डा. ज्ञानेन्द्रबहादुर कार्की
कुनै पनि राजनीतिक शक्ति, पार्टी तथा सरकारलाई बाहिरी राजनीतिक बल लगाउँदा त्यसले आफ्नो अवस्था परिवर्तन गर्दैन अर्थात् ढल्दैन भने त्यसलाई सन्तुलित र स्थायित्व भएको शक्ति, पार्टी तथा सरकार भनिन्छ । वास्तवमा राजनीतिक शक्ति, पार्टी र सरकारको सन्तुलन र स्थायित्व त्यसको आधार भूमिमा निर्भर गर्छ । राजनीतिक शक्ति, पार्टी र सरकारको सन्तुलनको आधार साँघुरो घेराभित्र छ भने त्यो राजनीतिक शक्ति, पार्टी र सरकारको स्थायित्व कम हुन्छ । राजनीतिक शक्तिको सन्तुलनको आधार जति फराकिलो घेराभित्र विस्तार हुँदै जान्छ, त्यति नै त्यो राजनीतिक शक्तिको स्थायित्व पनि बढ्दै जान्छ । विनाआधारका राजनीतिक पार्टीहरू तथा सरकारहरू लामो समयसम्म टिक्दैनन्, कनै पनि बेला ढल्न सक्छन्, त्यसलाई ठूलो बलको आवश्यकता नै पर्दैन । जनाधार बलियो भएका, देश र जनताको हितलाई सर्वोपरि ठानेर काम गर्ने शक्ति वा पार्टीहरूको आधार फराकिलो हुने भएकाले लामो समयसम्म सन्तुलित भएर स्थायित्व प्राप्त गरिरहेका हुन्छन् ।
राजनीतिक शक्तिहरू भित्रभित्रै खोक्रो छन् भने राजनीतिक रूपमा असन्तुलित र अस्थिर हुन्छन् र थोरै आफ्नो आधार क्षेत्रमा तल–माथि पर्दा त्यो शक्ति आफ्नो स्थानबाट विस्थापित भई अस्तित्व नै गुमाउने अवस्थासम्म पुग्छ । तर, भित्री भरिएका अर्थात् वैचारिक, सैद्धान्तिक तथा साड्ढठानिक रूपमा खारिएका, भरिला र परिवर्तनलाई आत्मसात् गर्दै जनचाहनाअनुसार काम गर्दै जाने शक्ति नै राजनीतिक रूपले सन्तुलित र स्थायित्व ग्रहण गर्दै अगाडि बढ्न सफल हुन्छन् । राजनीतिक आधार क्षेत्र जति धेरै फराकिलो बनाउन सकिन्छ, त्यति नै राजनीतिक भविष्य पनि उज्यालो हुन्छ, त्यति नै राजनीतिक रूपमा स्थायी सन्तुलन पनि हुन्छ । जब जनताको राजनीतिक शक्तिप्रतिको आस्था, विश्वासको शक्ति र राजनीतिक पार्टीको खँदिलोपना आदि तŒवहरूले राजनीतिक सन्तुलनका लागि महŒवपूर्ण भूमिका खेल्छ ।
राजनीतिक सन्तुलन र स्थायित्वका लागि कुनै पनि पार्टी, सरकारले आफ्नो देशको संविधानको परिधिभित्र रहेर, संविधानलाई जनताको हितमा कार्यान्वयन गराउने रणनीति लिनुपर्छ । यदि संविधानमा जनताको हितविपरीत कुनै धारा वा उपधाराहरू जीवित छन् भने त्यसलाई जनताको पक्षमा संशोधन गरी संविधानलाई उत्कृष्ट बनाउने कार्यमा जनप्रतिनिधिहरू क्रियाशील हुनुपर्छ । राजनीतिक स्थायित्व देश र जनताका लागि अपरिहार्य विषय भएको हुँदा राजनीतिक अस्थिरता कायम गर्ने धारा तथा उपधारा संशोधनलाई पहिलो प्रथामिकतामा राख्नुपर्छ । संविधानलाई आधार बिन्दु बनाएर सरकार तथा राजनीतिक पार्टीहरूले आफ्नो जिम्मेवारी सम्हाल्नुपर्ने हुन्छ । एकातिर संविधान संशोधन गर्ने अधिकार सार्वभौम जनताका प्रतिनिधिलाई मात्र हुन्छ भने अर्कातिर जनआन्दोलन, जनमतसङ्ग्रहजस्ता जनताको शक्तिले पनि संशोधन गर्न सक्छन् । संविधान सधँै राजनीतिक सन्तुलन र स्थायित्वका लागि बलियो बनाउनुपर्छ । संविधानको आडमा देशी तथा विदेशी खराब तŒवहरूले शिर उठाउने ठाउँ राख्नुहुँदैन र सीमित वर्गको स्वार्थका लागि जनताको अधिकार खोस्ने काम पनि गरिनुहुँदैन ।
