिक तथा सैद्धान्तिक बहसमा विचारको आधारमा समूहगत रूपमा विभाजन हुन सक्छ तर त्यसलाई दीर्घकालीन गुटको रूपमा विकास गर्नुहुँदैन । गुट, उपगुटका कारण पार्टीले उठाउनुपर्ने देश र जनताका जल्दाबल्दा महìवपूर्ण मुद्दा सशक्त र प्रभावकारी रूपमा उठाउन सकिरहेका हुँदैनन् । गुटगत नेतृत्व सत्ता र शक्तिलाई सानो घेराभित्र कसरी बचाएर राख्ने भन्ने विषयमा नै क्रियाशील रहने हुँदा जनतासँग पार्टीको दूरी क्रमशः बढ्दै जाने गर्छ । पार्टीमा गुटगत तथा व्यक्तिगत मनोवृत्ति हावी हुँदै जाँदा सक्रिय नेता तथा कार्यकर्ताहरू निस्क्रिय हुन थाल्छन् र त्यसले पार्टीलाई ठूलो नोक्सान पु¥याउँछ । त्यसैले पार्टीको वैचारिक तथा सैद्धान्तिक धरातल उकास्न अध्ययन, अनुसन्धान र प्रशिक्षणमा जोड दिँदै आपसी मतभेदलाई निराकरण गर्ने रणनीति लिनुपर्छ । विभिन्न कालखण्डमा पार्टीका जिम्मेवार नेतृत्वहरू नातावाद, क्रिपावादको कार्यदिशा अङ्गीकार गर्दै गुटको विकास गरिरहेका हुन्छन् । त्यस्तो नेतृत्वले पार्टीका नीति तथा कार्यक्रमप्रति बेवास्ता गर्ने, पार्टीप्रति गद्दारी गर्ने, देश र जनताका स्वार्थ ओझेलमा पार्ने भएकाले पार्टीले लिएको ठोस कार्यदिशा कार्यान्वयनमा अवरोध भई पार्टी गतिहीन हुन पुग्छ । त्यसैले पार्टीभित्र लोकतान्त्रिक जनवादलाई हुर्किन दिनुपर्छ । त्यसले पार्टी सदस्यहरूको आत्मबल बढ्ने, पार्टी तथा पार्टी कमिटी र सङ्गठनहरू सुदृढ बन्न सहयोग पुग्ने, पार्टी र पार्टी सदस्यहरूको सक्रियता बढ्ने, पार्टी सदस्यहरू जिम्मेवार र इमानदार बन्ने, आलोचना र आत्मालोचना स्वीकार गर्ने, आफ्नो कुशल क्षमता प्रदर्शन गर्न क्रियाशील हुने, पार्टीमा अनुशासन बढ्ने र समूहगत स्वार्थ निस्क्रिय हुँदै सकारात्मक शक्तिको विकास हुने गर्छ ।
गुट र फुटको आभास आउन नदिई एकता र इमानदारिता कायम गर्दै पार्टीलाई पुनःताजकी बनाई अगाडि बढाउनुपर्छ । पार्टीलाई बलियो बनाउन नेतृत्वले आफूले चिनेका तथा सम्बन्ध भएकालाई माथि लाने र पार्टी तथा सङ्गठनलाई आदर्श मान्नेहरूलाई पछाडि पारेर कहिल्यै निराश बनाउनुहुँदैन । पार्टी कमिटीहरू, सदस्यहरूबीच खुलामखुला छलफल र बहस गरी गुट निराकरणको उपाय खोजी गरेर इमानदारी साथ अगाडि बढ्दै पार्टीको सही कार्यदिशा, नीति, सिद्धान्त तथा लक्ष्यको आधारमा एकता बलियो बनाउँदै लैजानुपर्छ । पार्टीका सङ्गठनात्मक संरचनाहरू चुस्तदुरुस्त गर्दै सबैले सही पद्धति र प्रक्रियाका आधारमा अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेर पार्टीलाई जीवन्त दिनुपर्छ । पार्टीमा गुटबन्दीलाई निस्क्रिय बनाउन सकियो भने कमिटी संस्थागत रूपमा स्थापित हुँदै जाने, नीति निर्माण र निर्णयहरूमा सबैको स्वामित्व स्थापित हुनुको साथै कार्यान्वयनमा एक रूपता कायम हुने गर्छ ।
असल पार्टी निर्माणका लागि गुटगत प्रभावको अन्त्य गर्न र असल नेता तथा कार्यकर्ताको निर्माण गर्न पार्टीको संस्थागत क्षमता अभिवृद्धिमा जोड दिनुपर्छ । साथै पार्टीले पार्टी नेतृत्व र जनप्रतिनिधि छनोटका आधार निर्माण गर्ने, पार्टी अनुशासन र आचरणमा ध्यान दिने, पार्टी शुद्धीकरण र सुदृढीकरणमा जोड दिने कार्यले पार्टीलाई सधैँ बलियो र एकताबद्ध बनाउँछ ।
(लेखक विश्लेषक हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?