logo
२०८१ बैशाख १५ शनिवार



मौलिक विशेषतामा आधारित समाजवाद

विचार/दृष्टिकोण |




डा. ज्ञानेन्द्रबहादुर कार्की

नेपाली समाज समाजवादउन्मुख हुँदै समाजवादतिर अगाडि बढ्ने आधार कुनै पनि समाजवादी मुलुकको मोडल यथास्थितिमा लागू गरेर सम्भव हुँदैन । त्यसैले नेपाली समाजको मौलिक विशेषताका आधारमा समाजवादी मोडल विकास गर्नुपर्छ । मुलुकको आफ्नै विशेषताका आधारमा विकास गरिएको मोडल दिगो र अरूका लागि पनि अनुकरणीय हुन्छ । समाजवादका विशेषतालाई आधार बनाएर समाजवादउन्मुख नीति तथा कार्यक्रम व्यापक रूपमा ल्याई कार्यान्वयनमा अगाडि बढ्नुपर्छ, कार्यान्वयनक्रममा ग्रहण गरिएका अनुभव र परिकल्पना गरिएको समाजवादको मोडललाई क्रमिक रूपमा सुधार गर्दै परिष्कृत बनाउनुपर्छ । कुन–कुन विशेषता भएको समाजवादलाई मुलुकले आफ्नो समाजवादी विशेषता बनाउने, कस्ता–कस्ता सुधारका नीति लिने र कस्ता–कस्ता थिति बसाल्ने भन्ने विषयलाई आधार बनाएर समाजवादको मोडेल अगाडि सार्नुपर्छ ।
मुलुक संवैधानिक रूपमा समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा गइसकेको हुँदा समाजवादको मोडल सङ्घीय समाजवादी लोकतन्त्रमा आधारित हुनुपर्छ । समाजवादलाई अगाडि बढाउन तीनै तहका सरकारको भूमिका, दायित्व र जिम्मेवारी किटान गरी समन्वायत्मक रूपमा आ–आफ्नोे तहबाट समाजवादी नीति तथा कार्यक्रम लागू गरी समाजवादको दिगो विकास गर्नुपर्छ । संविधानलाई आधार बनाएर समाजवादको बाटोमा अगाडि बढ्न बहुदलीय प्रतिस्पर्धामा आधारित समाजवादलाई अङ्गीकार गर्नुको अर्को विकल्प देखिँदैन । बहुदलीय प्रतिस्पर्धामा आधारित समाजवादमा अगाडि बढ्न मौलिक सिद्धान्तका रूपमा विकास भएको जनताको बहुदलीय जनवादको सिद्धान्तलाई आत्मसात्् गर्नैपर्छ । नेपाली समाजमा विकास भएको तथा प्रयोगबाट सिद्ध भएको जबजको सिद्धान्तलाई नेपाली समाजवादी क्रान्तिको मार्गदर्शक सिद्धान्तका रूपमा आधार बनाएर समाजवादलाई हुर्काउनुपर्छ ।
समाजवादी पार्टीले देश र जनताप्रति समर्पित भएर अन्य कुनै पनि पुँजीवादी पार्टीले प्रतिस्पर्धा गर्न नसक्नेगरी समाजवादलाई जनताको असल शासन व्यवस्थाका रूपमा विकास गर्नुपर्छ । राज्यसत्ताले परिवर्तनको विशिष्टतामाथि गहन अध्ययन, अनुसन्धन र विश्लेषण गरी नवीनतम सोचसाथ परिवर्तनको नेतृत्व गर्दै समाजवादको विकास गर्नुपर्छ । आधुनिक लोकतन्त्रका मूलभूत मूल्य–मान्यतामा आधारित लोकतान्त्रिक समाजवादको विकासमा जोड दिँदै उन्नत विधि, पद्धति र प्रणालीको विकासलाई प्राथमिकतामा राखेर निष्ठापूर्वक कार्यान्वयन गरी समाजवादको विकास गनुपर्छ । संविधानको सर्वोच्चता र कानुनी राज्यको अवधारणामा आधारित समाजवादलाई अङ्गीकार गरी इमानदार र प्रतिबद्धतासाथ समाजवादी कार्यदिशामा अगाडि बढाउनुपर्छ ।
