logo
२०८१ मंसिर ८ शनिवार



समृद्धिका लागि धेरै अवसर

विचार/दृष्टिकोण |




मथुरा खनाल

जसरी नेपालमा विविध भूबनोट छ, त्यसरी नै मानवीय विविधता पनि छ, जससँग धेरै वेशभूषा, भाषा, धर्म, साँस्कृतिक परम्परा र ज्ञान, सीप उपलब्ध छन् । समुद्र सतहदेखि ६० मिटरको उचाइबाट सुरु भएर विश्वकै सर्वोच्च शिखर सगरमाथा अर्थात् ८,८४८ मिटरको उचाइसम्म फैलिएको हुँदा यहाँ धेरै जैविक विविधता पाइन्छ । यहाँ उष्णप्रदेशीय वनस्पतिदेखि टुन्ड्राप्रदेशीय वनस्पति र जीवजन्तुहरूको उपलब्धता छ । यहाँका उच्च शिखरहरूले पर्यटकहरूलाई मनमोहक दृश्यबाट आकर्षित गरी बर्सेनि लाखाँैको राजस्व राज्यलाई उपलब्ध गराएका छन् । जमिनलाई सिञ्चित गर्न, विद्युत् उत्पादन गर्न तथा पर्यटकीय उद्योगको सम्भावना दिन सदा तत्पर छन् । उच्च हिमाली क्षेत्रमा रहेका बहुमूल्य औषधिजन्य जडीबुटी तथा सुगन्धित तेल निकाल्न मिल्ने वनस्पतिहरूले उद्यमशीलताको विकास गरी रोजगारी सिर्जना गर्न चाहने जोकोहीका लागि पनि अनन्त अवसरहरू दिइरहेका छन् ।
उच्च पहाडी क्षेत्रका चरन क्षेत्रहरूले पशुपालन तथा दुग्ध व्यवसायबाट दूध तथा दुग्धजन्य वस्तु उत्पादन गर्न विभिन्न प्रजातिका घाँसहरू उपलब्ध गराइराखेका छन् । यस क्षेत्रमा विभिन्न प्रजातिका गाईबस्तुहरूको राम्रो व्यवस्थापन गरी दूध र दुग्धजन्य पदार्थ उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउन सकिने र छिमेकी राष्ट्रहरूमा पनि यसबाट बन्ने परिकारहरू निर्यात गर्न सक्ने ठूलो सम्भावना छ । कृषि उत्पादनका परम्परागत विधिलाई परिमार्जन गरी यहाँ पाइने स्याउ, नासपाती, जुनारलगायत रसजन्य वनस्पति जस्तै डालेचुकजस्ता प्रजातिलाई उच्च प्राथमिकता दिई प्रशोधित वस्तु उत्पादन गर्न सके यसबाट धेरै आम्दानी गर्न सकिन्छ । मध्य पहाडी क्षेत्रमा उत्तम प्रजातिका डालेघाँसहरू प्रचुर मात्रामा पाइने हुनाले त्यहाँ पशु व्यवसाय सञ्चालन गरी प्रशस्त फाइदा लिन सकिन्छ । जैविक मल प्रयोग गरी स्वस्थकर खाद्यान्न र नगदेबालीबाट स्वस्थकर खाद्यान्नमा आत्मनिर्भर बनाउन सक्नुका साथै विदेशमा पनि निर्यात गर्न सकिने प्रचुर सम्भावना छ । यस क्षेत्रमा फलफूल व्यवसायका साथै माहुरीपालन, माछापालन, च्याउ खेती, कुखुरापालन, परेवापालन तथा तरकारी र नगदेबाली उत्पादनका लागि राम्रो हावापानी रहेको छ । तेजपात र टिमुरका साथै अदुवा, अलैँची, अम्रिसो, आलु, अकबरे खुर्सानी, कफी र चियाजस्ता नगदेबालीबाट प्रशस्त आयआर्जन गर्न सकिन्छ ।
मध्यपहाडी क्षेत्र र तराईमा पाइने विविध किसिमका बाँस प्रजातिलाई सदुपयोग गरी उद्यमशीलताको विकास गर्न सकेमा हस्तकला, घरायसी सामानबाट आत्मनिर्भरमात्र होइन, बाहिर निर्यात गर्न सकिने राम्रो सम्भावना छ । यसो गर्दा ठूलो लगानी गर्नुपर्दैन र परम्परागत ज्ञान र सीपको पनि संरक्षण हुन्छ । हामीसँग अहिले भएको सीपमा केही अरू सीपकोे तालिम दिने हो भने बजारको मागलाई सजिलै वृद्धि गर्न सक्ने अवस्था छ । यहाँका सबै क्षेत्रहरूमा मौसमअनुसारका थरीथरीका फूलहरू उत्पादन गर्न सकिने हुँदा पुष्प व्यवसायको पनि राम्रो अवसर छ । पुष्प व्यवसायका लागि नेपालको हावापानी र माटो उपयुक्त भएको र यसको माग स्वदेश तथा विदेशमा समेत भएको हुँदा निर्यात गर्न सकिने सम्भावना प्रचुर छ । यसबाट ठूलो सङ्ख्यालाई रोजगारी सिर्जना गर्न सकिने देखिन्छ ।
