रमेश भट्टराई ‘सहृदयी’
वर्गद्वन्द्व र विभेदको कारक समाज र संस्कृति हो अनि भाइचाराको कारक पनि । पश्चिमा समाजमा जबर्जस्ती धर्म मान्न लगाइएका घटना दर्दनाक थिए । कतिपय धर्मभिरुका कारण काल माक्र्सले धर्ममा भएको शोषणलाई देखे । तब अध्यात्म र भौतिक विज्ञानको व्याख्या उनको भोगाइ र त्यहाँको परिवेशमैत्री अनुभव पनि हो । पश्चिमा धार्मिक कट्टरपन्थीले धर्मविरुद्ध आवाज उठाउनेलाई जिउँदै जलाएका दर्दनाक इतिहास छन् । यसर्थ धर्मले उल्लासभन्दा बढी शोषणको दर बढाउँदा त्यहाँ पैसामुखी सोचले प्रभुत्व जमाएको हुँदो हो अर्थात् त्यसले उनलाई साँच्चै भौतिकवादी बनाएको हुँदो हो । कम्युनिजम पद्धतिले धर्मलाई मान्नु हुँदैन भन्नुको अर्थ समाजले हर्षोल्लासका साथ मनाइरहेको धर्मको विरोध गर्नु पनि त नहोला । पश्चिमी धार्मिक शोषणलाई नियालेका दार्शनिक माक्र्सले यदि हाम्रोजस्तो सामाजिक एकतालाई हेर्न पाएको भए उनको व्याख्यामा अर्को नौलो रूप आउन सक्थ्यो होला ।
वर्गीय विभेदको व्याख्या गर्ने र खाटी कम्युनिस्ट हौँ भन्नेहरूले अरू बेला पाएसम्म खादा र टीका लगाएर सम्मान ग्रहण गर्छन् । रवाफिलो जीवनशैलीमा रम्ने तिनको सौखमा कतै पनि सर्वहारा नेतृत्व शैली देख्न नपाउनु दुःखद विषय हो । तिनले जनताका बीचमा मञ्चमाथि अग्ला आसनमा विराजमान हुनुलाई कत्ति पनि माक्र्सवाद विरोधी मान्दैनन् । आपूm माक्र्सवादको चर्चा गरेर समाजवाददेखि साम्यवादसम्मका सिद्धान्त पस्कन्छन् । ‘हाम्रा कुसंस्कार छोडौँ, मानवता रोजौँ’ भन्नुभन्दा बढी कसैलाई उचाल्छन् अनि कसैलाई होच्याउनसम्म होच्याएपछि यसो फकाउने धृष्टता गर्छन् । सकेसम्म आफ्नो भोट तान्नका लागि फाइदा हुने मनोविज्ञान वा कीर्तिको बढावालाई मस्तिष्कमा राख्ने अभीष्टले पुँजीवादलाई नै प्रश्रय दिन्छ । यसकारण अहिले खण्डित मानसिकतामा अर्कालाई गाली गरेर आफू पानीमुनिको ओभानो हुने होडबाजी छ ।
हो, धर्मका नाममा ठग्ने, बडप्पन देखाउने कुसंस्कारले ‘धनीलाई दसैँ अनि गरिबलाई दशा’ भइरहेको हुन्छ । यो सोेचले विकृति बढाएको यथार्थलाई भुल्न मिल्दैन । तथापि धर्म–संस्कृति नै अनावश्यक भन्नुले ‘राम्रो के हो र किन’ अनि ‘भौतिक प्रगतिले कति खुसी दिन्छ’ भनेर बुझ्नु नितान्त आवश्यक छ । भौतिक उन्नति आजको अपरिहार्य आवश्यकता हो । हाम्रो मुलुक यही सन्दर्भमा पछाडि भयो तथापि भौतिक उन्नति नै खुसीको सार चाहिँ कदापि होइन । जन्मदिनमा चुचे टोपी लाएर केक काट्ने पद्धतिभित्र विकृति भयो भन्नु पक्कै