रमेश भट्टराई ‘सहृदयी’
समाजको गहिराइलाई हेर्दा गायत्री चक्रवर्तीले भनेजस्तो सबाल्टर्न वर्ग अर्थात् भुइँमान्छे आफैँ बोल्न सक्दैन । त्यो वर्गमा अर्कैले चेतना भरिदिनुपर्छ । तिनको आवाज ओकलिदिनुपर्छ । नेपालमा भुइँमान्छेका आवाजलाई ओकल्ने भन्दै समाजवाद, जनवाद, साम्यवाद, लोकतन्त्र, गणतन्त्र जस्ता सैद्धान्तिक धार बोक्ने पार्टी जन्मिए । मार्मिक साहित्य लेखिए । अधिकारका लामा भाषण, खोज, अन्वेषण पनि थुप्रै भइरहेकै छन् । नारी अधिकार र असमानताका आवाज बुलन्द नभएका पनि होइनन् । अफगानस्तिानमा त भर्खरै महिला शिक्षाका लागि विद्रोह हुँदै छ । संसारमा जतिसुकै वैज्ञानिक विस्फोट भए पनि मानवीय हक र मानवताको भाव बलियो नभएसम्म सिद्धान्तका ठेली निरर्थक हुन्छन् । हाम्रो मुलुकमा पनि ग्रामीण दुर्गममा पिल्सिएका कुण्ठित नेपालीका दर्दको सम्बोधन हुनसकेको छैन । जसले पेटसँग मुकाबिला गर्दैमा पुस्तौँसम्म बिताएको छ ।
दार्शनिक मिसेल फुकोले माक्र्स र माक्र्सवाद नबुझ्नेले इतिहास बुझ्दैन भनेका छन् । शक्ति, सम्मान र सम्पत्ति (पावर, प्रेस्टिज र प्रोपटी) को आडमा समाज सञ्चालित रहेको तर्क अघि सारिएको छ । आज यी सन्दर्भ बुझ्ने शासकहरूले केही नबुझ्ने शासितमाथि सबाल्टर्न (भुइँमान्छे) चिनाउन खोजेजस्तो गर्छन् । वर्ग, जात, धर्म आदिका आडमा अर्थात् अधिकार दिउँला भन्दै गलत बाटो लिइरहेका छन् । हाम्रो मुलुकमा भएका द्वन्द्वले चाहिँ वर्गको झुण्डमा होमिन सिकायो तर मानवतावाद पढाएन । किनकि त्यो भोट माग्ने स्वार्थजनीन एउटा इन्द्रजाल भयो । वास्तवमा त्यसले नेपाली समाजवादको विशेष सूत्रलाई चाहिँ एकरति पनि सिकाएन । भएको नेपाली भाइचारामा पनि विखण्डनको विष हालिदियो । अझ जजसले माक्र्सवाद पढाउन खोजे तिनैले यथार्थमा पुँजीवादी अनुहार प्रदर्शन गरिरहेभन्दा अत्युक्ति नहोला । यसले राजनीतिगत स्वार्थ सिवाय परिवर्तनको दृढतालाई जीवन्तता दिएन । स्वार्थको राजनीतिगत गुट टिप्यो । विकासमा होमिनुपर्ने समय, श्रम र राज्यको सम्पत्तिलाई स्वार्थीहरूले दोहन गरिरहेको यथार्थलाई नकार्न मिल्दैन । यस मानेमा बोधगम्य अध्यात्मवाद र विकासमुखी सामाजिक माक्र्सवाद दुवैको सम्मिश्रणबाट नेपालमा नेपाली समाजवादको पटक्कै खोजी भएन ।
वास्तवमा शासनसत्तामा हामीले विशिष्ट शासकद्वारा शासित हुनुपर्छ अर्थात् आपैmँबाट शासित हुनुपर्छ । यस सिद्धान्तविपरीत हामीलाई ‘अधिकारका लागि विद्रोही बन’ भन्ने प्रकृतिको अल्प–माक्र्सवादलाई पढाइरहिएको छ । न पूर्ण माक्र्सवादको व्यवहार छ न सिद्धान्त । न त नेपालीपनमा आधारित समाजवादको सभ्यता र व्यवहार नै छ । चाहे लोकतान्त्रिक हुन् या माक्र्समैत्री धारका होऊन् तर नेतृत्वले जनताका नाममा स्वार्थ अनि पदमा माथापच्ची गरिरहेका छन् । वास्तवमा राजनीतिगत चिन्तनको संस्कारमा एकान्वित सोचधारी नेतृत्वले पटकपटक फरक व्यवस्थामा नेतृत्व गर्ने स्थितिलाई तल्ला वर्गका सबाल्टर्न वर्गले नबुझेरै मद्दत गरिदिन्छन् । मुलुकले क्षमतावान् नेतृत्वको अर्थलाई बहुवैकल्पिक प्रश्नको उत्तरमा चारमध्ये एक पक्का भने जसरी स्वीकार गरिरहनुपर्छ । यो अभ्यासमा सही र गलतको भन्दा खिचातानीमा मान्छे किनबेचको मथिङ्गल नै ‘थिङ्क ट्याङ्क’ बन्न पुग्छ । इतिहास अमूल्य छ भन्दै गर्दा त्यो सबाल्टर्न वर्गका लागि इतिहास सुखद हुँदैन । ती गुमनामहरू प्रयोग मात्रै हुन्छन् अनि तिनकै ढाडमा टेकेर तिनको श्रम, समय र पहिचानलाई शोषण गरिएको हुन्छ ।