तराईका समथर भू–भागमा देशको जनसङ्ख्यालाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सक्ने उर्वरा शक्ति छ । त्यहाँको जमिनमा सिँचाइको व्यवस्था गर्न सकेमा धान, गहँु, मकै, उखु र कपासमात्र होइन, उष्णप्रदेशीय फलफूलहरू जस्तै आँप, लिची, केरा, अम्बा, मेवा तथा सरिफा उत्पादनको राम्रो सम्भावना छ । बहुमूल्य औषधिजन्य जडीबुटीले भरिपूर्ण यो क्षेत्र सुगन्धित तेल निकाल्न मिल्ने वनस्पतिहरू जस्तै मेन्था, लेमनग्रासहरूका साथै रस उत्पादनका लागि बेलजस्तै धेरै मूल्यवान् वनस्पतिहरूबाट भरिपूर्ण छ । यहाँका प्राकृतिक स्रोत र साधनको दिगो व्यवस्थापन गरी संरक्षण, सदुपयोग गर्न सकेमा देशवासीका लागि मात्र नभई, विश्वका जनसमुदायका निम्ति पनि लाभदायक उपभोग्य वस्तहरू बनाउन सकिने प्रचुर सम्भावना छ ।
सभ्य, भव्य र स्वतन्त्र समाजको स्थापना गर्न परिवर्तनको आवश्यकता पर्छ, परिवर्तन आफैँले सुरु गर्नुपर्छ, जुन सादा जीवन, उच्च विचार र परिश्रमबाट मात्र सम्भव छ । पुर्खाले कृषि सभ्यतालाई स्वाभिमानका साथ जोगाएका थिए । योग, तुलसी, दुबो वर–पीपल, वन–जंगल, मठ, मन्दिर, पाटीपौवाहरू, विधिको विधान यसका उदाहरण हुन् । पुर्खाले कायम गरेको आत्मनिर्भरतालाई कायम राख्न सकेमा हामी रोजगारीका लागि बिदेसिनुपर्ने थिएन । आफ्नो देशमा उपलब्ध प्राकृतिक स्रोत र मानव स्रोत कौडीको मूल्यमा विदेशमा फाल्नुपर्ने थिएन । विनाप्रशोधित सामान सस्तोमा दिएर महँगोमा प्रशोधित सामान आयात गर्दा रोजगारी सिर्जना गर्न सकिँदैन । समृद्धिको सपना साकार गर्नु छ भने यहाँको परम्परागत कृषि प्रणालीमा सुधार गर्दै वैज्ञानिक कृषि प्रणालीको विकास गर्नुपर्छ । कृषि र पशु व्यवसायलाई राज्यस्तरबाट व्यवस्थापन गरी देशभित्र रहेका सीपमूलक जनशक्तिलाई आधुनिक प्रविधिमा दक्ष बनाई रोजगारमूलक कृषि प्रणालीको मात्र होइन, यसमा आधारित पर्यटन व्यवसायको पनि विकास गर्न सकिने धेरै सम्भावनाहरू छन् । पर्यटनमा आधारित रोजगारी सिर्जनाबाट राष्ट्रलाई समृद्धितिर अगाडि बढाउन सकिन्छ ।
केही दशकयता जलवायु परिवर्तनले ल्याएका चुनौतीहरूमा कृषि तथा खाद्य सुरक्षामा सबैभन्दा जटिल समस्या पर्न गएको देखिन्छ । उर्वर जमिन भए पनि सिँचाइका लागि कुलो, नहर आदिको विकास नभइसकेकाले मनसुनी वर्षामा निर्भर बन्न बाध्य कृषि क्षेत्रले समयमा मनसुनी वर्षा नहुँदा मौसमअनुसारको खेती गर्न पाएको छैन । वर्षा धेरै कम हुने हुँदा पानीका मुहानहरू सुक्दै जानाले धेरै स्थानहरूमा पिउने पानीको समेत अभाव देखिएको छ । सिँचाइको अभावका कारण उत्पादन पनि नहुने र पिउने पानीको अभावका कारण पहाडी क्षेत्रका बासिन्दाहरू बसाइँ सर्ने प्रथा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बढ्दो