मथुरा खनाल
महिला सिर्जनाका स्रोत, ममता र सहनशीलताका खानी, उत्पे्ररणाका स्रोत तथा समाज परिवर्तनका संवाहक हुन् । महिलाको अस्तित्वविना मानव समाजको परिकल्पनासमेत गर्न सकिँदैन । तर हजारौँ हजार वर्षदेखि महिला पुरुषप्रधान, पितृसत्तात्मक र विभेदकारी स्थितिको शिकार हुँदै आएका छन् । मानव समाज विकासको ऐतिहासिक चरणअनुसार कविला युगपछि निजी सम्पत्तिको उदय भएको देखिन्छ । र, जहिलेदेखि निजी सम्पत्तिको उदय भयो त्यही कालदेखि महिलालाई घरको चार घेराभित्र कैद गर्ने कोसिस गरियो ।
अध्यात्मवादमा आधारित सामाजिक ऐन कानुनले धेरै प्रकारका सामाजिक भेदभाव र कुसंस्कारको सुरुवात गरे । सामाजिक, सांस्कृतिक, धार्मिक तथा परम्परागत मूल्य र मान्यताका आधारमा महिला र पुरुषलाई विभेदकारी दृष्टिकोणले हेर्न थालियो, जसले हिंसा हुने वातावरणको सिर्जना ग¥यो । कविला युगमा समुदायको नेतृत्व गरिरहेको महिला वर्ग क्रमशः अत्यन्त शोषित र पीडित बन्न पुग्यो । फलस्वरूप उनीहरूलाई होच्याउने, आत्मसम्मानमा चोट पु¥याउने, कमजोर देखाउने खालका विभेदहरू जन्मेदेखि मृत्युसम्म र घरदेखि राज्य तहसम्म मौलाउँदै आए । महिला समाजको स्वतन्त्र, पूर्ण सम्मानित र आत्मनिर्णयको अधिकारले युक्त व्यक्ति होइनन् बरु पुरुषको निजी सम्पत्ति, भोगविलासको साधन, अधिनस्थ, अपूर्ण र सन्तान जन्माउने यन्त्रको रूपमा हेर्ने मानसिकताको विकास हँुदै आयो । महिलाहरू पुरुषको अधीनमा रहनुपर्ने कारणमा तिनीहरूको शरीर वा शारीरिक बनोटलाई मान्ने अन्यायपूर्ण सोचाइले जरा गाड्दै आयो । विकसित राष्ट्रको तुलनामा अविकसित राष्ट्रहरू खासगरी दक्षिण पूर्वी एसियाका देशमा महिला हिंसाको अवस्था झन् डरलाग्दो अवस्थामा विकसित भएको देखिन्छ । त्यसरी नै अन्य धर्म मान्ने समुदायको तुलनामा इस्लामिक र हिन्दु धर्म मान्ने समुदायभित्र अन्धविश्वास तथा रुढिवादले बढी विभेद सिर्जना गरेको छ । उत्पीडन परम्परागत अन्धविश्वासको आडमा स्थापित नियम र कानुनहरू, महिलाले यसो गर्न हुन्छ, यसो गर्न हुन्न भन्ने, बोक्सी, डायन आदिका आरोपमा दुव्र्यवहार गर्ने, जिउँदै जलाउने, छाउपडीमा राख्ने, छोरी भए गर्भमा नै हत्या गर्नेजस्ता जघन्य अपराध धेरै भएको पाइन्छ ।
सामन्तवादको एउटा स्वरूप पितृसत्तात्मक र पुरुषप्रधान चिन्तन हो । जसमा सामाजिक सम्बन्ध, सांस्कृतिक मान्यता र संस्कारहरूमा सामन्तवादी प्रवृत्ति हावी हुन्छ । यस प्रकारको समाजले महिलाहरूलाई दोस्रो दर्जाको नागरिकका रूपमा स्थापित गर्न चाहन्छ ।
सशक्तीकरण आन्दोलनको इतिहास
उन्नाइसाँै शताब्दीमा युरोपमा भएको औद्योगीकरणको विस्तारसँगै विभेदकारी राज्यव्यवस्थाका कारण मजदुरहरूको आन्दोलन र महिलाहरूको आन्दोलन पनि अघि बढिरहेको थियो । कार्ल माक्र्सले पहिलो पटक सन् १८६८ मा महिला अधिकारको सवालमा आवाज उठाएका थिए । उनले महिलाहरूले कारखानामा काम गर्न हुन्न भन्ने प्रुधोको गलत विचारको खण्डन गर्दै महिलाले मुक्तिका लागि काम गर्नुपर्ने अनिवार्यतालाई औँल्याएका थिए । त्यस बेलादेखि नै महिलाले ट्रेड युनियनको सदस्यता लिन थाले र महिला मुक्ति आन्दोलनमा सामेल भएका थिए । १८४८ मा सर्वहारा श्रमिक वर्गको मूक्तिको सिद्धान्त कम्युनिस्ट घोषणापत्र जारी भएपछि पेरिस कम्युनमा महिलाहरूले देखाएको बहादुरीले ऐतिहासिक