सान्दर्भिक रहला पनि । अझ मुखमा खाने केक अनुहारमा दलेर कुरूप भएका दृश्यले ‘जन्मदिन कि बर्थ डे’ भन्ने भान हुन्छ । बत्ती बालेर उज्यालो चाहने सुखान्तवादी अनि सत्यको जित चाहने हामीले पश्चिमाले बत्ती निभाएको देखेर निभाउने कुराकै सिको गर्दछौँ । यहाँसम्म गएर गरिएका व्याख्यामा अर्थात् विकृति नियन्त्रणका कुरामा चाहिँ पक्कै तुक रहला तर नेपाली मौलिक धर्म– संस्कृतिविहीन समाजको परिकल्पनालाई चाहिँ असामाजिक मान्नुपर्छ ।
हाम्रा संस्कृतिले त सानालाई माया र ठूलालाई आदर गर भनेको छ । नेपाली सन्दर्भको वस्तुस्थितिलाई हेरौँ ः पुल निर्माण, भवन निर्माणमा मजदुरले पसिना बगाउँछन् तर शिलालेखादिमा नामचाहिँ उनै नेताको नै हुन्छ । किनकि, त्यो कामदारले पाउने रकमको ढुकुटी राज्यको हो भने त्यो निर्मातालाई पैसा दिएकै भरमा उसको श्रमको मूल्य समाप्त हुन्छ । इतिहासको लेखन एकल, पूर्वाग्रही र असमावेशी यसकारण छ । यसर्थ तल्लो तहबाट इतिहासको व्याख्या भएकै छैन । रानीपोखरीको वास्तविक निर्माता को हो ? तर, उद्घाटन कर्ताको नाम जसरी आउँछ त्यसरी निर्माण गर्ने कलाकार र मजदुरको सीप र क्षमताले कुनै स्थानमा मूल्य पाउँदैन । यो त कोही चित्रकारले आफूले बनाएको चित्र बेच्दा पैसा लिए पनि उसको नाम राखेजस्तो हुनुपथ्र्यो ।
के सर्वहारा वर्गको सम्बोधन गरेर बजारलाई राज्यद्वारा निर्देशित अर्थतन्त्रमा चलायमान गराउने समाजवादी मान्यतालाई हाम्रो मुलुकले स्वीकार गर्न सक्छ ? प्रजातान्त्रिक आर्थिक नीतिका बहसभित्र हामीले पुँजीवादलाई तोड्न सक्छौँ त ? के भौतिकवादको विकासले विभेदलाई अन्त्य गर्न सक्छ ? अलिक गम्भीर भएर सोच्दा– जुन दिन मानिसले यदि दिमागमा नै कम्प्युटरकै जसरी बुद्धिमत्तालाई भण्डारण गर्न सक्ने गरी वैज्ञानिक विकास गर्नेछ त्यसदिन सबैभन्दा बढी पुँजीवादी एकतन्त्रवादीले निरीह वर्गमाथि दमन गर्नेछन् । मानिसले जति धेरै विशिष्ट विज्ञानको विकास गर्दै जान्छ त्यति धेरै विपन्न र सम्पन्नको खाडललाई फरक तरिकाले जन्माइरहेको हुन्छ । एउटा सरल उदाहरणलाई मिहिन कोणबाट सोचौँ, मानौँ एउटा कार्यालयमा हाकिम र पियनलाई वा हाकिम र भान्सेलाई वा मालिक र ड्राइभरलाई एकसाथ कोरोना सङ्क्रमण भयो । धेरैले हाकिमसहित पियन वा भान्से वा ड्राइबरलाई पनि राम्ररी चिन्छन् तर फेसबुकमा धेरैले केवल हाकिम वा मालिकको मात्रै फोटो राखेर ‘शीघ्र स्वास्थ्यलाभको कामना’ भन्छन् । यो संस्कारलाई माक्र्सवादी हुँ भन्नेले कसरी स्वीकार गर्ला ?
