logo
२०७९ श्रावण २५ बुधवार



वन डढेलोले वायुप्रदूषण

विचार/दृष्टिकोण |




मथुरा खनाल
पृथ्वीमा रहने मानव तथा जीवन धारण गरेका प्राणी जगत्का लागि वनक्षेत्रको विशेष महìव छ । वनजङ्गल पृथ्वीको फोक्सो हो । जैविक विविधता हाम्रो जीवन हो, वनजङ्गल यसको आधार । वनस्पतिले प्राणी जगत्का लागि अक्सिजन दिन्छ, वायुमण्डलमा भएको कार्बनडाइअक्साइड शोषण गरेर आफ्नो खाना आफैँ बनाउँछ त्यसैले वातावरणलाई शुद्धीकरण गर्छ । सूक्ष्म प्राणीदेखि ठूलाठूला वन्यजन्तुको जीवन वनजङ्गल, सीमसार तथा जलाशयहरूमा बढी मात्रामा पाइन्छ । मानव जीवन, वनस्पति तथा प्राणी जगत्को पारस्परिक घनिष्ठ सम्बन्ध रहेको हुन्छ । यसले पारिस्थिकीय प्रणालीमा ज्यादै महìव राख्छ । वन र वनस्पतिले माटोलाई भू–क्षय हुनबाट जोगाउनुको साथै बाढी तथा पहिरो नियन्त्रणको काम गर्छ । पानीका मुहान जोगाउँछ, हरियाली तथा सुन्दरता कायम राख्छ ।

जैविक विविधताले कृषि उत्पादन बढाउँछ । नेपाल कृषि प्रधान देश भएकाले कृषि, पशुपालन तथा दुग्ध व्यवसायको वनक्षेत्र सँग घनिष्ठ सम्बन्ध छ । किसानलाई दैनिक चाहिने दाउरा, घाँस, स्याउला, काठ, गैरकाष्ठ वन पैदावार, औषधिजन्य जडीबुटी, खाद्यवस्तु तथा घर गोठ निर्माणलाई चाहिने कच्चा पदार्थ र चरिचरण वनक्षेत्रबाट नै प्राप्त हुन्छ । जैविक विविधता विना जीवन र जगत्को सम्भावना हुँदैन यसका लागि वनक्षेत्रको संरक्षण अति आवश्यक छ ।

नेपालको कुल आम्दानीमा वनक्षेत्रको भूमिका १५ प्रतिशत छ । वनको दिगो व्यवस्थापन गरी सही सदुपयोगद्वारा वनमा आधारित उद्योग तथा वनजन्य उद्योग स्थापना गर्न सकेमा जनताका दैनिक आवश्यकता पूरा हुनुका साथै रोजगारीको अवसर पनि सिर्जना गर्न सकिन्छ । आफ्नो देशमा चाहिने काठबाहेक धेरै भएको बहुमूल्य काठ तथा काष्ठपैदावार बाह्य देशमा निर्यात गर्न सकेमा राष्ट्रलाई अर्थतन्त्रको क्षेत्रमा ठूलो टेवा पुग्ने देखिन्छ । नेपालमा पाइने जडीबुटी तथा सुगन्धित तेल निकाल्न मिल्ने वनस्पतिको संरक्षण, दिगो व्यवस्थापन र स्वदेशमा नै प्रशाोधनको विकास गर्न सकेमा रोजगारी सिर्जनाका साथै प्रशोधित वस्तु निकासीले ठूलो धनराशि जम्मा गर्न सकिन्छ ।

नेपालमा वनजङ्गल अतिक्रमण, फडानी, काठ तथा वन्यजन्तु चोरी निकासी, वन डढेलो, अति चरिचरन तथा खोरिया फडानी, गैरकाष्ठ वन पैदावार र बहुमूल्य जडीबुटीको अति उत्खनन वनक्षेत्रका समस्याका रूपमा रहेका छन् । यी क्रियाकलापको सबैभन्दा बढी प्रतिकूल प्रभाव अन्य भौगोलिक क्षेत्रको तुलनामा चुरे भौगोलिक क्षेत्रको वनमा भएको पाइएको छ, जसमध्ये चरिचरन, वन डढेलो, पहिरो र झाडी कटानी प्रमुख हुन् । वन जङ्गलमाथि हुने धेरै किसिमका ज्यादतीमध्ये वन डढेलो सबैभन्दा विनाशकारी मानिन्छ, जसले वन, वन्यजन्तु, जैविक विविधता र माटोलाई समेत नष्ट गर्छ ।

नेपालमा बर्सेनि वनमा आगलागी हुने गर्दछ । वनमा आगो रुखको घर्षणबाट, गोठालाको लापरबाही, चुरोटका ठुटाबाट तथा घाँस उमार्ने मनसायले जानीजानी डढेलो लगाउने प्रवृत्तिबाट, वनभोज गर्न तथा मनोरञ्जन गर्न जङ्गलमा जाने आगो राम्रोसँग ननिभाइ फर्कने मुख्य कारण हुन् । वन डढेलो तीन किसिमको हुन्छ, ती हुन् ग्राउण्ड फायर, सरफेस फायर तथा क्राउन फायर । ग्राउण्ड फायरले जमिनभित्रको काठ, जैविक वस्तु, कोइला, माटो तथा जरा नष्ट गर्छ, सरफेस फायरले पात पतिङ्गर, झाडी र स्यापलिङ अवस्थाका बोट तथा जडीबुटी नष्ट गर्छ भने क्राउन फायरले काण्ड तथा क्राउन कभरलाई नै सखाप पार्छ । नेपालको तराई क्षेत्रका वनजङ्गलमा ग्राउण्ड फायर र सरफेस फायर लाग्दछ भने चुरे तथा मध्यपहाडी क्षेत्रमा सरफेस फायर तथा क्राउन फायर लाग्दछ र उच्च पहाडी क्षेत्रका कोणधारी जङ्गलमा क्राउन फायरले बर्सेनि ठूलो क्षति पु-याउँदै आएको छ ।

