logo
२०८० चैत्र १६ शुक्रवार



दलीय अस्तित्वका लागि सङ्घर्र्ष

विचार/दृष्टिकोण |




डा. ज्ञानेन्द्रबहादुर कार्की

धेरै किसिमका राजनीतिक सिद्धान्त तथा विचार भएका पार्टी जसले आफूलाई समयानुकूल परिवर्तन गर्न नसक्दा कति लोप भएर गएका छन् भने कति कमजोर अवस्थामा रहेका छन् । अस्तित्वमा रहिरहन समयानुकूल आमजनसमुदायको भावनाअनुसार समयसापेक्ष परिमार्जित र परिवर्तित हुँदै अगाडि बढ्न सक्नुपर्छ । कुनै पार्टीले अँगालेको सिद्धान्त र विचारले समयानुकूल सधैँ एकनासले अगाडि बढ्ने राजनीतिक रूपमा अनुकूल वातावरण पाउँदैन, त्यसैले एउटै पार्टी, सिद्धान्त र विचारले विशाल रूप लिन पनि सक्दैन ।

एउटै सिद्धान्त, विचार बोकेका पार्टीका अनुयायी एकातिर अघिल्लो पुस्ता वा पिँढीभन्दा फरक हुन्छन् भने अर्कातिर एकै पिँढीका अनुयायीबीच पनि भिन्नता हुन्छन् । ती भिन्नतामध्ये केही भिन्नता उपयोगी र सक्षम हुन्छन्, जो निरन्तर रूपमा टिकिरहन सङ्घर्र्ष गर्न योग्य हुन्छन् । प्रत्येक सिद्धान्त, विचार तथा पार्टीले आफ्नो अस्तित्व कायम गर्न सङ्घर्र्ष गरी निरन्तर समयानुकूल नयाँ भिन्नता ग्रहण गर्दै जान्छन् । त्यसरी निरन्तर ग्रहण गरिने नयाँ भिन्नताले गर्दा नै लामो समयपछि परिवर्तन भएर नयाँ सिद्धान्त, विचार बोकेर पार्टीले काँचुली फेर्दै आफूलाई अस्तित्वमा राख्न सफल हुन्छन् । राजनीतिक वातावरणमा अनुकूल नहुने भिन्नता क्रमशः पलायन हुँदै अस्थित्वविहीन भएर जान्छन् ।

सिद्धान्त, विचार तथा पार्टीको अस्तित्वका लागि परिवर्तित राजनीतिक वातावरणमा टिकाउन नयाँ पहिचानका साथ जसले अनुकूल बनाउन योग्य हुने गुणको विकास गर्न सक्दछ, तिनीहरू नै अस्तित्वमा आउँछन् । जडसूत्रवादीको अस्तित्व विस्तारै लोप भएर जान्छ भने समयानुकूल आपूmलाई अनुकूल बनाउने शक्तिले नेतृत्व हत्याउन सफल हुन्छन् । राजनीतिक पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तक विभिन्न वर्गबाट आउनुको साथै उनीहरूको वैचारिक तथा सैद्धान्तिक पृष्ठभूमि तथा धरातल पनि फरक फरक हुने गर्छ । त्यसले गर्दा उनीहरूबीचको सोच, विचार र दृष्टिकोणमा पनि भिन्नता हुन्छ । उनीहरूबीचको फरक सोच, विचार र दृष्टिकोणको कारण हरेक घटना र विषयवस्तुलाई हेर्ने दृष्टिकोण, समस्याको समाधान गर्ने तरिका, नैतिक मूल्य र मान्यता, आचारण, कार्यपद्धति, कार्यशैली आदिमा पनि केही न केही भिन्नता हुन्छ । पार्टीभित्र विचार र दृष्टिकोणमा भएका भिन्नताले उत्पन्न हुने अन्तरद्वन्द्वको सही ढङ्गले व्यवस्थापन गर्ने विधिको विकास र प्रयोग गर्न नसक्दा पार्टीभित्र समस्या चर्कदै जान्छ र समूहगत गुटको विकासले प्रश्रय पाउँछ ।

