logo
२०८१ मंसिर ६ बिहीवार



आधुनिक दासताको एक भाष्य

विचार/दृष्टिकोण |




 

रमेश भट्टराई ‘सहृदयी’

सदीयौँदेखि सम्पन्नको शक्तिको पञ्जामा विपन्न वर्ग तिरस्कृत छ । शक्तिशालीको हैकमबाट ग्रसित अक्षमहरूले पिल्सिँदा मानवताको सुन्दर महल अँध्यारिन्छ । आजको वैज्ञानिक विकासको युगमा समेत महिला, पुरुष, बालबालिका दासताको सिकारबाट मुक्त छैनन् । यी विसङ्गतिलाई चिर्ने अभ्यास भइरहँदा पनि आन्तरिक र बाह्य तस्करको सिकार भएर नेपालमा पनि आधुनिक दासत्वको अन्त्य भइनसकेको देखिन्छ । मानव तस्कर, अङ्ग तस्कर, जबरजस्ती यौन दुराचारका घटनाहरू आज अलिक फरक शैलीबाट हुन छोडेका छैनन् । दलालहरूको पञ्जामा परेर मानिस आज पनि आधुनिक ढाँचाबाट कतै न कतै पराधीन छ । प्रविधिको सदुपयोगमात्रै नभएर दुरुपयोग बढिरहँदा अझ बढी शक्ति र सत्ताको दुरुपयोग गर्नेहरूबाट समेत समाज आतङ्कमुक्त छैन । वस्तुतः आवाजविहीनले अधिकार के हो भन्ने नचिनेरै दास बन्ने समस्या अद्यापि कायम देखिन्छ ।
सन् १८६३ जनवरी १ का दिन १६औँ अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनले दासमोचनको घोषणा गरेको इतिहास आज पनि उदाहरणीय छ । मूलतः प्रशासनिक, शैक्षिक, सामाजिक क्षेत्रदेखि घरघरायसी वातावरणमा हुने शारीरिक, मानसिकलगायतका शोषणको अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९४९ देखि हरेक साल डिसेम्बर २ का दिन अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस मनाउँदै आइएको छ । विक्रम संवत् १९८३ मा नेपाललाई दास व्यवस्थाबाट मुक्त राख्नेगरी श्री ३ चन्द्रशमशेरको योगदान एउटा स्वर्णिम इतिहास हो । त्यसमा पनि सन् १७७९ मा फ्रान्समा चर्किएको मानवीय स्वतन्त्रताको विगुललाई संसारले मन्त्र बनायो । शक्तिराष्ट्रले कमजोरमाथि धावा बोल्ने र हैकम जमाउने जङ्गलराजको अन्त्यविना स्वतन्त्रता र स्वाधीनता किमार्थ सम्भव त थिएन नै । माक्र्सवादी मान्यतामा आएर वर्गद्वन्द्व र वर्गसङ्घर्षका आवाज बुलन्द भए । पुँजीवादको अन्त्यसँगै समाजवाद हुँदै साम्यवादको आवाज अघि स¥यो । मानिसले समाजमा मानवताको विगुल फुक्नुपर्छ भन्यो तबदेखि विश्व समुदायमा नै मानवताको एउटा शङ्खघोष नभएको पनि होइन ! यस आधारमा मानवअधिकार र समाज सेवाको आदर्शतामा बढोत्तरी भएको पनि छ । मान्छेले सेवा र मानवतावादी धारमा लम्किने अभ्यास गरिरहेको छ । अन्तर्राष्ट्रिय शान्तिवक्ता प्रेम रावत भन्नुहुन्छ, ‘धन–सम्पत्ति, पैसा लगायतका सबै कुरा मानिसले बनाएका हुन् । प्रकृतिले सुन बनायो अनि मानिसले त्यसको मूल्य निर्धारण गरिदियो । मानिसले तोकेको मूल्यका कारण मानिसलाई नै पिरोल्न थाल्यो ।’ धनी र गरिबको खाडल मानिस स्वयम्कै रचना हो । यसभित्र मानिसलाई फसाइएको मात्र हो । यो पृथ्वीलाई स्वर्ग र यहाँका मानिस देवता बनाउनका लागि प्रकृति आपैmँमा बाधक हो भन्न मिल्दैन । प्रकृति अन्नको अथाह भण्डार पस्कन्छ, मीठा–मीठा फल प्रदान गरिरहन्छ तर मानिसले त्यसैमा कब्जा जमाउँछ अनि विपन्न हेरिरहन्छ र सम्पन्नले त्यसको भोग गर्छ । आफ्नो अधीनमा लिएर आपैmँ मालिक बनेर निरीहलाई नोकर बनाउन तम्सन्छ । अझ भनौँ, सुगमले लाभ लिन्छ तर दुर्गम अञ्जान रहिरहन्छ । विकसितले अल्पविकसितलाई दबाइरहन्छ अनि नचाहेरै दबिने चाहिँ दबिएरै रहन बाध्य हुन्छ ।