लामो खडेरी, सुक्खा हावा र व्यवस्थापनको कमजोरीका कारण वन तथा जैविक विविधता माथि परेको चर्को असरको ज्वलन्त उदाहरण हो । वि.सं. २०७२ फागुन र चैत महिनामा लागेको डढेलो, जसले नेपालका धेरै वनजङ्गलको नोक्सानी भयो । वन र वनस्पति, काठ र गैरकाष्ठ मात्र होइन यसबाट वन्यजन्तु तथा जैविक विविधताका साथै धनजनको समेत नोक्सानी भयो । पहाडी क्षेत्रमा गाउँसँग जोडिएका सामुदायिक वनहरूमा लागेको आगोबाट वन र वनस्पति मात्र होइन, घरगोठ र चौपायासमेत डढेर ठूलो क्षति बेहोर्नु परेको तथ्य हामी सबैलाई जानकारी नै छ । झन्डै तीन दशक लगाएर संरक्षण गरी हुर्काइएका सामुदायिक वन वनजन्य उत्पादनको दिगो विकास गरी आत्मनिर्भर बन्ने अवस्थामा समुदाय पुगेकै बेला क्षणभरमा खरानीमा परिणत हुनु दुखदायी कुरा हो ।

वि.सं. २०७३ देखि २०७७ सालसम्म हिउँदे वर्षा र पूर्वमनसुन समयमा नै सुरु भएका कारण छिटफुट आगलागी भए पनि धेरै ठूलो क्षति हुनबाट जोगिएको छ । २०७८ को लामो चिसो हिँउद सकिना साथ गर्मी ह्वातै बढेका कारण लामो खडेरी पर्ने सम्भावना रहेकाले वन डढेलोको जोखिम बढ्दो छ । कतिपय सामुदायिक वनमा आगलागीका घटना सुत्रमा आइसकेका छन् । आजभोलि नेपालमा वनजङ्गलमा लागेको आगोका कारण वायुप्रदूषण वृद्धि भएको छ ।

काठमाडौँ विश्वका सबभन्दा धेरै वायुप्रदूषण भएका सहरमध्येमा चार नम्बरमा परेको छ । यसले कार्बन उत्सर्जन वृद्धि भएको छ भने जनस्वास्थ्यमा गम्भीर असर गरिरहेको छ । सम्बन्धित सरोकारवाला निकायबाट समयमा संरक्षणका कदम नचालेमा यसले धनजन र जैविक विविधतामा ठूलो नोक्सानी पु-याउने सम्भावना देखिन्छ ।

महìवपूर्ण वन स्रोतको दिगो व्यवस्थापनमा हालका दिनमा धेरै चुनौती देखापरेका छन् । नेपालमा गरिबी, अशिक्षा, बेरोजगारी, बसाइँसराइ, सहरीकरण, औद्योगिकीकरण, जैविक विविधता विनास, जलवायु परिवर्तन, तथा राजनीतिक अस्थिरता आदि मुख्य चुनौतीका रूपमा रहेका छन् । नेपालमा वनक्षेत्रमा कार्यरत कर्मचारीको सङ्ख्या अत्यधिक रहे पनि वन व्यवस्थापन र अग्नि नियन्त्रणका प्राविधिक काममा स्थानीय उपभोक्ता समूह, नेपाली सेना र सशस्त्र प्रहरीको भूमिका मुख्य रहेको देखिन्छ । वन विषयमा उच्च अध्ययन गरेका वन प्राविधिकले आफूले विदेशमा सिकेको ज्ञान वनजङ्गलको दिगो व्यवस्थापनमा जसरी लागू गर्न पर्ने हो त्यो यहाँ लागू भएको देखिँदैन । उच्च र आधुनिक प्रविधि प्रयोग गरी कम लागतमा धेरै उत्पादन गर्नुपर्ने बेला भएको छ । सानो एकाइमा भए पनि प्रविधिलाई भिœयाउन सक्नुपर्छ । वनक्षेत्रले कति आय आर्जन ग-यो र कति रोजगारी सिर्जना भयो भन्ने हुनुपर्छ । कति क्षेत्रफल बढ्यो मात्रले अब पुग्दैन ।

वन डढेलो नियन्त्रण गर्न समयमा वन संवद्र्धनका काम गर्नुपर्छ । झाडी सफा गर्ने, अग्नि रेखा निर्माण गर्ने, कन्ट्रोल वर्निङ समयमा गर्ने तथा वन डढेलाबाट हुने नोक्सानी बारे जनचेतना बढाउने काम गर्नु पर्दछ । पानीका मुहान संरक्षण गरी जोखिमलाई न्यूनीकरण गर्ने तथा वनडढेलो निभाउने उपकरणको उचित व्यवस्थापन गर्नु पर्दछ । जङ्गलमा आगो लागेमा जैविक विविधता, धनजन र प्राकृतिक सम्पदाको नोक्सानी हुनुका साथै कार्बन उत्सर्जन धेरै भई वातावरणीय प्रदूषणको जोखिम पनि बढ्न जान्छ जुन जीवन र जगत्का लागि हानिकारक हुन्छ । डढेलोले खाएको वनजङ्गल पलाउन धेरै समय लाग्दछ, यसले पहिरोलाई निम्त्याउँछ । पहिरोले बाढी र विपत् ल्याउँछ, त्यसैले सम्बन्धित सरोकारवाला निकायबाट समयमा संरक्षणका कदम चालिएमा सबैको भलो हुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?