देश र जनताको हित तथा आवश्यकतालाई मध्यनजर राखेर जनादेशका आधारमा संविधान र कानुनलाई समयसापेक्ष संशोधन गर्नुपर्छ । अन्तर्राष्ट्रिय कानुनको पालना र मानवअधिकारको रक्षामा समाजवादलाई उत्कृष्ट व्यवस्थाका रूपमा स्थापित गरी न्यायिक निकायलाई स्वतन्त्र, निष्पक्ष र सक्षम बनाउने कार्यदिशामा प्रतिबद्ध हुनुपर्छ । न्यायिक निष्पक्षतामार्फत आमजनताको जीवनमा खुसी ल्याउने न्याय प्रणालीको विकासमा समाजवाद निरन्तर क्रियाशील हुनुपर्छ ।
समाजवादलाई हुर्काएर साम्यवादको गन्तव्यमा अगाडि बढाउन वैचारिक, सैद्धान्तिक र साङ्गठनिक धरातल मजबुत भएको अनुशासित कम्युनिस्ट पार्टीको नेतृत्व अपरिहार्य छ । समाजवादलाई नेतृत्व प्रदान गर्ने राजनीतिक शक्ति समाजवादप्रति प्रतिबद्ध भई आमजनतामाझ लोकप्रिय हुनैपर्छ । पार्टीमा आउने वैचारिक, सैद्धान्तिक विचलन तथा गुटको प्रभावलाई न्यूनीकरण गर्दै विधि, पद्धति र प्रणालीलाई आत्मसात्् गरेर पार्टीलाई अब्बल राजनीतिक शक्तिका रूपमा विकास गर्नुपर्छ, अन्यथा समाजवाद विसर्जनवादीतर्फ उन्मुख हुनेछ । समाजवादमा नेतृत्व विकासलाई उच्च प्राथमिकता दिँदै समाजवाद हाँक्ने कुशल र सफल राजनेताको विकासमा विशेष जोड दिनुपर्छ ।
समाजवादलाई सही दिशामा अगाडि बढाउन र स्थायित्व प्रदान गर्न पार्टीमा बलियो एकता स्थापित गनुपर्छ । पार्टीले अनुशासनमा विशेष जोड दिँदै अराजकता र गुटबन्दीजस्ता खराब संस्कार हुर्कन दिनुहुँदैन । साथै राज्य सञ्चालन तथा पार्टी नेतृत्वमा माक्र्सवादी अध्ययन अनुसन्धान गहिरोसँग गर्ने र सही समयमा ठोस निष्कर्ष निकाल्न सक्ने समाजवादप्रति प्रतिबद्ध व्यक्तित्वलाई अवसर दिनुपर्छ ।
पार्टी कमिटी, नेतृत्व र समस्त पार्टी परिवार एकढिक्का भएर विधि, पद्धति, सिद्धान्त र प्रणालीलाई आत्मसात्् गर्दै इमानदार, पारदर्शी तथा अनुशासित भई समाजवादको भविष्य निर्माणमा लाग्नुपर्छ । पार्टीमा सधैँ आन्तरिक समझदारी र बलियो एकतामा जोड दिई अन्तरविरोधलाई माक्र्सवादी कार्यशैली अपनाएर समाधान गर्दै अगाडि बढ्नुपर्छ । आन्तरिक अन्तरविरोधमा बाह्य शक्तिलाई कहिल्यै पनि घुस्न दिनुहुँदैन, त्यसलाई आन्तरिक रूपमै समाधान गरी पार्टीभित्र बलियो एकता कायम गर्नुपर्छ । पार्टीमा देखापरेको खराब विचार र संस्कारलाई निषेध गरेर निरन्तर असल विचार र संस्कारलाई हुर्काइ पार्टीलाई थप ऊर्जासाथ अगाडि बढाउनुपर्छ ।
समाजवाद निरन्तर सङ्घर्ष र क्रान्तिले परिष्कृत बनाउँदै लैजाने व्यवस्था हो । समाजवाद हुर्काउन पार्टीभित्र निरन्तर रूपमा अन्तरपार्टी सङ्घर्ष गर्दै पार्टी सङ्गठनको सुदृढीकरण र पार्टी सदस्यमा शुद्धीकरण अभियान चलाइरहनुपर्छ । जनताबीचका अन्तरद्वन्द्वलाई पनि निरन्तर रूपमा समाधान गर्र्दै जनतासँगको सम्बन्ध गाढा बनाउनुपर्छ । मुलुक र जनताको हितविपरीत सक्रिय प्रतिक्रियावादी शक्तिसँग आवश्यकता र परिस्थितिअनुसार सानाठूला सङ्घर्ष र क्रान्तिलाई पनि निरन्तरता दिइरहनुपर्छ । त्यसैले समाजवादमा निरन्तर सङ्घर्ष र क्रान्तिको सिद्धान्तलाई अवलम्बन गर्दै समाजवादलाई अगाडि बढाउन सक्नुपर्छ ।