अलिकति सैद्धान्तिक पाटोतर्पm नियाल्दा रवीन्द्रनाथ टैगोरद्वारा मन, मस्तिष्क र ज्ञानसमेत स्वतन्त्र नरहेको ठहर गरिएको छ । दार्शनिक मिसेल फुको तथा म्याक्स वेभरको विचारलाई घोल्ने हो भने शक्ति, सम्मान र सम्पत्तिको आडमा सत्य र ज्ञानसमेत नियन्त्रित हुन्छ भन्ने निष्कर्ष निस्कन्छ । भनिन्छ, इतिहास पनि जित्नेहरूको लेखिन्छ । वास्तवमा रगत र पसिना बगाउनेको त गुमनाम नै भएको देखिन्छ । जसले एउटा ढुङ्गा वा इँट्टा नै उठाएको हुँदैन तर उसैको नाम शिलालेखमा सधैँ टाँस्सिरहन्छ । वस्तुतः दमनकारी अर्थात् हैकमकै स्तरभित्रको समाजका कारणले नै त शोषक र शोषितको तह निर्धारण भएको हो । दार्शनिक प्लेटोद्वारा भनिएको विभेदीकरणको सिद्धान्तमा पर्ने शासक, सैनिक र कामदारको तहभित्र समाजमा भएको विभाजन लुप्त छैन । उच्च, मध्य र निम्न तहको सोचलाई चिर्नका लागि दार्शनिक कार्ल माक्र्सद्वारा वर्गविहीन समाजको परिकल्पना गरिएको देखिन्छ । तथापि, यसबाट पनि समाजका सबै मानिसले स्वतन्त्रताको आभास गर्ने परिवेश बन्ला त भन्ने प्रश्न तेर्सिने रहेछ । फलतः सामाजिक न्याय र सामाजिक सुरक्षाको तहलाई सिफारिस गर्नुपर्ने हुन्छ ।
दासताको अन्त्य गर्ने कि बसुधैव कुटुम्बकम्को सोचमा रम्ने भन्ने दुईवटा बाटोलाई हेर्दा दासता केवल व्यवस्थामात्रै होइन, सोच पनि हो भन्नुपर्छ । हुकुमी पद्धति र दास मनोवृत्तिको अन्त्य नभएसम्म गरिबले, अशिक्षितले, कमजोरले न्याय नपाएरै मर्नुपर्छ । पूर्वीय दर्शनभित्रको मानवतावादी विचारजत्तिको उत्तम त साम्यवादको तह पनि होइन भन्नुपर्छ किनकि त्यहाँ निःस्वार्थ कर्मको आशा हुन्छ । दायाँ हातले दिएको बायाँ हातले थाहा नपाओस् भन्ने तहमा पुगेर सेवाभावको विमर्श हुन्छ ।
शक्तिशाली जनावरले कमजोर जनावरको हत्या गरिरहेभैmँ बलजफ्ती व्यवहारमा मानिस पनि उद्यत छ । घात प्रतिघात हुन्छ । एक शक्तिले अर्को शक्तिलाई खोसेर लिन्छ । जहाँ मानवताको दियो निभ्छ तब दासता र हिंसाको अँध्यारोले निरीह मानिस पीडित बनिरहन्छ । हलिया, कमलरी, कमैया, झारा, छाउपडी, दाइजो, बालीघरे या त दासदासी राख्ने गरेका हिजोका प्रथाले नेपाली समाजमा निरीह मान्छेले पछि पर्नु परिरहेको छ । आज पनि धेरै कुप्रथाबाट नेपाली समाज कलुषित छँदै छ । यसर्थ, यहाँ सबाल्टर्नको सैद्धान्तिक चिन्तनले मेल खान्छ किनकि यसभित्र आमजनता, सर्वसाधारण, तल्ला तहका बोल्न नजान्नेहरूको विषयमा वकालत हुन्छ । किसान, गरिब, मजदुर, दास, सेवक, महिला, तेस्रोलिङ्गी, उपेक्षित, निरक्षर, दलित, जनजाति, दुर्गम क्षेत्रका सबै बासिन्दा, विकासको अर्थ र अधिकारको अर्थ नै बुझ्न नसक्ने भुइँमान्छेको तहमा गएर गरिने पहिचानको सवाललाई सबाल्टर्नको अवधारणाभित्र समेटिन्छ । यसमा आवाजविहीनका आवाज बुलन्द हुनुपर्छ । किनारीकृत, सर्वहारा, पहुँचविहीन, उत्पीडित, उपेक्षितको आवाजलाई सम्बोधन गरिनुपर्छ । नवमाक्र्सवादी कोणबाट दासताको अन्त्य गर्ने परिपार्टीभित्र सबाल्टर्नको सिद्धान्त विकसित देखिन्छ । तल्ला तहका मानिस समाज निर्माणमा सक्रिय हुन्छन् तर तिनकै आवाजलाई प्रभुत्वशाली वर्गले आवाजविहीन बनाइदिन्छ, जसले आफू अन्यायमा हुँदासमेत विद्रोह गर्न जान्दैन अनि सक्दैन पनि ।
पश्चिमा इतिहासलाई हेर्दा त ग्रीसको एरिनामा कुस्ती खेलाएर नमरुन्जेलसम्म रमिता हेरिरहने अत्याचारी सोचले पाशविक लक्षणलाई बोध गराउँछ । अफ्रिकातिर मान्छेलाई साङ्लाले बाँधेर सहरमा बेच्न लैजाने गरेको हृदयविदारक इतिहास छ । के त्यो सोचको अवशेषबाट हामी र हाम्रा शासक मुक्त छौँ त भन्ने कुरा नै ठूलो प्रश्न हो ।
विकासोन्मुख मुलुक नेपालमा मानवीय हक र अधिकारका सन्दर्भमा लामा चर्चा हुन्छन् । निर्धोको जीवनस्तरले समयको सोचभन्दा माथि केही नयाँपन नपाएको यथार्थ अद्यापि दूरदराजमा देखिन्छन् । सामाजिक सुरक्षाको हकको सन्दर्भमात्रै होइन, श्रमिकले भोग्ने दैनन्दिनी दयनीय छ । दासताको स्वरूप बदलिएर आधुनिक दासताको विकास भएको महसुस हुन थालेको छ । मान्छेले विभिन्न प्रकृतिका शोषण गरिरहेको हुन्छ ।
स्वर्णिम आगतको अपेक्षामा पराईको नियन्त्रणमा रहेर चुपचाप यातना सहँदै परदेश सिँगारिरहेका तमाम नेपाली युवाशक्तिले यदि काम र कामअनुसारको दाम पाउने भए शारीरिक र मानसिक दासताको सिकार हुनुपर्ने थिएन । स्वदेशभित्रै पनि ठूला महलमा बालबालिकालाई आज पनि दास बनाएर राखिएका घटना देखिएकै छन् । आधुनिक समाजको वास्तविकतामा कथनी र करणीको सामीप्यता ठ्याम्मै छैन । नेपालको संविधान २०७२ अन्तर्गत भाग ३ धारा २९ को शोषणविरुद्धको हकको उपधारा २ मा कसैलाई दास वा बाँधा बनाउन नपाउने कुरा छ । यो र यसका अलावा बालबालिकाको हक, सामाजिक न्यायको हक, सामाजिक सुरक्षाको हक खोसिएको सन्दर्भ पेचिलो हुनुपर्ने हो ।
सामाजिक, राजनीतिक, प्रशासनिक, साँस्कृतिकलगायतका सोचगत व्यवस्थाभित्र रहेर आज पनि दासप्रवृत्तिबाट हाम्रो समाज मुक्त भइसकेको देखिँदैन । उही नातावाद, कृपावाद, फरियावाद र फासिष्टवादको जरामा अल्झिएर लेपन लागेको स्वतन्त्रताको नाराले मात्रै स्वाधीनताको अनुभूति प्रदान गर्नै सक्दैन । हुनेखाने र हुँदाखानेबीचमा देखिएको खाडलको अन्त्य गर्ने गुरुयोजनाका साथमा दासताको अन्त्य गर्न मानवताको शङ्खघोष आवश्यक छ । 
(लेखक आदर्श बहुमुखी क्याम्पस धादिङमा प्राध्यापनरत हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?