देश र जनतालाई आधार बनाएर, मुलुकको हितमा जनताको पक्षमा काम गरेर, जनताको साथ लिएरमात्र कुनै पनि राजनीतिक पार्टी र सरकारले सन्तुलित स्थायित्व ग्रहण गर्न सक्छ । जनताका लागि नै लम्पसार परेको पार्टी र सरकार नै स्थायी र सन्तुलित रूपमा काम गर्न सफल हुन्छन् । जनताको भावनाअनुसार जनतासँग भिजेर जनतासँग अडिन सकेनन् र जनआधारविना नै आफ्नो हैसियात बिर्सेर तथा दृश्य वा अदृश्य शक्तिको आडमा अडिन खोज्यो भने त्यसले धेरै समय आफ्नो भार थाम्न सक्दैन र ढल्नैपर्छ अर्थात् सुरुको अवस्थामा नै पछाडि हट्न बाध्य हुनैपर्छ । स्थिर सन्तुलनका लागि आधारभूमिमा नै खुट्टा टेकेर अडिन सक्नुपर्छ, भरपर्दो आधारविना नै खुट्टा टेक्ने दुस्प्रयास गरेको खण्डमा दुर्घटना निश्चित छ ।
राजनीतिक स्थायित्वका लागि पार्टी तथा सरकारले जनतालाई सधैँ एक–आपसमा हाँसीखुसी स्वतन्त्र र खुला रूपले मिलेर काम गर्ने वातावरण तयार गर्नुपर्छ । जनताले आफ्नो पेसा र व्यवसायमा राजनीतिक कारणले कुनै किसिमको अवरोधको महसुस गर्न नपरोस्, राज्यले सधैँ प्रोत्साहन गरोस् र आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्न सधैँ ढोका खुला होस् भन्ने चाहना राख्छन् । जनताको त्यही भावना पूरा गर्ने रणनीतिमा लाग्यो भने नै पार्टी तथा सरकार सफलताको शिखर चुम्छन् र राजनीतिक स्थायित्व कायम गर्न सफल हुन्छन् । त्यसैले जनतामा राजनीतिक पार्टी र सरकारले आफ्नो अत्यन्त फराकिलो आधार बनाउनुपर्छ, त्यस्तो पार्टी तथा सरकारलाई सानातिना कुनै झड्काले असर गर्न सक्दैन र ढलाउन पनि सक्दैन । जनता र पार्टी तथा जनता र सरकारबीच फराकिलो आधारभूमि निर्माण गर्न सकियो, तिनीहरूबीचको दूरी घट्ने र आकर्षण शक्ति बढ्ने गर्छ ।
जनतासँग कमजोर आधार भएका राजनीतिक पार्टी र सरकार अत्यन्त कमजोर हुन्छन् र सानातिनो झड्काले नै असन्तुलित भएर ढल्ने गर्छन् । ढलेर उठ्ने अवस्थामा नरहेका शक्तिहरू सन्तुलन गुमाएर वास्तविक सन्तुलनभन्दा पनि धेरै टाढा धकेलिन पुग्छन् र हलचल नै गर्न नसक्नेगरी तटस्थ अवस्थामा रहन बाध्य हुन्छन् । यसरी तटस्थ रूपमा सन्तुलित रहेका राजनीतिक शक्तिले सानोतिनो शक्ति लगाएर न आफ्नो पहिलेको अवस्थामा फर्कन सक्छन्, न त अग्रगामी रूपमा अगाडि नै बढ्न सक्छन् । राजनीतिक शक्तिहरू माथि उठ्ने र ढल्ने भन्ने कुरा आफूले उठाएको भार र भार थाम्ने आधारमा नै भर पर्छ । यदि आधार फराकिलो छ भने ठूलो भार बोकेर पनि माथि उठ्न सक्छन् तर आधार साँघुरो छ भने सानो भार पनि थाम्न नसकेर ढल्ने गर्छन् । सानो आधार भूमिमा स्थायित्व तथा सन्तुलित अवस्थामा रहेको राजनीतिक शक्तिले क्षणिक फाइदालाई हेरेर अन्य शक्तिको भरमा सन्तुलन मिलाएर काम गरे पनि कुनै कारणवश सन्तुलनको समीकरण बिग्रिँदासाथ आफ्नो पहिलेको आधार झन् कमजोर हुने र अरू पछाडि पर्ने सम्भावना बढेर जान्छ ।
स्थिर तथा सन्तुलित राजनीतिक शक्तिलाई पनि कमजोर बनाउन दबाब आउने र विविध किसिमका अवरोधहरू सिर्जना भइरहने गर्छ । त्यस्तो अवस्थामा पुराना कमजोर बन्धन र सम्झौतालाई तोड्दै, आवश्यकता र जनचाहनाका आधारमा नयाँ बन्धन र सम्झौता गर्दै अगाडि बढ्न सक्ने राजनीतिक शक्तिले स्थिरता र सन्तुलनलाई जीवन्त राख्न सक्छ ।
(लेखक अर्थविद् हुनुहुन्छ ।)