देखिन्छ । पहिरोका कारण पहाडी क्षेत्रबाट बसाइँ सराइको सम्भावना धेरै छ । अर्कोतर्फ वैदेशिक रोजगारीमा गएर कमाएको धनले तराईका बाटोछेउमा तथा सहरमा घडेरी किन्ने प्रचलन बढेको छ । पहाडबाट बसाइँ सर्नेको लहर पनि कम छैन । पुर्खाले गरेको कृषि पेशालाई त नयाँ पुस्ताले चटक्कै छाडेको देखिन्छ । यसबाट पहाडी क्षेत्रका सुविधा भएका गाँउघरहरू पनि खाली बन्दै गएका छन् । घरहरू भत्किने अवस्थामा पुगेका छन् भने खरबारीमा काँढा, खेतबारीमा वनमारा मौलाएको देख्न पाइन्छ । घरका छानाहरूमा झार, आँगनमा सिस्नो, कन्टकारी र दुबो मौलाएको छ भने गोठका छानामा फर्सी, इस्कुस र चुच्चेकरेली मौलाएका छन् तर यसको उपभोग गर्ने कोही देखिँदैनन् ।
परम्परागत ज्ञानशिल्पका धनी समुदायहरूले पनि आफ्नो सीपको विकास गर्नेतिर त कुरै छोडौँ, निरन्तरता दिनेतर्फ सोचेको पनि छैन जस्तो देखिन्छ । हामी यस्तो अवस्थामा छौँ, जहाँ रहेका अवसरहरूलाई न त राज्यले जिम्मेवारीपूर्वक हेरेको छ न त यहाँका बासिन्दाले नै । बल्लतल्ल तरकारी खेतीतर्फ उन्मुख किसानहरूले पनि कृषिसम्बन्धी राम्रो ज्ञानको अभावमा अत्यधिक रासायनिक मल र विषादीको प्रयोगका कारण आफ्नो स्वास्थ्यमात्र होइन, उपभोक्ताहरूलाई समेत खतरामा पारिरहेका छन् । पढेपछि काम गर्न हुन्न, गाउँमा बस्न हुन्न, कृषि पेशा त अक्षर नचिन्नेहरूले मात्र गर्ने हो भन्ने गलत संोचाइको विकास भएको देखिन्छ । आफ्नो देशमा भएका धेरै अवसरहरूको प्रयोग नगरी हामी विदेशकै कमाइ अनि विदेशकै उत्पादनमा भर पर्न थालेका छौँ । यस्तो मानसिकता रहिरहने हो भने छिमेकी राष्ट्रहरूले फेरि नाकाबन्दी लगाउँदा नेपाली जनताले के खाएर बस्ने होला ? समयमा नै यस्तो तीतो सत्यलाई मनन गरी अग्रगामी पाइला नचालेमा भविष्यमा जटिल र विकराल अवस्था आउन सक्छ ।
हामीसँग अथाह स्रोत र साधनहरू (वन, जल, जमिन र मानव स्रोत) उपलब्ध छन् । स्रोत र साधनहरूको राम्रो पहिचान गरी दिगो प्रयोग गर्नुपर्छ । उपलब्ध जलस्रोतको सदुपयोगद्वारा सिँचाइको राम्रो व्यवस्था, समयमा मल, बीउ, प्रविधिको उपलब्धता, उद्यमशीलताका लागि चाहिने सहुलियत ऋण, उत्पादित वस्तुहरूको स्तरीकरण, राम्रो बजार व्यवस्था, विदेश निर्यातका लागि चाहिने सहजीकरण राज्यस्तरबाट हुन जरुरी देखिन्छ । युवा पुस्ताले पनि विदेशबाट सिकेको नयाँ सीप र प्रविधिको प्रयोगका साथै परम्परागत प्रणालीको अनुशरणबाट स्वदेशमा नै खाद्य, कपडा तथा औषधिजन्य वस्तुहरू उत्पादन गरी आत्मनिर्भर बन्नुपर्छ । प्राङ्गारिक खाद्यवस्तु उत्पादन गरी स्वस्थ खाद्यान्नदेखि घरेलु उद्योगहरूको स्थापना गरी जीविकोपार्जनका सम्पूर्ण वस्तुहरू उत्पादन गरेर आत्मनिर्भर बन्नुका साथै विदेशमा निर्यात गर्न सक्ने प्रचुर सम्भावनाहरू छन् । आइपर्ने चुनौतीको सामनाका साथ आफ्नो देशमा भएका अवसरहरूको प्रयोग गर्नु आवश्यक छ ।
(लेखक वन तथा प्राकृतिक स्रोत साधन व्यवस्थापनविज्ञ हुनुहुन्छ ।)

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?