पार्टीका अनुयायीले पार्टीका सिद्धान्त र विचारको निरन्तर अध्ययन नगर्दा, विधि र पद्धतिअनुसार पार्टी नचल्दा, पार्टी एकताका लागि सङ्गठनलाई सुदृढ बनाउन नसक्दा, पद र प्रतिष्ठा हत्याउन अनैतिक प्रतिस्पर्धा मच्चिदा, बहुमतको आधारमा अल्पमतलाई कदर नगरी दबाउन खोज्दा, अनुशासनहिनता मौलाउँदा, अन्तरपार्टी मतभेदको समयमा नै सही व्यवस्थापन हुन नसक्दा, गलत विचार र दृष्टिकोणको विरुद्ध सङ्घर्र्ष चलाएर सही विचार र दृष्टिकोणलाई स्थापित गर्न नसक्दा, आलोचना र आत्मालोचनालाई आत्मसात् गर्न नसक्दा पार्टीभित्र अन्तरद्वन्द्व चर्केर फरक लाइनको विकास हुने तथा पार्टी विखण्डनको स्थितिसम्म पुग्ने खतरा बढेर जान्छ । त्यसैले वैचारिक र सैद्धान्तिक रूपमा एकढिक्का हुँदै विखण्डन र गुटबाट पार्टीलाई सुरक्षित गरी पार्टीको अस्तित्वका लागि निरन्तर सङ्घर्ष गरिरहनुपर्छ । राजनीतिक अस्तित्वका लागि न्यूनतम तीन किसिमका सङ्घर्षमा पार्टी तथा पार्टीका अनुयायीले सफलता प्राप्त गर्नुपर्छ ।

क. अन्तरपार्टी सङ्घर्ष :
अन्तरपार्टी सङ्घर्ष सैद्धान्तिक, वैचारिक तथा पदीय सङ्घर्षसँग सम्बन्धित छ । पार्टीका विभिन्न तहका रहेका नेता, कार्यकर्ता तथा शुभचिन्तकबीच आपसमा आफ्नो अस्तित्वका लागि निरन्तर सङ्घर्ष गरिरहेका हुन्छन् । पार्टीमा विभिन्न वर्गीय पृष्ठभूमिबाट आएका अनुयायीबीचमा विचार, दृष्टिकोण, आनीबानी, भावना, नैतिक मूल्य र मान्यतामा केही न केही भिन्नता हुन्छन् । भिन्नताको कारण समस्या हेर्ने र समाधान गर्र्ने विधिमा पनि भिन्नता आउँछ, त्यसले पनि अन्तरपार्टी सङ्घर्ष उत्पन्न गराउँछ । पार्टीभित्र सैद्धान्तिक र वैचारिक मतभेद हुने भएकोले पाटीभित्र वैचारिक सङ्घर्ष निरन्तर रूपमा चलिरहेको हुन्छ । अल्पमतमा पर्नेहरूले बहुमतको विचार, नीतिलाई स्वीकार गरेर पार्टीभित्र नै सङ्घर्ष चलाउँदै जानुपर्छ तर पार्टीभित्र कहिलेकाहीँ खराब विचार पनि हाबी हुन सक्छ । त्यस्तो स्थितिमा पार्टीमा गुटबन्दी, अवसरवादले जरा गाड्ने मौका पाउँछ । पार्टीभित्र हुने सैद्धान्तिक र वैचारिक सङ्घर्षको कारण पार्टीले आफ्नो आकार र प्रभाव निरन्तर विस्तार गर्न सक्दैन ।

पद, प्रतिष्ठा, सुविधा नै राजनीतिको अन्तिम लक्ष्य हो भन्ने मानसिकता बोकेका पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तक हुन् वा सेवाको भावानाले काम गरिरहेका व्यक्ति हुन्, ती सबैमा समयअनुसार कसैलाई पद, कसैलाई प्रतिष्ठा, कसैलाई सुविधा, कसैलाई अन्य अवसरको चाहना हुन्छ । त्यसैको प्राप्तिका लागि एकआपसमा आ–आफ्नो ठाउँमा आ–आफ्नो विचार र शक्ति लगाएर निरन्तर सङ्घर्ष गरिरहेका हुन्छन् । त्यस्तो सङ्घर्षमा सफलता प्राप्त गर्नेहरू नै अस्तित्वमा आउँछन्, र राजनीतिक पिरामिडका विभिन्न तहमा सङ्घर्षशील राजनीतिक जीवन बिताउन सफल हुन्छन् । ख. बाह्य पार्टी सङ्घर्षः एउटा पार्टी र अर्को पार्टीबीचमा वैचारिक तथा सैद्धान्तिक भिन्नता हुने भएकाले पार्टीहरूबीच प्रतिस्पर्धात्मक सङ्घर्ष हुने गर्छ । सबै पार्टी आ–आफ्नो पार्टीको अस्तित्व कायम राख्न सङ्घर्षशील हुन्छन् र हरेक राजनीतिक प्रतिस्पर्धामा योजनाबद्ध ढङ्गले राजनीतिक बागडोर आफ्नो हातमा लिन सङ्घर्ष गरिरहेका हुन्छन् । सङ्घर्षमा सफल पार्टीहरू नै आफ्नो अस्तित्व कायम गर्दै शक्तिशाली पार्टीको रूपमा अगाडि बढ्ने गर्छन् । राम्रो जनमुखी नीति तथा कार्यक्रम अगाडि सारेर जनताका लागि समर्पित पार्टी नै जनताका माझमा फस्टाउने गर्छ । जनताबाट टाढा रहने पार्टी आफ्नो अस्तित्व कायम राख्न नसक्ने र शक्तिहीन अवस्थामा पुग्छन् ।

