logo
२०८१ बैशाख १३ बिहीवार



लैङ्गिकताको कसीमा नेपाली सांस्कृतिक पर्व

विचार/दृष्टिकोण |




मथुरा खनाल

प्रत्येक चाडपर्वको आफ्नै महìव हुन्छ । मिठो खाने, राम्रो लगाउने, रमाइलो गर्ने र उपवास (व्रत) बस्ने आदि सबै चाडपर्वका विषेशताहरू हुन् । नेपालमा मनाइने पर्वहरू नागपञ्चमीबाट सुरु हुन्छ । जस्तै ः जनैपूर्णिमा, गौरा, कृष्णजन्माष्टमी, हरितालिका तीज, ऋषिपञ्चमी, नवदुर्गा, दशैँ, तिहार, छठ र होली आदि पर्छन् । नागपञ्चमीको दिन नागको पूजा पुरुषले गर्नुपर्छ भन्ने मान्यता रहेको पाइन्छ । यसमा सर्पदंशबाट कसैलाई पनि गाह्रो नपरोस् भनेर सर्पहरूका राजा नागको पूजा गरिन्छ । यस्तोमा त सबैले (महिला, पुरुष) नागको पूजा गर्दा पनि हुनुपर्ने हो तर किन पुरुषले गर्नुपर्छ भन्ने मान्यता रहेको होला ? आजभोलि नागका चित्र छपाइ भएर बजारमा किन्न पाइन्छ । पहिला त्यस्तो सुविधा थिएन । हातैले बनाइएका नागका चित्र टाँसिन्थे । हाम्रो गाउँमा पण्डितबाबाहेक कसैले नाग बनाउने र टाँस्ने गर्दैन थिए ।
जनैपूूर्णिमामा पुरुषले जनै फेर्ने तथा मान्यवरबाट पूजा गरेको रक्षाबन्धनको धागो बाँध्ने गरिन्छ । महिलाले जनै लगाउने चलन किन नबनाएको होला ? रक्षाबन्धन बाँध्दा महिलालाई किन देब्रेहातमा मात्र बाँध्ने बाध्यता बनाइएको होला ? फेरि मान्यवर त महिला पनि त हुन्, किन पुरुषले मात्रै रक्षाबन्धनको धागो बाँधिदिने चलन भए होलान् ? यस्तो काम अरू ठाउँमा कुनै महिलाबाट भयो कि भएन होला ? श्रीकृष्णजन्माष्टमीमा कृष्ण भगवान् त सबैका हुन् तर प्रायः महिला मात्रै व्रत बस्ने गरेको पाइन्छ । यति मात्र कहाँ हो र ? महिला त धेरैजसो बार, एकादशी, औँसी, पूर्णिमा र अन्य पर्वमा पनि प्रायः व्रत बस्ने गरेको पाइन्छ । स्वास्थ्यका लागि उपवास वा व्रत बस्नु लाभदायक नै हुन्छ । तथापि पानी पनि नपिउने गरी श्रीमान्को दीर्घायुका लागि, धर्म, मोक्ष प्राप्त गर्न ग्यास्ट्रिक नै हुने गरी लगातार धेरै दिन व्रत गर्ने महिला पनि धेरै नै पाइन्छ । आजभोलि साउन महिनाको सोमबारका दिन निलाहार व्रत बस्ने चलन बढ्दो पाइन्छ । यसमा साना साना नानीको पनि आशक्ति बढेको देखिन्छ । तथापि बाबुले शिव मन्दिर धाएको देख्न त्यति पाइँदैन । अचम्म के छ भने महिला मात्र किन यति विधि लागेका होलान् ? पुरुषले पनि त राम्रा श्रीमती पाऊँ भनी श्रीमतीको सुस्वास्थ्यको कामना गरेर व्रत बसेर मन्दिर जाने गरेको देख्न पाए कति रमाइलो लाग्थ्यो होला ? आखिर समृद्ध समाज निर्माणका लागि महिला तथा पुरुष दुवैको मन मिल्ने राम्रो जोडी मिल्नु र सुस्वास्थ्य तथा दीर्घजीवी हुन त्यतिकै जरुरी हन्छ ।