एउटा सामान्य पहिरनको मान्छे कुनै सरकारी अफिसमा गयो भने र सुकिलो मुकिलो, धनी देखिने मान्छेले पाउने प्रतिक्रिया जसरी नै उसले सम्मान वा सेवामा स्थान पाउँछ त ? हरेक दिन मान्छेले भोगेका यथार्थ यही होइन र ! ओहोदा र शक्तिका आधारमा सम्मान गर्ने परिपाटी नै विभेदको कारक हो । यो हाम्रो संस्कृतिभन्दा बाहिरको व्यवहार हो । यो सन्दर्भ सांस्कृतिक आधारमा हेरिने सबाल्टर्न (व्यक्ति वा समाजको सांस्कृतिक व्यवहार र क्रियाकलापसँग शक्तिको प्रत्यक्ष प्रभाव हुन्छ भन्ने सिद्धान्त आधार) को अवधारणासँग मिल्न जान्छ । यसले आवाजविहीन, किनारीकृत, पहुँचविहीन अर्थात् भुइँमान्छेका आवाजलाई सम्बोधन गर्न वा बाहिर ल्याउन चाहन्छ । सुगमले दुर्गमलाई हेर्ने आँखा र स्तरगत वर्गीकरणका विषयलाई माक्र्सवादभन्दा अझै मिहिन धारमा सबाल्टर्नको मान्यता अघि सरेको हुन्छ जसलाई नवमाक्र्सवादी (राजनीतिक क्रान्तिभन्दा मनोवैज्ञानिक स्वतन्त्रतामा जोड दिई वर्ग निरपेक्ष मानवतावाद र आदर्शवादलाई प्रश्रय दिने भनिएको तर पछि उही माक्र्सवादी दर्शनमा आधारित नयाँ ढर्राको आरोप खेपेको वाद) ले उठाएको देखिन्छ । तसर्थ, व्यावहारिक समाजवाद पछिल्लो नेपाली संस्कारमा जति निरङ्कुश छ त्योभन्दा धेरै राम्रो परम्परा हिजो पनि समाजमा रहेको हुन सक्छ । आज पनि इटालेली नवमाक्र्सवादी चिन्तक इन्टोनिया ग्राम्चीले भनेभैmँ इतिहास पनि पूर्वाग्रही छ ।
माक्र्सवाद र धर्म त आपसमा विरोधी विषय नै हुन् तर ‘धर्म मान्नु भनेको सामन्ती सोच हो’ भन्नेहरूले नेपालमा चाहिँ केवल धर्म र संस्कृतिका केही विषयका नकारात्मक पक्षलाई मात्रै समातेर रोइलो मच्चाएका हुन् कि । यो अरूभन्दा अलग्गै अनि चोखो माक्र्सवादी बनेर पहिचान बसाउने एउटा ढोङ मात्रै हो । नेपालमा माक्र्सवादी हौँ भनेर संस्कृत विद्यालयका पुस्तकालयमा आगो लगाउने नेतृत्व पनि नेपाली संस्कृतिकै कोखको नुनपानी खाएर हुर्केका हुन् त्यसैले तिनको व्याख्याले व्यवहारसँग कतै पनि सामीप्यता गाँस्दैन । वेद, त्रिपिटक, मुन्धुमलाई नपढ्ने अनि पश्चिमाको व्याख्या गरेर पूर्वलाई दोष मात्रै थोपर्ने सोचले हामी एकाङ्की व्याख्यामा एकोहोरो हुँदै गइरहेका छौँ कि ! जीवनको अर्थ समाज अनि समाजको सम्बन्ध संस्कृतिसँग हुन्छ । संस्कृतिको सम्बन्ध असल अनुशासनसँग हुन्छ अनि त्यो जीवन अनुशासनको आधार हो । यही जीवन अनुशासनको व्यवहार नेतृत्व अर्थात् नेतामा पनि हुन्छ र हुनुपर्छ । निष्ठाको राजनीतिका लागि पनि संस्कृति, सुखद मानव जीवन र सद्व्यवहारले प्रभाव पार्छ । चिन्तनको तहलाई उसको बुद्धि र उसले पाएको संस्कारले निर्देश गरेको हुन्छ ।