भुइँमान्छेमा जति मानवता हुन्छ आर्थिक रूपमा सम्पन्न मुलुकमा त्यति भावनात्मक गहिराइ देखिँदैन । भाइचारा, बन्धुत्व, सहयोगको भावना अर्थात् जिउँदाको जन्ती र मर्दाको मलामी हुने परिवेशलाई, मातृभाषिक मर्मलाई, लोकसंस्कृतिलाई साँच्चै नै सबाल्टर्न वर्गले जोगाएका हुन्छन् । यसो भन्दै गर्दा गाउँमा अन्धविश्वासी संस्कृतिले प्रभाव जमाएको हुन्छ तर त्यो संस्कारका रूपमा पुस्तागत हस्तान्तरण भएको विचार हो, दमनकारी नियतचाहिँ होइन भन्नुपर्ने हुन्छ । त्यहाँ त नवमानवतावाद अर्थात् मान्छेको आत्मसंयम वा आत्मसङ्कल्पलाई विशेष महŒव दिइने गरेको देखिन्छ । मान्छेले मान्छेलाई अरू केही नै नभए पनि पाप र धर्मको कसीमा अन्याय गर्नु, चोर्नु, ढाँट्नु, छल्नु, कसैलाई होच्याउनु अपराध मान्छ ।
फलतः सानालाई माया र ठूलालाई एउटा स्तरमा सम्मान हुन्छ । बहुविवाह र बुहार्तन अनि दाइजोको कुप्रथामा पनि चेली र श्रीमती वा दिदीबहिनी र आफन्तलाई दर्जा अनुरूप माया वा आदर गर्छ । आफ्नो संस्कृति बचाउँछ तर अरूकोमा आँखा लाउँदैन, औँलो ठड्याउनु आवश्यकै मान्दैन । पाप र धर्मलाई पूर्णतः अस्वीकार गर्ने भौतिकवादी चिन्तनले वस्तुतः त्यो भावनाको मूल्यलाई तिनकै तहमा गएर न्याय दिन सक्दैन । अहिले त घरकै आफन्तबाट आफ्नै घरभित्र छोरीचेली असुरक्षित हुने भयावह समस्या बढ्न थाल्यो । यो कुबुद्धि हिजो सायद धेरै कम थियो ।
सन् १९६० को दशकअघिसम्म संयुक्त राज्य अमेरिकाका दक्षिणी राज्यहरूमा र सन् १९९० को दशकअघि दक्षिण अफ्रिका लगायतका स्थानहरूमा काला जातिलाई नाम मात्रको अधिकार दिइएको थियो जुन समग्रतः जातिगत आधारमा केन्द्रित थियो । तथापि नेपालको बहुजाति, बहुभाषी, बहुधार्मिक एकताभित्र मिश्रित समाजको बाहुल्य हो । नयाँ संविधानले यसै पक्षलाई सम्बोधन गर्न खोजेको छ ।
राजनीतिक नेतृत्वमा स्वार्थको लडाइँले प्रतिशोध र प्रतिरोध मात्रै हाबी हुँदा भुइँमान्छेको दिनचर्यामा असर परिरहेको हुन्छ । पहुँचका आधारमा शासकहरू क्षमता र खुबी नभए पनि नेतृत्व तहमा पुगेर अवरजन अर्थात् भुइँमान्छेलाई प्रयोग गर्छन् । प्राविधिक क्षेत्रमा अप्राविधिकहरूले रजाइँ गर्न थाल्छन् । तब भ्रष्टाचारको जरो दह्रो बन्न पुग्छ अनि दाइँ हुन्छ । अवसर र विकासमुखी नेतृत्वको असन्तुलित संयोजनका कारण भुइँमान्छेको स्तरोन्नतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले असर परिरहन्छ । यस्ता शासकले सबाल्टर्नको भोलापनलाई हतियार बनाएर शक्तिको जोहो गरिरहन्छन् । राजनीतिमा बहुरङ्गी अस्थिरताको चटक भइरहन्छ । देश र जनता विकासतर्पmभन्दा अनावश्यक झमेलामा रुमल्लिरहन्छ ।
