logo
२०८१ बैशाख ८ शनिवार



हात्तीकाने : हाडजोर्नीको ओखती

विचार/दृष्टिकोण |




मथुरा खनाल
हाम्रो गाउँघरमा पहिले अस्पतालको सुविधा थिएन । प्रकृतिको नियम, परिवर्तित परिस्थितिअनुसार थरीथरीका भाइरस, ब्याक्टेरियाको आक्रमणको पनि कमी थिएन । सामान्य सिटामोलको पनि उपलब्धता नभएको अवस्थामा आधुनिक मेडिकल उपकरणको त कल्पनासम्म पनि गरिँदैनथ्यो । कतै–कतै धामीझाँक्रीको विश्वास गरिन्थ्यो, त कतै वैद्यको ओखतीमुलोमा भर परिन्थ्यो ।
कसैलाई मनोवैज्ञानिक असर पर्नुबाहेक धामीझाँक्रीको उपचार त त्यति प्रभावकारी थिएन तर प्रकृतिमा उपलब्ध औषधिजन्य उपजबाट तयार गरिएका वैद्यको ओखतीमुलोमा भने धेरै दम पाइन्थ्यो । यी वैद्यलाई प्रकृतिमा उपलब्ध औषधिजन्य उपजबारे राम्रो ज्ञान थियो । जहाँ समस्या त्यहाँ उपाय । आखिर सरल तवरबाट जीवन जिउन सबैलाई राम्रो लाग्ने हँुदा मानिस खोज र प्रयोगचाहिँ गरिरहन्थे । कुन बिरुवा कुन बिरामीका लागि प्रयोग गर्नुपर्र्छ, कति मात्रामा, कसरी प्रयोग गर्नुपर्छ भन्ने परम्परागत ज्ञान, सीप पुस्तान्तरण हुँदै आएको थियो । कतिपय औषधिजन्य जडीबुटीलाई पुर्खाले आफ्ना घरबारीमा ल्याएर खेती गर्न र आवश्यक परेको बेला औषधिका रूपमा प्रयोग गर्न थाले । हाम्रो देशमा यस्ता औषधिजन्य जडीबुटी धेरै थिए र यिनका बारेमा ज्ञान भएका मानिस पनि धेरै नै थिए । तर, आज बदलिँदो जीवनशैली र परम्परागत ज्ञान, सीप एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण नहुनुका कारण औषधिजन्य जडीबुटी यत्तिकै खेर गइरहेका छन् ।
जनसङ्ख्याको वृद्धिसँगै मानव जातिको प्रकृतिमाथि अत्यधिक चाप बढेपछि वन फँडानी, खोरिया फँडानी, डढेलो, अति उत्खनन र अति चरिचरनका कारण अमूल्य औषधिजन्य बोटबिरुवा (जडीबुटी) पनि लोपोन्मुख अवस्थामा पुगेका छन् । तर, अझै पनि हाम्रो देशका सबै स्थानमा अस्पतालको सुविधा पुगिसकेको छैन । ग्रामीण भेगमा बस्ने धेरै बासिन्दाले महŒवपूर्ण औषधिजन्य जडीबुटी प्रयोग गर्ने गरेको पाइन्छ । यस्तै अमूल्य बोटबिरुवामध्येको एक हो– हात्तीकाने ।
यो क्रासुलेसी परिवारमा पर्ने उष्णप्रदेशीय वनस्पति हो । यसको वैज्ञानिक नाम कालान्चोई स्पाथुलाटा हो । नेपालको तराई र भावर प्रदेश यस प्रजातिका लागि उपयुक्त स्थान मानिन्छ । अत्यधिक उत्खनन, चरिचरन, डढेलो र बाढीपहिरोका कारण यो वनस्पति यसको प्राकृृतिक अवस्थाबाट लोपोन्मुख अवस्थामा पुगेको छ । देख्नमा अति सुन्दर यसको बिरुवा एक मिटरसम्म उचाइको हुन्छ भने काण्ड आधा इन्चसम्म मोटो हुन्छ । फूल सेतो रङको फुल्छ, फल काँचोमा हरियो, परिपक्व भएपछि गाढा कालोे रङको हुन्छ । यसका पात हात्तीको कानजस्तै देखिने हँुदा यसलाई स्थानीय भाषामा हात्तीकाने भनिएको हुनुपर्छ । पात सुरुमा नरम, हल्का पहेँलोजस्तो, पछि गाढा हरियो र कडा हुन्छन् । यस बिरुवाको जरा काण्डको तल्लो भागबाट माटोमुनि औँलाजस्तै गरी जमिनमा सिधा घुसेका र करिब एक फिटसम्म पनि फैलिएका आधा इन्चसम्म मोटाइ हुन्छन् । सुरुमा (कमलो हुँदा) जराको भित्रीभाग हड्डीभित्रको बोनम्यारोजस्तो सेतो र हल्का रातो रङको हुन्छ । बिस्तारै परिपक्व भएपछि स–साना कपालको रेशाजस्तो मुठोमा परिणत हँुदै जान्छन् ।
यो बिरुवाको सबै भाग महŒवपूर्ण छन् तापनि यसको जरा हड्डी भाँचिएको अवस्थामा भाँचिएको भाग छिटो जोड्नका लागि औषधिका रूपमा प्रयोग गर्दै आएको पाइन्छ । यसको वैज्ञानिक अनुसन्धान भइनसकेको भए पनि परम्परागत चलनअनुसार यसको प्रयोग निकै भएको पाइन्छ । प्रयोगकर्ताको भनाइअनुसार यो औषधिजन्य बिरुवा भाँचिएको हड्डी जोड्नका लागि निकै प्रभावकारी छ ।