समाजवादउन्मुख स्पष्ट खाका तयार गरी कार्यान्वयन गर्ने रणनीतिक योजनासहित अगाडि बढ्नुपर्छ । समाजवादका विभिन्न चरणका प्रारम्भिक खाका तयार गरी व्यावहारिक रूपमा कार्यान्वयन गर्दै वैज्ञानिक समाजवाद र साम्यवादको लक्ष्यमा पुग्ने रणनीतिक योजनासहितका कार्यक्रम पनि अगाडि सार्नुपर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट एकतामा आधारित समाजवादलाई समाजवादको भविष्य निर्माणमा केन्द्रित गर्नुपर्छ । समाजवादको यात्रा लामो भएको र समाजवादलाई टिकाउन अनगिन्ती चुनौतीको सामना गर्नुपर्ने भएकाले कम्युनिस्ट एकता, सद्भाव, समन्वय र आपसी सहयोगबाट समाजवादलाई हुर्काउनुपर्छ ।
पार्टीभित्र शुद्धीकरणको अभियानलाई स्थायित्व दिँदै निरन्तर रूपमा अनियमितता र भ्रष्टाचारविरुद्ध निष्पक्ष छानबिन गरी कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउने रणनीतिसहितको समाजवादलाई अङ्गीकार गर्नुपर्छ । समाजवादको नेतृत्व गर्ने पार्टीभित्रै सम्पत्ति शुद्धीकरणको अभियानलाई व्यापकता दिइएन भने समाजवादको बाटोमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा अवरोध सिर्जना भई समाजवाद गतिहीन हुन पुग्छ । पार्टीलाई भ्रष्टाचाररहित सुशासनमा आधारित अनुशासित पार्टीका रूपमा विकास गरिनुपर्छ । भ्रष्ट मानसिकता समाजवादको सबैभन्दा ठूलो शत्रु हो, त्यसैले पार्टीभित्र सम्पत्ति शुद्धीकरण अभियानलाई समाजवादको मौलिक विशेषताका रूपमा अङ्गीकार गरेर कार्यान्वयनमा ल्याउने हो भने समाजवादी आन्दोलन कहिल्यै पनि असफल हुँदैन ।
पार्टीमा योग्यता, क्षमता, योगदान तथा आवश्यकतालाई उच्च मूल्याङ्कन गरी न्यायिक तथा समनातामूलक वितरण प्रणाली समाजवादमा स्थापित गर्नुपर्छ । सेवा, सुविधा आदि अवसरको वितरण गर्दा व्यक्तिवाद, गुटवाद, नातावाद, परिवारवाद, अवसरवाद, अर्थवादजस्ता नकारात्मक संस्कारलाई कुनै पनि हालतमा हाबी हुन दिनुहुँदैन । पार्टीको जिम्मेवारी र अवसरमा आलोपालोको पद्धति लागू गरिनुपर्छ, सधैँ अवसरमात्र दिएर पार्टीमा सामन्ती संस्कार हुर्कन दिनुहुँदैन । पार्टी तथा सरकार प्रमुखमा दुई कार्यकालभन्दा बढी निरन्तर जिम्मेवारी दिनुहुँदैन, त्यसले अधिनायकवादको जन्म दिने गर्छ । नेतृत्व विकास र क्षमता अभिवृद्धिमा विशेष जोड दिँदै सामूहिक नेतृत्व प्रणालीको विकास गरी नेतृत्व हस्तान्तरणलाई सहज र व्यवस्थित बनाउनुपर्छ ।
समाजवादमा जनतालाई सार्वभौम, सर्वशक्तिमान शक्तिका रूपमा आत्मसात्् गरी एकता कायम गरेर जनविश्वास बढाउँदै पार्टी, सरकार र जनताबीचको त्रिकोणात्मक सम्बन्धलाई सिद्धान्त र व्यवहारमा विकसित गर्नुपर्छ । समाजवादमा आउने राजनीतिक र आर्थिक सङ्कटलाई समाधान गर्न पार्टी र सरकार जनतासँग अन्तरघुलन भएर निरन्तर रूपमा काम गरिरहनुपर्छ । जनतासँग जोडिएको पार्टी तथा सरकारसँग जनताको विश्वास र समर्थन गहिरो हुने भएकाले सङ्कटको सामना गर्न कुनै कठिनाइ हुँदैन । सरकार, पार्टी तथा जनप्रतिनिधि सधैँ जनताप्रति उत्तरदायी हुँदै जनतासँग गरिएको वाचा पूरा गर्न अनुशासित भई निरन्तर लागिरहनुपर्छ ।
(लेखक विश्लेषक हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?