सबाल्टर्न त हरेक जातिभित्रै हुन्छ । सामाजिक सांस्कृतिक विभेद मात्रै भुइँमान्छे पहिचानको आधार होइन । नेपालको परिवेशमा भूगोल, आर्थिक अवस्था, ग्रामीण दूरदराज, एकै जातिभित्रका पनि विपन्न मान्छे, उच्च वर्गभित्रकै हेपिएका विपन्न मान्छेहरू भुइँमान्छे हुन् । यसलाई एकोन्मुख दृष्टिकोण राखिँदा असमानताको एउटा किस्सा सधैँ छुट्छ र उसले व्यवस्थाले बेवास्ता गरेका कारण यथास्थितिलाई झेल्नुपरिरहन्छ । नेपालको पृष्ठभूमिमा सबाल्टर्न वर्गलाई आयस्रोत र सम्पत्तिकै तहमा नराखिनु सबैभन्दा ठूलो समस्या हो । हाम्रो समाजले भन्ने गरेको उपल्लो जातभित्र पनि विपन्न मानिसहरू छन्, निमुखा छन्, बेसहारे छन्, अपाङ्ग छन् भन्ने कुरालाई बिर्सनुहुँदैन । वर्ग हेरेर दिइने सुविधाले सुविधाकै नामबाट फरक हो भन्ने बनाइरहेको पनि छ । त्यहाँका धनाढ्य र पुँजीपतिले पनि सुविधा लिइरहँदा विपन्न, दुर्गमका सबाल्टर्न वर्ग, अक्षम स्तरका सिङ्गो बस्तीको सन्दर्भ समेटिएन । वस्तुतः टाढाबाठाले रजाइँ गरिरहन्छन् । भुइँमान्छेको हकलाई सम्बन्धित वर्ग वा व्यक्तिलाई दिँदैनन् । अल्पज्ञानीले पनि आपूmलाई सर्वज्ञानी भएको हठ गरिरहन्छन् । तिनका आँखामा छारो हालिरहन्छन् ।
आर्थिक विकास र आत्मनिर्भरताको तहमा कमजोर भएका व्यक्ति, समुदाय र राज्य नै भुइँमान्छेभित्र पर्दछन् । प्रभुत्वशाली वर्गको पद्धतिभित्रकै सहमति, सम्झौतामा शक्तिको सिर्जना हुन्छ । त्यो शक्तिमा समाजका निरीह मानिसमाथि असमान व्यवहार गरिन्छ । अलिकति प्रजातान्त्रिक मार्गमा लम्केको नेपालजस्तो मुलुकमा चाहिँ स्वार्थी नेतृत्वले भोटका निम्ति प्रयोग गर्छ । शक्ति र सत्तालाई हातमा लिइरहन्छ । नेतृत्वले भोट किन्ने सजिलो भाँडो बनाइदिन्छ । झुक्याउँछ । तिनका नाम बेचेर विभिन्न वाद र विचारका नारा बोके पनि तरमारा वर्ग अर्थात् नवसामन्तको राज चलिरहन्छ । नेपालमा बहुसांस्कृतिक गरिमाभित्र राजनीति गरेर समाजलाई विखण्डन गर्दै भोट तान्ने होड पनि कम छैन । अधिकारका दिने नाममा बहुल एकता धमिल्याएको छ तर बहुसंस्कृतिको जगेर्ना र विकासको यथार्थ आधार समेट्न नसकेको देखिन्छ । बरु, आवश्यक परेको समयमा शक्ति प्रदर्शनका लागि तिनै सबाल्टर्न वर्गलाई किनिरहन्छ । यो वर्गले कसैले सिकाएको कुरामा धेरै गहिरो रूपमा सोच्ने खुबी बनाउन सकेको हुँदैन । यो हाम्रो मुलुकमा घटित फेहरिस्त हो ।
शोषक र शोषित तहभन्दा मास्तिरको अर्को वाद मानवता हो । अझ भावनात्मक भाइचाराको वादचाहिँ नेपालीपनको समाजवाद हो । त्यहाँ विभेदभन्दा मास्तिरको सामाजिक मर्यादा कायम हुन्छ । विरोध होइन, बोध हुन्छ । क्षमता र मिहिनेतको गुण र दोषका आधारमा मूल्याङ्कन हुन्छ । अहिले बढ्दो बहुआपराधिक प्रवृत्तिले कानुनी कठोरताको सङ्केत गर्छ । आत्मघाती हमला, पारमाणविक प्रहारजस्ता निर्मम अत्याचार नेपालमा नहुनुको एउटा सत्य यही हो । शहरले गाउँलाई हेप्छ । सम्पन्नले विपन्नलाई हेप्छ । नेपालमा सामाजिक सांस्कृतिक अन्धविश्वासका अलावा विपन्न भएकै कारण पनि दमित, पीडित, कुण्ठित तुल्याइएको देखिन्छ । आर्थिक विषमता पनि छुवाछूतको कारक अनि अन्धविश्वासको एउटा मूल प्रभावक हो । अतः सकारात्मक विभेदको पक्षमा सोच्नुपर्ने बेला आएको छ । सुविधा चाहिनेलाई दिने र आवश्यक सदुपयोग गर्ने गरी मानवताका नाताले उपयोग गर्ने व्यवस्था हुनुपर्छ ।