महìव राख्छ । यस आन्दोलनमा कैयौँ बिराङ्गनाहरूले जीवनको आहुतिसमेत दिएका थिए । जर्मनीका हिटलरले महिलाहरूलाई भान्सामा फर्क भन्दै घरेलु दासतामा जकड्याउन चाहन्थे तर सचेत महिलाहरूले फासिष्ट विरोधी आन्दोलन गरेर यसको उचित जवाफ दिएका थिए । सन् १८८९ मा पेरिसमा आयोजित अन्तर्राष्ट्रिय श्रमिकहरूको सम्मेलनबाट प्रसिद्ध साम्यवादी नेतृ क्लारा जेट्किनले महिला तथा पुरुषको समान अधिकारका लागि आवाज उठाएकी थिइन् । यो अन्तर्राष्ट्रिय मञ्चबाट महिलाले उठाएको पहिलो आवाज थियो । त्यसपछि अमेरिका र युरोपमा श्रमिकहरू एकपछि अर्को आन्दोलनमा सरिक भए ।
१८९७ मा उचित ज्याला र दिनको १० घण्टा कामको निम्ति न्युयोर्कमा श्रमिक महिलाले आन्दोलन सुरु गरे । १९०७ मार्च ८ मा जर्मनीमा समाजवादी महिलाको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन भयो । यस सम्मेलनले श्रमिक महिला सङ्घको स्थापना गर्दै क्लारा जेट्किनलाई महासचिव बनायो । १९०८ मा न्युयोर्कमा श्रमिक महिलाहरूले मताधिकारको मागलाई लिएर गरेको सङ्घर्ष वास्तवमा एक ठूलो क्रान्तिकारी कदम मानिन्छ । यस्तै विविध सङ्घर्षशील ऐतिहासिक पृष्ठभूमिमा क्लारा जेट्किनको नेतृत्वमा सन् १९१० मा डेनमार्कको कोपनहेगनमा दोस्रो अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलनको आयोजना भयो । सम्मेलनमा उपस्थित महिलाहले साम्राज्यवादी युद्ध पिपासुहरूको हतियारको होडबाजी र विश्व युद्धलाई रोक्न, विश्व शान्ति कायम गर्न, आमा र बच्चाहरूको सुरक्षा, दैनिक आठ घण्टा काम र महिलाले भोग्न परेका शोषणबारे गम्भीर बहस चलाएको थियो । त्यही भएर क्रान्तिकारी परम्परा भएको ८ मार्चको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउन क्लारा जेट्किनले राखेको प्रस्ताव सर्वसम्मतिले पारित भयो । १९११ मार्च ८ देखि यसलाई विश्वका महिलाहरूको सङ्घर्षशील एकता, अधिकार र मुक्तिको प्रतीकको रूपमा मनाउन थालियो । सयुक्त राष्ट्रसङ्घले पनि १९७५ देखि ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउन थालेको छ ।
नेपालको सन्दर्भ
नेपालको इतिहास हेर्दा बेलायती उपनिवेशवाद विरुद्ध नेपाली महिलाले पिठ्यँुमा नानी बोकेर हातमा नाङ्गा खुकुरी चलाएर लडेका कथनहरू भेटिन्छन् । नेपाली महिलाको इतिहास निकै गौरव गर्न लायक छ । भोजपुरको नेपाने डाँडा सिम्लेमा जन्मिएकी योगमाया न्यौपानेले निरक्षर भए पनि महिला मुक्ति आन्दोलनमा महìवपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । जहानियाँ राणा शासनको विरोधका साथसाथै तत्कालीन समयमा महिला विरुद्ध विभेदको अन्त्य र सामाजिक रुढिवाद विरुद्ध उनले महìवपूर्ण जागरण अभियान चलाएकी थिइन् । जागरण अभियानमा अग्रसर भएर जघन्य अपराधका रूपमा स्थापित सतीप्रथा, दासदासी, कमाराकमारी प्रथा अन्त्य, समाजिक विभेद, अन्याय, शोषण, अत्याचार अन्त्यको आवाज उठाइएको थियो । राज्यसमक्ष राखिएको मागको सम्बोधन नभएपछि उनले आफ्ना २४० अनुयायीसहित सामूहिक अग्निदाह गर्ने तयारी गर्दा राणाहरूले उनलाई जेल समेत हाले । त्यसपछि आफ्ना मागहरू कायम राख्न उनले अरुण नदीमा हामफालेर जल समाधि लिएकी थिइन् । सामाजिक कुसंस्कारको विरुद्ध योगमायाको विद्रोह युरोपमा दास प्रथाका विरुद्ध स्पार्टाकसले गरेको विद्रोह जस्तै महìवपूर्ण मान्न सकिन्छ ।