सुदूरपश्चिममा मनाइने गौरा पर्वमा पनि महिलाले नै व्रत बसी कुवाबाट तामाको भाँडोमा पानी ल्याएर पञ्चबिरुडा भिजाएर सफा गरिएको घरको कुनामा राख्छन् । षष्ठीको दिन गाउँका कन्या कुमारीहरू नै खेतमा गएर धानसँगै उम्रेका सावाघाँस, कुश, एैँसेलु, बेलपत्र र बलजस्ता घाँसबाट गौरादेवीको मूर्ति बनाउँछन् । विवाहित महिलाले उपवास वा व्रत बसी सगन, फाग, गीत र डेउडा गाउँदै नाकको टुप्पोदेखि सिउँदोभरी टीका लगाएर शिव महादेव र पार्वतीको पूजा गर्ने र रातभर जाग्राम बस्ने चलन छ । पूजा गर्दा जम्मा भएका फलफूल आकाशमा फाल्ने र त्यो छोपेर खाएमा छोरा जन्मिने मान्यता भएकाले गर्भवती महिलाका श्रीमान् त्यो छोप्न हानथाप गर्ने चलन छ । पछि नाचगान गर्दा भने पुरुष पनि सहभागी हुने चलन रहेको पाइन्छ । गौरा पर्व मनाउनका लागि पनि महिलाले नै दैनिक कामको अतिरिक्त दुई–तीन दिनका लागि बस्तुभाउलाई घाँसपात पु¥याउनुपर्ने हुन्छ तर सबै काम सम्पन्न गरेर घरको व्यवस्था मिलाउने यस्ता महिलाको भने जन्म होस् भनेर माथिबाट खसेको फल समाउन कसैले हानथाप नगर्ने किन होला ? हाम्रो समाजमा छोराप्रतिको यस्तो आशक्ति कहिलेसम्म रहने होला ?

तीजलाई महिलाको पर्वका रूपमा हेर्ने गरिन्छ तर घर गएका छोरीबुहारीलाई माइत जान पाउने हो कि होइन भन्ने तनाव भइरहन्छ । जान पाउने भएमा घरको चाँजोपाँजो मिलाएर मात्र जान पाइने हुन्छ । दैनिक घरधन्दाको कामबाहेकका ढिकीजाँतोको काम, खेतीपातीको काम, बस्तुभाउका लागि एक हप्तालाई पुग्ने घाँसपातको जोहो गरेर मात्र फुत्कन पाइने हँुदा करिब १५ दिन अगाडिबाट नै कामको धपेडी परिराखेको हुन्छ । पहिले पहिले मोटर बाटोको विकास त्यति भइनसकेको अवस्थामा त माइती जान पनि पूरा एक दिन हिँड्नुपर्ने हुन्थ्यो । वर्ष दिनमा तीन–चार दिनका लागि पाएको बिदामा पनि तीजको दिनमा त उनै श्रीमान्को दीर्घायु र सुस्वास्थ्यको कामना गरेर व्रत बसेर मन्दिर जाने चलन, जति निलाहार बस्न सक्यो त्यति राम्रो हुन्छ भनी शरीरलाई चाहिने पानी पनि नपिउँदा कतिपय महिला दिदीबहिनी बेहोस भएको पनि सुन्नमा आउँछ । आखिर मिठोचोखो खाने दिनमा त पुरुष पनि बराबरी सहभागी भएका हुन्छन् ।

अब फेरि ऋषिपञ्चमीको कुरा त झन् महिनावारी हुँदा नजानेर वा झुक्किएर कतै छोइछुतो भएको भएमा पाप कटाई पाउँ भनी खाली पेटमा नदीमा गई एक सय आठ पटक नुहाउने, एक सय आठवटा दत्तिवन चपाएर दाँत सफा गर्ने र ऋषिमुनीहरूको पूजा गर्ने प्रचलन विद्यमान रहेको छ । सरकारद्वारा पनि यस दिनमा महिला कर्मचारीलाई बिदा दिने चलन भर्खरैसम्म थियो । कहलिएका ठूला हस्पिटलमा काम गर्ने नाम चलेका विद्वान् डाक्टरले पनि नछुनी भएको कति दिन भयो भनेर सोध्ने चलन वर्तमानमा पनि छ । यसो गर्दा महिनावारीमा महिलाले छोइछुतो गर्न हुन्न भन्ने मान्यतालाई प्रश्रय मिलेको देखिन्छ । श्रीमतीलाई सन्चो नहुँदा, मेरो लागि दीर्घायु र सुस्वास्थ्यको कामना गरेर व्रत बस्दा मबाट कुनै सहयोग नभएकोमा, कहिलेकाहीँ मद्यपान गरी घरमा आएर श्रीमतीलाई जानीजानी कुटेर घाइते बनाएकोमा, यौनहिंसा गरेकोमा क्षमा पाऊँ भनी यस्ता खालका पूजा आराधना गर्ने, मन्दिर जाने, व्रत बस्ने पर्व छोरा मानिसका लागि किन भएनन् होला ? दशैँमा पनि दैनिक खेतीपाती, बस्तुभाउको व्यवस्थापनबाहेक सोह्रश्राद्ध र नौरथाका लागि घर लिपपोत गर्नेदेखि ढिकीजाँतो, कपडा धुने, दुनाटपरी जुटाउने, पूजा सामग्री तयार गर्ने, निम्तारुदेखि पण्डितबाजेलाई छुट्टाछुट्टै खाना तयारी गर्ने सबै काम महिलाकै जिम्मामा पर्छ । यति धपेडीसाथ काम गर्नुपर्ने हुन्छ कि उनीहरूले फुरौला उफ्रिए जसरी खट्नुपर्ने हुन्छ । पर्व मनाउनुभन्दा पनि कसरी काम फत्ते गर्ने भनी शरीरलाई यस्तो गतिमा चलाउनुपर्ने हुन्छ कि उनीहरूका लागि कुनै योगाभ्यासको जरुरत नै पर्दैन । यति गरेर श्रीमान्, छोराछोरी, सासुससुरा, देवर, जेठाजु, नन्द र अमाजू, छरछिमेक र इष्टमित्रलाई चित्त बुझाउने महिलाको श्रीमान्भन्दा अगावै मृत्यु भएमा श्राद्ध गर्न नपर्ने चलन बनाइएको छ तर श्रीमान्को अगाडि नै मृत्यु भएमा श्रीमतीले बाचुञ्जेल सेतो पहिरनमा बसी मिठोचोखो र पोषणदार परिकार, खाना त्याग्नुपर्ने चलन विद्यमान छ । छोराछोरीका लागि आमा र बुवाको भूमिका बराबरी नै हुन्छ । त्यसमा पनि आमाको दुःख कति मात्रामा बढी हुन्छ भन्ने कुरा छोरी मान्छेलाई आपूm आमा बनेपछि मात्र थाहा हुन्छ । पुरुषको मात्र श्राद्ध गर्ने प्रचलन कसरी भए होला ?