आ–आफ्नो सिद्धान्त तथा विचारलाई अस्तित्वमा राख्न र विस्तार गर्न समयानुकूल परिमार्जन गर्दै अगाडि बढ्नुपर्छ । परिमार्जन गर्न नसक्ने जडसूत्रवादी सैद्धान्तिक र वैचारिक रूपले पराजित भएर असफल हुने गर्छन् । त्यसैले जनताको मन जित्न र प्रतिद्वन्द्वीलाई पराजित गर्न सैद्धान्तिक र वैचारिक रूपमा प्रष्ट हुँदै पार्टीका नीति तथा कार्यक्रमहरू जनताको हितमा अगाडि सार्नुपर्छ । बाह्य पार्टी सङ्घर्षमा जनताको मनमस्तिष्कमा अब्बल दर्जाको पार्टीको रूपमा स्थापित भई प्रतिस्पर्धामा खरोसँग टिक्न सक्नुपर्छ ।
ग. राजनीतिक वातावरणीय सङ्घर्ष :

परिवर्तित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक वातावरणलाई जुन पार्टीले राम्रोसँग बुझ्छ र त्यस वातावरणमा आफूलाई अनुकूल बनाउन सफल हुन्छ, त्यही पार्टी तथा शक्ति नै अस्तित्वमा रहन्छ । साथै जनताको चाहना र जनताको हितमा जुन पार्टी विशेष महìव दिएर अगाडि बढ्छ, त्यस पार्टीले आफ्नो पक्षमा राजनीतिक वातावरणको आधार तयार गर्छ । समयको माग नबुझ्ने र परिवर्तित राजनीतिक वातावरणमा आफूलाई जनताको नजिक राख्न नसक्ने पार्टीहरू पाखा लाग्न बाध्य हुनुपर्छ । आफ्नो अस्तित्व कसरी राख्ने हो, त्यहीअनुसारको राजनीतिक वातावरण पार्टीले बनाउनुपर्छ । पार्टी र जनताबीचको दूरी कम गर्दै जनतामाझ स्थापित हुने रणनीति पार्टीले लिनुपर्छ । पार्टी, नेता, कार्यकर्ता र जनताबीचको अन्तर सम्बन्ध सुमधुर र गाढा बनाउन सक्ने राजनीतिक पार्टी, सिद्धान्त र विचारले नै सङ्घर्षमा सफलता प्राप्त गर्छ ।

राजनीतिक अस्तित्वका लागि हुने सङ्घर्षमा सबैभन्दा योग्य नै राजनीतिक वातावरणसँग अनुकूल हुन्छ । आमजनसमुदाय स्वयंले योग्यताको रक्षा गर्ने अर्थात् छनोट गर्ने भएकोले त्यसलाई जनताद्वारा जनताका लागि नेतृत्व छनोटको सिद्धान्तको रूपमा पनि लिन सकिन्छ । राजनीतिक सिद्धान्त, विचार, पार्टी तथा पार्र्टीका विभिन्न तहमा रहेका नेता, कार्यकर्ता र शुभचिन्तकलाई पनि जनसमुदाय स्वयंले छनोट गर्छन् । जनसमुदायसँग घुलमिल हुने मात्र टिक्नका लागि योग्य हुन्छन्, अरू राजनीतिक प्रतिकूलताको कारण लोप भएर जान्छन् । जनविरोधी, भ्रष्टाचारी, शोषक, अत्याचारी, आचारणहीन, नैतिकहीन आदि पात्रहरू क्रमशः नेतृत्वबाट अलग हुँदै जान्छन् भने देश र जनताको हितमा काम गर्ने राष्ट्रवादी, नैतिक आचारणयुक्त पात्रहरू योग्यताको क्रममा छनोट हुन्छन् ।


राजनीतिक दलले असल नीति तथा कार्यक्रम भावी पुस्ताले अनुसरण गर्दै समयसापेक्ष परिमार्जन गरी नयाँ जनमुखी अवधारणा थप्दै अघि बढ्नुपर्छ । त्यसरी क्रमिक रूपमा हुने परिवर्तनबाट अयोग्य वैचारिक र सैद्धान्तिक धारणा हटाउँदै समाजका लागि आवश्यक नयाँ वैचारिक र सैद्धान्तिक धारणाको विकास गर्दै जानुपर्छ । वैचारिक र सैद्धान्तिक रूपमा आएको परिवर्तनले नयाँ पार्टी र नयाँ विचारको उत्पत्ति पनि हुने गर्छ । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?