वर्तमानको चुनौती
नेपाली समाजमा लिङ्ग भेद र महिला हिंसा जघन्य सामाजिक अपराधको रूपमा विकसित भइरहेको छ । यो राष्ट्रिय चुनौतीको रूपमा विकसित हुनु दुःखद अवस्था हो । जुन समयमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको थालनी गरियो, महिलाहरूको अवस्था अहिले पनि त्यस्तै छ । हाम्रा सामाजिक सम्बन्ध, सांस्कृतिक मान्यता र संस्कारहरूमा सामन्तवादी प्रवृत्ति हावी छ । सामन्तवादको एउटा स्वरूप पितृसत्तात्मक र पुरुष प्रधान चिन्तन हो । सामाजिक मूल्य, धारणा र मान्यताको आधारमा भएको महिला–पुरुषबीचको अन्तर सम्बन्ध तथा भिन्नता नै लैङ्गिकता वा सामाजिक लिङ्ग भेद हो, यो शक्तिसँग सम्बन्धित छ । सामाजिक लिङ्ग भेदले महिला र पुरुषबीचको शक्ति सम्बन्ध उजागर गर्छ । जसले महिला र पुरुषको भूमिका, काम, अधिकार, आचरण, स्रोत तथा साधन आदिको पहुँच निर्धारण गरिरहेको छ । खासगरी असमान शक्ति सम्बन्ध, पितृसत्तात्मक सोच, धार्मिक आडमा रहेका अन्धविश्वास, कुरीति, कमजोर आर्थिक र शैक्षिक अवस्था, कानुन कार्यान्वयनको कमजोर स्थिति आदि कारणले महिलाहरूलाई विलाशिताको साधनका रूपमा लिइरहेको छ ।
महिला भएकै कारण उनीहरूले थिचोमिचो, अवहेलना, दुरुत्साहन, मानसिक हिंसा, शारीरिक हिंसा, बेचबिखन, बलात्कारजस्ता आरोप खेप्न बाध्य बनाइन्छ । लैङ्गिक विभेदकै कारण गर्भ जाँच गर्ने चलनको सुरुवात भएको हो । विज्ञानको विकासले अत्याधुनिक यन्त्र निर्माण त ग¥यो तर यसको दुरुपयोग भएको छ । यसरी भ्रुण अवस्थादेखि नै लैङ्गिक विभेद हुन्छ । लिङ्गको आधारमा जन्म दिने आमा र नवजात शिशुलाई समेत फरक व्यवहार गरिन्छ । खानपान, शिक्षा दीक्षा तथा अन्य सबै खाले क्रियाकलापमा नै विभेदको सुरुआत हुन्छ । मरणोपरान्त पनि फरक र विभेदपूर्ण क्रियाकलाप गरिन्छ । त्यसको ज्वलन्त उदाहरण आदिकवि भानुभक्तको चर्चित सिर्जना वधुशिक्षामै देखिन्छ । वधुशिक्षामा महिलालाई ‘लोग्ने मरेपछि रुखोसुखो खाएर ज्यान सुकाउनु’ भनिएको छ भने पुरुषलाई ‘स्वास्नी मरेपछि अर्को विवाह गरेर सन्तान बढाई हाल्नु’ भनिएको छ । यस्तै संस्कृतिबाट नेपाली समाज दीक्षित हुँदै आएकोले नेपाली महिला पीडित हुँदै आएका छन् ।
महिलाहरूले सानो उमेरमा बाबु, विवाहपछि श्रीमान्, सासू÷ससुरा, देवर जेठाजु र श्रीमान् नभएको अवस्थामा छोरा नातिको अधीनमा बाँच्नुपर्ने बाध्यता रहिआएको छ । सामाजिक कुरीतिकै कारण जीवनभरि महिलाको इच्छा, आकाङ्क्षा, सीप, जाँगर भावना र क्षमता दबिइन्छन्÷दबाइन्छन् । यस्ता विभेद र हिंसाजन्य गतिविधिले गर्दा महिलाको परनिर्भरताको अवस्था सिर्जना गरेको छ । समाज र राष्ट्र विकासको गतिमा अवरोध खडा भएको छ । समाज र राष्ट्र निर्माणमा महिला पुरुष दुवैको महìवपूर्ण योगदान रहन्छ । विभेद र हिंसाजन्य गतिविधिले महिलालाई मात्र पीडित बनाउने होइन बरु सिङ्गो समाज नै धराशायी बन्न पुगेको छ । समाजमा व्याप्त सामाजिक लिङ्गभेद र अन्धविश्वास, कुरीति, महिला हिंसाको अन्त्य गर्न चेतनामा परिवर्तन गर्न जरुरी छ । जुन शिक्षा, स्वास्थ्य र आर्थिक सम्पन्नताबाट मात्र सम्भव छ । महिला शिक्षित भएमा परिवार नै स्वस्थ र समृद्ध बन्न पुग्छ, जसबाट समाज र राष्ट्र नै विकासको पथमा लम्कन सक्छ ।
(लेखक लुम्बिनी प्रदेश विकास परिषद्को सदस्य हुनुहुन्छ ।)