तिहारमा पनि भाइपूजाका लागि सबै खाले तयारी गर्न महिलालाई धपेडी परेको हुन्छ । दाजुभाइ र दिदीबहिनीमा हार्दिकता हुनु असाध्यै राम्रा पक्ष हुन् । हार्दिकता सबैले सबैका लागि गर्नु जरुरी हुन्छ । भाइटीका नामकरण भएसँगै यसको महिमा पुरुषको मात्र चाड हो भन्ने हाम्रो समाजको बुझाइ रहेको छ । दिदीबहिनीलाई घरधन्दासहित १५ दिन अगाडिदेखि नै रोटी–मिठाई बनाउने, घर सफा गर्ने, पूmलमाला, उपहारका सामग्री तथा भाइटीकाको जोहो गर्ने चटारोका साथै काग पूजा गर्ने, नर्के फाल्ने, कुकुरतिहार तथा गाईपूजा, लक्ष्मीपूजा गर्ने जिम्मेवारीले गर्दा प्रत्येक पल धपेडीमा बितेका हुन्छन् । उनीहरू न त देउसी खेल्न पाउँछन् न त हेर्न नै । यता पुरुष भने १५ दिन अगाडिदेखि नै जुवातासमा जम्नुका साथै भैलो खेल्ने मनोरञ्जनमा रमेर समय बिताउँछन् । श्रीमान्हरू समयमा खाना खान पनि नआइदिँदा महिला भोकभोकै काममा खटिएका हुन्छन् । यता छठ पर्वमा त झन् महिला कति दिनदेखि सरसफाइ र घर शुद्धतामा लागिपरेका हुन्छन् । कति घण्टादेखि निलाहार बसेर चिसो पानीमा डुबेर बस्ने तथा सूर्य भगवान्का लागि जल तथा अघ्र्य चढाएर मात्र पूजाको प्रसाद खाने गर्छन् । होली पर्वमा पनि महिला मिष्ठान्न परिकारहरू बनाउने तथा सरसफाइ र शुद्धतामा खटिराखेका हुन्छन् । विवाहित महिला त घरधन्दामै फुर्सद पाउँदैनन् । इष्टमित्र तथा नातागोताका लागि खाना, परिकार बनाउँदैमा उनीहरूको होली खेल्ने समय नै निस्किँदैन । यसरी मोटामोटी रूपमा चाडपर्वको तौरतरिकालाई हेर्दा महिला फोहोर सफा गर्ने, पुरुषका लागि सबै कुरा तयारी गरी चाडपर्वको रौनकताको व्यवस्था गरिदिने र महिला भएकै कारण पाप कटाउने र अर्को जन्ममा छोरा भएर जन्म लिन पाऊँ भनी पटकपटक उपवास बसेर पूजाआराधना गरिरहनुपर्ने यस्तो परम्परा सिकाउने प्रथा कहिलेसम्म रहला ?
महिला सिर्जनाका स्रोत, ममता र सहनशीलताका खानी, उत्प्रेरणाका स्रोत तथा समाज परिवर्तनका संवाहक हुन् । यिनीहरूको अस्तित्वबिना मानव समाजको परिकल्पनासमेत गर्न सकिँदैन तर हजारौँ हजार वर्षदेखि महिला पुरुषप्रधान पितृसत्तात्मक र विभेदकारी स्थितिको सिकार भएर आएका छन् । विश्राम, खाना, मनोरञ्जन, शान्ति र अमनचयन त मानव जाति सबैका लागि उत्तिकै महìवको हुन्छ । आखिर एक रथका दुई पाङ्ग्रा त बराबर चल्नुपर्ने हुन्छ । एउटा पाङ्ग्रा मात्र धेरै गुडेमा त छिट्टै बिग्रिन्छ । यसरी त रथ लामो समय गुड्न सक्दैन होला । परम्परागत रूपमा चल्दै आएका राम्रा चालचलनलाई निरन्तरता दिइनुपर्छ भने विभेदकारी र अन्धविश्वासी परम्परालाई सुधार गर्दै जानुपर्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?