प्रयोग तरिका
यसको प्रयोग गर्दा केही सावधानी पु¥याउनुपर्ने हुन्छ । करिब तीनदेखि चार महिनाको बोटबाट जरा निकाल्न मिल्ने हुन्छ । जराको भागलाई जमिनमुनिबाट निकालिसकेपछि पानीले राम्रोसँग धोएर हल्का छुरीले खुर्किनुपर्छ । अनि सफा ढुङ्गामा राम्रोसँग पेस्ट (लेदो) बनाएर गोलो क्याप्सुल बनाउन सकिन्छ । क्याप्सुल मह, घ्यु र तातो दूधसँगै निल्नुपर्छ । एक दिनमा तीनपटकसम्म खानुपर्ने हुन्छ र एक हप्तादेखि १० दिनसम्म खाएमा यसको प्रभाव छिटो देखिने हुन्छ । यो असाध्यै चिलाउने प्रकृतिको हुनेहँुदा पेस्ट बनाउने समयमा हातमा प्लास्टिक बाँधेर वा पञ्जा प्रयोग गरेमा चिलाउने समस्याबाट बच्न सकिन्छ । ओठमा लागेमा पनि असाध्यै चिलाउने यो जिब्रोमा लाग्दा भने चिलाउँदैन । यसो गर्दा शरीर दुखेको, हाडजोर्नी दुखेको पनि सन्चो हुने र शरीरमा ऊर्जा थपिएजस्तो अनुभव हुने यसका प्रयोगकर्ता बताउँछन् ।

आम्दानीको बुटी
यसको वैज्ञानिक अनुसन्धान भइनसकेका कारण सबै क्षेत्रमा यसले व्यापकता नपाएको भए पनि तराईका केही जिल्लामा यसको प्रयोग व्यापक छ । प्रभावकारिताका कारण यसको अत्यधिक दोहन भइसकेको हुँदा स्थानीयले आफ्नो निजी जग्गामा यसको खेती गर्न थालिसकेका छन् । आफ्ना नातागोता, इष्टमित्रलाई दुर्घटनामा परेको समयमा पठाउनुका साथै स्थानीय बजारमा बिक्री गर्ने प्रचलन पनि बढेकोे छ । जानकार मानिसले किसानको घरैमा पुगेर किन्ने गरेका छन् । यसको जरा प्रतिकेजी आठ सयदेखि एक हजार रुपियाँसम्म बिक्री हुने गरेको स्थानीय किसानको भनाइ छ ।
प्रतिहेक्टर छ हजार बिरुवा उत्पादन गर्न सकिने र प्रतिबिरुवाबाट दुई केजीसम्म जरा उत्पादन गर्न सकिने हुँदा किसानको थोरै मिहिनेतबाट ठूलो आम्दानी गर्न सकिने र जीविकोपार्जनमा ठूलो योगदान हुने देखिन्छ । फल पाकेपछि चराद्वारा अन्यत्र पनि बीउ छरिने हुँदा यो आफैँ पनि उम्रिएको पाइन्छ । खनेर जरा प्रयोग गर्दा सानो भाग त्यहीँ छाडिदिएमा यसैबाट अर्को वर्ष पुनः उत्पादन सजिलै गर्न सकिन्छ । यसको पात अति मन पराउने हँुदा बाख्राबाट बचाउनुपर्ने हुन्छ । सिँचाइको आवश्यकता नपर्ने, कम्पोस्ट मलको हल्का प्रयोगबाटै राम्रो उत्पादन लिन सकिने हुँदा गरिब किसान परिवारका लागि त यो राम्रो आम्दानीको स्रोत बन्न सकेको छ भने अस्पतालको पहँुच नहुनेका लागि सस्तो र सुलभ प्रभावशाली औषधिका रूपमा मान्न सकिन्छ ।
आफ्नो सानो करेसाबारीमा पनि लगाउन सकिने, सानो क्षेत्रफलमा धेरै उत्पादन गर्न सकिने र विस्तार गर्न पनि सजिलो जीवनोपयोगी प्रजाति यसलाई सबैले चिन्न सकेमा लाभदायक हुनेछ । यसो हुन सकेमा तराई र भावरप्रदेशका किसानका लागि बदलिँदो जलवायु परिवर्तनको अवस्थामा आयआर्जनको सजिलो वैकल्पिक उपाय पनि हुन सक्छ । यस्ता प्रभावशाली औषधिजन्य बोटबिरुवाको खोजी गर्नु, खेती गर्नु, संरक्षण गर्नु, नीति बनाउनु, सम्बद्र्धन गर्नु, बजारीकरण गर्नु, प्रचार–प्रसार र यसमा पाइने रासायनिक तŒवको वैज्ञानिक अनुसन्धान गर्न सकेमा जनता, राज्य साथै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सबैको हितकारी हुनेछ । यस्ता महŒवपूर्ण प्रकृतिका उपहार धेरै छन्, नेपालमा जसले समृद्धिका लागि ठूलो योगदान पु¥याउनेछन् । यो प्रजातिको स्वरूपअनुसार कार्बन शोषण क्षमतामा पनि अब्वल हुने अनुमान गर्न सकिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?